प्रहरीले आइतबार विहान बासुदेवपुर–१ बाट २० किलो अफिमसहित रुकुम साख–४ का ४६ बर्षीय देविलाल गिरी, ३७ बर्षीय जितेन्द्र गिरी, ३२ बर्षीय बीरबहादुर खड्का, ३३ बर्षीय मातिलाल ओली, ४९ बर्षीय खड्क बहादुर खड्का पक्राउ परेका हुन्। पक्राउ अफिम करिव ८० लाख मुल्य बराबर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी जनक बहादुर शाहीले बताए।
प्रहरीका अनुसार जिल्लामै पहिलो पटक ठुलो मात्रामा २० किलो अफिम पक्राउ गरिएको हो। प्रहरीले अफिम कारोबारमा संग्लन रुकमका गिरी, खड्का, ओली सहित चारजनाको साथमा चार चार किलो अफिम बरामद गरेको हो।
क्षेत्रीय प्रहरी, अञ्चल र कोहलपुर प्रहरीको संयुक्त टोलीले बासुदेवपुर–१ घर भई जिल्ला कृषि विकास कार्यालय रुकुममा जेटिए रहेका शम्भुनाथ योगीको घरबाट अफिम सहित उनीहरु पक्राउ परेका हुन्। योगीका घरमा कामदार रहेका फत्तेपुर–९ का लक्ष्मण चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
रुकुम हुँदै भारतीय अफिम व्यापारी मुसा खानलाई पुर्याउन प्रतिव्यक्ति ४० हजार रुपैँया लिएर भरियाको काम गरेको समातिएका पाँच जनाले प्रहरीलाई बयान दिएको डिएसपी शाहीले भने। 'रुकुमबाट सात दिनको पैदलयात्रा गर्दै पाँच जना नेपालगन्ज पुगेको पाइयो,' उनले भने,' ४० हजारको लोभमा भरिया बन्दै भारतीय नाकासम्म छोड्न उनीहरुको आएको बयानमा खुलेको छ।'
प्रहरीले जिल्ला कृषि कार्यालय रुकुमका जेटिए योगीको संग्लनता हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार भारतीय व्यापारीले अफिममा अग्रिम लगानी गरेर रातारात भारतसम्म तस्कर गर्ने गरेको यो घटनाबाट खुलेको छ। अफिम कारोबारमा भारतीयलाई सघाउने रुकुमका दुई दर्जनको नाम प्रहरीले संकलन गरेको डिएसपी शाहले जनाए। 'भारतीय अफिम गिरोहले अफिम खेतीका लागि अग्रिम पैसा लगाउने गरेको पाइयो,' उनले भने, 'अहिले त्यही अफिम संकलन भइ भारत पुर्याउन सुरु भएको छ।' प्रहरीले अफिम खेती र कारोबारमा संग्लनको लामो नाम सूची तयार गरेको छ।
प्रकाशित: ८ असार २०७१ ०१:४३ आइतबार





