पुस १२ गते सो गहना पसलबाट सुनका विभिन्न गहना गरी दुई किलो सुन चोरी भएको भएको थियो। सो घटनाको अनुसन्धानका क्रममा गोंगबुमा शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा महाशाखाको टोलीले स्थानीय प्रहरी युनिटको सहयोग लिँदै बुधबार बेलुका गोंगबु क्षेत्र पुगेको थियो।
गोगंबु नयाँ बसपार्कमा रिद्धिसिद्धि मार्बलअगाडि प्रहरीले घटनाको अनुसन्धानका क्रममा म्याग्दी रुमका दिलबहादुर, नुवाकोट महाकालीका उमेश तामाङ र गोरखा धावाका सन्तोषलाई नियन्त्रणमा लिई प्रहरी कार्यालय ल्याउनेक्रममा केही व्यक्तिले प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई भगाउने मनसायले १०–१२ जनाको टोलीले प्रहरीमाथि आक्रमण सुरु गरेपछि प्रहरीले गोली चलाउँदा गोरखा धावाका अमृतको मलद्वारछेउमा गोली लागेको थियो। महाशाखाका अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि बिहीबार नै डिस्चार्ज भएका थिए। प्रहरीले पक्राउपछि उनीहरुको कोठाको तलासी लिँदा करिब १ किलो सुन फेला परेको एसपी थापाले बताए।
पक्राउ परेकाहरुको पृष्ठभूमि छानबिन गर्दा उनीहरु चोरी घटनाका पटके रहेको खुलेको थापाले जानकारी दिए। प्रमुख सहरका गहनाका पसल र घरमा चोरी गर्न यो समूह सक्रिय रहेको उनले बताए।
'उनीहरु राति र दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी पसलको सटर फोडी, चाबी मिलाई, नगद र सुनचाँदीका गरगहना, ल्यापटपको चोरी गर्ने समूहका सदस्य हुन्,' एसपी थापाले भने।
महाशाखाका अनुसार दिलबहादुर यसअगाडि २०६९ मा म्याग्दी दरबाङमा गोविन्द थापाको घरमा चोरी गरेको घटनामा पक्राउ परी ३ वर्ष जेल भुक्तान गरिसकेका व्यक्ति हुन् भने उमेश २०७१ मा म्याग्दीको बेनी महोत्सवमा भएको लुटपाटको घटनामा पक्राउ परी सार्वजनिक अपराधमा ५१ हजार रुपैयाँ धरौटी बुझाइ छुटेका थिए।
प्रकाशित: २३ पुस २०७२ २२:११ बिहीबार





