तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले
मलाई उपहार दिनु भएको थियो
मेरै अनुहार प्रिन्ट गरिएको टि–शर्ट
लगाएर निस्केको पहिलो दिन नै
किलामा अल्भि्कयो टि–शर्ट, थोरै उधि्रयो
धागो निस्केको थियो
धागो तान्दै गएँ, सिलाई उधि्रँदै गयो
हेर्दा हेर्दै मेरो अनुहार
धागो बनेर हरायो टि–शर्टबाट
म पनि उधि्रँदै गैरहेछु भित्र भित्रै
हराउने छु धुवाँको धागो बनेर एक दिन
तपाईं भएको भए सोध्ने थिएँ
को हो जो तानिरहन्छ धागो
म उध्रेको ठाउँबाट!?
(हजुरबा)
कवितालाई शक्तिशाली बनाउँछ चाहिँ केले?
शब्दको कलात्मकताले? विम्बको भरमार प्रयोगले? बेजोड कल्पनाशीलताले कि प्रस्तुतिको नवीनताले?
‘कविता अनुभव र अन्तरदृष्टिले लेखिँदो रहेछ। अक्षर–अक्षर पढ्नुमात्रै कविता होइन,' निरज भन्छन्, ‘एउटा लाइनदेखि अर्को लाइनबीच जुन खाली ठाउँ हुन्छ त्यहाँ हुन्छ कविताको शक्ति!'
एक लाइनबाट फड्केर अर्को लाइन पुग्नुअघि एकछिन अडिन बाध्य गरायो भने त्यो कवितामा ‘दम' छ– उनको स्पष्टोक्ति।
लोग्ने कहिल्यै आफ्नो स्वास्नीसँग सुत्दैन
अरू कसैसँग पनि सुत्दैन
स्वास्नी कहिल्यै आफ्नो लोग्नेसँग सुत्दिन
अरू कसैसँग पनि सुत्दिन
तर,
जब जब लोग्ने फर्किंदैन कुनै दिन
स्वास्नी लोग्नेको खाटमा सुत्छे।
(यौटा घरमा)
कविताले समस्याको समाधान गर्ने होइन, न कि कुनै निष्कर्ष दिनु– कविताबारे निरजको भनाइ। ‘कवितालाई बाँधेर अन्त्य गर्ने होइन, खुल्ला छाडिदिनुपर्छ,' सुन्धाराको एक क्याफेमा उनी गफिए, ‘पाठकको दिमाग झंकृत गर्न सक्यो भनेमात्र कविता राम्रो हुन्छ।'
उनले लेखनाथ पढे, देवकोटा पढे। रिमाल र भूपि पनि पढे। मोहन कोइरालाका लामा कविता पढे, र पढिरहेका छन् वैरागी काइँलालाई। तर, उनलाई लामा कवितामा उत्ति रस छैन। ‘पाँच शेरे' गजलका दुई संग्रह निकालिसकेका उनी कविताको आक्षरिक आयतन तौलेर शक्ति निर्क्योल नहुने बताउँछन्। ‘आकारले कविता सबल र झुर हुँदैन,' उनले भने, ‘त्यसको भाव–शक्तिले कविताको अस्तित्व निर्धारण गर्छ।'
सबै पाठकले सबै कवि मन नपराउन सक्छन्। ‘कविता मन पराउनु र मन नपराउनुको कारण नै छैन। यो गणित होइन, दुईमा दुई जोड्दा चार हुने,' मेडिकल साइन्सका यी विद्यार्थीले भने, ‘ठ्याक्कै यसकारण मन पर्योह भन्न पनि सकिन्न। किनकि, कवितामा अव्यक्त चिज प्रशस्त हुन्छन्, जसले अनुभूतमात्रै गराउँछ।'
...जबसम्म सासको धुन गुञ्जिरहन्छ
जिन्दगीको घेरामा घुमिरहन्छन् खेलाडीहरू
जब धुन रोकिन्छ
झटपट बस्नुपर्ने हुन्छ कुर्सीमा,
...यसपाली हजुरआमा बस्न सकिनन्।
(म्युजिकल चेअर)
आख्यानले पेलिरहेको साहित्य बजारमा कविता कृति नै किन निकाले यिनले?
‘आख्यानको बजार र पाठक बढी हुँदैमा अन्य विधा मर्योन भन्ने हुँदैन,' आफूलाई साहित्यको ‘सिकारु' भन्न रुचाउने उनी भन्छन्, ‘आख्यानको प्रभाव बढी देखिँदैमा कविता कमजोर भएको होला तर पराजित भएको छैन।'
उनी उल्टै प्रश्न तेर्स्याउँछन्, ‘तपाईं देवकोटा र भूपिका कतिवटा कविता सम्झन सक्नुहुन्छ? एउटा कविका कम्तीमा पाँच कविता पढ्न/बुझ्न सकियो भने त्यो सफल कवि हो।'
यसरी कवितामा
तनहुँमा जन्मिएका निरज २०६२ तिर नेपाल मेडिकल कलेज पढ्न थाल्दै गर्दा त्यहीँका कर्मचारी र साथीहरूको साहित्यक माहोलमा भिज्न पुगे। किनकि, उनी विजयराज भट्टराईका छोरा थिए। विजयराज ती थिए, जसले ‘वसन्तको प्रसव व्यथा' र ‘प्रस्तर स्तम्भ' कवितासंग्रह निकालिसकेका थिए।
‘बुवाले लेखेका कविता सानोमा खूब पढ्थेँ,' बुवाबाटै प्रेरित उनी सुनाउँछन्, ‘उहाँले पाँच गीत लेख्नुभएको थियो। घरमा भेटेपछि मैले तीनटा थपेँ र रेकर्ड गराएँ।'
कलेजमा वियोगी बुढाथोकी र राबतजस्ता कविको संगतले उनको लेखन खारिँदै गयो। ‘पहिले म कविता लेख्थेँ। यहाँ आएपछि गजलमा मोह बस्यो,' उनी भन्छन्, ‘अभ्यास गरेँ। हिन्दी–उर्दू गजल र स्रष्टाबारे गहन अध्ययन गरेँ।' उनको साधना र ज्ञानुवाकर पौडेलबाट लिएको गजल–ज्ञानले ०६५ मा ‘मेरो भन्नु केही छैन' र ०६७ मा ‘तलाश' गजल संग्रह निकाले।
प्रस्तुति र सूत्रात्मकतामा फरक देखिए पनि गजल र कविताको काव्यात्मकतामा खास भेद देखेनन् उनले। ‘नेपाली कविताले देशकाल, राजनीति र समाजकेन्द्रित विषयमात्र बोकिरहेे जस्तो लाग्यो,' उनले काव्यात्मक भाषा बोले, ‘देखिरहेका भन्दा भिन्न र भोगिरहेका भन्दा फरक अनुभूतिलाई पोख्न कविता उपयुक्त लाग्यो।'
विभिन्न वाद र सिद्धान्तको मोड पार गर्दै आएको नेपाली कवितामा पछिल्लो छिमलका कविले विविधतालाई अँगालेका छन्। ‘अध्ययन र साधना गर्नेहरू बढेका छन्,' निरज भन्छन्, ‘एउटै कविले फरक वाद र सिद्धान्त पचाउने सामर्थ्य राख्ला तर उसले मौलिकता गुमाउनु हुँदैन।'
पहिलो कविता संग्रह निकालिसकेका निरजका लागि चिन्ता यहीमा छ।
‘मैले दोस्रो किताबका लागि फरक विषय लेख्नुछ, तर आफ्नोपन भुल्नु हुँदैन,' मौलिकताप्रति सजक उनले भने, ‘कसैले वाह जिन्दगी लेख्छन्, कोही साला जिन्दगी लेख्छन्, कविलाई चिनाउने उनीहरूको त्यही चिन्तनले हो। त्यो बदलिनु हुँदैन।'
विभिन्न अस्पतालमा काम गर्दा शऒ्ढयामा छटपटाइरहेका बिरामी र तिनका आफन्तबीचको सम्बन्धलाई नजिकबाट खुट्याएका छन्, उनले। ‘चिकित्सा क्षेत्र संवेग र संवेदनाको खानी रहेछ,' मेडिकल सर्जनसमेत रहेका यी कविको अनुभव छ, ‘अस्पताल छिर्दै गर्दाको अवस्था र निको भएर जाँदा अनुहारमा देखिने खुसीको तरंगले द्रवीभूत बनाउँछ।' मानवीय संवेदनाका कतिपय यस्ता क्षणले उनलाई कवितात्मक पंक्तिपुञ्ज सिर्जनाका लागि प्रेरित गर्छ।
झोँकको कृति
उनी कविता लेख्थे। मेडिकल कलेज छिर्नेबित्तिकै गजलको बहरमा लहसिए। ‘गजल होइन अब कविता लेख्नूस्' केही साथीले यसो भन्दा अन्योलमा परे। ‘गजललाई पछिल्लो समय अन्य विधाको तुलनामा उपेक्षाले हेरिएको हो कि,' उनी भन्छन्, ‘यसको माहोल ठूलो भए पनि साहित्यमा ‘ठाउँ' लिन सकिरहेको छैन।'
निरजले कुनै बेला अमेरिकी एम्बेसीका कर्मचारी लेखेको कविता पढेछन्– एक ज्यापू खर्पनमा एकातिर सृष्टिको पालनकर्ता विष्णुका मूर्ति र अर्कातिर विनाशक मानिने शिवको मूर्ति बेच्न हिँडिरहेका। ‘दुवैलाई किनारामा राखेर नयाँ सिर्जनामा अघि बढिरहेको ज्यापूको विम्ब मेरा लागि कुनै दार्शनिकजस्तो लाग्यो,' उनी भन्छन्, ‘त्यही कविताले नयाँ सोचबाट सिर्जना गर्न प्रेरित गरेको हो।'
‘गजल लेखिरहेकालाई कवितामा आउनु गाह्रो हुन्छ,' कतिपय कविले उनलाई भनेछन्। निरजको मनमा च्वास्स कतै दुख्यो। ‘कविहरूबाटै यस्तो कुरा आउँदा झोँक पनि चल्यो,' पुस्तक प्रकाशनको सन्दर्भमा उनी भन्छन्, ‘त्यसैले मलाई कविता संग्रह निकाल्न हौस्याएको हो।'
त्यसो त कविता छाप्न तीन–चार प्रकाशन गृह चहार्नुपरेको नमीठो अनुभव उनीसँग छ। कतिपयले वास्तै गरेनन् भने कतिले त ‘सम्पादन गर्दा पनि सोच्नैपर्छ'सम्म भने।
अन्ततः ऋतुरंगले छापेको ‘धुवाँको धागो' दोस्रो संस्करणको तयारीमा छ।
संग्रहको भूमिका नेपाली, हिन्दीमा र अंग्रेजीमा छ। हरेक कविताको अनुवाद अंग्रेजीमा। कवि तथा गजलकार निदा फजलीलाई भेट्न निरज भारतको पुनेसम्म पुगे। ‘अनुवादको कुरा गर्दा वास्ता गर्नुभएन,' उनी सुनाउँछन्, ‘पहिले नेपालीमा सुनाउन लगाउनुभयो। अनि हिन्दीमा।' नेपाल फर्किएर अनुवादित कविताका प्रति पठाएपछि मात्रै फजली भूमिका लेख्न सहमत भएको निरज बताउँछन्।
‘अनुवादले कविताको शक्ति मरिहाल्दैन भन्ने सोचमा थिएँ,' राष्ट्रिय कविता महोत्सवमा दुईपटक सहभागिता जनाइसकेका उनी भन्छन्, ‘विदेशमा रहेका साथीले हौस्याएपछि अनुवादका लागि तयार भएको हुँ।'
निरज जुन क्षेत्रमा हात हाल्छन्, सफलता उनीबाट भाग्न सक्दैन। ‘पल्लव' एल्बमको तीन गीतका संगीतकार, गजलका सर्जक, काठमाडौं जिल्ला क्रिकेटका मुख्य खेलाडी, चिकित्सक अनि कवि।
उनले आफ्नो क्षेत्र छरिएको महसुस गरिसकेका छन्। ‘जुन क्षेत्रमा लाग्छु, अर्को क्षेत्र चटक्कै छाडिदिने बानी छ,' गत वर्ष क्लब, जिल्ला हुँदै राष्ट्रिय क्रिकेट खेल्न जोरपाटीस्थित शंकरापुर अस्पतालको जागिरै छोडेका उनले भने, ‘तर यो राम्रो होइन।'
अब उनी रुचिको फराकिलो दायराबाट आफूलाई खुम्च्याउँदैछन्, र अझ खारिएर अगाडि बढ्ने सोच बनाएका छन्। जहाँ, एउटा पाइला सेवा र अर्को साहित्यको हुनेछ।
प्रकाशित: १ चैत्र २०७० ००:५० शनिबार





