६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

जेठी थकाल्नी

‘फेरि मार्ने भए, यी ग्वालाहरुको ढंग छैन, बिहान एउटा लडेर मरिगो,' कानमा खच्चडका घाँटीमा झुन्ड्याइएका घन्टीका आवाज ठोक्किनासाथ उनका सय एक वर्षे चिम्सा आँखा त्यतै तानिए।अघिल्लो साता ओख्मापाखास्थित उनको घर पुग्दा गाईबस्तुले निथार्न नसकेका स्याउलाका सिम्कना सँगेल्दै खच्चड गोठालालाई नियालिरहेकी भेटिइन्।
असोजबाट एक सय एक वर्ष नाघिन्। थकाली समुदायमा उनीभन्दा जेठो कोही छैन।
आफूले गरेका कुरा क्षणभरमै बिर्सिन्छिन्। भर्खरै सुनाएका कुरा उत्निखेरै दोहोर्या उँछिन्।
शरीर भने तडगै छ उनको।
छोरा–छोरी आफूभन्दा पहिले निधन भएको देखेर आफ्नै ज्यान बोझ लाग्न थालेछ उनलाई। बारम्बार भगवान पुकार्दै भन्छिन्, ‘पिठो नसकिएसम्म केही नहुँदोरहेछ।'
मुस्ताङ थाक सातसयबाट खानी खन्दै उनका बाबुबाजे रुकुम पुगेको उनी सम्झन्छिन्।
क्यामेरा देख्दैमा उनी झोक्किइन्, ‘तरुनीहरुको पो फोटो खिच्ने हो, मर्न लागेकालाई किन खिचेको?' नाति ज्ञानु तुलाचनले तपाईं १ सय १ वर्ष पुगेकाले खिचेको भनेपछि मात्र फोटो खिच्न दिइन्। 
बस्ती माथितिरको जंगलबाट नपग्लिएको हिउँ छुँदै बहेको चिसो सिरेटोले बूढो वयमा हिर्कायो। पातला कपडामा प्रेमकुमारी बिँडीको सर्कोले जिउ तताइन्। १५ वर्षमा लागेको रे बिँडीको लत, के जान्थ्यो। 
नजिकको जंगल पुगेर अझै दाउरा काट्न तम्सिन्छिन् प्रेमकुमारी। गफ गर्न पाए रातभर जागै बस्ने बानी। चेत खुलेदेखि नै मासु, जाँडरक्सी खाएको सुनाउँदै प्रेमकुमारी भन्छिन्, ‘पाउँदा त कउँलो मासु, जाँडको झोल, रक्सी, बिँडी सबै खान्छु।' 
ज्यानमा कुनै रोग छैन प्रेमकुमारीको।
... ... ...
जाडो बढ्दै गयो। बाहिर पालीमा नातिहरूले आगो फुकिदिए। आगोको छेउमा रापिँदै गफिन तयार भइन् प्रेमकुमारी। ‘माइत रुकुमकोट हो। बाजेहरू थाकखोलाबाट खानी खन्दै आएका रे। मेरो दिदी थियो। दिदीलाई साइँलाकाजी ठकुरीले लगेको,' उनले बेलिबिस्तार लगाइन्, ‘अहिले माइती कता गए थाहा छैन। १५ वर्षमै बिहे गरेको हुम्, बिहे गरेर कोलको बिरगुमखानीमा बसियो।'
थाकखोलाबाट यहाँ आएपछि आफ्ना बाजेहरुले खानु हन्डर खाएको, दुःख पाएको उनले बिर्सेकी छैनन्। ‘यहाँ आएर धेरै दुःख पाए बाउबाजेले। बिरगुमखानीमा मेरा ससुराहरु खानीबाट तामा निकाल्थे, गाई, भंैसी पाल्थे, खेतीकिसानको काम गर्थे। रूकुममा हामी थकालीहरू धेरै कम छौं। कोल गाउँभरि सबै मगर खाम भाषा बोल्छन्। हामी यही बिरगुम र ओख्मामा मात्रै खाम बोल्न जान्दैनौं,' प्रेमकुमारी बहकिँदै गइन्।
साँझको खाना तयार भयो। मासुको रससँग ढिँडो मज्जाले खाइन्। सोलारको पावर घट्दै गयो, बत्ती निभ्नै लाग्दा उनले सम्भि्कइन्, ‘एक सर्को तान्नु परो। छिटो बनाओ बिँडी।' 
माइला छोराले बिँडी बनाइदिए। बिँडी तानेर माथ्लो तलामा सुत्न गइन्। एउटा काम्लो र कम्मलमा घोप्टो परेर निदाइन् प्रेमकुमारी। 
बिहान साढे ६ बजे उठिन्। तामाको लोटामा पानी लिएर मुख धोइन्। नातिले पठाइदिएको थकाल्नी पोसाक लगाउन भन्दा मानिनन्। ‘तरुनी हुँदा लगाएको, बिर्सें अहिले लगाउन', माथ्लो तलामा पुगेर थकाल्नी पोसाक लगाउँदै उनले भनिन्।
मुजैमुजा परेको थकाल्नी पोसाक। चोली, ढाकाको खास्तो, सुनका हम्बेल लगाइन्। आफ्नो शरीर हेर्दै मक्ख परिन् प्रेमकुमारी। ‘हम्बेल त धेरै पछि लगाएँ', उनले सुनाइन्। 
पोसाकमा सजिएपछि कौसी उक्लिइन्। ‘बूढो मरे, ८४ पूजा गरेकै १८ वर्ष जति भयो। छोरा, छोरी मर्दै गए', दुई महिनाअघि निधन भएका जेठा छोरालाई सम्झँदै उनले सुनाइन्।
‘चिल्लो ल्याओ' भनेर कराइन्। बिहान चिसो पानीले धोएको मुख फुस्रो भएछ फुटेर। ‘कस्तो कुरा नबुझेको, आँखा च्यापच्याप भयो। मुखमा असजिलो भयो। चिल्लो लेऊ,' उनी फेरि कराइन्।
प्रेमकुमारीका चार छोरामध्ये जेठा र साइँलाको निधन भइसकेको छ। चार छोरीमध्ये जेठी, माइली र कान्छीको निधन भइसक्यो। नाति ज्ञानुका अनुसार अहिले उनका छोरा–छोरी, नाति–नातिना गरी ४८ जना छन्।
‘पोहोर सालसम्म आमाको सबै चेत थियो, नौ महिनाबीचमा जेठीभाउजू र अस्ति भर्खर दाइ मर्नुभयो। त्यसपछि शोक बढेर होला, त्यति सारो होस पाउनुहुन्न,' माइला छोरा पृथ्वीबहादुर तुलाचनले भने।

प्रकाशित: १ चैत्र २०७० ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App