२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

कथा होइन, बिलौना लेख्ने धेरै छन् : महेशविक्रम शाह

कथाकार महेशविक्रम शाह आजकाल उपन्यास लेख्ने योजनामा छन्। 'छापामारको छोरो' कथासंग्रहका लागि मदन पुरस्कार पाएका शाहका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन्। पेशाले प्रहरी उनी युद्ध–कथा लेखनमा माहिर मानिन्छन्। नेपाली जनजीवन, परिवेशसाथै विदेशी भूमिका दुःख उनका कथाका विशेष कच्चापदार्थ हुन्। कथाकार शाहसँग शुक्रवारका लागि दीपक सापकोटा र जिके पोख्रेलले गरेको कथा–संवाद :

नेपाली साहित्यमा संवेदनासँग खेलेरै साहित्य लेख्नेहरूको भीड छ। तपाईं पनि युद्धपीडितहरूको भावनासँग खेलेरै कथाकार हुनुभयो है।
लेखकले संवेदनासँग खेल्ने होइन, अनुभूत गर्ने हो। सामान्य मान्छेका आँखाले देख्न नसकेका कुरालाई लेखकको संवेदना र कल्पनाशक्तिले छाम्न सक्छ, महसुस गर्न सक्छ। यही संवेदना र कल्पना फ्युजन भएपछि साहित्य सृजना हुने हो। कसैको भावनासँग खेल्नु भनेको उसको चाहना विपरीत कार्य गर्नु हो, धोका दिनु हो। मैले युद्धपीडितहरूको भावनासँग खेलेको नभई तिनीहरूको अव्यक्त पीडालाई आफ्ना कथामार्फत अभिव्यक्ति दिएको हुँ।
 
मदन पुरस्कारै पाइसक्नुभो। युनिभर्सिटीले समेत पत्याएको लेखक तपाईं। भर्खरै 'नगरकोटी' फ्लेभरको कथा लेख्नुभो। तपाईंको आफ्नो शैली एक्स्पायर्ड भएर नगरकोटीको हिट फर्मुला कपी गर्न थाल्नुभएको हो ?
उत्कृष्ट साहित्य सृजना गरेपछि लेखकले प्रशंसा, पुरस्कार र सम्मान पाउन सक्छ। यो कुनै अचम्मको कुरा होइन। तर, पुरस्कार र सम्मान पाउने कृतिमात्र उत्कृष्ट हुन्छन् भन्ने सोचाइ गलत हो। म कुनै अमुक पुरस्कार पाउँला भनेर लेख्दिँन। मदन पुरस्कार देशको सबैभन्दा जेठो, ठूलो र प्रतिष्ठित पुरस्कार हो भनेर आम नागरिकले स्वीकार गरिसकेको तथ्य हो। निश्चय पनि मदन पुरस्कारविजेता मेरो कथासंग्रह 'छापामारको छोरो'ले मेरो साहित्यिक उचाइ बढाएको छ भन्ने मलाई लाग्दछ।
मैले भर्खरै लेखेको 'नगरकोटी इन नगरकोट' कथा नभएर स्वैरकल्पनायुक्त लेख हो। तपार्इंले भन्नुभएको कुरा ठीक हो। त्यो रचना मेरो कथा शैलीसँग मेल खाँदैन। मेरा कथा सरल हुन्छन्। त्यो लेखमा मैले आफ्नो र नगरकोटीको लेखन प्रवृत्तिलाई पर्गेल्ने प्रयास गरेको छु। त्यो शैली, जसमा मृत आत्माहरूको बयान बढी छ, मेरो मौलिक शैली होइन। नगरकोटी र मेरो लेखनको विषय, शैली र धारलाई प्रस्तुत गर्ने मनसायले मैले त्यो लेख लेखेको हुँ। नगरकोटीको फ्लेभर पैँचो लिने मेरो कुनै उद्देश्य छैन। मेरो आफ्नै शैली र फ्लेभर छ, जसको सहाराले म नेपाली साहित्यको समुद्रमा डुंगा खियाइरहेको छु। तर, कुनै शैली कसैको निजी सम्पत्ति हुँदैन भन्ने कुरा पनि त्यत्तिकै सत्य हो।
 
तपाईं पुलिसको जागिरे। महिनौँसम्म क्याम्पमा बस्नुपर्दाको पीडाले 'सिपाहीकी स्वास्नी' लेख्नुभएको हो ?
जागिर, अभिरुचि, साधना र जीवनको उद्देश्य फरक–फरक कुरा हुन्। एक सफल साहित्यकार बन्नु मेरो वाल्यकालदेखिको सपना हो। 'सिपाहीकी स्वास्नी' संग्रहमा विभिन्न विÈयवस्तुका कथा छन्, जुन भिन्न–भिन्न परिवेशमा लेखिएका हुन्। 'सिपाहीकी स्वास्नी' शीर्षक कथाबारे सोध्नुभएको हो भने त्यो कथा मैले जाजरकोटको पाँचकटिया प्रहरी क्याम्पमा माओवादी विद्रोेहीको आक्रमण भएपश्चात् पत्रिकामा प्रकाशित मृतक प्रहरीहरूका घरपरिवारको बिलौना पढेर लेखेको हुँ। त्यसबेला म पूर्वी टिमोरमा थिएँ।
 
विदेश पनि राम्रैसँग घुम्नुभो। तपाईंले धेरै कथा अफ्रिका/अमेरिकाको परिवेशका पात्रसँग नजिक भएर लेख्नुभएको छ। ती कथाका पात्रसँग कत्तिको घुलमिल हुनुभयो ?
स्वदेश होस् वा विदेश जहाँ भए पनि सकेसम्म बढी ठाउँ र देशहरू घुम्नु र त्यहाँका मान्छेहरूको जीवन र सामाजिक परिवेशको विश्लेषण गर्नु मेरो रुचिको विषय हो। आजको समय 'नमरी संसार देखिन्न' नभई 'नबाँची संसार देखिन्न' भन्ने हो। म मूलत: जीवनवादी तथा यथार्थवादी लेखक हुँ। जीवन–जगत्का नौला–नौला तथ्यहरूको उद्‌घाटन नगरी लेखनमा नवीनता दिन सकिन्न भन्ने मेरो मान्यता छ। त्यसैले मैले लेखेका पाश्चात्य र अफ्रिकी मुलुकका परिवेशका कथाहरू मेरो कल्पनाको उपज नभई मेरा अनुभव र अनुभूतिका उत्पादन हुन्।
 
पुलिसहरू अलिक कठोर हृदयका हुन्छन् भन्ने आमधारणा छ। त्यसविपरीत तपाईं भावुक भएर लेख्न बस्नुहुन्छ। पेशाप्रति बफादार हुनुहुन्न कि के हो ?
पेशागतरूपमा म विशुद्ध प्रहरी हुँ भने एक समर्पित सर्जक पनि। यी दुवै एक अर्काका पूरक हुन्। प्रहरी महेशले सर्जक महेशलाई अनुशासित बन्न सिकाएको छ भने सर्जक महेशले प्रहरी महेशलाई पीडित जनतालाई न्याय दिने सन्दर्भमा संवेदनशील हुन प्रेरित गरेको छ। प्रहरी कठोर हृदयका हुन्छन् भन्ने मान्यता पुरानो भइसक्यो। अपराधीलाई कानुनको कठघरामा उभ्याउने प्रहरी अपराधीका लागि चट्टानभन्दा पनि कठोर हुनै पर्दछ तर पीडितलाई न्याय दिलाउने सन्दर्भमा प्रहरी सबैभन्दा संवेदनशील हुन्छ।
 
'सटाहा'देखि 'ज्याक्सन हाइट'सम्म आइपुग्दा किताबको संख्या आधा दर्जन नाघिसके। 'विषय दोहोरिन थाल्यो, थकाइ मारूँजस्तो' लागेको छैन ?
मसँग यति अनुभव छ, मेरा सृजनामा विषय दोहोरिने सम्भावना वा खतरा देख्दिनँ। तर यो कुरा साँचो हो। अब २०७२ को प्रारम्भमा सातौँ कथासंग्रह ल्याएर म केही वर्षका लागि कथाबाट टाढा भएर उपन्यासको मार्ग पहिल्याउन चाहन्छु। साहित्यिकपथमा लाग्ने व्यक्ति एक यस्तो पथिक हो जो कहिल्यै थाक्दैन। साहित्यको भारी बोकेर म कहिल्यै थाकिनँ, बरु ज्यान बनिरहेको छ।
 
एकहिसाबले साहित्यको ठूलै सेलिब्रिटी मानिनुहुन्छ। यही मौकामा आत्मसंस्मरण लेख्ने ह्याङ छैन ?
आत्मसंस्मरणमा मिति र समयबाहेक प्रायः अरू कुरा झुटा हुन्छन् रे। त्यसैले यसमा मलाई कुनै चाख छैन। अब मेरो अर्को टर्निङ प्वाइन्ट भनेको उपन्यास नै हो।
 
तपाईंका कथामा कन्टेन्ट दुब्लो छ, क्राफ्टले मात्रै बचाएको छ भनियो भने त्यो आरोप हुन्छ कि तथ्य ?
त्यो आरोप ठीक उल्टो हुन्छ। वास्तवमा इमानदारीसाथ भन्ने हो भने मेरा कथामा क्राफ्टभन्दा कन्टेन्ट सशक्त छ जस्तो मलाई लाग्छ। कन्टेन्ट मान्छेको शरीरको ढाँचा हो भने क्राफ्ट बाह्य आभूषण हो। शरीरको ढाँचा ठीक छैन भने मूल्यवान आभूषण लगाए पनि भद्दा देखिन्छ। कन्टेन्टअनुसार क्राफ्टको निर्माण हुने हो। शैलीलाई विषयवस्तुले पछ्याउने होइन।
 
यौन, त्यसमा पनि दमित यौन नेपाली आख्यानको बलियो कन्टेन्ट हुन थालेको छ। तपाईं यस्ता कन्टेन्टबाट कति बच्नुभएको छ ?
जुन कुरा शाश्वत हो र जसलाई समाजले ग्रहण गरेको छ त्यसबाट किन भाग्ने ? तर यौनलाई साहित्यमार्फत प्रस्तुत गर्दा साहित्यकार सचेत हुनैपर्छ। यौनको प्रस्तुति असभ्य, अशिष्ट र भद्दा भयो भने त्यसले साहित्यिक मर्यादा गुमाउँछ। मेरा कथाहरूमा पनि यौन कन्टेन्ट पाउन सक्नुहुन्छ।
 
तपाईंको कथाले फेरि पनि 'मैनालीय' कथा–लेखनकै धारालाई पछ्याउँछन् है।
गुरुप्रसाद मैनालीको कथासंग्रह 'नासो' नेपाली आधुनिक कथाको प्रारम्भिक विन्दु हो। उनले नेपाली समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई आफ्ना कथामार्फत आवाज दिए। नेपाली साहित्यमा उनको त्यो कदम एक खालको बौद्धिक क्रान्ति नै थियो। उनका कथाहरूबाट नै सामाजिक यथार्थवादी धाराको सूत्रपात भएको हो। नेपाली आधुनिक कथाका यी सूत्रधारप्रति मेरो ठूलो सम्मान छ। कसैले मलाई 'तिम्रा कथा मैनालीका कथासँग मेल खान्छन्' भन्यो भने त्यो कुरा सही नभए पनि मेरा लागि गौरवको कुरा हो। कुनै अंग्रेजी लेखकलाई तिम्रोे लेखनले सेक्सपियरको झल्को दिन्छ भनेर भन्यो भने सायद ऊ खुशीले रातभर सुत्दैन होला।
मेरो विचारमा कुनै पनि लेखकका सृृजना वा कृतिहरू कुनै अर्को लेखकसँग मेल खाँदैनन्। दुई भिन्न दिमागले भिन्न परिवेशमा लेखेका कुरा सर्वथा अलग हुन्छन्। यो विज्ञानको नियम हो। मेल खाएजस्तो देखिने कुरा पनि देखिने होइन, मान्छेले आफ्नो वैचारिक स्तर अनुसार महसुस गर्नेमात्र हो। मेरा कृतिहरूको अध्ययन गर्नुभयो भने 'सटाहा'देखि 'ज्याक्सन हाइट'सम्म आइपुग्दा कथाको परिवेश, पात्र, भाषा, शैली, विषयवस्तु र कथाको प्रवृत्तिमा समेत परिवर्तन देख्न सक्नुहुन्छ। आफ्नो लेखनमा विविधता दिन सकिएन भने साहित्यिक आयु लामो हुँदैन भन्ने कुराको हेक्का मलाई छ। त्यसैले मलाई लाग्ने गरेको आरोप 'त्यो फलानाको छोरो हो, त्यसैले त्यो मलाई मन पर्दैन' भनेजस्तै हो।
 
युद्ध–साहित्य खूब लेख्नुहुन्छ। तर, नेपाली लेखकले युद्ध–साहित्यमा कत्तिको न्याय गर्न सकेका छन् ?
लेखकले समयसापेक्ष लेखनका विषयवस्तु चयन गर्नुपर्छ। सशस्त्र युद्धको समयमा युद्ध–साहित्य लेख्नु समयको माग थियो। तर, एक दशकसम्म चलेको सशस्त्र द्वन्द्व र युद्धबारे जति लेखिनुपर्थ्यो त्यति लेखिएको छैन भन्ने मलाई लाग्छ। राज्यपक्ष र तत्कालीन विद्रोही पक्षले आ–आफ्ना कामको पक्षपोषण गर्न सक्छन्। तर, मध्य–धारमा रहेर युद्धबाट पीडित जनताको मानवीय संवेदनालाई मात्र लेखनको विषयवस्तु बनाउँदासमेत केही शास्त्रीय आलोचकहरूले युद्धविरोधी साहित्यको पगरी गुथाइदिन्छन्। यसप्रकारको एकपक्षीय विश्लेषणबाट कसरी स्तरीय साहित्य सृजना हुनसक्छ ?
 
समकालीन कथाकारबारे के सोच्नुहुन्छ ? परम्परामा लेखिएका कथाभन्दा अगाडि पुगेका छन् कि झन् खराब लेख्दैछन् ?
मेरा समकालीन कथाकार नयनराज पाण्डे हुन्। उनी एक सशक्त कथाशिल्पी हुन्। त्यसपछि नयाँ शैली र विषयवस्तुसाथ देखा परेका ऊर्जाशील कथाकार कुमार नगरकोटी हुन्। हाम्रा अग्रज कथाकार नारायण ढकालले हामीलाई डोर्‍याइरहेका छन्। कथामै आफूलाई पूर्णरूपमा समर्पित गर्ने कथाकारहरूको संख्या पातलिँदै छ। अन्य राम्रा कथाकार पनि आइरहेका छन्। तर, धेरैजसो कथाकार कथा लेख्नुको सट्टा बिलौना गरिरहेका छन्।

प्रकाशित: १० पुस २०७१ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App