१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

भूतखोला एक्सप्रेस

घोत्लेढुंगा गाविस। पञ्चेश्वर माविको बलौटे चौर। हाफ्छुट्टीमा कक्षा दसका केटाहरू एकअर्कालाई उडाउँदै थियौं। कक्षा नौको डोटे तमु आइपुग्यो। ऊ हामीभन्दा पहिल्यै हाम्रा दाइहरूसित पढेको भए पनि थुप्रैचोटि जाँचमा गुल्टिएर नौको नौमै थियो। उसले फुइँ लायो, ‘ए बोमे केटा हो थाहा छ माइले त भूत देख्यो नि...।'उसको बचन भुइँमा खस्न नभ्याउँदै झम्के रौसियो, ‘कैले देखिस्?'
त्यसपछि डोटेले छाती झन् चौडा पार्दै भन्यो, ‘आस्ति देख्यो नि गाँठे, बोजुको माइताबाट आउँदा।' 
टंके पनि अघि सर्योस, ‘डराइनस्?'
त्यति भएपछि डोटेलाई पुगिहाल्यो। गम्कियो, ‘तिमेरू बोमेजस्तो छेरुवा हो र मो, जैरे भूतसित नि डराम्नी?'
‘कस्तो थियो नि हँ? भन्त,' चामेले उत्सुकता पोख्यो।
‘इस् भन्चु तिमेरू बोमेलाई,' डोटेले मुन्टो बटार्योे, ‘लाटो छु र मो? क्यान्टी (पैसो) नभई त मरिगए भन्दिनँ।' यति भनिसक्दा टंकेले अनुहार अमिल्यायो।
हामी कक्षा दसका सात केटाको इज्जतमा ठूलो दाग लाग्यो। मानौं त्यो सेतो कमिजमा लागेको कालो मोसो हो रिठ्ठाले धुँदा नि नजाने। डोटेका अघिल्तिर हामी पानीमरुवा जस्तै भयौं। मरेकै जुनी भो। नौमा पढ्नेले हामी दसमा पढ्नेका अघि भूतको वर्णन गरिरहेको छ! सबैले अनुहार बिगारे। निचोरेको कागतीजस्तै भो दामलीको अनुहार। मेरो पनि त्यस्तै भए हो।
अरूका अघिल्तिर छाती फर्काएर हिँड्ने हाम्रो छाती त एकै छिनमा चोइटिएर डल्लो भो। यत्तिखेरै आँदिखोलाको किनारमा गएर निधो गर्यौंम, भूतखोलाको वन शिरको पुछार नछिचोली नछाड्ने। झम्केले भन्यो, ‘नौमा पढ्ने जाबो डोटेले त देख्यो। हाम्ले किन नदेख्ने!' यस्तो लाग्यो त्यो भूत ल्याएर डोटेको अघिल्तिर पछारिदिन सके त त्यसको नाकमा आची लाग्ने थियो!
सबै तम्सियौं, भूत हेर्न जान।
‘जानी त भैयो अरे,' चामेले मन मारेजस्तो गर्योा, ‘क्यान्टी चाइयो नि क्यान्टी। काँ'ट ल्याम्चस्?'
‘बाको कोट झ्याप हान् न,' डण्डपानी उकासियो।
‘बाको कोट झ्याप हानेर गाला बम–पाउरोटी बनाउनु छ र?'
‘आमाको पोटुकाको गाँठो फुका न त उसो भए,' झम्केले सजिलेरी सुझायो। 

भूतखोलाको वन डुल्ने शनिबार आयो। फिसफिस परिरहेको थियो, भदौरे झरी। लिखेझरी भन्थ्यौं हामी। त्यस्तो झरीमा रुझेपछि छपक्कै लिखा पर्थे कपालमा। झम्केको पिँडीमा सबै दामली एककठ्ठा हुँदै थियौं।
‘के कोचिचस् ए झोलाँ तेसरी?' चामे परैबाट चेटि्ठँदै आइपुग्यो, ‘बेल्का नफर्किनी बिचार अरिचस् कि कसो?'
झम्के खितखितायो, ‘ससुराली भअ पो भूतखोलामा, फर्किन त परिहालो।'
दामली जम्मा हु“दै गर्दा घडीको सुईले बिहानीको आठ हानिसकेको थियो। सात जनाको टुकडी तयार भो हाम्रो। फिलिङेडाँडाको पाखपाखै बगालेपुर बजार झर्यौंै। त्यहाँबाट भूतखोलासम्म बस जान्थ्यो।
उताबाट ‘बिन्दास' यातायातको ख्याउटे बस देखा पर्योठ।! स्याँस्याँ भएजसरी बल्लबल्ल गुडिरहेको थियो। ऊ हामीतिर यसरी आइरहेको थियो, मानौं उसलाई दमको रोगले च्यापेको भसक्कै समय भो, जो लौरो टेकेर बल्लतल्ल पाइला चालिरहेको छ।
हात उठाउन नपाउँदै गुरुजीले घ्याच्च ब्रेक हान्यो। बजियाले बे्रकमात्रै हानेन। धन्न हाम्लाई नै उछिट्टाएन! हच्कियौं। 
‘सिट छ?' हुलबाट रंगेले घोक्रो फुलायो। 
‘सिट नभ'को नि मटर हुन्च?' कन्डक्टरले ओठे जवाफ फर्कायो, ‘खाली पो नभ'को त सोल्टी। छताँ बस न।' 
हामी छतमा गुरगुर्ती उक्लियौं। तर, अलिपर पुगेपछि प्रहरीले मुन्तिर झराल्यो हाम्लाई। 
बसभित्र त खुट्टो राख्नी नि ठाम रैन्च! यात्रु उसै त उसिनिएको आलुजस्ता भएका। हामी पनि कोचिएपछि त के चाहियो र! बोक्रा खोल्सिनमात्रै बाँकी भो।
कालोपत्रे गरेको सात दिनमै उप्किएको ‘गाम्ले मार्ग'का अजंगका खाल्डाखुल्डी भुत्याउ“दै थोत्रो मोटर अघि बढ्यो। अलि बेरपछि बसै थर्किने गरी गीत घन्कायो गुरुजीले, ‘प्यार के लिए चार पल...।' र, गीतैको तालमा मुन्टो र जिउ एकैसाथ मर्काउँदै स्टेरिङ घुमाउन थाल्यो। त्यही गीतकै रन्काले होला सम्भि्क“दै वान्ता हुन खोज्ने बाटो नि रमाइलै लाग्न थाल्यो। चम्पा चोक पुगेपछि हामीमध्येका तीन जना एउटै सिटमा कोचारिए। अण्डाका क्रेटजसरी चपक्क मिलेर बसे।
‘बसो केटा हो,' चोलेन्द्रले ओठ लेप्राउँदै गम्कियो, ‘भाग्यमानीका भूतै कमारो।' तर, उसको इसारा रै'छ, अर्कोपट्टिको सिटमा बस्ने दुइटी ठिटीतिर। मैले त धेरै बेरपछि कुराको मेसो पाए“। ट्युवलाइट स्वीच क्याट्ट पारेको अल्लि बेरमा बलेजसरी क्या!
अलिपर पुगेपछि आधा दर्जनजति यात्रु फेरि थपिए। अनि ढोकातिर बसेकाहरू पछिल्तिर चेपिए। छेडछाड सुरु भो। ‘झ्यालपट्टिकी त हिरुनीअस्तै रैचे गाँठे,' रंगेको मनको वह पोखियो। हाम्रो हाँसो एकैपटक पोखियो। खै के सुरमा हो भूतखोला नआउँदै बीचैमा भकाभक झर्न थाले दामलीहरू त। सोचेँ, खुप फुइँ लाम्थे यी मोरा, आखिर डराएरै छाडे छेरुवाका सन्तानहरू...।
‘याँ किन झरिचौ, हँ?' सोधेँ। 
‘पैले झर्, त्यसपछि थाहा पाइहाल्चस् नि,' ओर्लिसकेका संगीमध्येको एउटाले भन्यो। बसबाट ओर्लिएपछि चाल पाएँ। कुरो त्यसो पो रै'छ। ती ठिटीहरू पनि त्यहीँ ओर्लिएका रै'छन्। तर, ती ठिटी त भूतखोलातिरबाटै आएको बस रोकेर चढे र जताबाट आएको हो उतै फिरे। 
‘हिस्स बूढी हरिया दाँत,' टंकेले भन्यो। फेरि मरीमरी हाँस्यौं।
नजिकै मकै पोल्दै थिइन्, एउटी दिदी। उनैसित सोधेँ, ‘दिदी यो बाटो कता जान्च?' 
‘बाटो त कत्ना नि जान्न भाइ,' उनले मस्का लाउँदै भनिन्, ‘तिमोरू यो बाटो नछोडी गयौ भन्देखिन् भूतखोला पुउन्चौ।'
हामीले उनले सुझाएको बाटो पच्छायौं।
फिसफिस परेको पानी रोकिएको थिएन। रातो माटो। चिप्लो र भिरालो बाटो। ‘लौ केटा हो ज्यान जोगाएर हिँडओ है,' झम्केले सुझाउँदै गरेको वचन भुइँमा खस्न नभ्याउँदै चामे बद्र्यााम्म छाट्टिइहाल्यो। छाट्टिएर तीन पाइलो जति मुन्तिर पुग्यो। उसको पुट्ठोमा गिलो माटो लतपतियो बेस्मारी। तर, चोट लाग्यो कि लागेन कुन्नि? कसैले सोधेनन्। उसले पनि भनेन। दामली गललल्ल हाँस्दै यत्ति भने, ‘ए! उठ्, उठ्! स्ट्रेचर ल्याओ त केटा हो।' 

भूतखोलाको वन चहार्यौं । तर, भूत कतै पनि भेटिएन। उसको छाया पनि देखिएन। ‘त्यो साले डोटेले हाम्लाई थाउनामा सुतायो पक्का,' झम्के जंगियो।
‘धेरै जना देखेर भूतै त डराएन गाँठे?' डण्डेले मन फोयो। हाँसोको पर्का भल्कियो।
भूत कसै नभेटेपछि घाम डुब्ने बेलामा उकालियौं। नासपति र अम्लिसोको झाडी–झाडी। ‘सधैं बाटोमै त हिँडिन्च नि, आज चाँइ कूबाटो हिँडम्' भन्दै थियो चामे। घरी अम्लिसोको पातले पाछ्थ्यो। घरी काँडाले कोप्थ्यो। घरी सिस्नोले पोल्थ्यो, च्वास्स। ‘ठुटेबाउले टिसर्ट व्यर्थै लाएचु!' म आफैंसँग मुर्मुरिएँ। 
पानीले रुझेर गलक्क परेको बाटो। कहीँ चिप्लिन्थ्यो। कहीँ टेकेको ठाउँ नै हस्किन्थ्यो। कोही हात समाएर तान्थे त कोही उरन्ठेउला मोरा हाँस्थे। हामी यस्तो गौंडोमा आइपुग्यौं– एकमान्छे अग्लो घाँस अनि छिचल्नै नसकिने बाक्लो झाडी। हिँड्न मिल्नेजस्तो डोरेठो कतै पनि देखिएन। बरु देख्यौं– बारीका डिल र कान्लामा रहरलाग्दो गरी झुन्डिरहेका काँक्राका कलिला कैंडा।
‘कसैले नि नचलाम्नी है, गाल पाइन्च,' मैले उर्दी जारी गरेँ। एकमत भयौं सबै।
भोकले भातेआन्द्रो छिनेर दुइटा होलाजस्तो भइसकेको थियो। जिउमा त थुक्ने बल पनि थिएन। हुन त ओठमुखै हरक्क ओभाएको बेला के थुक आओस्! नजिकैबाट सर्यालकसुरुक गरेको आवाज आयो। चामे हच्चिकयो, ‘भूत त होइन?' सबैले मुखामुख गर्यौंि।
भूत भए त हुन्थ्यो! बिरालाको चालमा आवाज पछ्यायौं। एक जना अधबैंसे पो रै'छन्, काँक्राको लहरा पन्छाउँदै गरेका। हामी हिस्सियौं। भूत हेर्न तिर्खाएका हाम्रा आँखा त्यत्तिकै भए। 
‘ओए सबैले क्यान्टी निकाल् त, दसदस,' मैले भनेँ। मसँग पन्ध्र रुपैयाँ थियो। पाँचको नोट छुट्टै राखेर दसको निकालेँ खल्तीबाट।
कसैले पाँच निकाले। कसैले निकाल्दै निकालेन्। छैन भनेर टारे। गन्दा पैंतीस रुपैयाँ भो। हामीले सबैको काँक्रा किन्न माग्यौं। भसक्कै दिए उनले। भोकले कोखामा लात्ती बजार्न थालिसकेको थियो। हतारहतार हरका कपडामा पुछपाछ पारेर चपाउन थालिहाल्यौं।
‘दाइ, हाम्ले बाटो बिराएम्,' मैले काँक्रो चपाउँदै सोधेँ, ‘मूलबाटाँ निस्किनी कता'टी हो?'
‘उः त्यता'टी गएदेखिन् मूलबाटाँ टक्रक्कै पुइन्च,' अलि सजिलोजस्तो एउटा डोरेठो देखाउँदै भने।
हामी काँक्रा चपाउँदै उकालियौं, उनले भनेतिर। अलि मास्तिर घरहरू आउन लागेजस्तो हुँदा गाउँका कुकुरजति एकधुर लागेर भौं–भौं गर्न थाले। कुकुरको भुकाइसँगै एउटी बूढीआमैको आवाज चर्कियो, ‘बारीआँ काँक्रा चोर्नी को हो?'
लौ परेन अब फसाद! हंशले ठाउँ छोड्यो! बित्थामा गाल पाइने भो। गालमात्रै पाए त हुन्थ्यो। ढाडै खुस्काए भने? हामीसँग त काँक्रा पनि थिए। चोरीको सबुत प्रमाण!
‘होइन आमै, होइन। बाटो बिराअर हो,' रंगे र म चिच्चायौं। 
‘अझ बाटो बिराअर भन्चौ, सर्म छैन?' उनी पेटका आन्द्रा नै चुडिन्छन् कि जसरी कुर्लिइन्, ‘काँक्रा चोर... काँक्रा चोर...। लौन गुहार, बारीआँ चोर पसे...।' 
चारैतिरका कुकुर जोडजोडले भौं–भौं गर्न थाले। सोचेँ, गाउँले अब लाठी र भाटा बोकेर झर्ने भए! बेस्मारी भकुर्ने भए! भाग्ने बाटो नि छैन! सोच्दैमा, मेरो तालु ओभायो। अरूका केके ओभाए कुन्नि! कसैलाई कसैको वास्तै भएन। सबै आआफ्नो सुरमा जिउ जोगाउनेतिर लागे। कान्लैकान्ला। मकै बारीबारी। नासपति घारीघारी। बाटो होस्, नहोस्। किलो भाँचेर भागेको बधँुवा गोरुझैं दौडिरह्यौं हामी।
त्यही बेला मलाई च्याप्प कसैले पछाडिबाट समात्यो! खङ्रङ्ङ भएँ। पक्कै भूत हुनुपर्छ। सातो त चंगाझैं भो। फरक्क पछिल्तिर फर्किन सकिनँ। अलि बेर मूर्तिझैं अडिइरहेँ। भूत हेर्न त्यत्ति आत्तिएको म अहिले त लाग्यो, यो भूत नभैदियोस्! झोला फालेर भागौं कि, हँ? त्यति माया लाग्ने झोलाको कत्ति माया लागेन त्यतिखेर। आफ्नो ज्यानको मात्रै लाग्यो माया त। मेरो भित्री मनले भन्यो, दामलीलाई भूत देखेँ भनेर फुइँ लगाउन पाइन्च! यस्तो मौका नफुत्का केटा! पछिल्तिर फर्किएँ। 
तर, फेरि पनि हिस्सै! भूत देख्न लेखेकै रै'नछ पुर्पुरोमा। पिठ्युँमा भिरेको झोला पो काँडामा उनिएको रै'छ। लामो सास फालेँ। तानेको आएन। दोधारमा परेँ म। अब झोलाको माया लागेर आयो। भर्खरै किनेको झोला फालेर पनि कसरी हिँडू? जति बल लगाएर ताने नि आएन। आउँदै आएन। लखेट्ने मान्छे भने नजिकै आइसकेका थिए। दामलीहरू पनि अलि मास्तिरै पुगिसकेका रै'छन्। मैले काँडामा उनिएको झोला तानिरहेँ। तर, आएन। झोला नआउँदा पिसाब आउला जस्तो भो! फेरि मरिन्जेल तानेँ। अडि्कएको काँडै भाँच्चियो। म हुत्तिएर अलि पल्तिर पुगेँ हात टेक्न। उठेर फेरि भागेँ पत्ताचोट। 
चार–पाँच कान्लामास्तिर भेटिए दुई जना। मलाई ‘छिटो... छिटो' भनेर अत्ताउँदै थिए। फेरि नजिकै कोही बोलेको आवाज सुनियो। अर्कैतिर भाग्यौं। भाग्दा फेरि छिरलियौं। रंगे र म एकातिर भयौं। ऊ अघिअघि, म पछिपछि। अचानक, खुट्टा लर्किएर उछाँट्टियो लैनो पाडोझैं। यसो हेरेको मान्छेको मल रै'छ! कता पखाल्नु, कता पुछ्नु? पहिलो काम ज्यान जोगाउनु थियो। दौडको सिलसिला टुट्न दिएनौ।
धेरै माथि पुगेपछि बल्ल मान्छेको आवाज आउन छाड्यो। कुकुरको भुकाइ पनि मधुरिँदै गयो। हाम्ले पनि दगुराइको गियर घटायौं। इन्धन पनि सकिइसकेको थियो जिउमा! स्टार्ट बन्द हुनमात्रै बाँकी थियो! अलिमाथि पुगेपछि मूलबाटो भेटियो। मुखभरिको सास फालेपछि जे त होला भनेर भुइँमा पछारियौं।

प्रकाशित: १० आश्विन २०७१ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App