१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

टेनिसको खेलाडी छनोटमा विवाद

काठमाडौं– खेलाडी छनोटमा विवाद भएपछि अखिल नेपाल लनटेनिस संघले खुला छनोट प्रतियोगिता गर्ने भएको छ।
संघले गोप्य रूपमा इन्चोन एसियाली खेलकुदका लागि ८ खेलाडीको नाम छनोट गरेपछि असन्तुष्ट खेलाडीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा गत साता उजुरी गरेका थिए।संघले एक महिनाअघि एसियाली खेलकुदलाई खेलाडी छनोट गरेको थियो। छनोटप्रति खेलाडीले असन्तुष्टि जनाएपछि राखेपले संघलाई छनोट प्रक्रिया रोक्न शुक्रबार पत्र पठाएको थियो। 
खेलाडी प्रणय कार्कीले राखेपको छनोटसम्बन्धी सूचना लुकाएर संघले खेलाडी छानेको आरोप लगाए। उनले भने, ॐसंघले खुला छनोटबाट खेलाडी छान्नुपर्ने हो। देशभरका खेलाडीले छनोटमा भाग लिन पाउनुपर्छ भन्ने हाम्रो माग हो।' 
सुरुमा लुम्बिनी प्रथम राष्ट्रिय च्याम्पियनसिपका आधारमा छनोट गर्ने भनिए पनि संघले त्यस आधारमा छनोट नगरेको उनको दाबी छ। टेनिस संघका अध्यक्ष मनोज राणाले वर्षभर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको दाबी गरे। उनले भने, ‘हामीले वर्षभरका चार राष्ट्रिय प्रतियोगिताको नतिजा मुख्य आधार बनाएका थियौं। तर छनोटमा केही खेलाडीले असन्तुष्टि जनाएपछि हामी फेरि नयाँ छनोट गर्दैछौं। अब राखेपले दिएको निर्देशनका आधारमा लुम्बिनी राष्ट्रिय च्याम्पिनयसिपमा भाग लिएका सबैले छनोटमा भाग लिने पाउने गरी छनोट गर्नेछौं।' 
च्याम्पियनसिपको सेमिफाइनल पुगेका सिधै दोस्रो चरणमा छनोट हुने राणाले बताए। राखेप तालिम तथा प्रशिक्षण विभाग प्रमुख तिलक राउतले टेनिसको छनोट विवादबारे आइतबार छलफल गरिने बताए। 
राखेपले इन्चोन एसियाली खेलकुदमा १८ खेल सहभागी गराउने तयारी गरिरहेको छ। कुनै पनि संघले ६ महिनाअघिको प्रतियोगिताका आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन नपाउने राउतले बताए। सुटिङलाई पनि राखेपले पुनः खुला छनोट गर्न निर्देशन दिएको राउतले बताए। उनले भने, ‘सुटिङले पनि ६ महिनाअघिको प्रतियोगिताबाट खेलाडी छनोट गरेकाले फेरि खुला छनोट गर्न निर्देशन दिएका छौं।' 
निर्देशक राउतका अनुसार एसियाली खेलकुदका लागि १८ संघलाई जेठ १५ देखि २५ सम्म खुला छनोटबाट खेलाडी छान्न निर्देशन दिइएको छ।

प्रकाशित: १० जेष्ठ २०७१ २२:०१ शनिबार