धेरैजसो नेपाली निर्माता आफ्नो फिल्मका लागि कलाकार छान्दा एउटै फर्मुला अपनाउँछन्। 'बक्सअफिस'मा हिट फिल्म दिएकालाई खेलाउने, फ्लप फिल्मका कलाकारलाई नखेलाउने। निर्देशकले कुनै कलाकारको नाम लिँदा निर्माताले नाक खुम्चाउँदै भन्न सक्छन्, 'कलाकार त राम्रै हो, तर उसका सबै फिल्म फ्लप भइरहेका छन्।'
बरु त्यस्ता निर्माता पछिल्लो हिट फिल्मका कलाकारलाई जुनसुकै शर्त मानेर भए पनि खेलाउन मरिहत्ते गर्छन्। कलाकारले अभिनय गर्न सक्छ कि सक्दैन अथवा फिल्मको कथाका लागि उक्त कलाकार सुहाउँदो छ कि छैन ? त्यस्ता निर्मातालाई कुनै पर्वाह हुँदैन।
बक्सअफिसमा हिट फिल्म दिने कलाकार योग्य, फ्लप भएका फिल्मका कलाकार चाहिँ अयोग्य भन्ने खालको सोच धेरैमा पाइन्छ। वास्तवमा त्यस्तो हुँदैन। फिल्मको व्यापार र कलाकारको प्रतिभाबीच खासै सम्बन्ध छैन।
योग्य, प्रतिभाशाली र अध्ययनशील कलाकारका फिल्म पनि फ्लप हुनसक्छ भने अभिनय क्षमता नभएका कलाकारका फिल्म पनि लगातार हिट हुनसक्छ। त्यसैका आधारमा कलाकारको अभिनय क्षमताको मूल्यांकन गर्न मिल्दैन।
नेपालका अवार्ड कार्यक्रमले पनि अभिनय गर्न सक्ने होइन सुपरहिट फिल्मका हिरोहिरोइनलाई नै पुरस्कृत गर्दै आएको छ। जब कि फिल्म अवार्ड त उत्कृष्ट अभिनय गर्ने कलाकारले पाउनुपर्ने हो। बक्सअफिसमा नचलेको फिल्ममा राम्रो अभिनय पस्किने कलाकारलाई अवार्ड आयोजकले प्रतिस्पर्धामा नै समेट्दैन।
कलाकारले गर्दा फिल्म चल्ने वा नचल्ने भन्ने हुँदैन। फिल्ममा सबै कलाकार तथा प्राविधिकको काम राम्रो हुनुपर्छ। त्यसपछि प्रभावकारी मार्केटिङले पनि फिल्मको व्यापारमा सघाउँछ। दर्शकको 'स्वाद' वा 'आदत'सँग मेल खाने खालको छ भने त्यस्तो फिल्म चल्ने सम्भावना बढी हुन्छ।
फेरि सबै कलाकारका सबै फिल्म उत्तिकै चल्छन् भन्ने ग्यारेन्टी पनि हुँदैन। २०६८ सालमा 'लुट' ब्लकबस्टर साबित भयो। उक्त फिल्मबाट चर्चामा आएका सौगात मल्लले थुप्रै फिल्म पाए। तर उनका 'हाइवे', 'छड्के', 'बधशाला', 'उमा'जस्ता फिल्मले बक्सअफिसमा तहल्का मच्चाउन सकेनन्।
यही आधारमा सौगातलाई केही निर्माताले असफल कलाकारको ट्याग लगाइदिए। जुन बिलकुल गलत हो। सौगातका फिल्म नचले पनि उनले ती फिल्ममा देखाएका अभिनय र गरेका मिहेनतको कदर दर्शकले गरेका छन्। अभिनयमा सम्झौता नगर्ने निर्मातानिर्देशक अभैm पनि सौगातलाई रुचाउँछन्।
बलिउडमा पनि सबै कलाकारका फिल्म उतिकै चलेको रेकर्ड छैन। सन् २००१ को 'लगान'देखि आमिर खानले आपूmलाई एक गम्भीर कलाकारका रूपमा चिनाएका हुन्। 'लगान' राम्रो चल्यो। त्यसपछि अर्को फिल्म 'दिल चाहता है' पनि हिट भयो। तर, २००५ मा आएको 'मंगल पाण्डे'ले पैसा कमाउन सकेन।
पछि उनले 'रंग दे बसन्ती', 'फना', 'तारे जमीन पर', 'गजिनी', 'थ्री इडियट्स'जस्ता हिट फिल्म दिए। तर, समीक्षकले रुचाएको उनको फिल्म 'धोबीघाट'ले उत्साहजनक व्यापार गरेन। यद्यपि उनलाई 'धोबीघाट' हिन्दी फिल्मका दर्शकको 'स्वाद'अनुसारको छैन भन्ने थाहा थियो।
सलमान खानको पनि सन् २००७ मा 'पार्टनर' फिल्म चल्यो। त्यसपछि आएका फिल्महरू 'मेरीगोल्ड', 'हिरोज', 'युवराज'जस्ता फिल्म चलेनन्। बरु २००९ को 'वान्टेड' सुपरहिट भयो। तर, उनका 'मै और मिसेस खन्ना', 'लन्डन ड्रिम्स' र 'वीर' फेरि फ्लप भए।
नेपालमा आर्यन सिग्देलको 'मेरो एउटा साथी छ' चल्यो। त्यसपछि उनले खेलेका र चर्चित फिल्महरू 'कोही मेरो', 'के यो माया हो', 'लोफर' आदि बक्सअफिसमा टिक्न सकेनन्। त्यसो भन्दैमा आर्यनको करिअर टुंगियो भन्न मिल्दैन। उनीद्वारा अभिनीत 'नोभेम्बर रेन' र 'लज्जा'ले ठीकै व्यापार गरे।
सौगात मल्लजस्तै रंगमञ्चबाट आएका दयाहाङ राई राम्रा अभिनय गर्ने कलाकार मानिन्छन्। उनको पनि 'लुट' हिट भएपछि अरू आधा दर्जनजति फिल्म चलेनन्। एकैचोटि 'कबड्डी'बाट उनी बक्सअफिसमा हाबी भएका हुन्।
कुनै कलाकारको फिल्म बक्सअफिसमा चलोस् या नचलोस्, राम्रो अभिनय गरेको छ भने उसकोे करिअर समाप्त हुँदैन। त्यसैले सौगात र दया अभैm टिकिरहेका छन्।
कलाकारका फ्यान हुन्छन्। तर, आफ्नो प्रिय कलाकारको फिल्म आयो भन्दैमा हल गइहाल्ने बानी अहिलेका दर्शकमा छैन। उनीहरूले पनि गतिलो फिल्म आयो भनेमात्र हेर्ने हुन्।
रजनीकान्तलाई दक्षिण भारतीय फिल्ममा सबैभन्दा अग्ला व्यक्तिका रूपमा चिनिन्छ। उनलाई कतिपयले 'भगवान्' नै ठान्छन्। तैपनि उनको पछिल्लो एनिमेटेड फिल्म 'कोचदैयाँ' भारतमा खासै चल्न सकेन। यसको एनिमेसन प्रविधि सायद दर्शकलाई कृत्रिम लाग्यो।
फिल्म चले पनि अभिनय राम्रो नगर्नेहरूको चाहिँ करिअर अल्पकालीन हुन्छ। नेपालमा थुप्रै कलाकार छन्, जो एकताका हट केक बने, अचेल गुमनाम छन्। ती कलाकारले फिल्मको सफलतामै रमाएर समय बर्बाद गरे। आफूलाई परिष्कृत गर्दै लैजाने काम भने गरेनन्।
प्रकाशित: १७ पुस २०७१ १२:३० बिहीबार





