३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एउटा प्रिय विम्ब

२०७० पुसको महिना। बन्दै गरेको एउटा ठूलो घरमा भुइँतलाको पसलबाट भित्र पसेर ढोकाबाट छिर्यौंल हामी। सानो कोरिडरको ठ्याक्कै अगाडिको ढोका खुलै थियो। अस्तव्यस्त थियो कोठा। ढोकैतिर सिरान गरेर सिरकमा गुटुमुटु परेर कोही सुतिरहेको थियो, टाउको रामनामी खास्टोले छोपेर। मेरो बुवाको मामा हुनुहुन्थ्यो उहाँ– पर्वत ज्ञादीका रामचन्› सुवेदी। हामी केटाकेटी पनि उहाँलाई मामा नै भन्थ्यौं। बिरामी हुनुभएको रहेछ, थाहा पाएर बुवा र म भेट्न आएका थियौं; घर देखाउन आउनुभएका वेदप्रसाद सुवेदी साथै हुनुहुन्थ्यो।
मामा! बुवाले बोलाउँदा भित्तातिर फर्केर सुतिरहेको आकारमा केही हलचल भयो। उहाँ उठ्न खोज्नुभयो, सक्नुभएन।
मेरो मनभित्र कतै दुखेजस्तो भयो।
नजिकै गएँ र अनुहारतिर निहुरेर बिस्तारै भनेँ, 'मामा, म शारदा!'
सुतीसुती उहाँले बल गरेर आँखा तन्काउनुभयो मतिर र केही भन्न खोज्नुभयो। केटाकेटीमा उहाँले मुख खोलेपछि कथा भन्न लाग्नुभयो भनेर वरिपरि झुम्मिएका हामी पुलकित हुँदै कुरेर बस्थ्यौं। यतिखेर पनि उहाँले मुख खोल्दा त्यही परिचित जिब्रोले मेरो ध्यान तान्यो, तलका गिजाहरूको लहहरभित्र टम्म फैलिएको। देखेँ– उहाँका दाँत भने एउटै बाँकी रहेनछन्। जिब्रो सेतो लेठले ढाकेको थियो। नजिक जाँदा ह्वास्स केही नमीठो गन्ध आयो। गर्दनमा गहिरो घाउ थियो एउटा। केही पछाडि सरेँ, अचम्म लाग्यो आफैंलाई– रामचन्› मामाजस्तो प्यारो मान्छेको नजिक जान पनि मलाई दुर्गन्धले बाधा दिइरहेथ्यो। शरीरको जबर्जस्त सीमाबोध भएको हो त्यतिखेर। लागेको हो– बाहिरबाट धोइपखाली गरी सिँगारेर सुन्दर देखिने यो शरीर कुनै पनि बेला कुरूप र दुर्गन्धित बन्न सक्छ। शरीरको शक्ति र सौन्दर्यमा अभिमान गर्नुको खासै धेरै अर्थ छैन। 
हात निकाल्नुभयो मामाले सिरकबाट बाहिर, मैले समातेँ निकैबेरसम्म। उहाँको हात समातेर धेरैपल्ट पोखरा, स्याङ्जा र पर्वतका पाखा पखेरा हिँडेकी हुँ। ‘बाबु’ सम्बोधन गर्नुहुन्थ्यो मलाई। उहाँको काखमा बस्थेँ। हिँड्न नसक्ता बोक्नुहुन्थ्यो। स्कुल छुट्टीमा उहाँको ज्ञादी घर गएका बेला मेरा साना हातमा आँसीले चोया निकालेर कुट्का बनाएको उखु मिलाएर राखिदिनुहुन्थ्यो। आँगनको गुन्द्रीमा बसेर म एउटा एउटा गरी चुस्थेँ।
मलाई जस्तै सायद उहाँलाई पनि विगतको सम्झना भयो। भक्कानिएर रुन पो थाल्नुभयो मामा। धरधर्ती आँसु बगे। मैले कहिल्यै उहाँलाई रोएको देखेकी थिइनँ, उहाँले बरु हामी केटाकेटीका आँसु पुछेर फुल्याउनुभयो होला कैयौंपल्ट।
चक्रजस्तो गरी घुम्ने पो रहेछ समय... मनमा गाँठो कसियो, असहाय आँखाले मैले हेरिरहेँ।
'सिस्नो लगाएजसरी पोलिरच बाबु जम्मै शरीर...' एकछिनपछि मुखबाट शब्द पनि चुहिए।
मेरासामु आफ्नो पीडा त पोख्नुभयो उहाँले। तर क्यान्सरले उहाँको शरीरमा सल्काएको आगोलाई कसरी निभाउन सक्थेँ र म! के गर्न सक्थेँ र म मामा? बोल्न शब्दै थिएनन् मसँग। मनमनै आफ्ना अनन्त सीमाको बोध गरेँ– संसारमा हामीले गर्न नसक्ने कुरा धेरै छन्।
आफ्नो भर्खरै निस्केको किताप ‘समयको तस्वीर’ लिएर गएकी थिएँ, हातमा राखिदिएँ। उहाँले मायाले लिनुभयो, सुम्सुम्याउनुभयो। कभरका अक्षरहरूलाई छुनुभयो। त्यसरी नै छुनुभयो, जति जतनले उहाँले केटाकेटीमा मेरा हात समाउनुहुन्थ्यो। पछिल्तिरको कभरमा भएको मेरो तस्बिरलाई आँखा नजिकै लगेर नियाल्नुभयो। अनि त्यसलाई सिरकभित्रै लैजानुभयो। पीडाको बीच केही पल खुसी हुनुभयो क्यारे मामा। मेरो मनको गाँठो केही खुकुलो भयो।
...
पैंतालीस वर्षभन्दा अघिको कुरा हो। हामी पोखरा बस्थ्यौं, मामा ज्ञादीबाट हामी बसेको मिरुवाको डेरामा आइरहनुहुन्थ्यो। हामी केटाकेटीलाई दूध खान लैना भैंसी ल्याएर गोठमा बाँधिदिनुहुन्थ्यो। भैंसीको पछिपछि हिँड्ने सानी पाडी हाम्रो आकर्षणको केन्द्र हुने गर्थी। उसलाई मुसार्न जाँदा आमा भैंसीले हामीलाई टाउको फर्काएर स्वाँस्वाँ गर्दै धपाउन खोज्दा मामा बीचमा आइदिनुहुन्थ्यो। मामा पोखरा आएपछि शिरमाथि बलियो छत आइपुगेजस्तो लाग्थ्यो हामीलाई। निर्भय हुन्थ्यौं सबैतिरबाट– आफ्नै आमाबाबुका खप्की र पिटाइबाट पनि!
दौरा सुरुवाल, कोट, ढाकाको टोपी र कपडाका जुत्ता लगाउनुहुन्थ्यो मामा। ठूलो दारको अग्लो शरीर; ठाडो हुन्थ्यो उहाँको शिर जहिल्यै। जतिखेर पनि हाँसेझैं देखिने खाने मुख र गोरो रोगन; उहाँको छायाँ पनि टाढैदेखि चिन्थ्यौं। उहाँको पसिनाको गन्धसमेत मनपर्थ्यो मलाई। केटाकेटी भनेर उहाँले हामीलाई कहिल्यै हेप्ने हप्काउने गर्नुभएन। निकटको विश्वासिलो बलियो साथी, प्यारो भरपर्दाे अभिभावक हुनुहुन्थ्यो रामचन्द्र मामा हाम्रा लागि। उहाँ पोखरा आउँदा राति उहाँसँगै सुत्थ्यौं सबै केटाकेटी, कथा सुन्दासुन्दै उहाँका पोल्टामै निदाउँथ्यौं।
राति मात्रै होइन, बिहान, दिउँसो जतिखेर पनि पिरोलिरहन्थ्यौं– रामचन्द्र मामा, कथा भन्नुस्न!
हामीलाई कथा भन्नका लागि कहिल्यै साँझ पर्नु आवश्यक हुन्थेन उहाँलाई। कहिल्यै हाम्रो कुराको झर्को पनि मान्नुभएन। धेरै कराएपछि हामीलाई हेरेर मुस्कुराउनुहुन्थ्यो र आफ्ना ठूला दह्रा हातले हाम्रा कपाल, गाला मुसार्नुहुन्थ्यो। हामीलाई सुनाउन कथा सोच्तैगर्दा उहाँको अनुहारका एकएक भंगीमा बडो अधीरताले हेर्थ्यौं। नयाँ कथा सम्भि्कनुभयो जस्तो भाव देखेपछि भने हामीलाई खपिनसक्नु खुसी हुन्थ्यो। नयाँ नभए पुरानै कथाले पनि मान्थ्यौं हामी। उहाँका मुखबाट निस्केपछि त्यो हरेकपल्ट नयाँजत्तिकै हुन्थ्यो। कथा सुन्न भनेपछि किन यति खुसी लाग्थ्यो कुन्नि; किन यति भोक लाग्थ्यो कथाको, यतिखेर सम्झँदा उदेक लाग्छ।
यसरी कथा भन्नुहुन्थ्यो रामचन्द्र मामा– त्यसको हुबहु तस्बिर बन्थ्यो मेरा मनमा। आजसम्म पनि मलाई लाग्छ, यति सुन्दरतासित कसैले कसरी भन्न सक्छ कथा; बाँसको ‰याङबाट निस्केर लुसुक्क गाउँमा कुखुरा चोर्न गएको स्याललाई गाउँलेले समात्न लागेको ठाउँमा कथा आइपुग्दा सास रोकिन्थ्यो मेरो। गेग्रानमा घिसार्दा स्यालले आहा भनेको र चौरमा घिसार्दा दुख्यो भनेर उसले गाउँलेलाई मूर्ख बनाएको कुराले हामीलाई थामिनसक्नु हाँसो लाग्थ्यो। मामा हामीलाई हाँस्ने समय दिनुहुन्थ्यो, पर्खनुहुन्थ्यो। 
हामी फेरि भन्थ्यौं, 'अनि के भयो मामा?'
लक्ष्मणले शूर्पणखाको नाक काटिदिएको कुरादेखि गुप्तवासमा रहेका बेला अर्जुनले वाण निशानामा लगाएर द्रौपदीलाई जितेको कुरा मामाले नै सुनाउनुभएको हो। घनघोर जंगलमा तपस्या गरिरहेका विश्रवा ऋषिसँग साँझमा ऋतुदान माग्न गएकी कैकसीबाट जन्मेको दसटाउके रावण, सूर्यको सहवासले गर्भवती बनेकी कुन्तीले जन्माएको कर्ण, परासर मुनिले दिउँसै बादलको पर्दा बनाएर डुंगामा ऋतुदान गरेर गर्भवती बनाएकी मत्स्यगन्धाका कथा उहाँबाटै सुनेका हौं। वेश्या र तिनका ग्राहकका कथा उहाँबाटै सुन्यौं। 
लाज नमानी, नडराई हामी सोध्थ्यौं उहाँलाई, 'ऋतुदान भनेको के हो? सहवास भनेको के हो? वेश्या भनेको के हो मामा?'
रहस्यमय हाँसो नहाँसीकनै सहज र गम्भीर भएर उहाँले दिएका सरल उत्तरले हाम्रा उत्सुकता स्वाभाविक रूपमै शान्त हुन्थे। हामीलाई लाग्थ्यो– संसारका सबै प्रश्नका उत्तर मामासँगै छन्।
उहाँले नै चिनाइदिनुभएको हो, भीमसेनको हिडिम्बातिरको छोरो घटोत्कच र अर्जुनको पुत्र अभिमन्युसँग हामीलाई। ती हाम्रा नायक थिए त्यतिखेर– तिनको मृत्युको प्रसंग जतिपल्ट सुन्यो त्यतिपल्ट हामी आहत हुन्थ्यौं। द्रौपदी हुँदाहुँदै अर्जुन र भीमले आर्कै पत्नीबाट सन्तान जन्माएको कुरोचाहिँ बुझिनसक्नु लाग्थ्यो।
कथाका कुनै पनि पात्रलाई आफैंले खराब भनेर हामीलाई भन्नुभएन मामाले। पात्रको चरित्र र प्रवृत्ति हामी आफैं मनन र विश्लेषण गर्थ्यौं। यतिखेर जब म आख्यान लेख्न बस्छु र आफ्ना सबै किसिमका पात्रमाथि न्याय गर्नपर्छ भन्ने चेतना आउँछ, लाग्छ– त्यसको बीउ सायद त्यतिखेरै रोपिएको हो मेरा मनमा।
आठ वर्षको उमेर हुँदा नहुँदै रामायण र महाभारतदेखि स्याल, बाघ, भालु र घैंटोभित्र लुकेका बूढाबूढी, राजकुमार दिक्पाललगायतका पुराणकथा, लोककथा र दन्त्यकथासमेत जम्मै कण्ठ भइसकेका थिए मलाई।
आज यतिखेर लागिरहेको छ– मेरो कल्पनाशीलतालाई मनग्गे मलजल गर्ने काममा मेरी आमापछि सबैभन्दा ठूलो भूमिका रामचन्द्र मामाको थियो।
...
अन्ततः रामचन्› मामाले ८९ वर्षको उमेरमा संसारको यात्रा पूरा गर्नुभयो– २०७० साल माघमा। महाभारत युद्धमा भीष्मपितामहले सरशऒ्ढयामा सुतेर मृत्युनिम्ति माघ महिना कुरेको प्रसंग बारम्बार उहाँकै मुखबाट सुनेकी हुँ। भीष्मपितामहको कथा सुन्दा सधैं लाग्थ्यो– उहाँ पक्कै रामचन्द्र मामाजस्तै हुनुपर्छ, ठूलो दारको शरीर भएको दृढप्रतिज्ञ, कोमल र प्रिय। सूर्य उत्तरायणको यही समयलाई संजोगले मामाले पनि आफ्नो महायात्राको साइत बनाउनुभयो।
अन्तिम इच्छाअनुसार जन्मथलो पर्वत जिल्लाको ज्ञादी ठूलीपोखरी पुगेर विसर्जन भयो उहाँको प्राण। बिरौटा लप्टनका नाति चित्रबहादुर केसीले बडो नाजुक अवस्थाको मामालाई आफैंले लिएर लिएर गाउँ पुगे। गाउँलेले अपार प्रेम र श्रद्धा प्रकट गरेको थिए रे मामाप्रति।
यसरी आफ्नै थलोमा आँखा चिम्लिनुभयो मामाले, अन्तिमपटक र सधैंका लागि।
आजभन्दा ५०–५५ वर्षअघि ठूलीपोखरीको त्यो अनकन्टार थलोमा सहस्र व्यवधानबीच स्कुल खोलेर गाउँका केटाकेटीलाई शिक्षाको घाम देखाउनुभएको थियो उहाँले। पछिल्लो समय त्यसमा प्लस टुको पढाइसमेत उहाँकै पहलमा थपिएको छ, चारैतिर वृक्षरोपण गरेर बाक्लो जंगल बनाइएको छ। केटाकेटीका निम्ति छात्रावास बनेको छ। गाउँमा हेल्थपोस्ट ल्याउन र सञ्चालन गर्नमा उहाँको सक्रियता र पहल महŒवपूर्ण रहेको बताउँछन्, त्यताका बासिन्दा।
मुलुकका चिनिएका समाजसेवीहरूमा रामचन्द्र मामाको नाम पर्दैन; धेरैले चिन्दैनन् उहाँलाई। चिनिन र प्रचार हुनलाई धेरैथोक मिल्नुपर्छ। यद्यपि, उहाँले अक्षर चिनाएर बाटो लगाइदिएका त्यस क्षेत्रका अनगिन्ती केटाकेटीका निम्ति उहाँ कर्मपिता हुनुहुन्छ। जीवनभर अरूकै गाह्रो–सांग्रो अप्ठेरोको साथी बन्नुभएको हो। परिश्रमी हुनुहुन्थ्यो, भ्याएसम्म घरका काम सबै गर्नुहुन्थ्यो; डोका, नाम्ला र डाला आफैं बुन्नुहुन्थ्यो। समाज र समुदायको लागि, कमजोर र असहायको लागि आजीवन सक्रिय हुनुभयो। अरूकै मुद्दा मामिला बोकेर भोकभोकै अ•ा अदालत कचहरी धाएको पनि थाहा पाएकी हुँ। त्यस भेककै उज्यालो हुनुहुन्थ्यो रामचन्द्र मामा। अरूकै हितमा व्यस्त रहँदा बरु उहाँलाई आफ्नो र परिवारको हितको भने कहिल्यै हेक्का भएन।
ज्ञादी उहाँको जन्मभूमि त थियो नै, निष्काम कर्मभूमि पनि बन्यो।
काठमाडौंमा डाक्टरले रोग निको हुँदैन भनेपछि अन्तिम अवस्थामा उहाँले छोराहरू हरिश्चन्द्र र बालचन्द्रसँग मलाई घर लैजाओ भनेर जिद्दी नै गर्नुभएको थियो। भन्नुभएको थियो रे, 'त्यहाँ मेरो माटो छ, मेरा रूख छन्। चरा छन्। मैले पहिलोपल्ट सास फेरेको बतास छ।'
सुनेर अवाक् भएकी थिएँ म। लागेको थियो– योभन्दा सुन्दर कुनै कविता हुन्छ र? मामासँग जोडिएका आत्मीय सम्झना अस्तव्यस्त मडारिइरहेछन्, मनभित्र यतिखेर।
मेरो जीवनकै आदर्श कथावाचकको सर्वाधिक जीवन्त र प्रिय विम्ब– रामचन्द्र मामा आफैं कथाको पात्रमा रूपान्तरित हुनुभएको छ, यतिखेर। अब उहाँले कहिल्यै हामीलाई कथा भन्नुहुनेछैन।

प्रकाशित: १३ वैशाख २०७१ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App