६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

कृषि क्रान्तिको बाटोमा

गाउँघरका युवा पुस्ताले दुइटा क्षेत्रमा मात्रै आफ्नो भविष्य देखेका छन्– वैदेशिक रोजगार र व्यावसायिक कृषि। लेख्छन् : राजु अधिकारी (झापा), अर्जुन भुसाल (अर्घाखाँची), रामेश्वर कार्की (धादिङ), सिद्धराज राई (धनकुटा), विशाल भट्टराई (गुल्मी), डिबी बुढा (जुम्ला), किरणमान बज्राचार्य (कपिलवस्तु), निराजन पौडेल (नुवाकोट), दमन राई (खोटाङ), मदन ठाकुर (रौतहट), रेशम डिसी (सल्यान), भीम देवान (संखुवासभा), जितेन्द्रकुमार झा (राजविराज), सन्तोष सिंह (सर्लाही), ध्रुव दंगाल (सिन्धुपाल्चोक), अमर खड्का (सुनसरी), निर्मल घिमिरे (बर्दिया) र खगेन्द्र अधिकारी (ताप्लेजुङ)।'मैले १२ वर्षभित्र सबै खर्च कटाएर ४० लाख रुपैयाँ कमाएको छु,' ३० वर्षे युवक चेतन पौडेल आत्मविश्वासी स्वरमा आफ्नो योजना सुनाउँछन्, 'हेर्दै जानुस्, अब त्यत्ति नै रकम म झन् छोटो समयमा कमाउनेछु।'
झापा, शान्तिनगर–६ का चेतनले खेतबारीमा मिहिनेत गरेर यो सफलताको कथा रचेका हुन्।
'पढिसकेर जागिर खोज्ने, त्यसमा विस्तारै सेटल हुने अनि बल्ल कमाउन थाल्ने धैर्य मसँग थिएन,' पारिवारिक दायित्वको बोझले त्यसबेला 'बाध्यता' बनेको उनको बाटो सहज हुँदै गएको छ। उनी निर्धक्क खुल्छन् 'यो सबै तरकारी खेतीले दिलाएको तरक्की हो। अहिले वर्षमा १२–१५ लाख कमाउन मैले त्यत्ति धेरै टाउको दुखाइरहनु पर्दैन।' 
२०५८ अघिसम्म चेतनको परिवार गाउँमा 'दुःखी' भनेर चिनिन्थ्यो। नौजनाको परिवार थियो। सम्पत्तिको नाममा दस कट्ठा भिरालो जमिन मात्रै। ठूलो परिवार, थोरै आय। उनी प्रमाणपत्र तह सकेर भर्खरै स्नात्तक भर्ना भएका थिए। घरबाट हरेक दिन भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस धाउँथे। उनको ध्यान पढाइभन्दा कमाउनमै केन्द्रित थियो। उनले थुप्रै विकल्पमा आँखा दौडाए। खाडीतिर विदेशिने वा यतै जागिर खोज्ने। 
उनले खेतीको सहारा लिए।
आफ्नो दस कठ्ठा जमिनमध्ये पाँच कट्ठामा गोलभेंडा र काउली लगाए। पानी नजम्ने, पाँगो माटोमा तरकारी रहरलाग्दो गरी मौलायो। अर्को वर्षदेखि उनले पूरै जमिन गोलभेंडाले ढाके। 
'त्यसबेला खेती गर्ने भनेकै धान र मकैको थियो, तरकारी मात्रै लगाउँदा धेरैले अनौठो मान्थे,' उनले भने, 'अहिले तरकारी खेतीबाटै मासिक सरदर एक लाख नियमित आम्दानी गर्छु। यो मेरो जागिर हो। अबको १५ वर्षपछि म एक करोड रुपैयाँभन्दा बढीको काठ मात्रै बेच्छु। त्यो मैले जागिरबाट रिटायर्ड हुँदा पाउने एकमुष्ठ रकम जस्तै हुनेछ।' 
उनले दुई बिघा जमिनको २५ प्रतिशत भागमा बहुवर्षे रुख लगाएका छन्। बजारमा महँगो काठका रूपमा दरिने टिक र खमारीका पाँच सय बोट हुकाईरहेका उनी अबको १५ वर्षमा ती रुख बिक्रीका लागि योग्य हुने बताउँछन्। 
चेतन झापाका एक प्रतिनिधि हुन्, जसले कृषि उद्यमबाट आफ्नो जीवनको कायापलट गरेका छन्। झापामा उनीजस्ता कृषि उद्यमीको संख्या थपिँदै गएको छ, जो खेतबारीमा बाली मात्रै उमार्दैनन्, सुरक्षित भविष्य पनि निर्माण गर्छन्। यस्ता मानिस गाउँका मात्रै छैनन्। पाँच ठूला सहर, आधा दर्जन उदाउँदा सहर अनि एक दर्जनभन्दा बढी बजार भएको झापाका सहरिया पनि धमाधम कृषिकर्ममा जोडिँदैछन्। 
'तीन वर्षयता व्यावसायिक कृषिकर्ममा लाग्नेहरूको संख्या जिल्लाभरि बढेको छ,' जिल्ला कृषि कार्यालयका प्रमुख राजेन्द्र खरेल भन्छन्, 'अहिलेको लहर हेर्दा झापा उत्साही किसान र उद्यमीको जिल्ला हो भनेर भन्न सकिन्छ।'
उनका अनुसार कृषिमा भित्रिएको प्रविधि, सँगै देखिएको सम्भावना र कम जोखिमका कारण कृषिकर्ममा शिक्षित युवा पुस्ताको प्रवेश ह्वात्तै बढेको छ। अहिले झापाका सयौं ठाउँमा सामूहिक खेती प्रणालीको सफल अभ्यास भइरहेको छ। धान, मकै र गहुँमा मात्रै विश्वस्त किसानको ठूलो पंक्तिले आँट गरेर त्यसको विकल्पमा अन्य बाली लगाउन थालेका छन्। जसबाट उनीहरूले कयौं गुणा बढी आम्दानी लिइरहेका छन्।
जिल्लाका ४७ गाविस र तीन नगरपालिकामध्ये धेरैलाई एउटा बालीको पकेट क्षेत्र घोषणा गरिएको छ। त्यहाँ समूह बनाएर खेती भइरहेको छ। ती ठाउँमा सरकारी पक्षले प्रविधि र अन्य कुरामा सहयोग गरिरहेको छ। 
झापामा गएको आर्थिक वर्ष १ लाख २८ हजार ४ सय ६३ मेटि्रक टन तरकारी मात्रै उत्पादन भयो। अन्नबाली उत्पादनका लागि पनि यो मुलुककै मुख्य पाँच जिल्लामध्ये पर्छ। कृषि कार्यालयको अध्ययनअनुसार धान, मकै, गहुँ, कोदो, फापर लगायत अन्न वर्षदिनमा ४ लाख ३३ हजार ७ सय २४ मेटि्रक टन उत्पादन भएको छ। 
स्थानीय विकास अधिकारी लालमणि ओझा झापामा नजानिँदो शैलीले 'कृषि क्रान्ति' भइरहेको बताउँछन्। 'हरेक गाउँमा उन्नत खेती र पशुपालनको लहर छ,' उनी भन्छन्, 'सहरका कुनाकुनामा पशुपालन हुँदैछ। मान्छेको आयस्रोत बढिरहेको छ। त्यसैले झापा कृषिमा आधारित भएरै अघि बढिरहेको छ।'
...

यो झापाको मात्र कथा होइन। 
कुनै बेला युवा पुस्ताले हेयको दृष्टिले हेर्ने कृषिमा व्यावसायिकता भित्रिन थालेको छ। शिक्षित वर्गले समेत यसलाई आत्मसम्मानयुक्त पेसाका रूपमा ग्रहण गरेका छन्। गाउँघरका युवा पुस्ताले दुइटा क्षेत्रमा मात्रै आफ्नो भविष्य देखेका छन्– वैदेशिक रोजगार र व्यावसायिक कृषि। सबभन्दा महत्वपूर्ण कुरा, यी दुइटै एकअर्काको परिपूरक बनेका छन्। कसैले वैदेशिक रोजगारमा जान पैसा नपुगेर व्यावसायिक कृषि अँगालेका छन् र त्यसैबाट उन्नति गरेका छन् भने कोही वैदेशिक रोजगारबाट फर्केपछि त्यही आम्दानी कृषिमा लगानी गर्छन्।
कृषिप्रधान देश भनिँदै आएको नेपाल फेरि एकचोटि आफ्नो त्यो पहिचान प्राप्त गर्ने दिशामा उन्मुख छ। 
सुन्तलाको लहर
अर्घाखाँचीको पणेना गाविस, सिम्लेका कृषक चिरञ्जिवी पौडेल व्यावसायिक सुन्तला खेतीबाट वार्षिक ५ लाख कमाउँछन्।
यो गाविस सुन्तला खेतीका लागि प्रसिद्ध छ। करिब २ करोडको सुन्तला उत्पादन हुन्छ। व्यावसायिक खेती नगर्नेहरूले पनि वार्षिक ६० हजारदेखि १ लाखसम्म कमाउने गरेको कृषक बुद्धि गौतमले बताए। उनले पनि १५ रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। 'वार्षिक तीन लाख आम्दानी हुन्छ,' गौतमले भने, 'घर खर्चदेखि सबै यसैबाट चलेको छ।' 
यहा“का करिब ५ सय घरपरिवार यही पेसामा आश्रित छन्।
सिम्ले मात्र होइन, अर्घाखाँची जिल्ला नै सुन्तला खेतीका लागि उत्कृष्ट मानिएको छ। यो वर्ष ७ करोडको सुन्तला उत्पादन भयो। गत वर्ष ४ हजार १ सय ७६ टन सुन्तला उत्पादन भएकामा यो वर्ष ५ हजार २ सय ५० टन उत्पादन भएको छ। जिल्लामा करिब ३ हजार ५ सय कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन्।
जिल्ला कृषि विकास कार्यालय अर्घाखा“चीका वरिष्ठ कृषि विकास अधिकृत कमानसिंह थापाले यो वर्ष मौसम राम्रो परेकाले सुन्तला उत्पादनमा वृद्धि भएको बताए। 'फूल खेल्ने बेला पर्याप्त पानी पर्योो,' उनले भने, 'असिना र रोगको पनि समस्या नभएकाले उत्पादनमा वृद्धि भयो।' 
सुन्तलासँगै पशुपालनमा पनि अर्घाखाँची प्रसिद्ध छ। यो जिल्ला मासु र दूधमा आत्मनिर्भर बनेको छ। कृषि विकास र पशु सेवा कार्यालयका अनुसार व्यावसायिक कृषिबाट जिल्लामा वार्षिक करिब दुई अर्ब आम्दानी हुन्छ। किमडा“डा गाविसका दुई दर्जन कृषकले व्यावसायिक गाईपालन गरेका छन्। किमडाँडा– १ का नेत्र थापाले दूध बेचेरै वार्षिक ३ लाख आम्दानी भइरहेको बताए।
कतिपय युवा विदेशबाट फर्केर व्यावसायिक गाईपालनमा लागेका छन्। किमडाँडा– २ का रुपिन्द्र खत्री त्यसैमध्ये एक हुन्। 'विदेश भन्दा हुरुक्कै भएर गइयो,' उनले भने, 'विदेशमा भन्दा यहीँ राम्रो हुँदो रहेछ।' उनले वार्षिक दुई देखि अढाई लाखसम्म आम्दानी गर्ने बताए।
धनकुटामा पनि सुन्तला खेतीमा कृषकको आकर्षण बढेकाले यस वर्ष २० करोडभन्दा बढीको उत्पादन र बिक्री भयो। बेलायत सरकारको सहयोगमा सञ्चालन भएको सिप्रेड परियोजनाअर्न्तगत करेसाबारीमा गर्न थालिएको तरकारी खेतीले व्यावसायिक रूप लिएको छ। मूर्तिढुंगा–६ का कृषक केशव काफ्ले भन्छन्, 'तरकारी खेती नभए दैनिक जीवन चल्दैन।'
सिधुवा बहुउद्देश्यीय सहकारी संस्थाले सिधुवा क्षेत्रबाटै वार्षिक १४ करोडको तरकारी निकासी गर्छ। बेलहराको गुठिटार तरकारी संकलन केन्द्रबाट मात्रै वार्षिक ८ करोड र मूलघाटको संकलन केन्द्रबाट वार्षिक ३ करोडको गोलभेडा निकासी भइरहेको छ। भेडेटार, डाँडाबजार र मुढेबास क्षेत्रबाट पनि वार्षिक ३ करोडभन्दा बढीको तरकारी निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्रमुख होमनाथ लम्सालले बताए।
जिल्लामा अदुवा, अलैंची र अम्लिसो खेतीमा हात हालेर सफलता पाउने किसानको संख्या धेरै छ। यस वर्ष जिल्लाबाट १८ करोड रुपैयाँ बराबरको अदुवा भारत निकासी भएको छ। 
जिविसका अनुसार गत १० वर्षमा धनकुटाको गरिबी करिब १० प्रतिशत घटेको छ। जिल्लामा कृषि उत्पादनमा बृद्धि भएकै कारण २६ प्रतिसत गरीबीको रेखामुनी रहेको जनसंख्या १६ प्रतिशतमा झरेको छ। 
तरकारीको पकेट क्षेत्र 
दुई दशकयता तरकारी उत्पादनमा देशकै पहिलो जिल्ला रहिआएको छ, धादिङ। यो अघोषित रूपमा तरकारीको पकेट क्षेत्र नै हो।
२०३३ सालतिर यहाँका व्यापारीले काठमाडौं, भक्तपुरका किसानबाट सिकेर सुरु गरेको तरकारी खेती अहिले राजमार्ग नजिकका सबै गाविसमा फैलिएको छ। धादिङले काठमाडौंको तरकारी बजारमा एकतिहाई हिस्सा ओगट्दै आएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष गीताप्रसाद आचार्यका अनुसार धादिङबाट दैनिक ९० देखि सय टन तरकारी राजधानी भित्रिन्छ। चितवन, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा समेत धादिङको तरकारी निर्यात हुन्छ। काठमाडौंबाट मात्रै दैनिक ३० लाख हाराहारी नगद भित्रिने धादिङमा वार्षिक एक अर्बभन्दा बढी आम्दानी तरकारीबाटै हुने गरेको छ। 
दुई दशक अघिसम्म ढुवानीको समस्याले पृथ्वी राजमार्ग वरपरका फाँटमा मात्र तरकारी खेती गरिन्थ्यो। जिल्ला विकास समितिले तरकारी खेतीलाई प्रोत्साहन गर्न अन्य कुनै सहुलियतको प्याकेज नबनाए पनि कच्ची सडक निर्माणका लाागि छुट्ट्याएको बजेटले बाटो बन्दा तरकारी खेती गाउँगाउँ फैलिन मद्दत मिलेको छ। काठमाडौंसँग जोडिएका नौबिसे, छत्रेदेउराली, जीवनपुरका बासिन्दा व्यावसायिक तकारी खेती गर्नेमा पहिलो स्थानमा पर्छन्।
जिल्ला विकास समिति धादिङका पूर्वसभापति खेमप्रसाद लोहनी तरकारी खेतीबाटै दक्षिणपूर्वी क्षेत्रका बासिन्दाको आम्दानीमा परिवर्तन आएको बताउँछन्। 'आफ्नै लगानीमा टोलटोलमा मोटरबाटो र घरघरमा मोटरसाइकल भित्रिएका छन्,' उनले भने, 'अधिकांश किसानको पक्की घर, राम्रो विद्यालयमा छोराछोरीको पढाइ, कतिपयको सहर बजारमा घरघडेरी, आधुनिक सुविधाको प्रयोग यी सबै तरकारी खेतीले सम्भव भएको हो।'
कपिलवस्तुको धनकौली पनि तरकारी उत्पादनको नमूना ठाउँ हो। ४० वर्षअघि देशका विभिन्न स्थानबाट बसाइसराइँ गरी आएका पाँच–दसजनाले आफ्नो घरखर्चका लागि तरकारी उत्पादन गर्थे। अहिले तरकारी उत्पादनमा यसले फड्को मारेको छ। 
केवट जातिका कृषकले गरेको नमूना तरकारी खेती हेर्न लायक छ। बाह्रैमास तरकारी खेती गरेर त्यहाँका कृषकले वार्षिक एक देखि १० लाख रुपैयाँ कमाउने गरेका छन्। कृषि कार्यालय अनुसार धनकौली गाविसमा २ सय २५ हेक्टरमा तरकारी खेती गरिन्छ। यसबाट वसन्ते र हिउँदे गरी ४ हजार ६ सय मेटि्रक टन तरकारी उत्पादन हुने गरेको छ। 
तरकारी खेतीबाट करोडौंको मालिक बनेका देवपुरका ६८ वर्षे अगुवा कृषक फूलचन्द केवटले वार्षिक १० लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। सुरुका दिनमा टोकरीमा गाउँगाउँ डुलाएर तरकारी बेचेर जीवन निर्वाह गरेका उनी तरकारी खेतीबाट सबभन्दा बढी आम्दानी गर्ने कृषकका रूपमा चिनिएका छन्।
कफीमा भविष्य
गुल्मी, आँपचौरका हिरा गिरीले १५ वर्षअघि बर्माबाट कफीको बीउ ल्याएर सुरु गरेको कफी खेती अहिले जिल्लाकै पहिचान बनेको छ। उनले आफ्नो बारीमा दुई–चारवटा कफीका बोट रोपेपछि कफीले राम्रो उत्पादन दियो। त्यसपछि थाहा भयो, गुल्मीमा कफी खेती हुँदो रहेछ। उनकै सिको गर्दै बामे सरिरहेको कफी खेती अहिले जिल्लामा व्यावसायिक बनेको छ।
जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोग र कफीको राम्रो अन्तर्राष्ट्रिय बजारका कारण पनि किसान कफी खेतीमा आकर्षित भएका हुन्। तर, कफी खेती सुरु भएको लामो समय बित्दा पनि उत्पादन राम्ररी बढ्न सकेको छैन। पहिले कफीले बजार नपाएपछि किसानले मकै लगाए। पछिल्लो पाँच–सात वर्षयता कफीको बजार गतिलो भएपछि फेरि यसैमा फर्किएका हुन्।
कफी खेतीबारे किसानको राम्रो ज्ञान नहुँदा पनि उत्पादन बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत फटकबहादुर थापाले बताए। जिल्लाको बलेटक्सार, ग्वादी, आँपचौर, वाग्ला, दिगाम, रुरु र अश्लेवा कफी उत्पादनका पकेट क्षेत्र हुन्। विषादी प्रयोग नगरी उत्पादन हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा पनि गुल्मेली कफीले राम्रो पहिचान बनाएको छ।
कफी सहकारी संघका अध्यक्ष निलकण्ठ गौतमले जापान, कोरिया र अमेरिकामा नेपाली कफीको राम्रो बजार भएको जानकारी दिए। अहिले जिल्लाबाट कफी सहकारी संघमार्फत १५ टन कफी निर्यात भएको छ। यसमध्ये ३५ प्रतिशतबाहेक सबै कफी विदेश निर्यात हुने गरेको गौतमले बताए। 
जुम्लाको मेरुदण्ड स्याउ
पाँच वर्षअघि पन्ध्रौं जिल्ला परिषदले जुम्लालाई अर्गानिक जिल्ला घोषित गरेपछि हाल यहाँ ‘एक घर एक स्याउ बगैंचा’को अवधारणाले मूर्तरूप लिइरहेको छ। ‘अब त स्याउ बेचेरै भए पनि परिवारको गुजारा चलाउन सकिएलाजस्तो लाग्न थालेको छ,’ स्थानीय किसान शंखु खत्री भन्छन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा साना–ठूला गरी झन्डै १९ हजार स्याउ बगैंचा छन्। एक बगैंचामा न्यूनतम पाँचदेखि अधिकतम हजारसम्म स्याउका बिरुवा लगाइएका छन्। जिल्ला कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार जुम्लाबाट बर्सेनि ४० देखि ४५ मेटि्रक टन स्याउ बाहिर निर्यात गरिन्छ।
जुम्ला करिब सात वर्षअघि सडक सञ्जालले जोडिएपछि यहाँको स्थानीय स्याउले बजार पाउन थालेको हो। काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत ठूलो ठाउँका व्यापारी स्याउ खरिद गर्न जुम्ला पुग्ने गर्छन्। भदौ–असोजमा स्याउ फलेको हेर्न र स्याउको स्वाद लिन जुम्लामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। 
हजारौं टन धान निर्यात
नेपालले धानबालीमा उत्पादकत्व बढाउन नसक्दा महिनाकै एक अर्बभन्दा बढीको चामल आयात भइरहेको छ। नुवाकोटमा भने तीन वर्षको कृषि कार्यालयको तथ्यांक हेर्दा धान उत्पादनमा वृद्धि मात्र भएको छैन, किसानले आफूले प्रयोग गरेर बचेको ठूलो मात्रामा धान निर्यात हुने गरेको पाइएको छ।
गत वर्ष जिल्लाको १४ हजार ८ सय २५ हेक्टर क्षेत्रफलबाट ५४ हजार ८ सय ४३ मेटि्रक टन धान उत्पादन भएको थियो। यसबाट किसानले ४२ करोड ८० लाख ९६ हजार आम्दानी गरेका थिए। जिल्लामा नुवाकोटको शिखरबेसी, आप्रह, फेदीबेशी, समुन्द्रटार, देवीघाट, दुईपिपल, तुप्चे लगायत झन्डै दुई दर्जन गाविसका उर्वर फाँटमा धान खेती फस्टाएको पाइन्छ।
नुवाकोट काउलेका कृषक रणबहादुर लामा आफ्नो १० रोपनी जग्गामा दुई बाली धान लगाउने गरेको बताउँछन्। हाइब्रिड जातको नयाँ–नयाँ धानबाट उनले वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए। 
पाहुनाको रोजाइ बुङको आलु
ओखलढुंगास्थित कृषि विकास कार्यालयका प्राविधिक सहायक लक्ष्मण दास विदामा घर जाँदा बुङको आलु कोसेली लैजान छुटाउँदैनन्। जिल्लाका करिब ७० प्रतिशतले विभिन्न परिकार बनाएर खाने बुङको आलुमा पाहुनाको जिब्रो लठ्ठिएपछि यसको चर्चा मात्रै चुलिएको छैन, व्यापार पनि उकालो लाग्दैछ। अन्य जातका आलुभन्दा फरक स्वाद भएकैले बुङको आलुले किसानको आर्थिक प्रगतिको सम्भावना उजागर गर्दैछ। 
ओखलढुंगा फलफूल, तरकारी र पर्यटनको सम्भावना बोकेको जिल्ला पनि हो। तर, रोपाइदेखि उत्पादन र स्वादसम्म फरक हुने भएपछि बुङको आलु नै जिल्लाको पहिचान बन्दैछ। स्थानीय बजार मात्रै नभएर काठमाडौंसम्म यसको निकासी हुन थालेको छ। 
माटोको ड्याङ बनाएर लेकाली क्षेत्रको जंगल नजिकैको बारीमा यो आलु उत्पादन गरिन्छ। घोप्ट्याएर राखेको डोकोको आकृतिमा माटोका बुङ उठाएर रोपिने भएकाले यसलाई बुङको आलु भनिएको हो। ओखलढुंगा, रुम्जाटार, मानेभञ्ज्याङ, रामपुर, निशंखेलगायत स्थानीय बजारमा बुङको आलु बेच्न किसानले धेरैबेर कुर्नुपर्दैन। ग्राहक पनि अरूभन्दा बुङको आलु नै खोजिरहेका हुन्छन्। अन्य आलुको तुलनामा यसको मूल्य प्रतिकिलो सात–आठ रुपैयाँले बढी पर्छ। 
स्थानीय विकास अधिकारी राधाकृष्ण श्रेष्ठले बुङको आलु खेतीको राम्रो सम्भावना देखेकैले कोल्ड स्टोर बनाउन यसपल्ट पाँच लाख रुपैयाँ विनियोजन गरेको बताए। 
उखु खेतीकै भर 
कुनै बेला उखु रौतहटका किसानका लागि करेसाबारीको शोभा मात्रै थियो। केही लाँक्रा रोप्ने, घरैमा प्रयोग गर्ने। दुई दशकअघिको यो अवस्था बयान गर्दा अहिलेको रौतहट देख्नेहरूले हम्मेसी पत्याउँदैनन्। 
बीस वर्षयता रौतहटका सर्वसाधारणले सबभन्दा बढी आम्दानी गरेको उखुबाटै हो। १८ वर्षअघि मध्य रौतहटको गरुडामा श्रीराम सुगर मिल्स स्थापना भएपछि रौतहटेली किसानको जीवनमा परिवर्तन आएको हो। किसानले उत्पादन गरेको उखु किनेर चिनी उत्पादनमा उद्योग लागेपछि यहाँका किसानले व्यावसायिक उखु खेतीमा पाइला बढाएका थिए। अहिले उखु खेतीसँग रौतहटका १४ हजार किसान आबद्ध छन्। चिनी मिलले हरेक वर्ष किसानलाई करिब ६० करोड रुपैयाँ उखुबापत भुक्तानी दिने गरेको छ।
'रौतहटका किसानले सबैभन्दा बढी आम्दानी गर्ने नै उखुबाट हो,' उखु उत्पादक संघ रौतहटका अध्यक्ष जयनाथ यादव भन्छन्, 'उखुखेतीले रौतहटका किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याएको छ।' 
जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादव पनि यसमा सहमत छन्। 'एक कट्ठा जग्गामा आधुनिक तरिकाले धानखेती गर्दा प्रतिकटठा ५ मनसम्म फल्छ,' उनले भने, 'त्यही खेतमा उखु खेती गरे २० हजार रुपैयाँ सजिलै आम्दानी हुन्छ।' धान र उखुको वर्तमान बजार मूल्यअनुसार यो पाँच गुणाभन्दा बढी आम्दानी हो। 
रौतहटका किसान उखुकै कारण जीवनस्तर राम्रो हुँदै गएकोमा जति खुसी छन्, मूल्य विवादका कारण समस्यामा पर्दा उत्तिकै दुःखी। उखुलाई राष्ट्रिय बाली घोषणा गरेर यसको भविष्य सुरक्षित गर्नुपर्ने उनीहरूको माग छ।
अदुवाले चिनाउँदै सल्यान
नेपालमै उत्कृष्ट गुणस्तरको अदुवा उत्पादन हुने क्षेत्र हो, सल्यान जिल्लाको डाँडागाउ माल्नेटा। यहाँ अत्यन्त कम रेसा भएको अदुवा उत्पादन हुन्छ। त्यही भएर अदुवा खेतीलाई बढी महŒव दिने गरिएको छ। माल्नेटा डाँडागाँउका डेढ सयभन्दा बढी घरपरिवारको मुख्य आयस्रोतको आधारै अदुवा खेती हो। 
‘अरू बालीभन्दा अदुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका सबै किसान यही खेतीमा लागेका छन्,' स्थानीय कृषक कृष्ण गिरीले भने। यो गाउँबाट मात्रै वार्षिक चार हजार क्विन्टल अदुवा उत्पादन हुने गरेको किसान बताउँछन्। जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस गाविसबाट गत वर्ष झन्डै २ करोड बराबर अदुवा निकासी भयो।
सल्यान जिल्लामा फल्ने अदुवा बीउका रूपमा समेत अन्य जिल्लामा निर्यात हुने गरेको सल्यान कपुरकोटस्थित अदुवा अनुसन्धान केन्द्रका गोविन्द केसीले जानकारी दिए। उनका अनुसार अन्यत्रको भन्दा माल्नेटा सल्यानको माटो अदुवा उत्पादनका लागि उपयुक्त रहेको अनुसन्धानले देखाएको छ। ‘हामीले यसमा लामो अनुसन्धान गरेका छौं,' उनले भने, 'यो जिल्लाको मात्र होइन, देशैभरिमा सबैभन्दा गुणस्तरीय अदुवा सल्यानको माल्नेटामा फल्छ।'
यातायात असुविधाले अदुवाको बजारीकरणमा भने बाधा पुर्याएएको कृषक बताउँछन्। ‘यातायातको असुविधा भएकाले बजारसम्म पुर्यालउन गाह्रो भइरहेको छ,' सल्यानका कृषक डोरबहादुर घर्ती भन्छन्, ‘यातायातको सुविधा भइदिएको भए हामीलाई धेरै सहज हुने थियो।' कतिपय किसानले उत्पादित अदुवा बजार पुर्या्उन नसकेर घरमै सुठो बनाएर राख्ने गरेका छन्।
अलैंचीले फेरि“दै जीवनस्तर 
४५ वर्षीय सन्दे लिम्बु चैनपुरका स्थायी बासिन्दा भएका छन्। संखुवासभा जिल्लाको पुरानो सदरमुकाम चैनपुर बजारसँग जोडिएको २ नम्बर वडामा उनको जस्ताले छाएको घर छ। सबै छोराछोरी स्कुल पढ्छन्। वर्षायाममा दुई महिना खेतीको काम गर्दा वर्षदिन खान पुग्छ। एक समय दुई छाक टार्न कठिनाइ भोगेका लिम्बुसँग अहिले बचत गरेको पैसासमेत छ।
सदरमुकाम खाँदबारीबाट ९ कोष टाढाको सभापोखरी गाविस लिम्बुको जन्मस्थान हो। दस वर्षअघि उनी चैनपुर बसाइँ सरेका हुन्। खान र लाउनकै संघर्षबाट उनलाई एकाएक सन्तोषको सास फेर्न सक्ने जीवनतर्फ लम्काउन केहीले मद्दत गर्यो भने त्यो हो, अलैंची। 
फाकुवा लिम्बुहरूको ४० घर रहेको गाउँ हो। डेढ दशक अघिसम्म त्यहाँ अधिकतरको जीवन सन्देको भन्दा फरक थिएन। निकै भिरालो र ढुंग्यानयुक्त त्यहाँको जमिनमा फलेको धान र मकैले कमैलाई वर्षभर खान पुग्थ्यो। जब उनीहरूले अलैंची खेतीबाट आम्दानी लिन थाले, जीवनले एकाएक नयाँ रूप लियो।
कुनै समय अलैंचीप्रति बेखबर हु“दा बोटको टुप्पामा फल खोज्ने संखुवासभाबासीको जीवनमा यसले ठूलै परिवर्तन ल्याएको छ। मुलुकको अर्थतन्त्रमा रेमिटेन्सले दिएको योगदानजस्तै हिमाली जिल्ला संखुवासभाको आर्थिक तथा सामाजिक क्षेत्रमा अलैंचीको योगदान उल्लेख्य छ। जिल्ला अलैंची व्यवसायी संघका अनुसार २०६२/६३ मा संखुवासभामा २० लाख किलो अलैंची फलेको थियो। प्रतिकिलो ५ सयका दरले त्यस वर्ष अलैंचीबाट झन्डै एक अर्ब रुपैयाँ अलैंचीबाट भित्रियो। पछिल्ला वर्ष यसको उत्पादन घटे पनि मूल्य वृद्धिका कारण जिल्ला भित्रिने रकमको अनुपात कम छैन। 
संखुवासभाका नुम, पाथीभरा, मकालु, सभापोखरी, पावाखोलामा अलैंची धेरै फल्छ। २०३१ बाट मादीमूलखर्क गाविसबाट अलैंचीको व्यावसायिक खेती सुरु भएको हो। मजदुरी गर्न सिक्किम जा“दा अलैंची बगानमा काम गर्नुपरेपछि फर्किंदा उनीहरूले नै अलैंची भिœयाएको त्यहा“का अगुवा किसान बताउ“छन्। 
सिक्किम र तिब्बतस“ग जोडिएको ताप्लेजुङलाई आर्थिक रूपमा समृद्ध पार्ने मुख्य वस्तु पनि अलैंची नैं हो। 'खोल्साको सुन' भनिने अलैंचीले ताप्लेजुङका सयौं किसानको आम्दानी स्रोत दरिलो पारेको छ। जिल्ला विकास समितिको आवधिक योजनामा पनि अलैंची खेतीको विकासलाई विशेष प्राथमिकता दिइएको छ। 
अघिल्लो आर्थिक वर्ष ताप्लेजुङमा १ हजार ७ सय २६ मेटि्रक टन अलैंची उत्पादन भएको थियो। चालू वर्ष १ हजार ६ सय ८० मेटि्रक टनमै सीमित भए पनि मूल्य अकासिएकाले आम्दानीको स्रोत बढेको छ। अघिल्लो वर्ष २ अर्ब ७० करोड मात्र आम्दानी गर्न सकेको 'खोल्साको सुन'ले यो वर्ष ४५ करोड रुपैया“भन्दा बढी आम्दानी गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। 
ताप्लेजुङमा अलैंचीको सम्भावना देखेपछि सरकारले 'एक गाउ“ एक उत्पादन'का लागि जिल्लामा अलैंची खेतीमै लगानी केन्द्रित गर्दैछ। २०७० को सुरुमा एक तोला सुन किन्न झन्डै ६० किलो अलैंची बेच्नुपर्थ्यो। एक सातापछि अलैंचीको मूल्य यसरी बढ्यो, त्यत्ति नै सुन किन्न ४० किलो अलैंची पर्याप्त हुने भयो। ०७१ साल लाग्दै गर्दा अलैंचीको मूल्य झनै बढ्यो। ४० किलो अलैंची बेच्दा एक तोला सुन किनेर पनि २४–२५ हजार बच्ने अवस्था आयो। अलैंचीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
आँप र केराको करामत 
पूर्व–पश्चिम राजमार्गछेउको चुरे क्षेत्रसँग जोडिएका भूभागमा गरिने आँप खेती मुलुकमै प्रसिद्ध छ। रूपनगर, कञ्चनपुर, धरमपुर, ठेलिया, फत्तेपुर, महुली, कुसहा, खोक्सर प्रवाहा लगायत गाविसमा आँपको व्यावसायिक खेती हुन्छ। जिल्लाको पाँच हजार छ सय हेक्टरमा लगाइएको आँप मुलुककै सबैभन्दा बढी क्षेत्रफलको हो। कृषि कार्यालयका अनुसार वार्षिक सरदर ६० हजार मेटि्रक टन आँप जिल्लामा उत्पादन हुन्छ। 
यहाँको आँप मेचीदेखि महाकालीसम्म जान्छ। भारतको कलकत्ता, सिलीगुडीसहित सीमावर्ती बिहारका व्यापारीले आँप लैजाने गरेकाले आर्थिक विकासको सम्भावना दिनानुदिन बढ्दै छ। आँप खेतीले यो क्षेत्रका किसानको जीवनस्तर फेरेको रूपनगरका अगुवा किसान उत्तम आचार्य बताउँछन्। चुरेको भावर क्षेत्र आँपका लागि बढी उपयुक्त छ। यहाँ ६० प्रतिशत मालदह, २० प्रतिशत कलकतिया, १५ प्रतिशत बम्बई र पाँच प्रतिशत अन्य जातका आँपको खेती हुन्छ। 
आठ वर्षअघि भारदह गाविस–२ का पवन लौगीले व्यावसायिक केरा खेती थालेका थिए। अहिले जिल्लाका अढाई सय किसानले १० हजार हेक्टरमा केरा खेती गर्छन्। भारदह, पोर्ताहा, बदगामा, योगिनियाँ, मधवापुर लगायत क्षेत्रमा गरिने केरा खेतीले धेरैलाई गाउँमै रोजगारी दिएको अगुवा किसान रामु विश्वास बताउँछन्। पहिले यहाँ भारतबाट केरा आयात हुन्थ्यो। अहिले यहाँको केरा मुलुकभर पुग्छ। 
यहाँका एकै किसानले एक बिघामा लगाएको केराबाट बर्सेनि चार लाख रुपैयाँसम्म आम्दानी गरिरहेको कृषि कार्यालयले जनाएको छ। रोजगारी खोज्दै विदेशिने सुर कसेका युवासमेत केराबाट राम्रो कमाइ हुन थालेपछि यतै आकर्षित भएको भारदह गाविसका पूर्वअध्यक्ष पवन मण्डलले बताए। आँप र केरा मात्रै होइन, कोचावखारी, इटहरीविष्णुपुर, बोरिया, कट्टी लगायतत गाविसमा तरकारी खेतीबाट किसानको कायापलट हुँदैछ। 
कृषि क्रान्तिले बनेको जिल्ला
'कृषि क्रान्ति'ले मुलुकमै सबैभन्दा बढी गोलभेडा, उखु र तरुल उत्पादन हुने जिल्ला बनेको छ, सर्लाही। मकै, धान र आँपको उत्पादन पनि आसपासको जिल्लाभन्दा अधिक छ। बागमती सिँचाइ आयोजना पुगेको मध्य र पश्चिम क्षेत्रले कृषि उत्पादनमा पञ्जाबको झल्को दिन्छ। पर्याप्त सिँचाइ सुविधा पुगेको बरहथवा, शंकरपुर, मूर्तिया, सोल्टी, राजघाट, हजरिया, लौकट, घुर्कौली र जानकीनगरका किसानको आर्थिक अवस्था उकासिएको छ। 
शंकरपुर र सोल्टीमा मात्र २ सय हेक्टरमा तरुल खेती हुने गरेको कृषि कार्यालयको तथ्यांक छ। सिँचाइ सुविधा नभएको सासापुर, हरिवन, नेत्रगन्ज, अत्रौली, पत्थरकोट, परवानीपुर, कालिन्जोर र ईश्वरपुरका कृषक भने गोलभेडा र दोमट माटोमा हुने तरकारी उब्जाइरहेका छन्। सर्लाहीमा मात्र एक हजार हेक्टरमा गोलभेडा खेती हुन्छ। 
जिल्लाको मध्यदेखि दक्षिणसम्म उखु खेतीले हराभरा छ। यहाँ उखु क्रसिङ गर्ने दुइटा चिनी उद्योग छन्। पाँच वर्षअघि मजदुरी गरेर जीविका चलाउने कृषक आवश्यकता परे ५/७ लाख निकाल्न तयार छन्। दिनमा १५ ट्रकसम्म गोलभेडा लालबन्दी बजारबाट बिक्री हुन्छ। 
सर्लाहीमा गोलभेडाले चिनिएको अर्को बजार नवलपुर पनि हो। गोलभेडाको अचार र जुस उद्योग बन्ने चर्चासँगै कृषकमा उत्साह थपिएको छ। 'भाउ पाउँदा बेच्ने र सस्तो हुँदा खेतमै बिग्रिने अवस्था आउन नदिन उद्योगको पहल भइरहेको छ,' जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले भने।
कृषिबाटै सिन्धुको समृद्धि 
सिन्धुपाल्चोकमा वार्षिक ३७ हजार मेटि्रक टन दूध उत्पादन हुन्छ। बजार भाउअनुसार यसको मूल्य १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ हुन आउँछ। उत्पादितमध्ये २१ हजार ५ सय लिटर दूध बिक्री गरेर यहाँका किसान दैनिक ८६ लाख रुपैयाँ घर भिœयाउँछन्। वार्षिक ३० करोड २७ लाख २० हजार रुपैयाँ किसानको हात पर्छ। 
जिल्लामा वार्षिक ६० हजार टन आलु फल्ने कृषि कार्यालयको तथ्यांक छ। उत्पादितमध्ये गत सिजनमा २८ हजार टन आलु बेचेर किसानले ४० करोड रुपैयाँ आम्दानी गरे। 
जिल्लाको सबैतिर लप्सी खेती फैलिएको छ। लप्सी बिक्रीबाट मात्रै वार्षिक १३ करोड रुपैयाँ भित्रिरहेको अनुमान छ। जिल्लाका ३४ गाविसलाई कफी बोटले ढाकिसकेेको छ। कफीले ढाकेको ९६ हेक्टरमध्ये ३० हेक्टरका बोटले उत्पादन दिइरहेका छन्। गत वर्ष उत्पादितमध्ये १७ हजारभन्दा बढी किलो कफी दाना बिक्री भयो। अधिकांश जापान, कोरिया र जर्मनमा निर्यात भयो। कफी बेचेर मात्रै किसानले साढे ३४ लाख रुपैयाँ आम्दानी लिए। 
जिल्लामा वार्षिक ८ टन मह उत्पादन हुन्छ। चार टन मह किसानले बेच्छन्। मह बिक्रीबाट वार्षिक १६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ।
यी तथ्यांक हेर्ने हो भने सिन्धुपाल्चोक कृषि क्षेत्रबाटै आत्मनिर्भर र समृद्ध बन्न सम्भव छ। राजधानी काठमाडौं र विशाल अर्थतन्त्र चीन छिमेकमा रहेकाले यो जिल्लालाई ठूलो अवसर छ। आधुनिक प्रणाली पछ्याउँदै रणनीतिक योजना बनाएर व्यावसायिक उत्पादनलाई जोड दिने हो भने कृषि र पशुपालनले नै सिन्धुपाल्चोकमा आर्थिक क्रान्ति ल्याइदिन्छ। 
'कृषि क्षेत्रको आम्दानीबाटै सिन्धुपाल्चोकको कायापलट सम्भव छ,' वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पाण्डेले भने। उनको अनुभवमा यहाँको माटो कृषि उत्पादनको दृष्टिले अब्बल छ। सबैतरि सिँचाइको अवसर छ। मौसमी, बेमौसमी खेती प्रणाली भित्रेकाले सुख्खायाम र सुख्खा फाँटबाट पनि उत्तिकै फाइदा लिन सकिन्छ।
सम्भावनाको खानी 
अन्नबाली उत्पादनमा उर्वरभूमि मानिने सुनसरी पछिल्लो समय तरकारी र पशुपालनको मुख्य पकेट क्षेत्र बन्दैछ। खेतीयोग्य जमिनमा तरकारी खेती गर्ने र पशुपालनमा युवापुस्ता आकर्षित भएकाले दुवैको भविष्य उज्यालिएको हो।
आठ वर्ष अघिसम्म अर्काको जग्गा नकमाए वा मजदुरी नगरे दुई छाक टार्न धौधौ हुने जल्लापुर–८ का खलिल मियाँको परिवारलाई अहिले हाइसन्चो छ। तरकारी खेती गर्न थालेपछि मिया“ परिवारलाई खान लाउन कुनै समस्या छैन। तरकारीको कमाइबाटै यो परिवारले जग्गासमेत जोडिसकेको छ।
एक विघा जमिनमा तरकारी खेती गर्दा औसतमा किसानले खर्च कटाएर ६० हजार रुपैयाँ आम्दानी गर्छन्। मियाँको परिवारजस्तै, 'पकेट क्षेत्र' मानिएको बविया, जल्पापुर, इनरुवा, भोक्राहा, नरसिंह, महेन्द्रनगर, प्रकाशपुर, डुम्राहा, भलुवा, पूर्वकुसाहा, दुहवी, हरिनगरा, वसन्तपुर, देवानगन्ज, कप्तानगन्ज, राजगन्ज सिनुवारी आदि गाउ“मा अधिकतर किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्।

प्रकाशित: ११ वैशाख २०७१ ०२:१८ बिहीबार