४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

दुगड ग्रुपका कर्मचारी थुनामा

काठमाडौं- खाने तेलमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुगड गु्रपका कर्मचारी प्रमोद अधिकारी र अमन जैनलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। खाने तेल महँगो मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका अधिकारी र जैनलाई जिल्ला अदालत काठमाडौंले आइतबार थुनामा पठाउने आदेश दिएको हो। अदालतले दुगड गु्रपका सञ्चालकलाई पनि पक्राउ गर्न आदेश दिएको छ।

न्यायाधीश दीपेन्› अधिकारीको एकल इजलासले बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। खाने तेलको अस्वाभाविक मूल्य बढाएको र तेल बजारमा नपठाई ९ करोड ९६ लाख १३ हजार ठगी गरेको आरोपमा सरकारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रहरीले मंसिर १७ गते जडीबुटी डिपोमा छापा मार्दा तेल अधिक भण्डारण गरेको फेला पारेको थियो। बरामद खाने तेल सरकारमातहतका निकाय साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङबाट बिक्री गर्ने व्यवस्था गर्नसमेत अदालतले आदेश दिएको छ। अदालतको आदेशसँगै दुगड गु्रपका सञ्चालकलाई जसरी भए पनि पक्राउ गर्ने प्रहरीले बताएको छ।

प्रकाशित: २० पुस २०७२ २१:२७ सोमबार