ब्राजिलको विश्वकपलाई सर्वोत्कृष्ट मान्ने र नमान्ने दुई पक्षमा जसको तर्क दमदार भए पनि एउटामा भने तथ्यांकले नै प्रमाणित गरेको छ– यसपालिको प्रतियोगिता विगतको तुलनामा बढी आक्रामक भयो। लगातार चौथो पटक विश्वकपको गोल औसत बढेको छ।
मारियो गोइट्जेले अतिरिक्त समयमा गरेको गोल माराकानामा जर्मनीलाई इतिहासको चौथो उपाधि जित्न पर्याप्त भयो। जसले प्रतियोगितामा उपाधि जित्ने लियोनेल मेसी र उनको अर्जेन्टिनी टोलीको यात्राका साथै ब्राजिल २०१४ का गोलमा पनि पूर्णविराम लगायो। गोइट्जेले गरेको गोल ३२ टिम सहभागी एक महिना लामो प्रतियोगिताको १ सय ७१ औँ गोल थियो। ६४ खेलमा यति गोल भएको यो १९९८ फ्रान्सपछि पहिलो थियो। फ्रान्सले १६ वर्षअघि विश्वकप गर्दा पनि १ सय ७१ गोल नै भएको थियो।
आक्रामक फुटबल
आक्रामक फुटबलको लय विश्वकपले सुरुआती चरणमै समातेको थियो। समूह चरणको आफ्नो पहिलो खेलमा अघिल्लो संस्करणको फाइनल खेलेका दुई टोलीबीचको प्रतिस्पर्धामा नेदरल्यान्ड्सले स्पेनलाई ५–१ को अनपेक्षित नतिजामा हरायो। साबिक विजेतालाई अघिल्लो संस्करणको उपविजेताले हराउँदाको खेल प्रदर्शन र भएका गोलको स्तर दुवैमा उच्च थियो। डच स्ट्राइकर रोबिन भान पर्सीले विपक्षी गोलकिपर अघि बढेको मौकामा गरेको चिप हेड विश्वकप इतिहासले देखेका सर्वोत्कृष्टमध्येको एक गोल थियो। अस्ट्रेलियाका टिम काहिल, कोलम्बियाका हामेस रोड्रिग्वेज र अर्जेन्टिनाका लियोनेल मेसीले पनि विश्वकपलाई अविस्मरणीय गोलको सम्पत्ति छोडेर घर फर्किए।
'विश्वकपका खेल हेर्दा टिमहरू यहाँ गोल गर्न नै आएजस्तो देखियो,' लिभरपुल तथा फ्रान्सका पूर्वप्रशिक्षक जेरार्ड हुलियरले भने, 'यो विश्वकपमा भएका केही खेल त बास्केटबलजस्ता थिए। एउटा पोस्टबाट अर्को पोस्टमा मुभ सिर्जना हुन कत्ति बेर पनि नलाग्ने। दर्शकको आँखालाई भ्याइ–नभ्याइ। फुटबल विकासक्रमको दृष्टिमा यो विश्वकप एउटा कोसेढुंगो हुन सक्छ। उच्च स्किल, तीव्र गति यो विश्वकपका विशेषता रहे।'
फिफाको प्राविधिक टोलीमा रहेका हुलियरले ब्राजिलको तनावग्रस्त समयमा भएको विश्वकपमा समेत सहभागी ३२ देशका टिम र समर्थकले फुटबलको माहोल पाएको दाबी गरे। 'ब्राजिलको फुटबलमोह अचम्मकै छ। यस्तो कठिन परिस्थितिमा पनि विश्वकपको माहोलमा कुनै कमी आएन,' मौसममा सामान्य गुनासो भए पनि विश्वकप भव्य रूपमा सफल भएको मान्ने उनले भने, 'यहाँको मौसम सामान्य अप्ठेरो हो। तर, युरोपको टिमले उपाधि जितेर मौसमबारेका सबै चर्चामा सत्यता नरहेको प्रमाण दिएको छ।'
गोलकिपरको विश्वकप
धेरै गोल भएको विश्वकपमा फरवार्डहरू चर्चामा हुनु स्वाभाविक हो। तर, ब्राजिल २०१४ मा फरवार्डहरूभन्दा बढी गोलकिपर छाए। कति पण्डितले त यसलाई गोलकिपरको विश्वकपको समेत दर्जा दिए। मेक्सिकोका गुइलेर्मो ओचोवाले ब्राजिलका नेइमारको प्रहार उत्कृष्ट डाइभ गर्दै बचाउँदा १९७० को मेक्सिको विश्वकपमा पेलेको प्रहार गोर्डन बेंकले जोगाएको क्षणसँग तुलना गरियो। ओचोवाको बचाउसँगै प्रतियोगितामा सफलता पाउने गोलकिपरमा जर्मनीका म्यानुअल नुयुर, अमेरिकाका टिम हवार्ड र कोस्टारिकाका केलर नाभास पनि थिए। सेमिफाइनलमा जर्मनीसँग सात तथा तेस्रो स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग तीन गरी दुई खेलमा १० गोल खानुअघिसम्म ब्राजिलका जुलियो सिजर पनि उत्कृष्ट गोलकिपरमा गनिएका थिए।
अन्तिम १६ को खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको खेलमा अमेरिकी गोलकिपर हवार्डको प्रदर्शन सनसनीपूर्ण थियो। उनले एउटै खेलमा १६ वटा खतरनाक प्रहार जोगाएर विश्वकपको इतिहासलाई अर्को एउटा अध्याय दिएका थिए। १९६६ मा इङ्ल्यान्डका गोलकिपर बेंकपछि विश्वकपको एकै खेलमा १६ बचाउ गर्ने हवार्ड पहिलो खेलाडी हुन्।
'आज हवार्डको प्रदर्शन शब्दले वयान गर्न सकिने खालको छैन। म खालि यति भन्न चाहन्छु– उनकै कारण हामी अन्तिमसम्म खेलमा टिक्न सक्यौँ,' खेलपछि अमेरिकी प्रशिक्षक योर्गान क्लिन्सम्यानले हवार्डको प्रशंसामा भनेका थिए, 'आजको खेलमा कोही सबैभन्दा बढी व्यस्त थियो भने त्यो हवार्ड नै थिए। साथै आजको खेलमा कोही सर्वोत्कृष्ट थियो भने त्यो पनि उनी नै थिए।'
समूह ए को खेलमा आयोजक ब्राजिललाई अनपेक्षित गोलरहित बराबरीमा रोक्दा ओचोवाको प्रदर्शन सबैभन्दा प्रशंसित थियो। यसैगरी सिजरले पनि अन्तिम १६ को खेलमा चिलीलाई निर्धारित समयसम्म रोक्दै पेनाल्टी सुटआउटमा निराश पार्दा उच्च प्रदर्शन गरेका थिए। ब्राजिलले क्वार्टरफाइनलको यात्रा तय गर्नुमा सबैभन्दा बढी जस सिजरलाई नै जान्छ। उनले टाई–ब्रेकरमा दुई पेनाल्टी असफल पारेका थिए।
कोस्टारिकाका गोलकिपर केलर नाभास विश्वकपका अर्का नायक हुन्। विश्वकपको सबैभन्दा अन्डरडग मानिएको टोलीलाई समूह चरणका सबै तीन खेल जिताउन मुख्य भूमिका निर्वाह गरेका नाभास ग्रिसविरुद्धको दोस्रो चरण खेलमा पनि नायक बने। ग्रिसविरुद्ध १० जनामा सीमित कोस्टारिकालाई जीतको बाटोमा डोर्याणउन नाभासको बचाउ महत्त्वपूर्ण थिए।
जर्मनीका म्यानुअल नुयुर पोस्ट सम्हाल्नुसँगै आवश्यकता पर्दा पेनाल्टी बक्स बाहिर पुगेर पनि बल क्लियर गर्ने गर्छन्। फुटबलमा गोलकिपरले यसरी रक्षकजस्तो धेरै अगाढि बढनु कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ। तर, जर्मनीका लागि खेल्दा बायर्न म्युनिखका नुयुरको प्रदर्शन सधैँ औसतभन्दा माथि हुने गर्छ। जर्मनीले चौथो पटक विश्वकप जित्दा गरेको त्यही उत्कृष्ट प्रदर्शनका कारण नुयुर गोल्डेन ग्लोभबाट पुरस्कृत भए।
अनपेक्षित नतिजा
खेलाडीको व्यक्तिगत प्रदर्शनले विगतमा झैँ यसपालि पनि चर्चा बटुल्यो। साथमा अनपेक्षित नतिजाको शृंखला ब्राजिल विश्वकपको पनि सुन्दर पक्षका रूपमा रहयो। साबिक विजेता स्पेनलाई यो विश्वकपको पनि मुख्य दाबेदारमा राखिएको थियो। पछिल्लो छ वर्षमा स्पेनिस टोलीले अन्तर्राष्ट्रिय फुटबलमा हासिल गरेका सफलता विश्वकपको उपाधि रक्षाका लागि लायक पनि थियो। तर, प्रतियोगिता सुरु भएसँगै स्पेनको दाबेदार छवि धुमिल भयो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग आत्मसमर्पण गरेको टोलीले चिलीसँग पनि सुखद नतिजा ल्याउन सकेन। समूह चरणको अन्तिम खेलअघि नै स्पेनको ब्राजिल यात्रामा पूर्णविराम लागिसकेको थियो।
इङ्ल्यान्ड र इटाली पनि विश्व फुटबलका हरेकखाले प्रतिस्पर्धामा सधैँका दाबेदार हुन। विश्वकपमा पनि उनीहरू ठूलै लक्ष्य लिएर ब्राजिल पुगेका थिए। तर, कोस्टारिका र उरुग्वेसहित सम्मिलित ग्रुप अफ डेथका रूपमा लिइएको समूह डीमा पर्दा यिनै दुई युरोपेली महारथी शिकार बने। उरुग्वे नकआउट चरण पुग्नुलाई सामान्य रूपमा लिन सकिएला, तर विश्वकपअघिसम्म खासै महत्त्व नदिइएको कोस्टारिका विजेताका रूपमा अघि बढ्यो। समूह डीमा कोस्टारिकाबाहेक तीनवटै टोली विश्वकपका पूर्वविजेता हुन्। इटालीले चारपटक विश्वकप जितेको इतिहास छ भने उरुग्वेले दुई तथा इङ्ल्यान्डले एकपटक विश्वकप जितेका थिए। कोस्टारिकाले अनपेक्षित रूपमा समूहका तीनै प्रतिद्वन्द्वीलाई निराश पार्योे। इटाली र उरुग्वेलाई हराएको मध्य अमेरिकी टोलीले इङ्ल्यान्डसँग गोलरहित बराबरी खेल्यो।
विवाद
इटाली समूह चरणबाटै बाहिरिनु एउटा आश्चर्य थियो। तर, उरुग्वेविरुद्धको समूहको अन्तिम खेल निकै विवादास्पद रहयो। इटालियन रक्षक जर्जियो चिलियानीलाई उरुग्वेका फरवार्ड लुइस स्वारेजले टोकेको घटना ब्राजिल विश्वकपको सबभन्दा ठूलो विवादको विषय बन्यो।
चिलियानीलाई टोकेबापत स्वारेजले ९ अन्तर्राष्ट्रिय खेलका साथै चार महिनाका लागि फुटबलका सबैखाले गतिविधिमा लाग्नबाट विश्वव्यापी प्रतिबन्धको सजाय पाउनुपर्योे। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्वारेजको विगतसमेत अध्ययन गरेर यस्तो कठोर सजाय दिइएको बताएको छ। विश्वकपमा कुनै पनि खेलाडीले पाएको यो अहिलेसम्मको सबैभन्दा ठूलो सजाय थियो।
स्वारेजले विपक्षी खेलाडीलाई टोकेबापत प्रतिबन्धको सजाय पाएको यो तेस्रो पटक हो। यसअघि गत वर्ष लिभरपुलका लागि खेल्दा चेल्सीका रक्षक ब्रानिस्लाभ इभानोभिचलाई टोकेबापत उनले १० खेलको प्रतिबन्ध भोग्नुपरेको थियो। त्यस्तै सन् २०१० मा अयाक्सबाट व्यावसायिक फुटबल खेलिरहँदा स्वारेजले यस्तै घटनामा सात खेलको प्रतिबन्ध भोगेका थिए।
पोर्चुगलका पेपेले जर्मनीका थोमस मुलरलाई गरेको 'हेडबट' ब्राजिल विश्वकपको अर्को नकारात्मक घटना थियो भने प्रतियोगितामै सबैभन्दा हेर्न रुचाइएकामध्येका स्टार नेइमार क्वार्टरफाइनलमा घाइते हुनुले स्तरीय फुटबल क्षमता सेमिफाइनलले देख्न पाएन।
कोलम्बियाविरुद्धको क्वार्टरफाइनलको अन्तिम समयमा विपक्षी खेलाडीको घुँडाले लाग्दा नेइमारको मेरुदण्डको एउटा हाड भाँच्चिएको थियो। जसका कारण उनले बाँकी प्रतियोगिता गुमाउनुपर्यो । घरेलु मैदानमा उपाधि जित्ने ब्राजिलको आशाका मुख्य आधार नै घाइते भएपछि टोलीले सेमिफाइनलमा इतिहासमै नभोगेको लज्जाजनक हार स्विकार्नुपर्यो।
रेफ्रीको निर्णय
गोललाइन प्रविधिले यो विश्वकपमा रेफ्रीको निर्णयमा सुधार आउने अपेक्षा गरिएको थियो। अघिल्लो विश्वकपमा इङ्ल्यान्डका फ्रांक लाम्पार्डको प्रहार क्रसबारमा लागेर पोस्टभित्र ठोक्किँदै बाहिरिँदा यही प्रविधि नभएका कारण रेफ्रीले त्यसलाई गोल दिएनन्। जर्मनीले त्यो खेल ४–० को अन्तरमा जितेपछि गोललाइन प्रविधिको आवश्यकता देखियो। विश्वव्यापी बहसको निष्कर्ष यो विश्वकपबाट गोललाइन प्रविधि सुरु गर्ने निस्कियो।
प्रविधिले बलले गोललाइन पार गरे/नगरेको विवाद नभए पनि अन्य कुरामा रेफ्रीको निर्णय यसपालि निकै विवादित भए। उद्घाटन खेलमै क्रोएसियालाई त्यस्तै फाउलमा पेनाल्टी नदिएका जापानी रेफ्रीले ब्राजिललाई भने पेनाल्टी दिएर सुरु गरेको विवादित निर्णयले अन्तिमसम्मै निरन्तरता पायो। रेफ्रीले मैदानमा राम्रो कमान्ड नगरेकै कारण धेरै फाउलहरू भएको भन्दै आलोचना बेहोर्नुपर्योे।
दक्षिण अमेरिकी शैली
विश्व फुटबलमा दक्षिण अमेरिकीलाई सुन्दर र आक्रामक फुटबल खेल्ने भनेर चिनिन्थ्यो। खासगरी ब्राजिल र अर्जेन्टिनाले त्यस्तै सुन्दर खेलका कारण विश्वभर समर्थक बटुलेका थिए। तर, यसपालि दुवै टोलीको प्रदर्शनमा सुन्दरभन्दा नकारात्मक पक्ष धेरै देखिए।
घरेलु मैदानमा जसरी पनि जित्नुपर्ने दबाबमा हरेक खेलमा मैदान उत्रिएको ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले त मुखै फोरे, 'हामी सुन्दर फुटबलको नाममा हार्न चाहन्नौँ। हामी जित्न चाहन्छौँ, त्यसका लागि कुरूप फुटबल नै खेल्न किन नपरोस्।' स्कोलारीले भनेअनुसार ब्राजिलले सुन्दर फुटबलसँगको नाता त तोड्यो, तर सफलता चाहिँ पाउन सकेन।
नकआउट चरणका दुई खेल जित्दा ब्राजिलले ५९ कडा ट्याकल गरेको थियो। जुन अनुशासित फुटबलमा कल्पना गर्न सकिने कुरा होइन।
यसैगरी अर्जेन्टिनाले पनि आफ्नो पूरा टिम र आक्रमणका धारहरूमा विश्वास गर्न सकेन। हरेक खेलमा संघर्ष गर्दै फाइनलसम्मको यात्रा तय गरेको अर्जेन्टिनी टोली लियोनेल मेसीमा पूर्ण निर्भर थियो। टिमबाट मेसीका केही जादुबाहेक कुनै पनि खेलमा प्रभावशाली आक्रमणको नमुना देख्न पाइएन। फाइनलमा त अधिकांश समयजस्तो आफ्नो पोस्टबाट ३० यार्डको सर्कलभित्र खुम्चिएर अर्जेन्टिनाले दक्षिण अमेरिकी शैलीको खिल्ली उडायो। फाइनलको प्रदर्शन हेर्दा सुरुदेखि नै मेसी र उनको टोली खेल टाई–ब्रेकरसम्म लम्ब्याउन चाहन्छन् जस्तो देखिन्थ्यो। जुन दक्षिण अमेरिकी आक्रामक शैलीसँग मेल खाँदैन। अझ मेसी, गोन्जालो हिग्विन, सर्जियो अग्विरोजस्ता विश्व फुटबलमा तहल्का मच्चाएका फरवार्डहरू भएको टोलीले रक्षात्मक रणनीति लिने विश्वास गर्न सकिन्नथ्यो।
जर्मनीसँग टिम
विश्वकप दौरान एउटा ट्वीट भाइरलझैँ विश्वभर फैलियो, 'पोर्चुगलसँग रोनाल्डो (क्रिस्टियानो) छन्, अर्जेन्टिनासँग मेसी छन्, ब्राजिलसँग नेइमार छन्। तर, जर्मनीसँग टिम छ।'
यो ट्वीटको भावना थियो– फुटबल भनेको टिम खेल हो। यहाँ एक्लो सुपरस्टारले केही गर्न सक्दैन। बरु औसत स्टारहरूको सन्तुलित टोलीले नतिजा हात पार्न सक्छ। अघिल्लो विश्वकपमा स्पेनले त्यस्तै सन्तुलित टोलीका रूपमा उपाधि जित्यो। यसपालि जर्मनीले त्यही छविका साथ विश्वकप उपाधिमा कब्जा जमायो।
प्रतियोगितामा जर्मनीले कुल १८ गोल गर्दा आठ खेलाडीले गोलमा नाम लेखाए। जबकि ब्राजिलले ६ खेलाडीबाट सात खेलमा ११ गोल गर्योप। त्यसमा नेइमारको नाममा ४ गोल थियो भने डेविड लुइज र ओस्कारले दुई/दुई गोल गरेका थिए। यसैगरी अर्जेन्टिनाले सात खेलमा आठ गोल गर्दा चार गोल मेसी एक्लैले गरेका थिए।
अर्जेन्टिनाले उपाधि जितेको भए मेसीले म्याराडोनाजस्तै महान् खेलाडीको स्थान लिने सबैको विश्वास थियो। ब्राजिलले नजित्दै नेइमारलाई पेलेसँग तुलना गर्न थालियो। यसैगरी समूह चरणबाटै पोर्चुगल घर फर्किंदा रोनाल्डो पनि महान् खेलाडी बन्ने मौकाबाट चुकेको तर्क गरियो। तर, जर्मनीले उपाधि जित्दा पनि कुनै एक खेलाडीलाई महानायकको रूपमा बयान गर्न सकिने अवस्था रहेन। पूरा टिम जर्मनीका लागि नायकहरूको समूहका रूपमा रहयो। थोमस मुलरले लगातार दोस्रो विश्वकपमा पाँच गोल गरे। मिरोस्लाभ क्लोजले ३६ वर्षको उमेरमा दुई गोल गरेर विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए। म्यानुअल नुयुरले अनगिन्ती बचाउ गरेर पोस्ट सुरक्षित गर्नुका साथै एउटा रक्षकको जस्तो प्रदर्शनसमेत गरे। २२ वर्षका मारियो गोइट्जेले फाइनलमा समय सकिनै लाग्दा उत्कृष्ट भलीमा निर्णायक गोल गरे। बास्टियान स्वास्टाइगर र सामी खेदिराले रक्षात्मक मिडफिल्डरका रूपमा भूमिका निर्वाह गर्दा आक्रमणमा सबै खुलेर खेल्न पाए। टोली क्रुस र मेसुट ओजिलले आक्रामक मिडफिल्डरको भूमिकामा कुनै कसर छोडेनन्। कप्तान फिलिप लाहमलाई रक्षापंक्तिमा माट्स हुमेल्स र जेरोम बोटिङको उत्कृष्ट साथ रह्यो। एउटा पूर्ण टिमका रूपमा जर्मनीले विश्वकप जितेर जर्सीमा चौथो तारा थप्यो।
प्रकाशित: २ श्रावण २०७१ ०७:०५ शुक्रबार





-600x400.jpg)