९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

सेतो पर्दा : बहिष्कार सही नीति होइन

एक महिनाअघि काठमाडौँमा इन्फा फिल्म अवार्डले मनोनयन सूची सार्वजनिक गर्‍यो। त्यसपछि फिल्म 'झोले'ले तुरुन्तै अवार्डमा आफू सहभागी नभएको विज्ञप्ति निकाल्यो। 'झोले'जस्तै सती प्रथाको कथा रहेको चर्चित फिल्म 'झोला'ले पनि अवार्ड कार्यक्रममा भाग नलिने बताउँदै आएको छ।

नेपालमा झन्डै एक दर्जनजति फिल्म अवार्ड कार्यक्रम हुँदै आएका छन्। ती कार्यक्रम आयोजकले निर्माताहरूलाई अवार्डका लागि फिल्म पठाइदिन आग्रह गर्दै फारम वितरण गर्छन्। सबैजसो कार्यक्रममा फिल्मलाई निःशुल्क सहभागी गराइँदैन। पाँच हजार रुपैयाँसम्म आवेदन शुल्क तोकिएको हुन्छ।
हलबाट फिल्म उत्रेर निर्माताहरू त्यत्तिकै तनावमा रुमल्लिरहेका हुन्छन्। त्यही बेला अवार्ड आयोजकहरूले पैसा माग्दा उनीहरूको हालत के होला ? थरीथरीका अवार्ड आयोजकले लगातार फोन गरेर निर्माताहरूलाई हैरान बनाउने गर्छन्। त्यसैले धेरै निर्माताले यस्तो हैरानीबाट मुक्त हुन पहिल्यै घोषणा गरिदिन्छन्, 'अवार्ड कार्यक्रममा सहभागी हुन्नौँ।'
फिल्म निर्माताहरू अवार्ड कार्यक्रममा सहभागी नहुन खोज्नुको अर्को कारण पनि छ। त्यो हो, फिल्मको सही मूल्यांकन नगरिनु। आपूmभन्दा फितलो फिल्म र आफ्ना फिल्मका कलाकारभन्दा कमजोर कलाकारले अवार्ड जितेको कसलाई चित्त बुझ्छ र ? यसलाई एकप्रकारको अपमान मान्न सकिन्छ।
अधिकांश फिल्म अवार्ड कार्यक्रममा आयोजकले नियुक्त गरेका निर्णायक देख्दा सही मूल्यांकन होला भनेर विश्वास गर्न सकिँदैन। फिल्मबारे गम्भीर अध्ययन गर्ने वा राम्रा फिल्म बनाउने फिल्मकर्मीहरू निर्णायक मण्डलमा हुनुपर्ने हो। तर, फिल्मको सतही ज्ञान भएकालाई निर्णायक बनाइने गरिन्छ।
झट्ट हेर्दा अवार्ड कार्यक्रममा निर्माताहरूले भाग नलिनु जायज देखिन्छ। आफ्नो फिल्मलाई प्रतिस्पर्धामा सहभागी नगराउनु निर्माताहरूको अधिकार नै हो कि भन्ने लाग्छ। आखिर आपूm र आफ्नो फिल्मको अवमूल्यन भएको कोही पनि हेर्न चाहँदैन।
तर, निर्माताहरूले पनि बिर्सनु हुँदैन– हलमा सार्वजनिक हुनेबित्तिकै जुनसुकै फिल्म हरेक प्रकारका मैदानमा उत्रिएको मानिन्छ। हरेक फिल्मले सबैभन्दा पहिले टिकट बिक्रीमा अरू फिल्मसँग प्रतिस्पर्धा गर्छ। त्यसपछि दर्शकको प्रतिक्रिया र समीक्षकहरूको मूल्यांकनबाट सबै फिल्म गुज्रिन्छन्।
निर्माताले आफ्नो फिल्मलाई दर्शक वा समीक्षकले समीक्षा गर्न पाउँदैन भनेर भन्न मिल्दैन। दर्शकहरू एकैखाले हुँदैनन्। हरेक दर्शकका आ–आफ्नै बुझाइ हुन्छन्। निर्माताले ती सबैको सामना गर्नैपर्छ। त्यस्तै समीक्षकका पनि फरक–फरक टिप्पणी आउनसक्छन्। तिनलाई पनि सुन्नैपर्छ।
फिल्म अवार्ड कार्यक्रम पनि दर्शक वा समीक्षकजस्तै फिल्मलाई मूल्यांकन गर्ने एउटा निकाय हो। यसलाई निर्माताहरूले झेल्नैपर्छ। सबै अवार्ड आयोजक एउटै हैसियतका हुँदैनन्। सबैले आफ्नो बुद्धि र बलले सकेअनुसार कार्यक्रम गर्छन्। सही मूल्यांकन गर्दैनन् भने उनीहरूलाई सुधार्ने जिम्मेवारी फिल्मकर्मीहरूको हो।
बलिउडमा समेत दर्जनभन्दा बढी अवार्ड कार्यक्रम हुन्छन्। तर, त्यहाँ 'अवार्ड कार्यक्रममा भाग लिँदैनौँ' भन्ने प्रवृत्ति छैन। सबैतिर उस्तैखाले फिल्म र कलाकार विजयी हुन्छन् भन्ने पनि छैन। सबै समारोहमा कलाकारको उत्साहजनक सहभागिता देखिन्छ।
अभिनेता आमिर खानले अवार्ड कार्यक्रम बहिष्कार गर्दै आएका छन्। तैपनि उनले आफ्नो भागमा परेको अवार्डमात्र नलिएका हुन्। आफ्नो फिल्मलाई नै प्रतिस्पर्धाबाट फिर्ता बोलाउने गर्दैनन्।
सन् २००२ को ४७ औँ फिल्मफेयर अवार्डमा आमिर 'लगान'बाट उत्कृष्ट अभिनेता घोषित भएका थिए। उनी अवार्ड लिन आएनन्। तर, त्यही फिल्मबाट उत्कृष्ट भएका निर्देशक आशुतोष गोवारिकर र संगीतकार एआर रहमानले समारोहमै उपस्थित भएर अवार्ड लिए। आमिरले 'लगान'लाई अवार्डको दौडबाट निकालेनन्।
नेपालका आयोजकले बुझ्नुपर्छ कि बलिउडका अवार्ड कार्यक्रममा भाग लिन फिल्मले आवेदन शुल्क तिर्नुपर्दैन। वर्षभरि रिलिज भएका फिल्मलाई स्वतः सहभागी गराइन्छ। आयोजकले प्रायोजकबाट पैसा उठाउनुपर्छ। फिल्मवालासँग पैसा उठाउँदा अवार्डको स्वतन्त्र निर्णय हुने ग्यारेन्टी रहँदैन।
निर्माताहरूले अवार्ड कार्यक्रममा सःशुल्क भाग लिएर साध्य छैन। अवार्ड कार्यक्रमको संख्या बढ्दै गए निर्माताको ठूलो रकम अवार्डको फारम भर्नमै खर्च हुने सम्भावना हुन्छ। आयोजकले पैसाको कारोबार वा चलखेलदेखि फिल्मवालालाई बाहिर राख्नसक्नुपर्छ।
फिल्म उद्योगका लागि अवार्ड कार्यक्रम अपरिहार्य छ। यसले कलाकार तथा फिल्मकर्मीलाई हौसला र ऊर्जा दिने काम गर्छ। त्यसैले निर्माताहरूले बहिष्कारको बाटो लिनु हुँदैन। सबैले बहिष्कार गरे अवार्ड कार्यक्रम कसरी हुन्छ ? बरु आयोजकलाई आवेदन शुल्क नलिएर कार्यक्रम गर्ने सल्लाह वा दबाब निर्माताले दिनुपर्छ।
कसैलाई अवार्ड ग्रहण गर्न मन छैन भने व्यक्तिगत रूपमा बहिष्कार गरे पुग्छ। पूरै फिल्मलाई प्रतिस्पर्धाबाट हटाउँदा अवार्डका प्रत्याशी अरू कलाकार तथा प्राविधिकमाथि अन्याय हुनसक्छ। 'झोले' र 'झोला'का निर्माता तथा निर्देशकलाई अवार्डको मोह छैन भन्दैमा ती फिल्मका कलाकार पनि अवार्डबाट बञ्चित हुनु ठीक होइन।

प्रकाशित: ११ मंसिर २०७१ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App