जेठको २४ र २५ गते पोखरा काव्यिक बन्यो। र, मौसमको गर्मागर्मीका बीच तातियो कविका विद्रोही काव्य रचनाले, कवितामाथिका गम्भीर बहस र छलफलले। दुई दिने काव्य उत्सवको पहिलो दिन नेपाल र भारतका कविले आफ्ना प्रतिनिधि कविता वाचन गरे। कवितालाई होच्याउन यहाँ कविताका पाठकभन्दा लेखक बढी छन् भनिन्थ्यो। कसैलाई भगाउन पर्यो भने कविता सुनाउनू भन्नेसम्मका जोक सहरमा हिट भएको बेला कवितालाई माया गर्ने प्रशस्त रहेको प्रमाण दिए। पोखरा उद्योग वाणिज्य संघको पाँच सय क्षमताको हलमा अटाइ–नअटाइ कोचिएर पनि पोखरेलीले कविता सुने। कतिले ढोकैमा उभिएर पनि कविता सुने। काव्यिक जमघटले भन्दिएको थियो, पोखरा अब साहित्यको एउटा गतिलो गन्तव्य आफैं बन्छ, बनिरहेको छ।
‘मोफसलमा यस्तो बृहत् कार्यक्रम हुँदैनथ्यो। भारतमा बसेर नेपालीमा लेख्ने कविलाई सुन्न पाइएको थिएन। त्यो अवसर उत्सवले जुरायो,' आयोजक पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षा उपलब्धिको हिसाब लगाउँछिन्, ‘साहित्यिक वृत्तमा एउटा तरंग सिर्जना भएको छ। कविताको इतिहासमा पोखराले एउटा पहिचान बनाएको छ।' भारतमा बसेर लेख्ने र यहाँ लेख्नले दुवैतिरको शैली थाहा पाउनुलाई उनी उत्सवको अर्काे उपलब्धि मान्छिन्। त्यसैमा सहमत छन् र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष गनेस पौडेल। भन्छन्, ‘देशभित्रकै पनि पूर्वी पहाडको स्वादका कविता सुन्न पाइयो। भारतका नेपालीभाषीको कविता सुन्न मेची तर्नुपरेन।' भारतीयलगायत धेरै कविको जमघट आफैंमा उत्साहपूर्ण रहेको बताउँछन्, कवि ईश्वरमणि अधिकारी।
पछिल्लो छिमलका हिट कवि राबतको ‘राजधानी मास्तिरको राजधानी' कविताबाट पारखीहरूको दिमाग हल्लिएन मात्रै पालैपालो युवा कविहरूले स्रोताका ताली बटुले। पारखीले कविहरूको अटोग्राफसमेत लिन भ्याए। प्रशंसकहरूको झुन्डमाझ कविहरू पनि सेलिब्रिटी दरिए। ईश्वरमणि अधिकारी, हेमन यात्री, स्वप्नील स्मृति, ज्योति जंगल, सरस्वती तिवारी, भूपिन, सुदीप पाखि्रन, रमेश श्रेष्ठ, विप्लव ढकाल, शरण आँसु, लक्ष्मण थापा, निमेष निखिलले आफू बाँचेको समयका विभिन्न तस्बिरलाई कविताको ऐनामा देखाउँदा स्रोताका आँखा चम्किए। सिलिगुढीकी रेमिका थापा, सिक्किमका राजेन्द्र भण्डारी, कालेबुङका मनोज बोगटी, दार्जिलिङका उदय थुलुङ र मनप्रसाद सुब्बाले विशाल भारतमा अल्पसंख्यक हुनुका पीडासँगै राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशका कविता सुनाए।
चन्द्रवीर तुम्बापो, बिमला तुम्खेवा, उपेन्द्र सुब्बाले पूर्वी पहाडको स्थानीय समुदायका आवाज उचाले। तुम्बापोको कवितामा कुम्भकर्ण हिमाल उभिएको थियो भने लाहुरेकी विधवा पत्नीको घाउका चहर्याउँदो आवाज तुम्खेवाको कवितामा थियो। सुब्बाले धाननाच, पालम र मुन्धुमका कुरा सुनाए। यी बिम्व पोखरामा बिरलै सुनिएको थियो। सरुभक्त, तीर्थ श्रेष्ठ, श्यामल, विमल निभा, श्रवण मुकारुङ, सुलोचना मानन्धर र विक्रम सुब्बाले उस्तै विद्रोही र मिठा कविता सुनाए। कुनै डिस्को थेकको रंगीबिरंगी प्रकाश र झकिझकाउ मञ्चमा कविता वाचन गर्दा कविको व्यक्तित्वले रौनिक पाएको थियो।
पहिचानको मुद्दा बोकेका कविताले तातेको पोखरालाई उत्सवको दोस्रो दिन कवितामाथिको गर्मागर्मी बहसले ततायो। तुलसी दिवस, सरुभक्त, तीर्थ श्रेष्ठ, श्यामल, श्रवण मुकारुङ, राजेन्द्र भण्डारी, विप्लव ढकाल, विक्रम सुब्बा र मनप्रसाद सुब्बा कविता परम्परा र प्रक्रियामा मगज मन्थन गर्न उत्रिएका थिए।
‘कविता लेखनको भ्रम बहसले चिर्यो,' कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एक सिटिङमा कविता लेखिन्छ भन्ने भ्रमबाट सम्भवत सहभागीहरू मुक्त भए।' उनी कविता आफैं बौद्धिक विधा भएकाले कवि बौद्धिक हुनुपर्ने मान्यता राख्छन्। भन्छन्, ‘कविले धेरै पढ्नुपर्छ। आफूले बाँचेको समाज पढ्नुपर्छ। धर्म, दर्शन इतिहास, विज्ञान, भूगोल र विविध विषयको ज्ञान राख्नैपर्छ।'
बहसले हिजो र आजको कवितामात्रै नभई भोलिको कविता कता र कुन शैलीमा जान्छ भन्ने पनि परिचर्चा गर्न सक्नुलाई सफलता मान्छन् श्रेष्ठ। ‘कविता त धेरै वाचन भएका छन्। तर, यसमाथि गम्भीर बहस भएको थिएन। त्यही खाँचो पोखरा काव्य उत्सवले पूरा गर्न सक्यो,' उनी भन्छन्।
२०३० को दशकदेखि नै टिकटमा मुक्तक कार्यक्रम गर्दै आएको पोखरेली युवा सांस्कृतिक परिवारले काव्य उत्सवले केही वर्षको अन्तर पारेर निरन्तर आयोजना गर्ने योजना बनाइसकेको छ। आयोजक हौसिएको यही योजनाबाट प्रस्टिन्छ। राजधानी काठमाडौं र भारतको जयपुरमा मल्टीनेसनल कम्पनी र कर्पाेरेट हाउसको सहयोग साहित्यले पाएको बेला पोखरामा यहाँको निजी क्षेत्रले काव्य उत्सवलाई सघाएको थियो। यसबाट पनि आयोजक झन् रौसिएका छन्। कार्यक्रमलाई निरन्तरता दिने प्रेरणामा त्यो साथले पनि तेल थपेको छ।
प्रकाशित: ३० जेष्ठ २०७१ २२:५९ शुक्रबार

