धनगढीबाट आएको बस भेटियो थानकोटमा। धनगढीलाई पछ्याउँदै आयो महेन्द्रनगरको बस। त्यसलाई पनि पछ्याउँदै आयो दैलेखको बस।
बिहानको साढे आठ बजेको थियो- नागढुंगाबाट पश्चिमतिर लाग्दा।
धनगढी र महेन्द्रनगरको बस आइसकेको हुनाले नागढंुगातिर पूर्वका बसहरू पनि रेलको डिब्बा जोडिएजसरी आएका होलान् भन्यो मनले। तर विराटनगर, धरान, काँकडभिट्टा र दैलेखजस्तै पहाडको पशुपतिनगर लेखिएका एउटा पनि बस आँखाका सामु उभिन आएनन्। मन कटक्क खायो।
पूर्वका पनि बसहरू राम्रा थिए। एसी र डिलक्स लेखिएका। पैसा तिर्न गाह्रो नलाग्ने खालका। यति बेलासम्म त तिनीहरू पनि आइसक्नुपर्ने हो। मन पूर्वबाट आउने गाडी नै खोजिरहेको थियो।
म आफैं दस–बाह्रचोटि पूर्वका बस चढेको थिएँ।
तर सुदूर पश्चिम क्षेत्रका आधा दर्जन बस आइसक्दा पनि मेचीका बसहरू आइनपुग्नु मेरो मन दुखाउने कुरा भयो। किन आउँदैनन् पूर्वका बसहरू!
नागढुंगा कटेपछि खानीखोला नआइन्जेलको बाटोको सास्ती कहिल्यै नसकिने रहेछ। २०२६ सालदेखि निरन्तर हिँडिरहेको छु यो बाटो। जति दिन बित्छ त्यति सप्रिनुपर्ने हो बाटो भन्ने लाग्छ। तर यो बाटो कहिल्यै सप्रिएन। पहिले साह्रै साँघुरो थियो। पछि फराकिलो त भयो तर बाटो सैलुङको लहरे डाँडोजस्तो भयो। पचास वर्षमा पनि सप्रिन सकेन यो बाटो। घडक्क, घडक्क। गुल्थुङ, गुल्थुङ। भुक्क, भुक्क। उफ्रिएको हो कि रमाइलो गरेको हो! यात्रीलाई भने सास्ती।
एकपल्ट यतै कतै सुरुङ खनेर बाटो सजिल्याउने रे भन्ने सुनिएको थियो। तर दर्जनौं यस्ता 'गर्ने रे' सँग यो सुरुङ पनि काम गर्नु नपर्ने ऐतिहासिक प्रतिवेदनमा समेटिएर धुल्याहा नलाग्ने गरी कतै थन्किएको होला।
म बहकिन थालेँ। लेख्ता यस्तै हुँदो रहेछ।
मन र आँखा दुवैले कम्तीमा पनि एउटा काँकडभिट्टा वा धरानको बस हेर्न खोजिरहेका थिए। तर आइरहेछन् लगालग सुदूरपश्चिमका बसहरू।
चिया खुवाउने ठाउँ फेरेछन् पोखरा चल्ने पर्यटक बसहरूले। खानीखोला पनि आइनपुग्दै, सिक्रेखोला वारिपट्टिको डाँडामा नयाँ बनेको चमेना गृहका अगाडि गाडी रोकियो।
'चिया खानुस् है' भन्दै सहचालक भाइले ढोका खोलिदियो। यहाँ पहिले चिया खुवाउने ठाउँ थिएन। घुम्ती काटेर बाटो मिलाउँदा पुरानो बाटोको निकास थियो कि जस्तो लाग्छ।
पहिले 'फ्रेस' भइयो। यो हो सांस्कृतिक अतिक्रमणको भाषा। हाम्रो भाषामा पिसाब फेरियो।
किन बेकारमा मानिसहरू फ्रेस भन्छन्? फ्रेस भन्दा पिसाब फेर्ने भनेर बुझिँदैन। हल्का हुनु, तरोताजा हुनु भन्ने अर्थ निस्किन्छ फ्रेस भन्दा। पिसाब फेर्दैमा केको तरोताजा हुनु? बसलाई घुल्डुक—घुल्डुक उफार्दै हिँड्ने बाटोमा!
'कफी छ?' बाटामा चियाभन्दा कफी खान मन लाग्छ मलाई।
'चिया छ।'
कफी छैन नभनी भाइले भाइले आफ्नो पसलमा कफी नभएको जानकारी गराए।
तातो पानी नभए चिसै पानीले नुहाऊँ।
चिया पिएर फेरि बाटो लागियो।
तस्करी बढेछ कल्पना गर्न नसक्ने गरी। भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भयो भनेर काठमाडांैमा ढोल पिटिएको छ। तर यहाँ त हानाथाप गरेर गाडीहरू गुडिरहेछन्।
'ईश्वरले चाहेमा पाँच–सात दिनमा नाकाबन्दी खुल्छ' भनेकी थिइन् ब्राह्मणपुत्री भारतीय विदेश मन्त्रीले। सायद उनलाई बाबु अथवा आमाले ज्योतिष ज्ञान सिकाएका हुनन्।
तर मलाई लाग्यो अब नाकाबन्दी खुल्दैन। भारतीय विदेश मन्त्रीले नाका खोल्ने भविष्यवाणी गरे पनि तस्करहरूको बलियो समूहले अब नाकाबन्दी खुल्न दिँदैन। तस्करको कुनै जात हुँदैन, कुनै देश हुँदैन, कुनै धर्म हुँदैन। अरू सबै त छाडिदिउँ, तस्करमा सामान्य मानवीय संवेदनासमेत हुँदैन। एक सय रुपियाँमा पाइने तेल पाँच सयमा बेच्न पाउने कारोबार कसले सजिलै छोड्छ? भारतको नाकाबन्दीले तस्करीलाई राम्रो मलजल गरेछ।
जोगी जुलन्तरीको राजमा कहाँ फलो न्याय र प्रगतिशीलता!
धार्केको ढाटमा त हामी जाममै पर्यौंा। सातांै नम्बरमा थियो हाम्रो गाडी। हाम्रो अघिल्तिर उभिएका सबै गाडी निजी नम्बरका जिप थिए।
देशलाई हरिकंगाल पार्ने तस्कर, तिनीहरूलाई तस्करी गर्न छुट दिने नेपाल र भारतका सुरक्षाकर्मीहरूलाई बेस्सरी सराप्यो मनले।
एउटा अपराधबाट बच्न कतै हामी अर्को अपराधीलाई सहयोग त गरिरहेका छैनौं?
गाडी गुडिरह्यो।
पूर्वबाट आउने गाडीहरू अहिलेसम्म आइपुगेका थिएनन्।
'के सप्पै चालकका टाउका त फुटाएनन् मारकाटको आन्दोलन चलाइरहेकाहरूले? एउटा पनि गाडी नआउनुको कारण के हो?'
सबैलाई मारकाट, त्यसमाथि एम्बुलेन्सको चालकलाई टाउको फुटाउने, एम्बुलेन्स डढाउने मधेस आन्दोलनको विशेष चरित्र भएको छ अहिले। मारकाट र आगजनी सहितको 'भारतीय मूल के मधेसियों' (भारतीय मिडियाको साभार) को नेतृत्वमा सञ्चालित मधेस आन्दोलनभन्दा अहिलेको आन्दोलनको सही 'पहिचान' खुल्छ।
धादिङ बजार जाने मोडमा एउटा अनौठो बस उभिएको देखेँ मैले। उहिले–उहिलेका बहादुर योद्धाहरू फलामका कवच लाउथे। अहिलेका प्रहरीहरू ढुंगे आन्दोलनबाट जोगिन प्लास्टिकका ढाल बोक्छन्। बस पुराना योद्धाहरूको प्रतिरूप थियो। त्यसको अगाडिको ठूलो सिसा चक्राकारमा बुनिएका फलामे जालिले छोपिएको थियो।
'लु हान् त ढुंगा! लु आइज, भिड्ने भए भिड्ने! अझै हान्छस् ढुंगा?'
बस त मलाई पो चुनौती दिइरहेको थियो।
चालकको सिटपछिल्तिर बसेको थिएँ म। त्यसैले उताबाट आउने गाडी छ्यांग देखिन्थ्यो। त्यो योद्धा बसको माथि हेरेँ मैले। खुसी लाग्यो। त्यहाँ लेखिएको थियो, काँकडभिट्टा—काठमाडौं।
फलामे अंगवस्त्र लगाएको बस देख्ता पनि मन रमायो। बल्लबल्ल पूर्वबाट एउटा बस आएको थियो। ढुंगामुढालाई चुनौती दिँदै।
तर मेरोे खुसी दुई मिनेट पनि टिकेन। अगाडिको प्लास्टिक च्यातिएर ह्वांगै भएको बस बिस्तारै आँखाअगाडि आयो।
'लौ दाइ, तिमी जाऊ है, तिम्रो त सिसा सद्दे रहेछ' भन्दै काठमाडांैतिर लाग्यो। सायद गएराति यो बलियो प्लास्टिकले ढुंगा, मुढा या गँडासाको सामना गर्नुपर्योा होला।
च्यातिएको प्लास्टिकको छिद्रबाट आएको चिसो हावालाई पन्छाउँदै बलियो छाती भएका ती चालक भाइले कसरी हाँकेर ल्याए हुनन् यति लामो बाटो!
मैले ती भाइलाई सलाम गरेँ।
बिजोक देख्नुपर्ने अभागी खप्पर रहेछ मेरो। त्यसपछि जति बस भेटिए, ती सबै घाइते थिए। आधा दर्जनले अगाडिको सिसालाई माथि र तल दुवैतिर टिनले नै छोपिदिएका थिए। तिनलाई अगाडि चल्ने बस साथीहरू टुचिन लगाएर तानेका पनि थिएनन्।
ती सबै बसका चालकहरूलाई मैले सलाम गरेँ।
ती गाडीलाई अगाडिबाट तोडफोड गरेर चालकलाई सास्ती दिनेलाई सराप्नु मेरो स्वाभाविक क्रिया थियो। अर्को गाडी मेरो आँखाबाट सररर बगेर गयो। मेरा आँखा ठूला भए। बसको टाउकामा लेखिएको थियो, काठमाडांै–सिराहा–माडर। गज्जब। प्रदेश नम्बर दुईको साइनबोर्ड लागेको गाडीमा कुनै तोडफोड भएको थिएन। त्यसको पछिपछि अर्को गाडी आइरहेको थियो। फेरि गज्जब। त्यो पनि प्रदेश नम्बर दुईकै गाडी थियो। त्यसको टाउकामा लेखिएको थियो, राजविराज–काठमाडांै।
अर्थात्, ढुंगामुढा गर्नेलाई पनि थाहा रहेछ, तोडफोड मच्चाउनुपर्ने गाडी कोसीपूर्वका मात्र रहेछन्!
मलेखुमाथिको डाँडामा जम्मा एउटा होटेल हुँदादेखि भात खान्थेँ म। वैकुण्ठपुरी नाम राखेका थिए साहुजीले त्यो उराठ डाँडोको नाम। हुँदाहुँदै त्यो डाँडो चिनिनै नसकिने गरी फेरियो। अहिले त त्यो गजुरीलाई चुनौती दिने भइसकेको थियो।
मलेखु डाँडाको तल फेदमा खाना खुवाउने गरिँदो रहेछ। त्यो गहिरोलाई पनि मलेखु नै भनिँदो रहेछ।
एक जोडी दम्पतीको छेउमा उभिन पुगेँ म। दुवैले नमस्ते गरे मलाई।
'नचिनीकनै नमस्ते फर्काउनुपर्यो ,' मैले अप्ठ्यारो मान्दै भनेँ।
'हामी हजुरलाई चिन्छौं। म हजुरको पाठक हुँ,' भाइले भने।
मन न हो। चाँडै खुसी हुन्छ।
'टिभीमा देखेर हामी हजुरलाई चिन्छौं। हजुरले हामीलाई देख्ने कुरो भएन,' बैनीले प्रस्ट पारिन्।
धेरैले खाना लिएको देखेर पनि मलाई भोक लागेन। किनभने बिहान साढे सात बजे म राम्रो खाजा खाएर घरबाट निस्किएको थिएँ।
'दाइ, हजुरलाई मैले बिहानै चिनेको रहेछु, तर ढुक्क थिइनँ। अहिले ढुक्क भएँ,' पच्चीसे उमेरका ती भाइको कुरो सुनेर म छक्क परेँ।
'किन? कसरी? अहिले किन भनेको?' बग्रेल्ती प्रश्नहरू मैले पोखेँ।
'तपाईंलाई मैले बिहानै चिनेको रहेछु। तर तपाईंजस्ता मान्छेहरू बसमा यात्रा गर्छन् भनेर मैले कल्पनासम्म गर्न सकेको थिइन। अहिले पक्का भएर मैले तपाईंलाई भनेको।'
'हामीजस्तो मान्छे बसबाट यात्रा गर्दैनन् भनेर कसले सिकायो तिमीलाई?'
'कसैले सिकाउनै पर्दैन। यो हामीले जानेकै कुरा हो। मन्त्री र ठूला नेता भइसकेका मानिसहरू कि त हवाईजहाजमा उड्छन् कि राम्रा र महँगा जिपमा गुड्छन्। फेरि तपाईंसँग त 'पिएसओ' (निजी सुरक्षा अधिकृत) पनि छैन।'
उसको वाक्पटुता र चातुर्य देखेर मलाई रमाइलो लाग्यो।
ए संघीय गणतन्त्र, तँसँग कुनै विचार बाँकी छ भने यस्ता युवाहरूले भनिदे— घुम्ने कुर्चीमा बस्तैमा कोही ठूलो हुँदैन। कुर्ची सान होइन, जनताको सेवक हो। कर खानेहरू ठूला होइनन्। कर तिर्नेहरू ठूला हुन्। 'पिएसओ' मालिकको सेवा गर्ने दास होइन, त्यो पनि हो जनताको सेवक।
सुन्दर छ हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र। यस्तो गणतन्त्र जहाँ गण दास भएको छ अनि गणनायकहरू मालिक भएका छन्।
प्रकाशित: २५ पुस २०७२ ००:०३ शनिबार





