९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्य

कोलकाता कोलाज

जीवनमा कोलकाता पुग्नु संयोग थियो मेरा लागि। भारतका कुनै सहरको नामै नसुन्दा मैले कोलकाताको नाम सुनेको थिएँ। मेरा कान्छा काका विकासको अनुहार नदेखेको काभ्रेको एउटा गाउँबाट ‘फ्रस्टेटेड' भएर कोलकाताका गल्लीहरूमा लामो समय भट्किएका थिए। मेरा बाले उनलाई त्यहाँका गल्लीबाट उतारेर यतै फर्काएका थिए। तर, काभ्रेको मझौला आकारको चिसो सहरमा उनको मन अडिएन र काका फेरि उतै भासिए। कुनै मोहमा फसेर हो वा कुनै विरक्तको गर्तमा डुबेर, उनी कहिल्यै फर्केनन्।पहिलोपटक उनैबाट सुनेको थिएँ, त्यहाँका हजारौं मानव बस्ने अँध्यारा गल्लीका कथाहरू। कोलकाताबाट मेरा काका जम्मा एकपटक मात्रै फर्केर आए। दुई दशक भइसक्यो। अहिले पनि बारम्बार उनका चम्किला आँखा सपनामा देख्छु। तिनै आँखा पर्याप्त छन् मलाई उनी सम्भि्कन।
धेरै वर्षअघि सुनेको कोलकाता सहरमा मेरा पहिलो पाइला पर्ने दिन नजिकएपछि एक साँझ बाले थमाएका थिए, काकाको निकै पुरानो पासपोर्ट साइजको फोटो। बाले भनेअनुसार, दुई दशकअघि उनले काम गर्ने गल्लीको नाम थियो– तपोसिया रोड। कम्पनीको नाम थियो– लेदर इम्पेक्स।
काठमाडौंबाट कोलकाताका लागि हिँड्नुअगावै मैले पर्सको चेपमा काकाको फोटो घुसारेको थिएँ। सितामढीबाट रेल चढेपछि रेलभित्र मान्छेहरूको भिड देखेर मलाई आतेस लागेको थियो– यतिका धेरै मान्छे घोप्टिने सहरमा मैले कसरी खोज्नु काकालाई?
त्यसो त हामी उडिसाको राउरकेलामा चलिरहेको नाटक महोत्सवमा भाग लिन जाँदै थियौं। उडिसा जानुअघि एक दिनको ट्रान्जिट र उडिसाबाट फर्किएपछि दुई दिन कोलकातामै बस्नुपर्ने तालिका बनेको थियो।
मस्तसित गुडिरहेको कोलकाता एक्सप्रेसमा अरू साथी तास खेलिरहेका हुन्थे। म काकाको मलिन अनुहार सम्झँदै रेलको दुर्गन्धित शौचालयभित्र पसेर चुरोटको धुँवाको मुस्लोभित्र हराइरहेको हुन्थेँ। पानीको दाग र भैयाले थुकेको पान–मिश्रित थुक लतपतिएको पुरानो ऐनामा म झुस्स दाह्री पालेको सिकारु जोगीझैं देखिएको थिएँ। ऐना हेर्दै चुरोटको तरंगीत धुँवामाझ काकाको धुमिल अनुहार सम्भि्करहेको थिएँ। अपितु रेलभित्र चुरोट पिउनु कानुनविपरीत हो। चुरोटको तलतल मेटाउने यो आइडिया कुमार नगरकोटीको थियो। चुरोटको महान् अम्मली उनी छिनछिनमै शौचालय छिरिरहेका हुन्थे। भारतको कानुनमा उनी र म अपराध–कर्म गरिरहेका थियौं। रेलको टिकट–म्यानले चाल पाएको भए, हामी चर्को जरिवाना वा कारबाहीमा पर्ने थियौं। गुडिरहेको रेलमा बन्द शौचालयभित्र चुरोट पिउनु मेरो रेलभित्रको आकर्षक रोजगार बनेको थियो। त्यस रोजगारमा थपिएको हो, काका–सम्झना।  
बिहान चार बजे रेलले अन्तिमपटक ब्रेक हानेपछि कोलकाता पुगियो। कोलकाता उत्रिएपछि काकाको अनुहार आँखामा नाच्न थाल्यो। म स्मृतिको गर्तमा पो भासिएँ।
०००
म जन्डिस र ज्वरोले थलिएर बनेपाको शिर मेमोरियल अस्पताल भर्ना भएको थिएँ। अस्पतालमा बिरामी कुर्नेले पनि आफूलाई बिरामी भएको अनुभूत गर्छ होला। मलाई राति कुर्नेमा सधैं काका हुन्थे।
‘निद्रा लागेन?' बेलाबेला सोध्थे, ‘चुप लागेर केही नसोची सुत्।'
सानोमा मलाई हनहनी ज्वरो आउँदा हरियो ब्लाङ्केटमा बेरेर अस्पताल दौडाउने काका नै हुन्। रेलवे स्टेसनको चिसो बिहान लामो समय काका–स्मरण गरिबसेँ।
घर छोड्नुअघि काका टाइफाइडले नराम्ररी थलिएका थिए। उनलाई अन्तिपटक देख्दा मेरो उमेर त्यस्तै १० वर्षको थियो। खरानी रङको ज्याकेट, हातमा बाला, कानमा मुन्द्रा, राता आँखा, थकित शरीर थियो चुरोटका घुमिरहने धुवाँमाझ। स्मृतिका यत्ति टुक्रा काफी थियो मैले काकालाई सम्झन। टाइफाइडबाट तंग्रिएको केही सातापछि एकाबिहानै उनका नराम्रा अक्षरले लेखिएको कागज हात पर्योक– ‘यहाँ म टिक्न सकिनँ। यो माटो मलाई फाप्दैन रहेछ। म फेरि कलकत्ता जाँदै छु। सायद फर्किन्न पनि होला। मलाई खोज्ने प्रयास नगर्नु।'
०००
‘मलाई खोज्ने प्रयास नगर्नु,' काकाले लेखेको यो अन्तिम वाक्यको सम्झनाले मैले रेल स्टेसनमा पिइरहेको कफी निकै तितो लागेको थियो। ‘अब यति ठूलो सहरमा काका खोज्नु सम्भव होला?' सहयात्री मणि काफ्ले मेरो प्रश्नले केही बेर घोरियो, र भन्यो, ‘हेरौं, जाऔंला नि तिम्रो काका बस्ने ठेगानामा। भेटिन पनि सक्छन्।' सायद ऊ मलाई निराश बनाउन चाहँदैन। तर, म त नखोजी नै निराश भएको थिएँ। किनभने, दुई दशकअघि काम गर्ने ठाउँमै काका अहिले पनि हात बजार्दै होलान् भन्ने सम्भावना कम थियो। यति ठूलो, बाक्लो जनसंख्या भएको ठाउँमा बाहिरिया मान्छेले छोटो समयमै गल्ली चहार्दैमा काका भेटिनु सजिलो पक्कै थिएन। काकाको अनुहार मनमा बोकेर पुरानो सभ्यता बोकेको कोलकाताका बाटो, चौबाटो चाहर्न म अभिशप्त थिएँ।
०००
डोमिनिक लापिएरको किताब ‘द सिटी अफ जोय'को हिन्दी संस्करण ‘आनन्द नगर' भर्खरै पढेको थिएँ, विष्णुकुमार पौडेलको लाइब्रेरीबाट चोरेर। एउटा रक्सीमय रात विष्णुको घर पुगेर भमिट गरेको बेला बुकसेफबाट सटुक्क झोलामा हालेको त्यस किताबले कोलकाता र त्यहाँका दिउसै सूर्य अस्ताउने अँध्यारा गल्लीमा खाली खुट्टा रिक्सा तान्ने ‘हजारीपाल'को कथा भन्छ। रिक्सामा बसेको कुनै धनी मानिसलाई तानेर खाली खुट्टै दौडाउनु हजारीपालको कर्म हो। ‘आनन्द नगर' ती पुरुष, महिला र बच्चाको कथा हो, जसको जीवनमा आइलागेको विपरीत परिस्थितिले उनीहरूको घरबार उखेलिन्छ। मानिस विश्वासै गर्न नसकिने परिस्थितिमा पनि कसरी बाँच्छन् भन्ने कथा भन्छ ‘आनन्द नगर'। लापिएर भन्छन्, ‘यस नगरमा मान्छेहरू गुमनाम रहन रुचाउँछन्।' लापिएरले भनेझैं मेरा काका पनि यस ‘आनन्द नगर'मा तिनै गुमनामहरूको सूचीमा कतै च्यापिएर बसेका होलान्।
सहरको भित्तामा आड लागेर पश्चिम बंगालको यस नगरीलाई जीवित राख्ने मानिसहरूको दुःख अंग्रेजहरूको शासन सकिए पनि उस्तै छ। कोलकाताका सडकमा पानीपुरी खाँदै उभिइरहेका मोटी ‘क्वीन भिक्टोरिया'हरूलाई खाली खुट्टा रिक्सामा तान्ने हजारीपालहरूको आँखामा तिनीहरूप्रति चरम घृणा र व्यापक आवेग देखिन्छ। पढ्न सक्नेले थाहा पाऊला, ती हजारीपालका आँखामा राँको छ।
महावाणिज्यदूत चन्द्र घिमिरेलाई भेट्न जानुपहिले कुमार नगरकोटी, घिमिरे युवराज, गुरुङ सुशान्त, मणि काफ्लेहरूको अघि मेरो ‘हजारीपाल' दुई पाखुराले खाली खुट्टै रिक्सा तान्दै आइपुग्यो। रिक्सा देखेपछि लाग्यो, किताबभित्रको ‘हजारीपाल' किताबबाहिर फुत्त निस्कएर हाम्राअघि उभिएको छ। लापिएरले लेखेकोे ‘हजारीपाल'को हुलिया मस्तिष्कमा आउँछ, ‘देख्नमा त ऊ मुगल योद्धाजस्तो लाग्थ्यो। बाक्लो घुंग्रिएको कपाल, तलतिर फर्किएको शानदार जुंगा, बलिष्ठ छाती, बट्टारिएको तिघ्रा...। तर, पनि ‘हजारीपाल' मात्र किसान हो, भारतका लगभग पचास करोड मान्छेमा एक, जो आफ्नो रोजीरोटीको लागि धरती–माताप्रति निर्भर छ।' उही किसान पछि समय आफूविपरीत बनेपछि रिक्सामा मान्छे तान्दै पसिनाको धारा बगाउँदै ताता सडकमा दौडिन अभिशप्त हुन्छ। हाम्राअघि उभिएको यो ‘हजारीपाल'को रोजीरोटी धरती–मातामाथि बेतोडले दौडिँदै मान्छे तानेरै जुट्छ। मैले मणिलाई उसले काँधमा झुन्ड्याइरहेको क्यामेरामा इसारा गर्दै फोटो खिच्न भनँे। उसले लेन्स तेर्स्याउँदा ‘हजारीपाल' कुनै मोटी आइमाईलाई रिक्सामा तान्दै बेतोडले दौडियो। पश्चिम बंगालमा मान्छेप्रतिको चरम शोषण अझै जिउँदै रहेको प्रमाण हो– ‘हजारीपाल।'
सरकार यस्ता रिक्सालाई बन्द गर्न सक्दैन कि विवशताले यिनलाई बाँधेको छ? मानिसलाई तानेर सडकमा दौडनु...। उफ...! पशुवत् जीवन बाँच्नुपर्ने कस्तो बाध्यता? रिक्सा तानेर शान्त पानुपर्ने पेटको आगो त्यसै कहाँ शान्त होला?
०००
पुस ३ गतेको बेहद ठन्डी र कुहिरोमा हराएको काठमान्डुबाट हामी निस्किएका थियौं। हामी अर्थात् शिल्पी थिएटरका कलाकार समूह, लेखकहरू कुमार नगरकोटी, घिमिरे युवराज, मणि काफ्ले, गुरुङ सुशान्त र म। राति आठ बजे हामीले काठमान्डु छोड्यौं। रातभरिको चिसो यस्तो थियो, लाग्थ्यो– हामी फ्रिज हुँदै छौं, चिसोसँग युद्ध लड्दै छौं। हाम्रो शरीरमा भएका बाक्ला ज्याकेट पनि चिसोसँगको लडाइँबाट पराजित भइरहेका थिए। सबै टोपी, मफ्लरले मुख छोपिरहेका बेला कुमार नगरकोटीचाहिँ मुडुलै टाउको भररात उँघिरहे। ‘टोपी लाउनु न यार, यस्तो चिसोमा...' भन्ने मेरो आग्रहलाई पन्छाउँदै उनी भनिरहेका हुन्थे, ‘म हट ब्लडेड एनमिल हुँ। अरूले मुख छोपेर आँखा मात्र देखिनेगरी मफ्लर, टोपी लगाएको देख्दा मलाई इरिटेसन हुन्छ। त्यसैले यस्तो आग्रह फेरि नगर्नुस्।' यस्तो जवाफबाट समूहका सबै ट्वाँ पर्थे।
‘यस्तो चिसोमा किन यात्रा गर्नुपरेको होला?' घरबाट हिँड्ने बेला श्रीमतिले भनेकी थिइन्। यस्तो बेला श्रीमतिको कुरा ठिकै हो कि भन्ने लाग्न थाल्यो।
‘यस्तो चिसोमा म किन यात्रामा हिँडेको?' अरू महिलाजस्तै मेरी श्रीमती पनि श्रीमान्लाई अलिकति इमानदार, अलिकति बेवकुफ ठान्छिन् होला भन्ने मलाई लाग्छ।
खासमा उनले सोचेजस्तो म बेवकुफ पो थिएँ कि?
०००
कोलकाता पुग्नु, गंगासागरको दर्शन नगर्नु, यस्तो हुनै सक्दैन। हिन्दु धर्मअनुसार चार धामको यात्रापछि पनि ‘गंगासागर' पुग्नु अनिवार्य हुन्छ। भन्छन् नि, ‘अरू तीर्थ पटक–पटक, गंगासागर एकपटक।' गंगासागर भव्य छ। बिहानैदेखि यहाँ मानिसहरू टाढा–टाढासम्म केही हेरिबसेका हुन्छन्। किनारमा बिहान वा साँझ देखिएको घाम हेर्न आएका मानिसको हुल हुँदो रहेछ। साँझको गंगासागर निकै मनमोहक देखिन्छ। कोलकाताका अग्लाअग्ला भव्य घरबाट आएको बिजुलीको प्रकाश गंगासागरमा ठोक्किँदा बडो मनमोहक देखिन्छ। पानीमाथि तैरिरहेको चर्का बत्तीले सागरलाई साँच्चै आकर्षक बनाएको छ।
किनारमा एक जोडी मस्त छन्, एक–अर्कामा पग्लिँदै। युवक चुरोटको बाक्लो धुवाँ उडाउँदै छ। युवती युवकको छातीमा पूरै समाहित छे। उनीहरूको साइडमा माटोको पालामा दूध हालेको चिया छ। गंगासागरतिरबाट हुत्तिएर आएको चिसो हावाले जोडीको गालामा एक चुम्बन दिएर जान्छ।  
सागरमा सानातिना जहाजहरू ओहोरदोहोर गरिरहन्छन्। यसले गंगासागरलाई अति व्यस्त देखाउँछ। गंगा चौडा देखिन्छ, त्यसैले यो समुद्रजस्तै लाग्छ। फरक पानीको हो, यहाँको पानी मिठो हुन्छ, समुद्रको नुनिलो।
साँझ ढल्किसकेको छ। म अँध्यारोमा सागरतिर आइरहेको कोही मानिस मेरा काका भइदिए हुन्थ्यो भनी कल्पनामा डुबिरहेँ। सागरको किनारमा बसेर गोल्ड फ्लेक चुरोटको धुवाँ फालिरहेका कुमार नगरकोटी उद्धिग्न देखिएका छन्। उनको अनुहारमा अवसाद पौडिरहेझैं लाग्छ। रवीन्द्रनाथ टैगोरको यस सहरमा पदार्पण गरेपछि सायद उनको फिक्सन–खप्परमा आएका टैगोरले नगरकोटीसँग ‘खुक्स' मागिरहेका होलान्। आफ्नो गर्भमा हुर्किरहेको उपन्यासले उनलाई बेचैन बनाइरहेको छ।
खासमा लामो समय सडक नाप्नुपरेपछि थकित छु म। र, यहाँ सागरको किनारमा आएर पर्खालमा अडेसिएर आकाशतिर निकोटिनका धुवाँ फाल्दै छु। म पनि आफूलाई भावुक किसिमको मान्छे सोच्छु। अलिकति लोभी पनि। स–साना कुराले पनि मलाई ‘तनाव' दिन्छन्। बाटोमा बेतोड कुदिरहेको बस वा बगिरहेको नदीदेखि निकै डर लाग्छ। अहिले डर थपिएको छ, श्रीमतीको। गंगाकिनारमा बसिरहँदा मलाई के केमा ‘डर' लाग्छ भन्ने कुरा सम्भि्कएर डराइरहेँ।
यहाँ ठूलाठूला आवाजमा भजनकीर्तन भइरहेका छन्। विभिन्न धार्मिक संगठनका ब्यानर सडकमा टाँगिएका छन्। लामो दाह्री पालेका, श्वेत चन्दनको टीका लगाएका हिन्दुहरूको निकै लामो जुलुस हामी कोलकाता पुगेकै दिन निस्किएको थियो। भारत आश्चर्यजनक रूपमा धार्मिक भएको रहेछ। धार्मिक जुलुस, पर्व, कार्यक्रममा विशाल भिडविना कुनै निमन्त्रणा जम्मा हुने रहेछ, नेपालको जस्तै। हिन्दु स्वयंसेवक संस्थाहरू, धर्मशालाहरू, धर्मभीरुहरू कालीघाट, गंगासागर छेउछाउ र कोलकाताका गल्लीहरूमा प्रशस्तै भेटिन्छन्। अनेक चिज भेटिन्छन् यो सहरमा, केवल मेरो काकाबाहेक।
रातको कोलकाता निकै व्यस्त हुँदो रहेछ। नेपालका जस्तै सडकपेटीमा थापिएका पसल–कबलहरूमा लाग्ने सस्ता कपडा किन्ने मान्छेको भिड र त्यो पेटी भएर हिँड्नेहरूको बाक्लो ताँती छ। राति हामी पनि भिड पन्छाउँदै हिँडिरहेका छौं। ठूलो डर हुँदो रहेछ भिडमा हराइने। कतै काकाजस्तै म पनि यो सहरमा हराएँ भने! मेरो मनमा यस्तो विकार पनि आयो। मैले मेरी कलिली छोरीको फूलजस्तो अनुहार सम्भि्कएँ, पत्नीको मायालु आँखा सम्भि्कएँ। अनि मनमनै भनेँ, ‘धत्, यस्तो कुरा पनि सोच्ने हो।'
काका खोज्ने आगो मस्तिष्कमा उस्तै छ। तर, मानिसहरूको यत्रो भिड सम्झँदा पनि मेरो आङ सिरिङ्ङ भयो। कसरी पत्ता लाउनु? तपोसिया रोड भन्ने कोलकाताको आदिम गल्ली पुग्दा सडक अँध्यारो भइसकेको थियो। दुई दशकअघि उनले काम गर्ने गरेको ‘लेदर इम्पेक्स'को कारखाना खोज्नै हम्मेहम्मे पर्योत। नाम, हुलिया बताउँदा पनि कारखानाका कामदारहरूले केही भन्न सकेनन्। सायद हुलिया पनि उमेरसँगै बूढो भइसकेको हुनुपर्छ। म पहिल्यै निराश भइसकेको थिएँ। अहिले झन् निराश बनायो। यहाँको विशाल कोलाहल र भिडभाडमा काका भेटिँदैनन् भन्नेमा म विश्वस्त भएँ। ‘अब म सक्दिनँ' भन्ने भाव मनमा कडा भएर आयो। काकाका आँखाको सम्झनाले मलाई झन् भावुक बनायो।
अब हामी बासको खोजीमा छौं, कोलकाताको भिडभाडले निकै थकित। गंगाकिनार छेउको मन्दिरमा गएर बासको कुरा गछर्ौं। त्यस रात हामीले कोलकातामा एउटा सफा, सुग्घर धर्मशाला फेला पार्यौंई।
एउटै भुँइमा लहरै सुत्छौं हामी। एक–अर्काको घुराइसँग उडिसामा पनि अभ्यस्त भइएकै हो। सुत्ने बेला फेरि काकाको आँखाले पछ्याइरहन्छ।
०००
तेस्रो मुलुकसँग व्यापार गर्न भारतले स्वीकृति दिएको एउटा मुख्य बन्दरगाहमध्ये एक हो– कोलकाता। मेरो काकाजस्तै थुप्रै नेपालीको मन यस औपनिवेशिककालीन कोलकातामै अडिएको छ। भनौं, कोलकाताले मेरो काकाझैं हजारौं नेपालीलाई निलेको छ– गाँसबासको प्रबन्ध गरिदिने नाममा। कोलकाताका चौडा सडकमा ठडिएका बडेबडे होर्डिङ बोर्ड, मान्छेहरूको बेपर्वाह हिँडाइ, विशाल र अग्ला भवनहरू, बिजुलीमा नुहाइरहेका मल्टिनेशनल कम्पनीका एड्भरटाइज देख्दा यस्तो लाग्छ– कोलकाता दैडिरहेछ, यसलाई एक सेकेन्ड पनि फुर्सद छैन। यसको छातीमा कुल्चेर हिँड्ने करोडौं मानिसहरूले कोलकातालाई अति व्यस्त कारखाना बनाएका छन्। अझ यहाँका कोलकाता रेल–वे स्टेसन र हावडा रेल–स्टेसनमा देखिने मानव भिडले कोलकाता महानगरप्रति तृष्णा होइन, वितृष्णा पो जगाउँछ। कोलकाताबाट हरेक दिन पचास लाखभन्दा बढि मान्छे बाहिरिन्छन्, त्यतिकै संख्यामा भित्रिन्छन् पनि। त्यसरी भित्रिनेहरूको संख्यामा मेरा काका पनि एक थिए होलान्। तर त्यसरी बाहिरिनेको संख्यामा उनी कहिल्यै परेनन् होला।
पूर्वी भारतको प्रवेशद्वार कोलकाता औद्योगिक र व्यापारिक केन्द्र हो। आधुनिक भारतका सहरहरूमा सबैभन्दा पहिले स्थापना भएको सहर कोलकाता। यो सहरलाई आधुनिक बनाउनमा मेरा काकाको योगदान पनि त होला। उनको योगदानबारे कुनै इतिहासकारले लेख्ने कष्ट उठायो कि उठाएन होला?
लाग्छ– कोलकाताको राजनीति शान्त छ। तर, मोदीको सरकार आएपछि यस धार्मिक सहर ‘शान्त तलाउ'मा छप्लङ्ङ ढुंगा हानेझैं तरंगित छ– हिन्दुहरूका धार्मिक सक्रियताले। यहाँ दैनिक फेरिइरहने, कतै गइरहने र कतैबाट आइरहने मानिस देख्दा परिवर्तनको गति निकै छिटो देखा पर्छ। कोलकाताका भुइँमा हिँड्ने मान्छे छोडेर मल्टिनेशनल कम्पनीका अफिस र अग्ला भवन हेर्ने हो भने यहाँको शान–सौकतले यस सहर धनीहरूको लाग्छ। हरेक चोक गल्लीमा यो सहर नियालिरहेका छन्, सुवासचन्द्र बोस, महात्मा गान्धीहरूका सालिकले। पुँजीवादको प्रणाली संकटमा छ भन्छन्, तर, कोलकाताका जनता पुँजीवादकै ध्याउन्नमा छन्। भारतको अर्थव्यवस्था ढिलो हिँडिरहेको बेला कोलकाताचाहिँ यहीँबाट अन्यत्र गुड्ने सुपर–फास्ट रेलजस्तै छिटो दौडिरहेछ। योसँगै सडक पार गरिनसक्नु भिड हुन्छ। रेल स्टेसन र मेट्रोको भिडको बयानै नगरौं।
कोलकाताको किनारामा गरिबहरू आवाद गर्छन्, सहरको मध्यमा मध्यम वर्ग वा एलिट वर्गकै राज छ। सहरको बहुरूपचाहिँ हेरिरहूँ हुन्छ। कवि श्यामलले ‘हुगली किनारमा प्रेम' शीर्षक कोलकाताबारेको निबन्धमा लेखेका छन्– ‘भारतका अन्य सहरभन्दा कोलकाता अलि भिन्नै स्वभावको छ।' साहित्यकार रवीन्द्रनाथ टैगोर, नेता सुवासचन्द्र बोस, वैज्ञानिक जगदीशचन्द्र बोसहरूको जन्म बंगालमै भएको थियो, बंगालले गौरव गर्ने थलो कोलकातालाई कवि श्यामलले त्यसैले ‘भिन्नै स्वभावको' भनेका होलान्।
अंग्रेज शासनताका निर्माण गरिएका यहाँका भव्य कलेज, पार्क, विश्वविद्यालयहरूले कोलकाताको शान–गौरब अझ बढाएको छ। तिनीहरूले स्थापना गरेका स्मारकहरूले पनि कोलकातालाई समृद्ध बनाएको छ। राजधानी दिल्ली सारे पनि कोलकाता अझै भारतको राजधानीझैं प्रतीत हुन्छ। (त्यसो त अझै पनि यो पश्चिम बंगालको राजधानी नै हो।) नेपालको जनसंख्याभन्दा बढी मानिस कोलकातामै बस्छन्। तीन करोडभन्दा मानिस बस्ने सहरले आफ्नो पुरानो ‘भव्यता'लाई शो–पिस बनाइरहेको छ।
०००
बिहानतिर भिक्टोरिया मेमोरियल पुग्दा पार्क शानसहित उभिएको थियो। म सोचिरहेथेँ, भिक्टोरिया मेमोरियलबाहिर मेरा काका टुप्लुक्क देखिए म के भन्ने थिएँ होला? मेरो खुसीको सीमा कहाँ पुग्ने थियो होला? जतै पुगे पनि काका यतै कतै भिडमा भेटिनेछन् भन्ने लागिरहने। काकाको पदचाप यहाँका बाटोहरूमा छन् झैं लागिरहने।
क्वीन भिक्टोरियाको भव्य शालिक, फराकिलो पार्क, खास बेलायती स्टाइल त्यहाँ देख्न पाइन्छ। पार्कभित्र युवतीहरू आफ्ना प्रेमीको अंगालोमा बेरिएर बसेका छन्। यस्ता जोडी गनिसाध्ये छैन। उनीहरू प्रेमी–प्रेमीकाका शरीरका संवेदनशील स्थानमा हातपात गरिरहेका हुन्थे। खासमा जीवन यहाँ थियो, निर्जीव पार्कभित्रको भव्यतामा होइन। उनीहरूको प्रेमलीला त्यता पुगेकालाई रोमान्चक बनाउन पर्याप्त थियो। यताका पार्कहरूमा देखिने लीलाभन्दा पनि रोमान्चक, यताका लीलाभन्दा अराजक पनि। म र गुरुङ सुशान्त म्युजियम घुमिसकेर बाहिरको चौरमा टहल्दै थियौं। मेरो मन काकाको खोजीले हुँडलिएको थियो। तर, चौरमा तरुनतन्नेरीहरू बैंसको सुवास एक–अर्कामा घोप्ट्याइरहेका थिए। तिनीहरू रोमान्चले भिजिरहेका थिए, म मेरा काकाको यादले छटपटाइरहेको थिएँ।
०००
कोलकाता धार्मिक, राजनीतिक दृष्टिमा खुब समृद्ध, सक्रिय, संवेदनशील सहर हो। भावुक पनि। हामी व्यापक थकित भएर साँझ हावडा रेलवे स्टेसन आइपुग्यौं। स्टेसनको प्रतीक्षा कुर्सीको निकै उपयोग गर्यौंर, लामो समय त्यसमा सुस्ताएर। हावडा भव्य, भद्र उच्चस्तरिय रेलवे स्टेसन हो। यहाँ गरिब त काफी देखिन्छन्  तर गरिबी देखिँदैन। राति ११ बजे गोरखपुरको लागि हाम्रो रेल छुट्छ। त्यति बेलासम्म कुर्सीको उपयोग गर्नुछ।
रेल छुट्ने बेला पनि मैले काका सम्भि्कएँ। लाग्यो– मैले काका बस्नुभएको सहर छोडी जानुछ। काकाको पासपोर्ट साइजको पुरानो रङ खुइलिएको फोटो, ठेगाना पर्सको चेपमै छन्। अरू फोटो उपलब्ध छैन। फोटो जतन गर्नुछ, फेरि फोटो खिचाउनु हाम्रो बसको कुरा होइन। फोटोग्राफरको स्टुडियो पुगेर पासपोर्ट साइजको फोटो खिचाउन काका पनि त हामीसँग छैनन्। काका भेटेको भए, उनको ताजा फोटो लगेर बालाई देखाउने थिएँ, काकीलाई देखाउने थिएँ। तर, काका–दर्शन यस जुनीमा सम्भव होला?
मस्तिष्कको क्यानभासमा उत्रिन्छन् कोलकाता, काका, रेल स्टेसनका अनेकौं दृश्य र निर्माण हुन्छ एउटा अस्पष्ट कोलाज। पुँजीवादको यसै गर्भगृहमा हुर्किरहेका असन्तुष्टिका भ्रुणले समाजलाई, बजारलाई नियन्त्रण गरिरहेको हुन्छ।

प्रकाशित: १५ फाल्गुन २०७१ २३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App