प्लस टूपछि कुन विषय पढ्ने ? अन्योलमा थिए, पाल्पाका इमानसिंह गुरुङ। १२ कक्षाको परीक्षा सकेपछि दुई महिना यही प्रश्नको समाधान खोज्दै भौँतारिए। यसै क्रममा मामाले उनलाई ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) अध्ययनको सल्लाह दिँदै कामको अवसर चाँडो पाइने सुझाए।
तर, उनले मामाको सल्लाहलाई खासै ध्यान दिएनन्। 'होटलजस्तो विषय पनि कसले पढ्ला ? भन्ने लाग्यो,' इमानले भने, 'विज्ञान पढेर राम्रो नम्बर ल्याएका हामीजस्ता विद्यार्थीले डाक्टर, इन्जिनियरिङ, पाइलटभन्दा अरू विषय पढ्नै हुन्न भन्ने लाग्यो।' इन्जिनियरिङबारे बुझ्न उनी राजधानी छिरे। त्यसैबेला उनी शैक्षिक मेलामा पनि पुगे। त्यहाँ बीएचएमबारे बुझ्नेको लर्को देखे। 'विज्ञानमा आफ्नोभन्दा धेरै नम्बर ल्याएका विद्यार्थीले बीएचएमबारे सोधखोज गरिरहेको देख्दा मामाले ठीकै भन्नुभएछ जस्तो लाग्यो,' उनले भने, 'बीएचएम परामर्श कक्षामा बस्दा यस विषयबारे झन् प्रस्टै भएँ। त्यसपछि मेरो घैँटोमा घाम लाग्यो र यो विषयको चार्म बल्ल थाहा पाएँ।' त्यसपछि उनले प्रवेश परीक्षा पनि दिए। पूर्वाञ्चल विश्वविद्यालयबाट बीएचएम सकेका इमानले काठमाडौँको एक स्टार होटलमा प्रशिक्षार्थीका रूपमा काम गर्दागर्दै 'फुलटाइम' कामको अवसर पाए। महिनामा पचास हजारजति आम्दानी छ उनको। इमानसँगै पढेका तीन जना विद्यार्थी सोही होटलमा काम गर्दै छन्। काभ्रेका रिजन ढुंगानाले बीबीए पढ्ने घरको दबाब छिचोल्दै होटल म्यानेजमेन्ट पढे। 'मलाई बीबीए पढ्ने चाहनै थिएन,' उनले भने, 'अहिले राम्रो काम पाएपछि बल्ल आमाबुबाले पनि राम्रै पढेछ भन्नुहुन्छ।' यो शिक्षाले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो अवसर पाउन सकिने सम्भावना देखेका उनले भने, 'बीएचएम सकेपछि केही वर्ष जागिर गरेर आफ्नै होटल खोल्ने योजना बनेको छ घरमा।' आफैँसँग पढेको साथीले सिंगापुरको एक होटलमा म्यानेजरको जिम्मेवारी सम्हालिरहेको उनले बताए।
पछिल्लो समय नेपालमा होटल म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थी बढेका छन्। नेपालका विश्वविद्यालयको मात्र नभएर विदेशी विश्वविद्यालयको सम्बन्धनप्राप्त तीन दर्जनभन्दा बढी कलेजले समेत यस विषयको अध्ययन–अध्यापन गराउँदै आएका छन्। विद्यार्थी र अभिभावक प्राविधिक, व्यावसायिक तथा व्यावहारिक शिक्षाप्रति सचेत छन्। अध्ययनपछि रोजगारीको सम्भावना प्रबल हुनुका साथै आफँै पनि उद्यमशीलतातर्फ उन्मुख हुँदै स्वरोजगार बन्न सकिने भएकाले नै यो आकर्षण बढेको देखिन्छ। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पहिलोपटक नेपालमा सन् १९९९ बाट टीयूको सम्बन्धनमार्फत बीएचएम सञ्चालन थालेको हो। त्यसपछि नेपालमा बीएचएम पढ्ने लहर सुरु भयो। नाथमले सन् २०११ देखि स्नातकोत्तर कक्षा पनि चलाउँदै आएको छ।
सैद्धान्तिकभन्दा पनि अध्ययनपछि सीपको विकाससँगै रोजगारी सहजै प्राप्त गर्न सकिने विषय धेरैको छनोटमा पर्नु स्वाभाविक ठान्छन्, यालापिक कलेज अफ बिजनेस म्यानेजमेन्टका बीएचएम कोअर्डिनेटर शंकर उपाध्याय। 'हातमा सीप भएपछि संसारको जुनसुकै कुनामा अवसरले उल्टै खोजिरहेको हुन्छ। फेरि आफैँले पनि रोजगारी सिर्जना गर्न सक्ने क्षमताको विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो,' उनले भने। यालापिकले यस वर्षदेखि मलेसियाको लिंकन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर बीएचएम सञ्चालन गर्दै छ। यो कलेजले यस विषयका लागि यसपटक ७० जना विद्यार्थी भर्ना गर्ने जनाएको छ।
नाथमका प्रिन्सिपल उज्ज्वल सत्याल बीएचएम पढेको जनशक्तिको देशमै अभाव रहेको सुनाउँछन्। नेपाल अब बीएचएम अध्ययनको हब बन्न सक्ने भन्दै उनी विदेशी विद्यार्थी पनि भिœयाउन सकिने पूर्वाधार तयार गर्नुपर्ने बताउँछन्। उनका अनुसार बीएचएम पढेपछि ८१ प्रतिशत विद्यार्थी विदेशिन्छन्। भविष्यको चिन्ता र देशभित्रभन्दा बाहिर राम्रो अवसर पाएकाले विद्यार्थी विदेशिने उनको ठम्याइ छ। पछिल्लो समयमा नेपालमै पनि पाँचतारे होटल थपिँदै गएकाले आशा गर्ने ठाउँ पर्याप्त रहेको उनी बताउँछन्। पर्यटन मन्त्रालयअन्तर्गतको नाथममा भर्ना हुन मुश्किल ठान्छन् धेरैले। प्रिन्सिपल सत्याल भने प्रवेश परीक्षा पारदर्शी भएकाले सिम्याटमा राम्रो नम्बर ल्याउनुपर्ने बताउँछन्। उनका अनुसार सिम्याटको स्कोर भार ५० प्रतिशत हो। ११ र १२ कक्षालाई ३० प्रतिशत मानिन्छ। १० नम्बर नाथमका शिक्षकले समूहगत रूपमा सक्षमताको आधारमा दिन्छन्। बाँकी १० अन्तर्वार्तामा। सिम्याटमा ४० पुर्याउनेले नाम निकाल्ने सम्भावना बलियो हुन्छ।
नेपालमा पढेको बीएचएम जनशक्ति उत्कृष्ट छ भन्छन्, गोल्डेनगेट कलेजका सीईओ रमेश सिलवाल। हरेक दिन नयाँ ग्राहकसँग साक्षात्कार हुने पेशा भएकाले रमाउँदै काम गर्न सकिने उनको बुझाइ छ। आतिथ्य सत्कारमा कञ्जुस्याइँ गर्न नहुने भन्दै उनी बीएचएमलाई प्राथमिकता दिने होटल बढेकाले यो विषयको भविष्य देशभित्रै थप उज्ज्वल बनेको ठान्छन्।
नेपालमा एकजना पर्यटक बराबर ९ जनाले रोजगारी पाउन सक्ने तथ्यांक छ। त्यसले पनि नेपालको पर्यटन उद्योग सम्बद्ध रोजगारीको अवसर धेरै देखिन्छ। बीएचएम पढ्न चारदेखि पाँच लाख रुपैयाँ खर्च लाग्छ। प्य्राक्टिकल धेरै हुने भएकाले केही महँगो लाग्न सक्छ। यस विषयमा फुड प्रोडक्सन, हस्पिटालिटी मार्केटिङ, हाउस किपिङ, फुड एन्ड बेभरेज सर्भिसलगायत ज्ञान पाइन्छ। 'अन्तर्राष्ट्रिय मापदण्ड र पूर्वाधारअनुसारको करिकुलम र व्यवस्थापनमा सञ्चालित यो डिग्रीको विश्वव्यापी मान्यता छ,' कान्तिपुर इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीले भने, 'नेपाली विद्यार्थीलाई विश्वबजारमा टिक्ने र बिक्ने बनाउँदैछ यस कोर्सले। रोजगारदाताले होइन, विद्यार्थीले रोजेर काम गर्न पाउने अवस्था बन्दै छ।' बुद्धनगरस्थित केआईसीले नेपालमै निजी क्षेत्रमा पहिलो पटक सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीएचएम सञ्चालन गरिरहेको छ।
के–के पढिन्छ ?
पहिलो सेमेस्टरमा अंग्रेजी, प्रिन्सिपल अफ म्यानेजमेन्ट, प्रिन्सिपल अफ एकाउन्टिङ, फुड प्रोडक्सन एन्ड पाटिसरी विषय पढ्नुपर्छ। जसअन्तर्गत फुड बेभरेज सर्भिस अपरेसन, हाउस किपिङ अपरेसन र होटेल प्रबन्धको पढाइ हुन्छ। यसमा होटेलका स–साना व्यवस्थापन, खाद्यान्न व्यवस्थापनजस्ता विÈयवस्तु पनि समेटिन्छन्।
दोस्रो सेमेस्टरमा कस्ट एन्ड म्यानेजरियल एकाउन्टिङ, कम्प्युटर एप्लायन्स र न्युट्रिसन थप हुन्छ। तेस्रो र चौथो सेमेस्टरमा होटेल एकाउन्टिङ एन्ड इन्भेन्टरी म्यानेजमेन्ट, स्टाटिस्टिक्स, फ्रन्ट अफिस अपरेसनको पढाइ हुन्छ। जसमा फुड साइन्स एन्ड हाइजिन, इकोनोमिक्स, ह्युमन रिसोर्स म्यानेजमेन्ट, होटेल इन्जिनियरिङ, पब्लिक रिलेसन र अतिथि सत्कार पर्छन्।
पाँचौँ सेमेस्टरमा ४ सय पूर्णांकको प्रोजेक्ट वर्क तथा २ सय पूर्णांकको इन्डस्ट्रियल एक्सपोजर पढिन्छ। छैटौँ सेमेस्टरमा हस्पिटालिटी ल, क्याटरिङ, टुरिजम, हस्पिटालिटी मार्केटिङलगायत ६ सय पूर्णांक पढ्नुपर्छ। यस्तै, सातौँमा इन्टर्नसिप र आठौँमा कोर्स रिभ्यू गर्दै फाइनल गर्नुपर्ने हुन्छ। तीनवर्ष र चारवर्ष बीएचएममा पढ्नुपर्ने विषयवस्तु उस्तै भए पनि सिक्ने कुरा र समय भने फरक पर्छ। हाल नेपालमा भारतीय बोर्डबाहेक सबै विश्वविद्यालयले चारवर्षे कोर्स सञ्चालन गर्दै आएको केआईसीका कार्यकारी निर्देशक जोशीले बताए।
प्रकाशित: २७ कार्तिक २०७१ १२:३० बिहीबार





