७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

फेल्पसको कीर्तिमानी प्रदर्शन

सान एन्टोनियो- माइकल फेल्पसले पोखरीमा उत्कृष्ट पुनरागमन जनाउने क्रममा आइतबार सान एन्टोनियोमा २ सय मिटर मिड्लेमा यो वर्षको विश्वकै कीर्तिमानी प्रदर्शन गर्दै युएस च्याम्पियनसिपको स्वर्ण पदक जितेका छन्।ओलम्पिक खेलकुद इतिहासमै सबैभन्दा सफल खेलाडी १ सय ५० मिटरसम्म विश्व कीर्तिमानभन्दा धेरै अगाडि थिए। तर अन्तिम ५० मिटर फ्रिस्टाइलमा गति हल्का कम हुँदा उनी त्यसबाट भने चुके। उनले १ मिनेट ५४.७५ सेकेन्डमा निर्धारित दूरी तय गरेका थिए। जुन अमेरिकी पौडीवाज रायन लोच्टेले रुसमा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दाभन्दा राम्रो प्रदर्शन हो। लोच्टेले रुसमा १ मिनेट ५५.८१ सेकेन्टमा निर्धारित दूरी तय गरेका थिए। यो विधामा १ मिनेट ५४.०० सेकेन्डको विश्व कीर्तिमान २०११ देखि लोच्टेको नाममा छ।

'पछिल्लो केही समय म यो खेलबाट टाढिएको थिएँ। अहिले मलाई आफू पहिला हुने गरेको ठाउँमा फर्किएजस्तो लागेको छ। पोखरीमा फेरि फर्किनुको आनन्द मेरा लागि सबैभन्दा विशेष छ,' ३० वर्षे फेल्पसले भने, 'प्रतिस्पर्धामा फर्किंदा प्रदर्शन पनि राम्रो भयो भने त्यसको खुसी अझ दोब्बर हुन्छ।'

उत्कृष्ट टाइमिङसाथ शुक्रबार र शनिबार २ सय र १ सय मिटर बटरफ्लाइको उपाधि जितेर फेल्पसले आफू पुरानै उच्च फर्म नजिक पुगेको प्रमाणित गरिसकेका छन्। आइतबारको अर्को सनसनीपूर्ण प्रदर्शनपछि उनले अर्को वर्ष ब्राजिलको रियोमा हुने ओलम्पिकमा स्वर्ण पदक थप्ने संकेत गरेका छन्। उनको नाममा कीर्तिमानी १८ ओलम्पिक स्वर्ण पदक छ।

प्रकाशित: २५ श्रावण २०७२ २१:२९ सोमबार