यौन, विसंगति, कुण्ठा वा शृंगार
निराशा, आसा वा विद्रोह
कर्पोरेट घराना, बहुराष्ट्रिय कम्पनी वा
निर्वस्त्र साम्राज्यवाद
कुख्यात डाँकु, राजनीतिक अपराधी वा
अर्धनग्न सुन्दरी
उद्योगपति, व्यापारी वा मजदुर
जमिनदार, किसान वा भूमिहीन
दलित, जनजाति वा मधेसी
बाराक ओवामा, पुटिन वा सि जिनपिङ
पूर्व राजा ज्ञानेन्द्र वा नरेन्द्र मोदी
कुन विषय रोज्ने उसका निम्ति?
चाक्षुस वा नाद
स्पार्शिक वा घ्राणिक
रासनिक वा आंगिक
विचारप्रधान वा प्राकृतिक
कुन विम्बले सजाउने उसको तस्बिर?
परम्परित वा वैयक्तिक
सरल वा बौद्धिक
ध्वनि निर्भर वा दृष्टि निर्भर
देशगत वा युगगत
कुन प्रतीकको सुन्दर आसन
तयार गर्ने उसका निम्ति?
कुन शैली र
कस्ता शब्दहरूको
आवासमा राख्ने उसलाई?
जीवनको कुन तस्बिर
जीवनको कुन लय
जीवनको कुन अनुराग
जीवनको कुन सुगन्ध
र जीवनको कुन गन्तव्य
अंकन गर्ने उसको हृदयमा?
स्वतन्त्र छु म
यी सबै गर्न
विल्कुल स्वतन्त्र
विधायक हुँ म
आफ्नो कविताको
स्वतन्त्र छु म
उसको हृदयमा पस्न र निस्कन
ऊसँग रमाउन र रिसाउन
उसका दुःखहरूमा पग्लन
र खुसीहरूमा हाँस्न
सिमाना पारिबाट यस्तो लेख र नलेख भनेर
आदेश दिने तिमी को हौ?
आफ्नो कविताको
आदि र अन्त मै हुँ
स्वतन्त्र छु म
उसको जीवनमा
आफू खुसी रङहरू भर्न।
प्रकाशित: २५ मंसिर २०७२ २२:४० शुक्रबार





