सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल भारतबीचको सम्बन्ध अनुपम रहेको उल्लेख गर्दै यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्या्उने विश्वास व्यक्त गरे। प्रधानमन्त्री कोइरालाले भने "मित्र राष्ट्र भारत सरकारको सहयोगमा निर्मित ट्रमा सेन्टरको अवधारणाबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उत्कृष्ट केन्द्रका रुपमा सञ्चालन गरिनेछ ।"
समारोहमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली जनताको जीवन रक्षा गर्न सहयोग पुर्याञउने पवित्र उद्देश्यका साथ भारतीय सहयोगबाट नेपालमा निर्माण भएको ट्रमा सेन्टर दुई देशबीचको जीवन्त सम्बन्धको उपहार रहेको बताए। उनले सेन्टरले गुणस्तरीय सेवा प्रदान गर्न सकेमा समस्त भारतवासीको सपना पूरा हुने धारणा व्यक्त गर्दै सेन्टरलाई आवश्यक प्राविधिक तथा मानवीय सहयोग गर्न भारत तयार रहेको बताए।
भारत सरकारको पूर्ण सहयोगमा वीर अस्पतालसँगैको करिब ११ रोपनी जग्गामा रु एक खर्ब लगानीमा निर्मित नौतले सो भवन भूकम्प प्रतिरोधात्मक रहेको सेन्टरले जनाएको छ। विशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले सो सेन्टर निर्माण भएको हो।
सेन्टरको भुइँतलामा आकस्मिक एक्स रे, प्रयोगशाला, अल्ट्रासाउन्ड कक्ष र प्लास्टर कक्ष तथा पहिलो तलामा बहिरङ्ग सेवा, प्राथमिक उपचार कक्ष, न्युरो सर्जरी सेवा, मुटुको शल्यचिकित्सा, साधारण चिकित्सा, दन्त सेवा, प्लास्टिक सर्जरी, ब्लड बैंक, सिटी स्क्यान, अल्ट्रासाउन्ड र अत्याधुनिक प्रयोगशाला छ। यसैगरी दोस्रो तलामा पाँच शल्यक्रिया कक्ष, सघन उपचार कक्ष तथा चौथो, पाँचौँ र छैटौँ तलामा अन्तरङ्ग सेवाअन्तर्गत बिरामी उपचार कक्ष रहने अस्पतालले जनाएको छ।
दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ १८ वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र नेपालका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सन् १९९७ जुन ६ मा संयुक्त रुपमा सो सेन्टरको शिलान्यास गरेको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच सेन्टर निर्माण गर्ने सहमति भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मातहतमा रहने सो ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा सन् २०१२ देखि प्रा डा अशोकरत्न वज्राचार्य छन्। हाल अन्य सरकारी अस्पतालका जनशक्ति परिचालन गरी ट्रमा सेन्टरमा प्रत्येक हप्ता सोमबार र बिहीबार दिउँसो बहिरङ्ग सेवा सञ्चालन हुँदैआएको छ।
ट्रमामा पूर्णविशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नसा, मुटुको शल्यचिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक रहेको सेन्टरका कार्यकारी निर्देशक डा वज्राचार्यले जानकारी दिए। सो सेन्टरको अहिलेको क्षमता ५० शैय्याको हो भने लक्ष्य चाहिँ २०० शैय्याको रहेको छ ।
ट्रमाको अवधारणा संयुक्त राज्य अमेरिकाको क्युबेन सहरबाट सुरु भएको हो। व्यवस्थित ट्रमा सेन्टर सञ्चालनं भएमा दुर्घटनामा परेकाहरूको मृत्युदर ६५ प्रतिशतबाट ८/६ प्रतिशतसम्म झार्न सकिने बताइएको छ।
नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँचदेखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटनालाई हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ। अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीन जनाको मृत्यु तथा १२ जना गम्भीर घाइते हुने गरेका छन्। रासस
भिडियो हेर्नुहोस् –
प्रकाशित: ९ मंसिर २०७१ ०४:३३ मंगलबार


-600x400.jpg)


-600x400.jpg)