८ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्य

फुटबल हेर्न श्रीमतीलाई कुर्सीमा बाँधेको आरोपमा ६४ वर्षीय पुरुष पक्राउ

एआई तस्बिर

अमेरिकाको भर्जिनियामा फुटबल खेल हेर्न कुनै अवरोध नहोस् भन्दै श्रीमतीलाई घरको बेसमेन्टमा कुर्सीमा टेपले बाँधेर राखेको आरोपमा ६४ वर्षीय पुरुष पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रिचमन्डका टेरी वार्ड रहेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार अक्टोबर ११ को राति घरेलु विवाद भएको सूचना पाएपछि प्रहरी वार्डको म्यापलवुड एभिन्यूस्थित घर पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा वार्डकी श्रीमतीको दुवै हातमा दाग र टेपका निशान देखिएका थिए।

प्रहरीमा दर्ता भएको फौजदारी उजुरीमा वार्डकी श्रीमतीले आफ्ना पतिले आफूलाई घरको बेसमेन्टमा रहेको कुर्सीमा टेपले बाँधेको बताएकी थिइन्। उनले आफू करिब ३० देखि ४५ मिनेटसम्म बाँधिएर बसेको प्रहरीलाई जानकारी दिएकी हुन्।

उजुरीमा उल्लेख भएअनुसार वार्डले पनि आफ्नी श्रीमतीलाई कुर्सीमा बाँधेर बेसमेन्टमा राखेको स्वीकार गरेका छन्। वार्ड माथिल्लो तलामा फुटबल हेरिरहेका बेला उनकी श्रीमती बेसमेन्टमा थिइन्।

प्रहरीले वार्डमाथि अपहरण र परिवारका सदस्यलाई आक्रमण तथा कुटपिट गरेको आरोप लगाएको छ। घटनाबारे थप विवरण सार्वजनिक भएको छैन। तर, फुटबल हेर्नकै लागि श्रीमतीलाई बाँधेर राखिएको भन्ने आरोपले विश्वभर चर्चा पाएको छ।

अब वार्डलाई आगामी नोभेम्बर १० मा रिचमन्ड जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन्स डिस्ट्रिक्ट कोर्टमा उपस्थित गराइनेछ। 

प्रकाशित: ८ कार्तिक २०८३ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App