४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

आपसी विवादमा गोली चल्दा नेपाल बैंकका गार्डको मृत्यु

महोत्तरी- गौशाला-७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत गार्डहरुबीच भएको विवादमा गोली चल्दा एक गार्डको मृत्यु भएको छ। बैंकमा कार्यरत गार्ड सुन्दरपुर-९ का महेश्वर झा र सर्लाही सुदामा-६ घर भएका अजय सिंहबीच विवाद हुँदा गोली चल्दा झाको गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर मच्छिन्द्र बाबु रेग्मीले बताएका छन्।शनिबार राति ८ बजेको समयमा बैंकमा गोली पडकेको आवाज आएपछि स्थानीयले बैंकका शाखा प्रबन्धकलाई खबर गरेका थिए।

प्रबन्धक विन्देश्वरप्रसाद यादवले प्रहरीसहित घटनास्थल पुगेर बाहिरबाट बन्द रहेको बैंकको मूलगेटको ताला फुटाई हेर्दा गार्ड झालाई गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेको थियो।

घटनास्थलबाट एक थान खोका र दुवै गार्डले प्रयोग गर्ने हतियार बरामद भएपनि अर्का गार्ड सिंह फरार रहेकाले उनले नै गोली प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलको प्रकृति हेर्दा दुवै गार्डबीच विवाद भएको र आवेशमा आएर सिंहले झामाथि गोली प्रहार गरी फरार भएको देखिएको छ। इन्सपेक्टर रेग्मीले घटनावारे थप अनुसन्धान भइरहेको बताए। घटनालगतै फरार भएका गार्ड सिंहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ।

प्रकाशित: ३० श्रावण २०७२ २०:१२ शनिबार