सशस्त्र द्वन्द्वका बेला २०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले गोरखा फुजेलका कृष्णलाई चितवनको रत्ननगर बकुल्लहरमा गोली हानेर हत्या गरेका थिए। कृष्णका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा आइतबार मात्रै चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्दा दायर भएको छ।
सुराकीको आरोपमा कृष्णको हत्या गरेको माओवादीले बताउँदै आएको छ। तर, मुद्दा लागेका अधिकांश आरोपित माओवादीका कार्यकर्ता नभएर फुजेलमा रहेका छिमेकी, आफन्त र सर्वसाधरण छन्। कृष्णका दाजु नुरप्रसादले व्यक्तिगत रिसका आधारमा आफूविरुद्ध उजुरी दिएको र आफूहरू अनाहकमा फसेको आरोपितको भनाइ छ।
घटना भएका बेलमा चितवनमा माओवादीको जिल्ला सेक्रेटरी यमबहादुर परियार र जिल्ला जनसरकार प्रमुख दण्डपाणि पौडेल थिए। तर, प्रहरीले माओवादीका यी जिम्मेवार व्यक्तिलाई एकपटक पनि नसोधेको आरोपित अजीव भनिने परशुराम पौडेलले बताए। उनले उक्त घटनामा आफूहरू सम्बन्धित नरहेको पनि दाबी गरे।
पौडेल मंसिर २१ गते पक्राउ परेका थिए। जिल्ला सरकारी वकिलले मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी २५ दिनपछि हिरासतमुक्त भएका थिए। पुस २४ गते हिरासतमुक्त भएयता प्रहरीले उनलाई सम्पर्क गरेको छैन।
कृष्णको हत्यामा संलग्न भएको आरोपमा चैत ६ मा समातिएका छविलाल पौडेल परशुरामका बुबा हुन्। हाल छविलाल र भीमसेन पौडेल मात्रै प्रहरी हिरासतमा छन्। मुद्दा दायर हुने दिन आइतबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा बुबाका लागि आफैंले खाना पुर्याहएको परशुरामले बताए। दिउँसो उनी अदालत पनि पुगेका थिए।
हिरासतमा रहेका छविलाल र भीमसेनबाहेक अरुलाई फरार भनिएको छ। 'प्रहरी कार्यालयमा पुगेको मान्छेलाई फरार भनेर मुद्दा दर्ता गरेकोमा छक्क परेको छु,' उनले भने।
परशुरामले आफूहरूमा बेफ्वाकमा जेल जानुपर्ने अवस्था आएको बताए। 'हामी हत्याराको रूपमा चित्रित हुन थाल्यौं। मार्ने माओवादी, जेल जाने हामी। न मैले कहिल्यै बन्दुक बोकेँ। न कहिल्यै कृष्णलाई देखेँ,' उनले भने, 'यस्तो बेलामा माओवादीले घटनाको सत्य–तथ्य सार्वजनिक गर्नुपर्छ।'
अधिकारी हत्या प्रकरणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता भट्टराईले चर्का कुरा गरे पनि चित्तबुझ्दो काम नगरेको उनको भनाइ थियो। 'हामी जेल जाने अवस्था आउन लाग्दा पार्टीका मान्छेले फोनसमेत उठाउन छाडेका छन्,' उनले भने, 'पारिवारिक झगडामा हामीले पक्ष नलिएको रिसमा नुरप्रसादले हत्या अभियोगमा उजुरी दिएका हुन्।'
हत्या अभियोगमा मुद्दा दायर भए पनि पक्राउ नपरेका मेघनाथ पौडेलले नुरप्रसादका माइला बुबा बितेपछि माइली आमालाई अंश दिलाउन भूमिका खेलेकालाई हत्या आरोप लगाइएको बताए। कृष्णको हत्या भएको एक वर्षपछि अंश विवाद निस्केको थियो। नुरप्रसादको उजुरीको आधारमा माइली आमाविरुद्ध पनि मुद्दा दायर भएको छ।
हत्यालगत्तै कृष्णका बुबा नन्दप्रसादले दिएको उजुरीमा कृष्णलाई तीनजनाले अपहरण गरेर लगेको उल्लेख छ। घटनाको १८ महिनापछि नुरप्रसादले ११ जनाको नाम किटेर जाहेरी दिएका हुन्। जाहेरीमा नाम नपरे पनि सो घटनामा थप चारजनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। तीमध्ये माओवादी छापामार ऋषि लामिछाने र मदन पौडेलको सुरक्षा कारबाहीमा परी २०६२ सालमा निधन भएको प्रहरीको भनाइ छ। प्रहरी अनुसन्धानका आधारमा घटनामा संलग्नता रहेको भन्दै हाल बेलायतमा रहेका रुद्र आचार्यविरुद्ध मुद्दा दायर भएको छ। आचार्य त्यतिबेला माओवादी छापामार रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, एमाओवादी नेतृ हिसिला यमीको सहयोगी रहेकी जानुका पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ। जानुका र रुद्रबाहेक अरु पार्टीमा सक्रिय नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, कृष्णका बुबा–आमाको लामो अनशन र मानवअधिकारकर्मीको दबाबका कारण आफूहरू विरुद्ध मुद्दा चलेको अभियुक्तहरू बताउँछन्।
मानवअधिकारकर्मीहरू नन्दप्रसाद, गंगामाया र नुरप्रसादको पक्षमा लागेकाले आफूहरूमाथि भएको अन्याय सुनाउने ठाउँ पनि नपाएको गिरफ्तार भीमसेनकी पत्नी गोमाले गुनासो गरिन्। आइतबार अभियोग दर्ता भए पनि अभियुक्तको थुनछेकसम्बन्धी बहस मंगलबार सुरु हुँदैछ।
प्रकाशित: १ वैशाख २०७१ २०:११ सोमबार

