१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्य

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको महिना हुन्थ्यो। बाटोघाटो नचलेर हुलाकी घरसम्म नपुग्दा आफन्तको खबर नपाउनुको पीडा। आवतजावत नहुँदा सुनसान बनेका मूलबाटाहरू। बाढी–पहिरोले घर लैजाला भन्ने त्रास र छटपटी।
हैजाजस्ता महामारीको भयानक भय। सालाखाला हाम्रा लागि साउन यस्तै हुन्थ्यो। त्यसैले गीत लेख्नेहरूले कहिल्यै पनि साउनलाई उत्सवका रूपमा व्यक्त गरेनन्। कविता लेख्नेहरूले चैतवैशाखको जति महिमामण्डन गरे, त्यसको दाँजोमा साउनको चर्चासमेत गरेनन्। तर, हाम्रो छिमेकी मुलुक भारतका कवि–साहित्यकारहरूले साउनलाई उच्च प्राथमिकता दिँदै आएका छन्। उनीहरूले त साउनलाई प्रणय महिनाका रूपमा अभिव्यक्त गरेका छन्। हिन्दी गीतसंगीतमा ‘सावन' छाउनुसम्म छाएको छ। पछिल्लो समय हामी नेपाली पनि साउन महिनालाई धुमधामका साथ मनाउन थालेका छौं। यसको पछाडि छिमेकको प्रभाव नहोला भन्न सकिन्न।नेपाली राजनीतिमा एउटा मान्यता स्थापित छ। भनिन्छ, लालकिल्लामा पानी पर्दा शहिदगेटमा छाता ओढ्नुपर्छ। नेपाली नेताहरूको ‘लम्पसार सिद्धान्त'लाई मनन गर्दा यो भनाइमा दम पनि देखिन्छ। हामी नेपालीहरू राजनीतिमा ‘कन्नस' भएका हुनाले हामीलाई यस्ता कुरा राम्रैगरी थाहा हुन्छ। तर, गंगोत्रीमा पानी पर्दा मुक्तिनाथमा छाता ओढ्नुपर्ने यथार्थबाट भने हामी बेखबर छौँ। तिरुपतिमा भजन गाउँदा पशुपतिमा नाच चल्छ भन्ने हामी नेपालीलाई थाहा छैन। त्यसैले त ‘कसौटी जिन्दगी की' र ‘सास भी कभी बहु थी'को मेहदीले हाम्रो साउनलाई पनि ‘सावन' बनायो। छोराछोरीलाई नानीबाबु भन्ने लवज सखाप भयो र ‘बेटा' उदायो। जे होस्, हामी हाम्रोमा भन्दा पनि छिमेकको रहनसहनमा अभ्यस्त बन्दै छौँ। किनकि, हामी नेपालीहरू आफ्नोमा भन्दा अर्काकोमा रमाइलो मान्छौँ।
साउनको चर्चा गर्दा हामीले पाएको एउटा उपहारको पनि चर्चा गर्नु अति आवश्यक छ। हिजोआज मन्दिरदेखि महफिलसम्म बोल बमकै चर्चा छ। तरकारी बजार होस् वा सरकारी कार्यालय होस्, जहाँतहीँ बोल बम छाएको छ। गाडीमा बोल बम। साडीमा बोल बम। बजारमा बोल बम। नजरमा बोल बम। मानौँ, हामी नेपालीहरू बोल बम मनाउनकै लागि जन्मिएका हौँ।
यो बोल बमबाट हजुरबुवा र हजुरआमाहरू बेखबर थिए। बाउआमाको पनि अधबैँसे कालखण्डबाट प्रकट भएको बोल बमसँग नातिनातिना पुस्ता भने हुुनुसम्म हुरुक्क भएका छौँ। हाम्रा हजुरबा–हजुरआमाका पालामा नभएको यो बोल बम कहाँबाट आयो? कुरा छर्लंगै छ, छिमेकबाट। आखिर बोल बम छिमेकको उपहार न पर्‍यो, अनि हामी नेपाली न पर्यौँ । अनि त के चाहियो? हामीले सिंगो साउनलाई बोल बममय बनाएका छौँ।
हाम्रो मौलिक साउनको सोमवारलाई ‘सावन'को बोल बमले विस्थापित बनाउँदै छ। हाम्रा शिवालयहरूमा हुने आराधना र अर्चनाहरूले फरक रूप ग्रहण गरिरहेका छन्। बोल बममार्गीहरूको पैदलयात्रा र भीडभाडले शहरका चोक र गल्लीहरू व्यस्त छन्। हाम्रो राजनीतिले जसको अर्चना गर्छ। हाम्रा राजनेता जसको गणेश परिक्रमा गर्छन्। तिनै आराध्यदेवले हाम्रा देवादिदेव पशुपतिनाथमा पूजा गर्ने समाचारले ठूलो खैलाबैला मच्चाएको छ। यो खबर विशेषगरी बोल बममार्गीहरूका लागि शुभ खवर हो। जे होस्, साउनको सट्टा ‘सावन'नै सही यस वर्षको बोल बम झन् झकास हुने भएको छ। बोल बम जताबाट उपहार पायौँ। उतैबाट काइदा काइदाका उपहार वर्षा हुने हल्लैहल्लाले सम्पूर्ण नेपालीहरूको आँत रसाएको छ। नेपाली नेताका अभिव्यक्ति सुन्दा र नेपाली सञ्चारमाध्यमहरूको तँछाडमछाड देख्दा यस्तो लाग्छ, यो साउन हाम्रा लागि हुनसम्मको अपार बन्दै छ।
हाम्रो राजनीतिलाई मिलाउन कोही आउनैपर्छ। हाम्रा नेताहरूबीचको मेलमिलापका लागि कतैबाट हरियो बत्ती बल्नैपर्छ। संविधान निर्माण कसरी गर्ने भन्ने विषयमा हाम्रा शीर्ष नेताहरू छलफलमा जुटेको हामी नेपालीले देख्न पाएका थिएनौँ। तर, बोल बमको यो सिजनमा बम्पर उपहारसहित नेपाली राजनीतिको मक्का–मदिनाका अधिपति आउने भएपछि हाम्रा नेताहरू घण्टौँसम्म छलफलमा जुटेको देखियो। चारैतिर फर्किएका नेताहरूलाई एउटै टेबुलमा बस्न बाध्य पार्ने शक्ति र सामर्थ्यलाई हामी नेपालीले धन्यवाद दिनैपर्छ।
हाम्रो पूर्वराजपरिवारले जहिले पनि ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्' भनिरह्यो। तर, राजपरिवारकै कल्याण हुन सकेन। जान्ने बुझ्नेहरूको कुरा सुन्दा पूर्वराजपरिवारले पशुपतिले कल्याण गरून्को ठाउँमा बोल बम भन्ने गरेको भए उसको सानोतिनो अपशकुन टरेर जाने थियो। बोल बम नभन्नुले नै उसमाथि अपशकुनको शृंखला सुरु भएको हो। हाम्रा नेताहरूले भने बोल बम भन्न राम्रैगरी जानेका छन्। त्यतिमात्र होइन, जल कसरी चढाउने? साष्टांग दण्डवत कसरी गर्ने? भजन कसरी गाउने? यो सबैको मेलोमेसो हाम्रा नेताहरूलाई छ। यस्ता कुरामा सिद्धहस्त हाम्रा नेताले बोल बमको आराधनामा त्रुटि पुर्यासउलान् भन्न त नसकिएला? तर, थोरै भए पनि बचेको साउनलाई सम्पूर्ण रूपमा ‘सावन' बनाउँछन् कि भनेर हामी नेपाली भने सचेत हुनैपर्छ।

प्रकाशित: १६ श्रावण २०७१ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App