१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

सेटिङ मिलाएर शैक्षिक भ्रस्टाचार

सिरहा-फूलकहाकट्टी–५ स्थित जनता निम्न माध्यमिक विद्यालय तिनकोनीमा दुईकोठे भवन बनाउन जिल्ला शिक्षा कार्यालयले ४ लाख १२ हजार ५ सय निकासा दियो।तर, ब्लक बनेको छैन, बैंकमा रकम पनि छैन। यो विद्यालयमा विभिन्न शीर्षकमा शिक्षाले निकासा गरेको बजेट तत्कालीन प्रधानाध्यापक शौखीलाल यादवले सेटिङ मिलाएर दम्पच गरेको विद्यालय प्रशासनले जनाएको छ।
प्रअ यादवले गरेको भ्रस्टाचारउपर जिल्ला प्रशासन र जिल्ला शिक्षाले कारबाही अगाडि नबढाएपछि गाउँलेले उनलाई हाजिर गर्न रोक लगाए। हाजिर रोकिएपछि उनी शिक्षाबाट काज मिलाएर जिल्लाकै अर्को विद्यालयमा काम गर्दै छन्।
हालका प्रधानाध्यापक युगेश्वर राउतले तत्कालीन प्रअ यादवले शिक्षाको बजेट भ्रस्टाचार गरेको शीर्षकगत अभिलेख खुलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वक्षेत्रीय कार्यालय इटहरीमा ०७० चैत १५ गते उजुरी दर्ता गराएको जनाएका छन्। 
०६६/०६७ मा विद्यालयल भवन निर्माणका लागि आएको ४ लाख १२ हजार पाँच सय रकममध्ये १ लाख ३५ हजार ५ सयको ट्रस र खम्बा खडा गरे। बाँकी रकम बैंक खातामा छैन। सोही वर्ष शौचालयका लागि आएको १ लाख ५० हजार र ०६७ /०६८ मा दुई कोठे शौचालय भवनका लागि २ लाख रकम शिक्षाले निकासा दियो। तर, शौचालय बनेको छैन, बैंक खातामा पनि रकम छैन। उक्त तथ्य प्रअ राउतले अख्तियारमा पठाएको उजुरीमा उल्लेख छ। 
०६८/०६९ मा शिक्षाबाट उपलब्ध दलित छात्रवृत्तिको २३ हजार २ सय, छात्रा छात्रवृत्तिको ४४ हजार ४ सय, सीमान्तकृत छात्रवृत्तिको ४ सय ९० र यही वर्ष निकासा भएको ७८ हजारसमेत प्रअ यादवले दम्पच गरेको राउतले अख्तियारमा दिएको उजुरीमा उल्लेख छ।
राउतले शिक्षाको रकममा गरेको व्यापक भ्रस्टाचार छानबिन गरी कारबाही चलाउन ०७० वैशाख १५ गत्ते निवेदन दर्ता (चनं. ३६१९) गराए। सोही वर्ष वैशाख १९ गते (च.नं. २३५५) जिल्ला शिक्षा कार्यालयमा कारबाही माग गर्दै निवेदन दर्ता गराए पनि दुवै निकायले बेवास्ता गरे। विद्यालयमा गएको बजेट सदुपयोग भए–नभएको अनुगमन गर्ने शिक्षाको अंग स्रोतव्यक्ति, विद्यालय निरीक्षक र इन्जिनियर हुन्। तर, विद्यालयको भ्रस्टाचार प्रअ, स्रोत व्यक्ति र इन्जिनियरकै मिलेमतोमा भएको विद्यालय स्रोतले बतायो। 
प्रअ राउतका अनुसार ०६९ जेठ ३ मा हाजिर भएपछि नेपाल राष्ट्रिय बाणिज्य बैंक लहान शाखामा रहेको विद्यालयको ४०८ चल्ती खातामा जम्मा १ हजार रुपैयाँ थियो। काम केही नभए पनि बैंक खाता निल पाइएपछि कारबाही माग गर्दै प्रशासन र शिक्षालाई पत्राचार गरेको उनले बताए।
प्रअ भएर कार्यसम्पादन गरेको दुई वर्ष भयो तर पूर्व प्रअ यादवले आफूलाई बझबुझारथ नगरेको प्रअ राउतको भनाइ छ। ‘बुझबुझारथ गराइदिन पटक–पटक शिक्षालाई ताकेता गर्दा पनि सुनवाइ हँुदैन,' उनले नागरिकसँग भने।
महदेवा मावि पोर्ताहामा रमेश यादव प्रअ भएको एक वर्ष भयो तर उनलाई पूर्व प्रअ भोलाप्रसाद यादवले हिसाबकिताब बुझाएका छैनन्। पटक–पटक बुझबुझारथ गर्न भन्दा पनि भोलाले मानेका छैनन्,' रमेशले भने, ‘प्रअ म भए पनि कागजपत्रदेखि सम्पूर्ण हरहिसाबको चाबी भोलासँगै छ।’
पुरानो आम्दानी र खर्चको हरहिसाब देखाउनुपर्ने भएकाले भोलाले बुझबुझारथ गर्न नमानेको यादवले बताए। भोलामाथि पाठ्यपुस्तक, छात्रबृत्ति, गैरतलब, बाहिरी वातावरणलगायतको रकम भ्रस्टाचार गरेको आरोप छ। यी दुई भ्रस्टाचारका घटना त उदाहरणमात्र हुन्। यस्ता कैयन सेटिङमा भएका भ्रस्टाचारको फाइल शिक्षा कार्यालयले लुकाएको स्रोतको दाबी छ।
भ्रस्टाचारको हद
जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार सञ्चालनमा नरहे पनि सुविधा पाउने विद्यालयको संख्या ७५ छन्। अख्तियारको टोलीले एकै गाउँमा पाँचवटासम्म अस्तित्वमै नरहेका विद्यालय भेट्टाएको छ। विद्यालयको आवश्यकता छ भनी स्रोत व्यक्तिले सिफारिस गरेमात्र विद्यालय स्थापना अनुमति पाउने प्रावधान छ। विद्यालय निरीक्षक शिक्षा कार्यालयमा बस्ने, कार्यक्षेत्रमा नबस्ने भएकाले विद्यालयको हरेक गतिविधि स्रोतव्यक्तिमार्फत शिक्षा कार्यालय पुग्छ। तर, स्रोतव्यक्ति नै आर्थिक चलखेलमा फसेर अस्तित्व नै नभएका विद्यालयमा शैक्षिक बजेट सिफारिस गर्न सक्रिय रहेको पाइएको छ। 
सुविधा पाउने तर सञ्चालनमा नरहेका विद्यालयमध्ये खैरबोना–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा स्रोत व्यक्तिको सिफारिसमा ०६६ देखि सुविधाको चाङ छ। 
आर्थिक वर्ष ०६६/०६७ मा प्रतिविद्यार्थी कोष (पिसिएफ) ३५ हजार ६ सय, आर्थिक वर्ष ०६७/०६८ मा छात्रवृत्ति १२ हजार, पाठ्यपुस्तकको १३ हजार, गैरतलबी (ननसेलरी) १५ हजार र विद्यालय सुधार योजनामा एक हजार निकासा भएको छ।
आर्थिक वर्ष ०६८/०६९ मा छात्रवृत्ति १५ हजार २ सय, पाठ्यपुस्तक ८ हजार ८ सय ८३, ननसेलरी १२ हजार ७ सय, तलब २ लाख ७३ हजार, शौचालय निर्माणमा २ लाख, समुदायबाट व्यवस्थापनका लागि १ लाख र विद्यालय सुधार योजना बनाउन २ हजार निकासा भएको तथ्यांक छ।
आर्थिक वर्ष ०६९/०७० मा छात्रवृत्ति २४ हजार २ सय, पाठ्यपुस्तक ४ हजार २ सय २०, तलब २ लाख ८९ हजार ५ सय ८२, ननसेलरी १३ हजार ८ सय ६०, मसलन्द १५ हजार, कर्मचारी व्यवस्थापन ३० हजार र सामाजिक लेखापरीक्षणमा १ हजार निकासा भएको पाइन्छ।
शंकर प्राथमिक विद्यालय तेनुवापट्टी–२, प्राथमिक विद्यालय रामपुरबिर्ता– ५, जनभावना प्रावि सिसबनी–६ लाई पनि आर्थिक वर्ष ०६७/०६८ देखि ०६९/०७० सम्म भौतिक संरचना निर्माणलगायत शीर्षकमा शिक्षाले निकासा दिएको पाइन्छ।

प्रकाशित: १४ जेष्ठ २०७१ २२:५५ बुधबार