७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

व्यङ्ग्य : रहर

रहरैरहरमा बाँच्नु हामी नेपालीको जन्मसिद्ध स्वभाव हो। हामीले जहिल्यै पनि 'अच्छा'को रहर गर्‍यौँ। तर, हाम्रा अधिकांश रहर जहरमा परिणत भए। हामीले प्रजातान्त्रको रहर गर्‍यौँ। हामीले सर्वहारावादी सत्ताको रहर गर्‍यौँ। अनि, यी रहरलाई ठहरसम्म पुर्‍याउनका लागि काट्नुसम्म कहर काट्यौँ। तर, हाम्रा रहर यथार्थमा परिणत भएनन्। बरु भर्‍याङ भए। हाम्रा रहररूपी भर्‍याङबाट उक्लिएर केही मान्छेले, सत्तासीन हात– जगन्नाथको चास्नी चाख्न पाए। हामी जनता जनार्दन भने फेरि अर्काे रहरको मृगतृष्णा बोकेर भौँतारिरहन बाध्य छौँ। सायद यो रहर र भर्‍याङको शृंखला निरन्तर चलिरहनेछ।
हामीले सुन्यौँ– 'काठमाडौँ सिंगापुर बन्नेछ र यहाँका सडकहरू मेलम्चीको पानीले पखालिनेछन्।' त्यसपछि हामीले हाम्रो राजधानीलाई सिंगापुर बनाउने रहर सँगाल्यौँ। अर्काे हल्ला पनि हाम्रा लागि महत्त्वपूर्ण बन्यो। भनियो– 'नेपाललाई स्विट्जरल्यान्ड बनाइनेछ।' रहरमा रमाउने हाम्रो जात न हो। स्विट्जरल्यान्डको हल्लाले पनि हामीलाई उल्कै रोमाञ्चित बनायो। त्यसपछि हामीले सिंगापुरको सपना बिर्सिएर सिंगै देशलाई स्विट्जरल्यान्ड बनाउने रहर गर्‍यौँ। हाम्रा यी महत्त्वपूर्ण रहरहरूको वर्तमान हालत के छ ? यसको व्याख्या गरिरहनुपर्दैन। किनकि, लोडसेडिङसँगको अभ्यस्त वर्तमान र धारोमा पानी नझरेर हायलकायल भएको दैेनिकीबीचमा हामी सिंगापुरमा छौँ कि स्विट्जरल्यान्डमा छौँ ? स्वतः स्पष्ट छ।
रहरहरूको थुप्रोले पुरिएर सास फेर्न गाह्रो भइसक्दा पनि हामीले रहर गर्न छाडेका छैनौँ। सहज जिन्दगीको रहर बोकेर युवाहरू खाडी राष्ट्रमा पसिना बगाइरहेकै छन्। सर्वहाराको सत्ताको रहर गरेर फेरि जंगल जान्छौँ भन्नेहरूको पनि यहाँ कमी छैन। संविधान निर्माणको रहर यहाँ ज्यूँका त्यूँ छ। हामीले आधा शताब्दीभन्दा अगाडिदेखि बोकेको संविधानसभाबाट संविधान बनाउने रहर पूरा होला, नहोला यसै भन्न सकिन्न। कुनै पार्टीको सत्तामा टिकिरहने रहर र कसैको प्रधानमन्त्रीको कुर्सीमा पुग्ने रहरका कारण संविधान बनाउने हाम्रो रहरको हालत अप्ठ्यारोमा फलेको फर्सीजस्तो भएको छ। तैपनि हामीले संविधान बनाउने रहरलाई मारिसकेका छैनौँ। अझै आशा छ, हाम्रो रहर पूरा हुनेछ।
अचेल हाम्रो देशमा फेरि अर्काे एउटा रहरले महत्त्वपूर्ण हिस्सा ओगटिरहेको छ। अख्तियारले ठूलो माछो पक्रिएको हेर्ने रहर हामी सबैकोे साझा रहर हो। हाम्रा प्रधानमन्त्रीले समेत यो रहरलाई पटकपटक अभिव्यक्त गर्दै आउनुभएको छ। प्रधानमन्त्रीले समेत रहर गर्नुभएपछि यो रहरको 'भ्यालू' उच्च हुने नै भयो। तर, यो रहर भने नितान्त अवैज्ञानिक छ। किनकि, नेपालमा बसेर ठूलो माछो पक्रिएको हेर्ने रहर गर्नु कुनै पनि अर्थमा सुहाउँदो कुरा होइन। हामीले कखरा सिकेदेखि नै पढ्दै आएका छौँ– हाम्रो देश भूपरिवेष्ठित देश हो। हाम्रो देशले कहीँ कतैबाट समुद्रलाई छोएको छैन। समुद्र नभएको देशमा ठूलो माछो कसरी पाउनु ? यदि हाम्रो देशमा पनि समुद्र हुँदो हो त, सार्क र ह्वेलजस्ता ठूला माछा प्राप्त हुन्थे। हाम्रा नदीमा जस्ता माछा छन्, त्यस्तै माछामात्र समाउन सकिने हो। त्यसैले अख्तियारले पनि साना माछा नसमाएर अरू के गरोस् ? अख्तियारले ठूला माछा समाएन भन्नु हाम्रो देशको माटोको नबुझ्नु हो। फेरि अर्काेतर्फ हाम्रो अख्तियारसँग ठूला माछा समाउने सामथ्र्य र सीपको पनि अभाव छ। समुद्रसँग अभ्यस्त हुन पाएको भए हाम्रो अख्तियारसँग पनि 'फिसिङ'को उच्च अनुभव र कौशल हुन्थ्यो। सानातिना नदी र सिमसारमा माछा मार्नुपर्ने बाध्यताका कारण उसले उच्च सीप र कौशल सिक्न पाएन। लौ, हाम्रो देशमा ठूला माछा रहेछन् नै भने पनि अख्तियारको अहिलेको ताकत र पूर्वाधारले समाउन सक्ने अवस्था छैन। ठूला माछा समाउनका लागि समुद्रमा माछा मार्नेहरूको ज्ञान र अनुभवको आवश्यकता पर्दछ। समुद्रमा माछा मारिरहेकाहरूको सहयोग र सद्भावबिना अख्तियारले ठूला माछा समाउनै सक्दैन। यो कुरालाई हामी नेपालीले बुझ्न सकिरहेका छैनौँ।
हामी नेपाली जहिले पनि स–साना कुरामा बाँच्यौँ तर हामीलाई माछो भने ठूलो चाहिएको छ। एकपटक हिसाब गरौँ– हाम्रा नेताहरूको कद कहिले ठूलो भयो ? हाम्रो आर्थिक धरातल कहिले विशाल भयो ? हाम्रो स्वाभिमान कहिले फराकिलो भयो ? हाम्रो सामथ्र्य कहिले विराट भयो ? कहिल्यै भएन। जहिल्यै फुच्चे र सानो रह्यो। हाम्रा सबै कुरा साना हुँदा पनि हामीलाई खासै मतलब भएन। तर, हामीलाई माछो भने ठूलो चाहिएको छ। अख्तियारले ठूलो माछा समाउन नसक्नु उसको दोष हुँदै होइन। यो त हामीले बाँच्दै आएको संस्कारको परिणति हो। त्यसैले अख्तियारले ठूलो माछो समाओस् भनेर रहर गर्नु अस्वाभाविक छ। अख्तियार जे गरिरहेको छ, त्यो हाम्रो हैसियतलाई सुहाउने गरिरहेको छ। तसर्थ ठूलो माछो समाउने रहरलाई हामीले संशोधन गर्नु अनिवार्य छ। यदि यसलाई संसोधन गर्न सकिएन भने यो रहरले पनि उही सिंगापुर र स्विट्जरल्यान्डकै रहरको नियति भोग्न बाध्य हुनेछ। अनि, हामीलाई फेरि अर्काे विशाल रहरको भारीले थिच्नेछ र सास फेर्न गाह्रो हुनेछ।

प्रकाशित: २५ पुस २०७१ ११:१९ शुक्रबार