१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

'आप्पुई', 'सक्किगो नि' जस्ता थेगो अहिले धेरैका जिब्रोमा झुन्डिएका छन्। हास्य टेलिसिरियल 'भद्रगोल'मा जिग्री बोरोले प्रयोग गर्ने यी शब्द र फरक स्टाइल चर्चित छन्। जिग्री बोरोका रूपमा रुचाइएका उनी कुमार कट्टेल हुन्। 'मेरी बास्सै'मा 'जिग्री हजुर'का रूपमा देखिएका कुमार अहिले अभिनयका साथै उक्त सिरियलको अर्का कलाकार अर्जुन घिमिरेसँग मिलेर स्क्रिप्ट पनि लेख्छन्। कुमारसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः

'जिग्री हजुर'बाट 'जिग्री बोरो' भइएछ !
'भद्रगोल'ले त मेरा नामै भद्रगोल बनाइदियो नि। जिग्री बोरो मात्रै होइन, बेकुप, भित्ती, सोल्टी, तोर्पे, जिग्री, अविवाहितजस्ता नाम छन्।
 
सिरियलमा जिग्री बोरो ह्यान्डसमै देखिन्छ, कुमार कट्टेल अलि दुब्लो देखिएको छ। किन यस्तो फरक ?
जिग्री बोरो दाह्री काटेर, कपाल मिलाएर आउँछ। दौडधूपले मैले दाह्री सफाचट पार्न भ्याएकै छैन। त्यसैले अलि दुब्लो देखिएँ होला। शंका गर्नुपर्दैन, जिग्री बोरो यही कुमार हो।
 
'मेरी बास्सै'मा त्यत्रो समय काम गर्दा नपाएको चर्चा 'भद्रगोल'ले एकै वर्षमा दिलायो है ?
त्यहाँ मैले जसरी काम गरे पनि हेर्ने दृष्टिकोण पूर्वाग्रही थियो। मलाई धेरैले कलाकारका रूपमा भन्दा पनि सीताराम कट्टेल (धुर्मुस) को भाइका रूपमा हेरे। ठूलो रूखको छायामा हुर्किंदै गरेको बिरुवाझैँ भइयो। धेरैले भन्थे, 'धुर्मुसको भाइ भएका कारण कलाकार भइखा'को छ।' 'भद्रगोल'मा पाएको लोकप्रियता यस्तो भन्नेका लागि जवाफ हो। म दाइका कारण होइन, आफ्नै कारण स्थापित हुन सक्छु भन्ने प्रमाण पनि हो।
 
दाइले गरिरहेकै सिरियलमा मिलेर काम गर्‍या भए त्यो अझ राम्रो हुन्थ्यो होला। यस्तै 'इगो प्रोब्लम'ले छुट्टिनुभएको हो ?
एउटै क्षेत्रमा दाइभाइ भएकाले यस्तो देखिएको होला। प्रतिभा र क्षमताको अंशबन्डा हुँदैन। मबाट धेरै 'भाइ'हरूले सिक्नुपर्छ कि दाइमा आश्रित हुने होइन, भाइहरूले पनि आफैँ दुःख गरेर आफ्नो परिचय बनाउनुपर्छ।
 
कलाकार चाहिँ दाइको लोकप्रियता देखेर भइएको हो ?
मलाई कलाकार चाहिँ दाइले भन्दा पनि जन्डिसले बनाएको हो। मेरो पढाइ गतिलै थियो। प्लस टू सकिन्जेलसम्म कलाकार बन्ने कुनै संकेत थिएन। डाक्टर बन्ने इच्छा थियो। परिवारको चाहना पनि त्यस्तै थियो। प्लस टू सकिएपछि जन्डिस भएर रेस्ट गरेँ, त्यही बेला दाइको कामलाई नजिकबाट नियालेँ। फिल्म र हास्यव्यंग्यका कार्यक्रम पहिलेदेखि नै हेर्ने भएकाले दाइहरू (सीताराम कट्टेल र केदार घिमिरे)को सिरियलमा कमेन्ट पनि गर्थें। म बिरामी भएका बेला 'मेरी बास्सै'का प्लटहरू दाइले मेरै सामु बनाउनुहुन्थ्यो। म पनि प्लट फुराउन थालेँ। दाइको सुटिङमा गएँ, कार्यक्रममा गएँ। लाग्यो यो क्षेत्रमा त रमझमै र'छ नि त।
दाइले जिग्री हजुर भन्ने एउटा चरित्र निर्माण गर्नुभयो। अहिलेका बिग्रेका युवाको प्रतिनिधित्व गर्ने त्यो चरित्रका लागि धेरैलाई फोन घुमाउनुभयो। उपयुक्त कलाकार नभेटेपछि मलाई 'तँ गर्छस् त ?' भन्नुभयो। मैले ट्राइ गरिहेरेँ, दर्शकले रुचाए। म यतैतिर तानिएँ।
 
'भद्रगोल' निर्माणको योजना कसरी बन्यो ?
दाइहरूको सिरियलमा काम गर्ने भन्दा पनि आफैँले केही गर्ने रहर थियो। त्यसका लागि दुनियाँभरका एजेन्सी धाइयो। 'मेरी बास्सै'मा नदेखिएपछि दर्शकले खोज्याखोज्यै छन्। आफूले मेलोमेसो भेट्या होइन। निराश नै भइयो। त्यही समयमा 'सिस्नुपानी झ्याम्मै' सिरियल आयो। एनटीभीको प्राइम टाइममा भए पनि त्यो सिरियल चित्तबुझ्दो थिएन। त्यो प्लेटफर्म मैले पाए राम्रै गर्छु भन्ने लाग्यो। एकजना दाइले त्यसका निर्देशक÷लेखक अर्जुन घिमिरेलाई भेटाइदिनुभयो। मैले सिरियल नपाएको अवस्था, छ भागसम्म पनि त्यो नचलेको अवस्था भएपछि सँगै लेखन÷निर्देशन गर्ने कुरामा अर्जुनजी तयार हुनुभयो। सात भागदेखि नयाँ कथा र पात्र सिर्जना गरेर अघि बढ्यौँ। १८ औँ भागसम्म गरियो। राम्रो रेस्पोन्स पाइयो। तर, प्राविधिक कारणले त्यो रोकियो। त्यसपछि फेरि पुरानै अवस्थामा पुगियो। मिडिया हबकै अनुरोधमा हामीले तिनै चरित्र र कलाकारलाई लिएर 'भद्रगोल' नामको नयाँ सिरियलको तीन भाग डमी खिच्यौँ। अघिल्लो सिरियल राम्रो थियो तर तिनै पात्रलाई लिएर बनाइएको यो राम्रो भएन भनेर रोकियो। त्यतिबेला 'राम्रो छैन' भनिएको त्यो डमी भद्रगोलको दास्रो भाग हो, जुन युट्युबमा सर्वाधिक हिट एपिसोड भएको छ।
 
'भद्रगोल' अहिलेको अवस्थामा ल्याइपुर्‍याउन निकै भद्रगोल सहनुपर्‍यो !
कति, कति नि। दर्शक भन्थे, 'सिस्नुपानी झ्याम्मै राम्रै थियो, फेरि गर्नू न।' त्यसका लागि कति दिन आधा पेट खाइयो, कति दिन खाइएन। कहाँ–कहाँ धाइयो भनिसाध्य छैन। रोकिएको एक वर्षपछि सुवास कार्की (जो भद्रगोलमा बेलाँसेको भूमिकामा हुनुहुन्छ) लाई भेटियो। उहाँले निर्माण गर्ने र शंकर आचार्यले निर्देशन गर्ने भनेर नयाँ टिम फर्मेसन गर्दै मिडिया हबसँग नयाँ सम्झौता गरेर यो अवस्थामा पुगियो।
 
तपाईंका सिरियलका चरित्र अनौठा खालका लाग्छन्। यी कल्पिएका हुन् वा कहीँकतै भेटिएका पनि हुन् ?
कल्पिएका त हुन् तर समयले बनाएका पात्र हुन्। जिग्री बोरोले नयाँ पुस्ताका बिग्रिएका केटाहरूको प्रतिनिधित्व गर्छ, बेलाँसेले तनावग्रस्त नेपाली समाजको प्रतिनिधित्व गर्छ। 'स्लो मोसन' चाहिँ हिन्दी डान्स हेरिरहेका बेला फुरेको हो र बलेचाहिँ फिल्म 'लोफर'मा देखेपछि त्यो भूमिका सिरियलमा कन्टिन्यू गरेको हो। पाँडेजस्ता फटाहा पात्र पनि यही समाजका हुन्।
 
जिग्री बोरोले बोल्ने शब्द र लवज चाहिँ कताबाट लिइएका हुन् ?
नेपालको पूर्वी भाग र दार्जिलिङ, सिलिगुडीतिर केटाहरूले यसरी बोलेको सुनिन्छ। अलि अनौठो लवज र फरक शब्द लागेर सुन्नलाई रमाइलो हुने भएकाले राखिएको हो। त्यो क्यारेक्टरलाई सुट पनि भएको छ।
 
सिरियलमा जिग्री बोरोले नयाँ केटी आयो कि लभ प्रपोज राखिहाल्ने देखाइन्छ। नढाँटी भन्नुपर्दा कुमार कट्टेलका भडास त्यसमा कति प्रतिशत मिसिन्छ ?
जिग्री बोरो त्यो समूहको नेतृत्व गरिरहेको छ, जसले लभका लागि बाइकै लडाउन पछि परेका छैनन्। त्यसैले सिरियलको जिग्री र यो कुमार कट्टेल ठ्याक्कै उल्टो छन्। जिग्री केटी भेट्यो कि फलो गर्छ, कुमारलाई केटीले फलो गर्छन्।
 
केटीले जिग्री ठानेर फलो गर्छन् कि कुमार हो भन्ने चिनेर !
दुवैलाई। कतिले बाहिर भेट्दा त्यो टाई, त्यो हुक खोइ ? त्यस्तै मन पर्छ भन्छन्। कतिले सिरियलमा मात्रै यो त्यस्तो हो, वास्तवमा क्रिएटिभ र भलाद्‌मी केटो छ भनेर गर्छन्।
 
कुमारका राजकुमारी बन्न के–केसम्म गर्न तयार छन् ?
त्यो त थाहा छैन। तर, मेरा लागि केटीहरूले ग्याङफाइट नै गरेकोसम्म सुनेँ। मेरो फेसबुकमा गएर एउटीले मेरो फोटोमा 'कस्तो ह्यान्डसम, आई लभ यू' के–के लेखिन् कुन्नि ! अर्कीले त्यसलाई फ्रेन्ड रिक्वेस्ट पठाएर कोटेश्वरमा बोलाएर 'कुमार मेरो मात्रै हो' भन्दै फाइट गरिछन्। हेटौँडामा केटीहरूले किडन्यापै गरौँला जस्तो गरे। हिँडिरहेको थिएँ, केटीहरूले तानातान गर्दै एकछिनपछि त बोकेर परसम्मै लगे।
 
तपाईंको सिरियल खालि सस्तामस्ता हास्य खुराकमा मात्रै केन्द्रित भयोजस्तो लाग्दैन ?
यो हास्य सिरियल नै हो। राजनीति र अरू विषयलाई लिएर व्यंग्य गर्ने मह जोडीको शैलीलाई सबै सिरियलले पछ्याए। हामीले नेता होइन, समाजका अरू पात्रलाई लिएर रमाइलो गराएका हौँ। हामी हास्यव्यंग्यमा होइन, हास्यमै केन्द्रित छौँ। यो 'सिचुयसनल लाइट कमेडी' हो। 'डार्क कमेडी' बुझ्ने जमात नै कत्रो छ र नेपालमा ? बच्चादेखि बुढासम्मलाई हँसाएका छौँ। आफ्नो उद्देश्यमा सफल पनि छौँ।
 
सामाजिक दायित्व तपाईंहरूले पनि त निर्वाह गर्नुपर्ला नि ?
धेरैले यस्तै भन्छन्। सिरियल म्यासेज दिनका लागि होइन, हाँस्न हो। सामाजिक दायित्व सिरियलमा निर्वाह गर्ने होइन, म कुमार कट्टेलले बाहिर गर्नुपर्छ ।
जोडी त तपाईंको पनि छ है ?
अर्जुन घिमिरे र म सँगै काम गर्छौं। हामीले पहिलाका हास्यकलाकारजस्तो जोडी बनाएको भन्दा पनि सहकार्य गरिरहेको हो। हामीले त यसलाई व्यावसायिक मित्रता भन्ने गरेका छौँ।

प्रकाशित: १८ मंसिर २०७१ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App