९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

अघिल्लो दशकको दस्तावेज

रामेश कोइरालाले ‘आमाको मुटु' लेखेर मुटुभित्रका आरोह–अवरोहलाई शब्दमा उनेका थिए। यसपटक भने समाजको एक हृदयविदारक अनि दुःखद आयामलाई औपन्यासिक कृतिमा बटुलेका छन्।सरल अनि एकोहोरो बाटोमा सलल्ल बगेको उपन्यासले द्वन्द्वकालमा मुलुकले खप्नुपरेको घाउवरिपरि अल्झाउने प्रयत्न गरेको छ। 
हिंसात्मक राजनीतिले जन्माएका विकारहरूमा पिल्सिएका गरिब अनि निमुखा बालबालिकाको कथा हो, कोपिला आश्रम। यद्यपि, पुस्तकका बहुसंख्यक पानामा बालबालिकाका कथा छैनन्। कथा तिनका छन्, जसले ती बालचेतनालाई भावशून्य बनाए, अनाथ बनाए, अनि जानी–नजानी आफूले कल्पनै नगरेको सुदूर मुलुकतिर खेदिइन बाध्य बनाए। कथा आशावादी होइन। न त शुद्ध निराशावादी नै। कथा यथार्थवादी हो। हरेक समाजको सत्यताभित्र कुनै न कुनै एउटा कुरूप आयाम लुकेको हुन्छ। त्यही आयामको ऐना हो कोपिला आश्रम। समय सबैका लागि एकनासले बग्दैन। भीरपाखा हान्निँदै बगेको खहरेको बाछिटा कता बिलाउँछन् कता; त्यस्तै नेपालबाट धर्मपुत्र वा धर्मपुत्रीका नाममा लगिएका बालबालिका कहाँ पुग्छन्? ती वास्तवमै कसैका धर्मसन्तान बन्छन् वा त्यसमा केही पाप पनि मिसिन्छ? यस्ता गम्भीर प्रश्नलाई पुस्तकले उठाउने जमर्को गरेको छ। 
सुन्दामा सुन्दर र कोमल बगैंचाको भान दिने कोपिला आश्रम नामको अनाथालय वास्तविकतामा व्यापारिक थलो हो, जहाँबाट बालबालिका युरोप र अमेरिका निकासी हुन्छन्। अर्थात्, धर्म सन्तानको रूपमा गोराहरूले बालबालिका किनेर लैजान्छन्! आश्रमजस्तो पवित्र नाम पाएको व्यापारिक केन्द्रको सञ्चालक बालबालिका खरिद–बिक्रीमा अहोरात्र खटिएको छ। तर उसलाई कुनै डर छैन। किनकि ‘दुई नम्बरी' काम पनि उसले ‘कानुनसम्मत' गरिरहेको छ। आवरणमा ऊ समाजसेवा गरेर नाम कमाउँदै छ। 
उपन्यासमा संक्रमणकालीन चपेटामा रापिँदै बाँचेका निमुखा वर्गका अनेकौं समस्या चित्रित छन्। मिर्गाैला बेचबिखनको कुराले थोरै ठाउँ पाए पनि यसको विषय उठान महत्त्वपूर्ण छ। राजनीतिक क्षेत्रको कुरीति र विकृतिका कथाले पनि प्रशस्त ठाउँ पाएका छन्। अर्को अर्थमा गएको दशकको एक मोटामोटी सामाजिक दस्तावेज हो, कोपिला आश्रम। 
उपन्यासमा अनौठा र दुर्लभ प्रकृतिको पात्र भेटिन्न। जति छन्, सबै यही समाजकै प्रतिनिधि पात्र छन्। ती जीवन्त र यथार्थ लाग्छन्। कुनै पनि पात्रको अतिशयोक्ति चित्रण छैन। यद्यपि हरिराम नामक पात्रको खलनायकी रङ भने निकै गाढा छ। एउटा केन्द्रीय पात्रलाई नै नकारात्मक भूमिका दिनुले पनि लेखनले आदर्शभन्दा यथार्थलाई रुचाएका छन्। 
अर्को पात्र सोमनाथ यथार्थको परिधिभित्र रमाइरहेको छ। न ऊ नायक बन्न खोज्छ न खलनायकी मन पराउँछ। आफूले मन नलागी–नलागी हरिरामजस्तो भ्रष्ट आचार भएको व्यक्तिलाई सहयोग गरिरहनुपरेकोमा पछुताउँछ तर व्यावहारिक बाध्यातासामु उसको आत्मचेतनाको कुनै मूल्य छैन। सोमनाथको उपन्यास लेख्ने रहरलाई भने कताकता अलि झर्कोलाग्दो गरी प्रस्तुत गरिएको छ। पाठकहरू सोमनाथको औपन्यासिक अभ्यासका पानामा भन्दा बालबालिकका कथामा ज्यादा टाँसिने सम्भावना छ। अरू पात्रले त्यति धेरै स्थान नपाए पनि लेखकीय न्याय पाएका छन्। बालबालिका वास्तवमा कोबाट पीडित हुन्? अस्तव्यस्त किसिमले जन्म दिएर पालनपोषणको बोझ खप्न नसक्ने बाबुआमा, बाबुआमा खोस्ने द्वन्द्वदग्रस्त दुनिया, वा विदेशी भूमिमा किनेर लैजाने गोराहरू? वास्तवमा पीडक को हो? कुन पात्र वास्तविक अर्थमा खलपात्र हो– विश्लेषणको जिम्मा लेखकले पाठकका लागि छोडिदिएका छन्। 
साहित्य शब्दको कला हो। कलाविनाको अक्षरले साहित्यको मर्म बोक्न सक्दैन। उपन्यासको भाषाशैलीलाई आलोचनात्मक प्रशंसा गर्न मन लाग्छ। कथन शैली बढो सरल र आकर्षक छ। एकनासे अविरल झरीजस्तो कथा बगेको छ। शाब्दिक सौन्दर्यमा लेखकले अझै मेहनत गर्ने ठाउँ छ। पीडित पात्रका मार्मिक सपनालाई व्यंग्यात्मक रूपले प्रस्तुत गर्दा कतैकतै रूखो र सुख्खा पनि भएको छ।
कुनै एक स्थान विशेषमा सीमित नरही देशको फरक–फरक क्षेत्रमा उपन्यास घुमेको छ। यसले कथालाई जीवन्त र चलायमान बनाउन सघाएको छ। पीडित पात्रका मार्मिक सपनालाई व्यंग्यात्मक रूपले प्रस्तुत गर्दा कतैकतै रूखो र सुख्खा पनि भएको छ। बाल मनोविज्ञानको गहिराइमा गएर नछोईकनै बालबालिकाको पीडा भन्न खोज्नु लेखकको एउटा प्रयोग नै हो। यसलाई पाठकले आफ्नै तरिकाले लेलान्।
उपन्यास पढिरहँदा पाठकले कुनै पनि पात्रलाई उधिनेर बुझ्न पुग्दैनन्। कथा र पात्रहरू चाखलाग्दा हुँदाहुदै पनि उनीहरूबीच अचम्मको दुरी कायम भएको छ। उपन्यासमा लेखकले ‘बाइप्रोडक्ट' भन्ने अंग्रेजी शब्दलाई महत्त्वका साथ प्रयोग गरेका छन्। द्वन्द्वले संक्रमण गरेको समाजको प्रतिफल अर्थात् समस्याहरूलाई बाइप्रोडक्टको विम्ब ओढाएर शब्दको यथोचित मूल्य कायम राख्न उपन्यासकार सफल छन्। 

प्रकाशक : फाइन प्रिन्ट
पृष्ठ : २०९
मूल्य : ३९०

प्रकाशित: ३० जेष्ठ २०७१ २३:०६ शुक्रबार