१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

‘पोखरामा गम्भीर सुरक्षा चुनौती’

पोखरा-व्यस्त बजारको सहकारीबाट दिनदहाडै पैसा लुटिएपछि कास्की प्रहरीलाई अपराधी खोज्न टाउको दुखाइ भएको छ। चल्तीको बजार न्युरोडको मेगा बचत तथा ऋण सहकारी संस्थाबाट पैसा लुटिएको खबर पाएको ५ मिनेटमै पुग्दा पनि प्रहरीले अपराधी पक्रन त के, संकेतसम्म भेट्न सकेन।सशस्त्र द्वन्द्व सकिएयता पोखरामा गोलीकाण्ड भएको कम्तीमा प्रहरी अधिकारीहरूको रेकर्डमा थाहा छैन। त्यसमाथि तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेलले गुन्डागर्दी केही हदसम्म तह लगाइसकेपछि पछिल्ला प्रहरी अधिकारीले नियमितबाहेकको ‘बिजनेस’ भेट्टाउन सकेका थिएनन्। र, उनीहरुको ध्यान छिट्टै लोकप्रियता कमाइने यौनधन्दा नियन्त्रणमा केन्द्रित थियो। अचानक सोमबार गोली चलाउँदै पैसा लुटिएपछि भने प्रहरी झसंग भएको छ। सोमबार दिउँसो साढे ४ बजे सहकारीबाट यती डेभलपमेन्ट बैंकले लैजान लागेको ३१ लाख ४० हजार रुपैयाँ लुटिएको थियो। सहकारीबाट फर्कंदै गरेका बैंक कर्मचारीको टाउकैमा गोली हानेर लुटेराले पैसा लगेका थिए। पैदलै भागेको शंका गरिएका उनीहरूलाई तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले चौतर्फी नाका थुनेर खोज्दा पनि भेट्न सकेन। ‘यो लुटपाट सानो घटना होइन भनेर गम्भीरतापूर्वक लिएका छौं,’ कास्कीका प्रहरीप्रमुख एसपी वसन्त लामाले नागरिकसँग भने, ‘संगठित अपराधीले नियोजित रूपमा लुटेको हुनाले सिरियस इन्भेस्टिगेसनमा छौं।’ दुई वर्षअघि एउटा रेमिटेन्स कम्पनी लुट्ने प्रयास भए पनि हतियारकै प्रयोग भने भएको थिएन। पोखरामा बैंक तथा वित्तीय संस्था एवं सहकारीको पैसा लुट्न हतियार प्रयोग गरी यस्तो संगठित अपराध यसअघि नभएको प्रहरी अधिकारी बताउँछन्। प्रहरीस्रोतका अनुसार सोमबारका लुटेराको हुलियासम्म पनि पत्ता लगाउन नसकिँदा उनीहरूलाई खोज्न कठिनाइ भइरहेको हो। ‘कसैले नदेख्ने मौका छोपेर लुटेराले पैसा लगेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘धेरै दिनदेखि पछ्याएर मौका ढुकेर लुटेको देखिन्छ।’ उनका अनुसार सहकारी कार्यालय रहेको घरको पछाडि निर्माणाधीन कम्प्लेक्सको काम रोकिएको दिन पारेर लुटपाट गरी लुटेरा समूह पछिल्लो बाटो भागेको थियो। बैंक कर्मचारीको ‘टाउकैमा गोली प्रहार गरी पैसा लुट्न सक्ने समूह चानचुने होइन' भन्ने प्रहरीको ठम्याइ छ। अनुसन्धानका सबैथरी औजार प्रयोग गर्दासमेत निसाना यकिन गर्न कठिन भए पनि प्रहरीले कुनै हालतमा पक्रिछाड्ने संकल्पसहितको अभियान छेडेको छ। अनुसन्धानका लागि डिएसपी राजेशनाथ बाँस्तोल संयोजकत्वको टोली खटिएको छ। पश्चिमाञ्चल प्रहरीप्रमुख डिआइजी बमबहादुर भण्डारी पनि कास्की प्रहरीलाई झकझक्याउन खटिएका छन्। पैसा लुटिन सक्ने सम्भावित खतरा बैंकले आँकलन गर्छन् नै। यती डेभलपमेन्ट बैंकले सहकारीबाट बचत संकलन गर्न सोमबार खुकुरीधारी सुरक्षाकर्मीसहितका कर्मचारी पठाएकै थियो। कर्मचारीले पैसाको सुरक्षा गर्न न्युरोडको मूल सडकको सट्टा मोटरसाइकल भित्रैसम्म लगेका पनि थिए। तर, पहिलो तलाको सहकारीबाट पैसा लिएर भर्‍याङ ओर्लनासाथ लुटेराले सुरक्षागार्ड गोविन्द थापालाई समाती पैसा मात्रै लुटेन, साथैका कर्मचारी भगवान बरालको टाउकोमा गोली ठोक्यो। बरालको अचेत अवस्थामा मणिपाल शिक्षण अस्पतालले उपचार गरिरहेको छ। लुटपाटपछि पोखराका बैंक तथा वित्तीय संस्था सतर्क भएका छन्। यती डेभलपमेन्टका पोखरा इन्चार्ज यम गुरुङ भन्छन्, ‘प्रहरीसँग मिलेर कसरी थप सुरक्षाव्यवस्था मिलाउने भनेर राष्ट्र बैंकको पहलमा छलफल सुरु गरिसक्यौं।’ एसपी लामा सोमबारका लुटेरा पक्डिछाड्ने अडानमा छन्। भन्छन्, ‘धेरै ढिलो हुँदैन, अपराधी हाम्रो पन्जामा पर्छ/पर्छ।’

प्रकाशित: १६ वैशाख २०७१ २२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App