अघिल्लो साल सहभागी नभएका सात देश थपिएपछि संख्या कीर्तिमानी बनेको हो। विभिन्न फिल्म फेस्टिभलमा विजेता बनेका फिल्म तथा उत्कृष्ट फिल्मकर्मीका फिल्म प्रतिस्पर्धामा सामेल रहेकाले यसपटकको भिडन्त रोचक हुने अनुमान गरिएको छ।
नेपालबाट सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मका लागि सिफारिसमा परेको 'झोला'का लागि यही कारणले अस्कर यात्रा सजिलो नहुने देखिएको छ। जस्तो कि टर्कीबाट प्रतिस्पर्धामा रहेको 'विन्टर स्लिप' यो वर्षको क्यान्स फिल्म फेस्टिभलमा 'पाल्म डि ओर' अवार्ड जितेको फिल्म हो भने टर्कीमै बनेको फिल्म 'लिटिल हयाप्पीनेस' युकेबाट विदेशी भाषाको प्रतिस्पर्धामा छ।
पोल्यान्डबाट प्रतिस्पर्धामा रहेको 'इदा' अघिल्लो वर्षको बाफ्टा अवार्ड विजेता पावेल पाउलिको उस्कीको फिल्म हो। आयरल्यान्ड, अष्टे्रलिया, फिलिपिन्स र बेल्जियमबाट प्रतिस्पर्धामा रहेका फिल्मलाई सम्भावित विजेता फिल्मको रुपमा हेरिएको छ।
८३ फिल्म मध्येबाट आउँदो जनवरीमा नौवटा फिल्म छनोट गरिनेछ भने नौबाट पाँचको छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि योग्य ठानिनेछ।
यसपटक फिल्मसँगै सहभागिता जनाएको देशको नाम अंकित गरिएको अवार्ड प्राप्त गर्नेछन्। एकेडेमीले गत महिना गरेको निर्णय अनुसार विजेता फिल्मसँगै सहभागी देशको नाम खोपेर अवार्ड दिन लागिएको हो।
गएको अस्करमा यस विधातर्फ इटलीबाट समावेश 'द ग्रेट ब्युटी'ले अवार्ड जितेको थियो। इटलीले यस विधामा सबैभन्दा बढी अवार्ड जितेको छ। सन् १९४७ देखि विदेशी भाषाका फिल्मलाई पनि अवार्ड दिन थालिए यता इटली सर्वाधिक १४ पटक अवार्ड जितेको छ।
ओस्कार अवार्डमा अन्तिम प्रतिस्पर्धामा सामेल हुने फिल्मका नामांकन आउँदो वर्षको जनवरीमा सार्वजनिक गरिनेछ भने अवार्ड वितरण समारोह फेब्रुअरी २२ मा आयोजना हुनेछ।
प्रकाशित: २६ आश्विन २०७१ २२:४२ आइतबार

