'आधुनिकतालाई आत्मसात गर्दा परम्परा बिर्सन हुँदैन भन्ने हाम्रो मान्यता हो,' ३४ वर्षीय कृष्णसदन अवालले भने, 'हाम्रा पुर्खाले सिर्जेको संस्कृति जोगाउने जिम्मेवारी यति बेला हाम्रो काँधमा आएको छ।' टोलका दर्जनौं युवाले आफ्ना अग्रजबाट भजन सिक्न थालेको उनी सुनाउँछन्।
'संस्कृति जोगाउने अभियानको सुरुवात हो,' उनले भने, 'हामीले यसलाई अगाडि नबढाए आउने पिँढीले बिर्सनेछ।' भजन संरक्षणकै लागि अघिल्लो शनिबार भक्तपुरको वंशगोपालस्थित द्योःछेँ (देवताको घर) मा भजन सम्मलेनको आयोजनासमेत गरियो। 'भजौं गीत–गोविन्द, रहांै सदा आनन्द' भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा स्थानीयको बाक्लो सहभागिता देखिन्थ्यो।
हराउँदै गएका भजन अग्रजबाट एकै थलोमा बसेर सुन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउँछन्, ढल्चा भजन सम्मेलनका संयोजक लोमसलाल सिलाकार। करिब चार दर्जन भजन समूहका सदस्यको उत्साहवर्द्धन सहभागिता थियो। बिहानदेखि चलेको भजन सुन्न लागेको सर्वसाधरणको भिडले भजनको महत्ता दर्शाइरहेको देखिन्थ्यो।
पछिल्लो समय भजनप्रति स्थानियको रुचि कम हुँदै गएको उनले स्वीकारे। संरक्षणको अभावमा यहाँ रहेका भजन समूह र तिनमा रहेका बाजागाजा बिँग्रदै गएका छन्। कतिपय भजन समूहको आर्थिक स्रोत कम छ भने भएकाको पनि भजन गाउने कला अर्को पुस्तालाई हस्तान्तरण नगर्दा बन्द हुने अवस्थामा पुगेका छन्।
'भजन हुने समयमा टेलिभिजनमा विभिन्न सिरियल र नाटक आउन थाले,' सिलाकार तुलना गर्छन्, 'महिला तथा केटाकेटी भजन पाटीमा भन्दा टिभीमा झुम्मिन थालेका छन्।' टेलिभिजनबाट प्रसारित विभिन्न खाले कार्यक्रमले भन्दा टोलटोलमा गाइने भजनले मानसिक शान्ति दिलाउने विश्वास गर्छन्, उनी। 'दिनभरको थकान साँझमा भजन गाएपछि हराउँछ,' उनले अनुभव सुनाए, 'अहिले भजनको माहोल पहिलेजस्तो त छैन तर पनि हामी जुर्मुराइरहेका छौं।'
भक्तपुरस्थित कला संस्कृति भजन महागुठीका सरजु प्रधानाङ्ग केही वर्षअघिसम्म ढल्चा, दाफा, र राश गरी करिब २ सय ५० जना रहेको भजन समूहको संख्या घट्दै गएको अनुमान गर्छन्। 'बिस्तारै यस्ता समूह हराउँदै गएका छन्,' उनले भने, 'त्यसैले हामी समग्र भजनको संरक्षणमा जुटेका छौं।'
भजनप्रति युवाको रस घटेकाले उनी चिन्तित छन्। 'बूढापकासँगै भजन पनि हराऊला जस्तो छ,' उनले भने, 'नयाँ पुस्ताले यसलाई चासो दिएर आफ्नो कला–संस्कृतिलाई बचाउैपर्छ।' भजनमण्डलीकै लागि भनेर पहिले गुठीसमेत राख्ने चलन थियो। अहिले त्यस्ता गुठी निकै कम छन्।
भक्तपुरका पाटीमा ऋतुअनुसार भजन गाइने गरिन्छ। कहिले वसन्त राग, कहिले मालश्री, कहिले असारे भाका त कहिले घाँटु राग।
'वसन्तैया वेलस राधाओ मेलवन, बृन्दावन वाजान यागंनाव,' कृष्ण र राधाले बृन्दावनमा नृत्य गर्दै गरेको वसन्त रागको भजन हो यो। 'भजनले मानिसको मनमा उमंग प्रदान गर्छ,' ४६ वर्षीय श्यामकृष्ण बैद्य सुनाउँछन्, 'थकित मनलाई ऊर्जा दिनुका साथै मन हल्का बनाउँछ भजनले।'
संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरमा नौबाजा, दाफा, ढल्का, राग र हरिभजन गरी पाँच प्रकारका भजन चल्तीमा छन्। 'पुराना भजन मासिँदै छन्, नियमितजसो गाइने कतिपय भजन चाडपर्व र जात्रामा सीमित हुन थाले,' उनको चिन्ता छ।
मैथिली प्रभाव
भक्तपुरमा गाइने भजनमा नेवारी, संस्कृति र हिन्दीसँगै मिथालाको समेत प्रशस्त प्रभाव देखिन्छ। गाउने–बजाउनेले भजनको अर्थ नबुझे पनि परम्परादेखि नै यस्ता भजन गुन्जँदै आएका छन्। संस्कृत कवि जयदेव र मैथिली कवि विद्यापतिका भजनहरू उपत्यकामा पनि गाइने गरिएको संस्कृतविदहरू बताउँछन्।
'भक्तपुरका राजा जगत्ज्योति मल्ल (नेसं. ७२३–७५९) ले आफ्नो दरबारमा मिथिलाबाट विद्वान झिकाउने गर्थे,' संस्कृतिविद् धौभडेल भन्छन्, 'त्यही बेलादेखि मिथिला भजनले पनि यहाँ निरन्तरता पाइरहेका हुन्।'
प्रकाशित: २० चैत्र २०७१ २१:५४ शुक्रबार

