एक दिन रमेशले फोनमा म सँग आफ्नो नयाँ कविता संग्रहको बारेका कुरा गरेका थिए। त्यसका बारेका लेखिदिनु भनेका थिए। मैले भनेँ— म प्राध्यापकीय टिप्पणी लेख्दिन। न त म तिम्रा कविताका हरफहरू उधृत गर्दै सप्रसँग व्याख्या नै लेख्छु। म त अनुभूतिहरू लेख्छु , तिम्रो कवितासँगको अनुभूतिहरू। उनले भने — हुन्छ दाइ, जे लेख्न मन लाग्छ लेख्नुस्। म त तपाइँका भावनाहरू चाहन्छु। मेरो पुस्तकका बारेमा तपाइँका अनुभूतिहरू चाहन्छु।
जब उनको कविता शुरु भयो। मस्तिष्कको कोठाको एकदम एकान्त र शून्यतामा मधुर तर प्रभावशाली आवाज गुञ्जियो। मेरा आँखा एकाएक बन्द भए। कविताका हरफहरू मभित्र कतै अनन्तमा पुगे झैँ, एकपछि अर्को, अर्कोपछि अर्को कविता, कविता र कविताहरू। कैयौँ कविताका हरफहरू दोहर्यालएँ। तेहर्याँएँ। कविताका शब्दहरू, अर्थहरू, अनुभूति र बिम्बहरूले मलाई चिमोट्दै गयो। रोकेर बीचमा हामीले कोट्यायौँ शब्दका बिम्बहरू, अर्थ र अर्थहरू। कतै बाङ्गिएका अर्थहरू, कतै सरल रेखाका अर्थहरू यी अर्थहरूले म चिमोटिँदै गएँ। शायद त्यहाँ बहस थिएन। तर चर्चा थियो कविताका,े कविताको कञ्चन आत्माको, उनका हरिया नीला अनुभूतिहरूको। रात कतिखेर बाक्लिँदै गएछ, पत्तो भएन। वास्तवमा रमेशका कविताहरू तिनका गहिराइहरू र तिनका प्रभावहरूले म तानिँदै गइरहेको थिएँ। शायद म पग्लिँदै गएको थिएँ। शायद हराउँदै गएको थिएँ। क्षणप्रतिक्षण कवितामय भइरहेको थियो समय पनि। उनका कविताका प्रभाव नै त्यही थिए, जसले मलाई घन्टौँ तानिरह्यो। उनका शब्दचयन, अनुभूतिका गहिराइ र बिम्बहरू यति बिघ्न प्रभावशाली छन् कि कसैलाई पनि नछोई छोड्दैन। कविताले यसरी छुन सक्नु कविताको शक्ति हो। त्यही शक्तिले मलाई पानी पानी बनायो। यद्यपि एउटै कविताले सबैलाई समान प्रभाव दिनसक्छ — म भन्न सक्दिन। तर पनि रमेशका कवितामा त्यो क्षमताको अनुभव जो कोहीले पनि गर्न सक्दछ। नेपाली समकालीन कविता साहित्यका अन्य विधाभन्दा उर्वर छ। यो कालखण्डमा धेरै कविताहरू लेखिए। कविताको छुट्टै धार निर्माण भइसकेको छ। तैपनि यदाकदा नेपाली कविताले कैयौँ गुनासाहरू सुन्नु परेको छ। कवितामा कविको नाम छोपिदिने हो भने सबै कविता समान लाग्दछन् — यो गुनासो या आरोप पटक पटक नलागेको होइन।। यी प्रसङ्गका बारेमा मैले रमेशलाई भनेँ — मलाई उनले झट्टै भनेँ — मैले पनि अनुभव गरेको छु दाई। यो संसारमा सबैले आफूसँग भएको मस्तिष्कको तौल अनुसार काम गर्छन्। समयलाई झुक्याएर अनुहारमा आयतित कान्ति थप्छन्। अरुको पोलिसले चम्कनेहरू यहीँ हामीहरूको वरिपरि नियोजित हाँसो हाँसिरहेको तस्विर र ती तस्विरहरूलाई नलाग्ने लाजका बारेमा, ती तस्विरहरूका अहंकारका बारेमा उनको आफ्नै धारणा, अभिव्यक्ति र समकालीन कविता प्रतिको रमेशको उत्तरले म अझै प्रभावित बन्दै गएँ। कविता र कवितामय त्यो साँझ रातको गहिराइमा पसिसक्दा पनि मन अघाएको थिएन। मीठा कविता सुन्दाको आनन्दलाई शब्दमा व्यक्त गर्न सकिँदैन। रमेशको कविताले मलाई त्यो साँझ तृप्त बनाइदिएको अनुभव गरेँ।
पछि म घोरिएँ। घोरिएँ, किनभने मभित्र अनेक अनेक प्रश्नहरू उब्जिरहेका थिए। रमेशका कवितामा त्यस्तो के छ जसले मलाई तृप्त बनायो। कविता लगातार घन्टाँै पढ्दा सुन्दा पनि मलाई किन बोर लागेन। सबै कविका कवितामा त्यो शक्ति कहाँ हुन्छ र! के सबैलाई यी कविताहरूले मलाई छोए झैँ छुन्छ र! मसँग यी प्रश्नका जवाफ छैनन्। यी कविताहरूले र कविताका तत्कालीन प्रभावले म हराउनुको कुनै तार्किक उत्तर मसँग छैन। कविताको प्रभाव सापेक्षिक त हुँदै हुँदैन। मलाई छोयो भन्दैमा अरुलाई पनि छुनै पर्छ भन्ने कहाँ छ र! तर पनि यति थाहा छ मलाई रमेशका कविताहरूमा जादू छ। नयाँ निर्माणका लागि नविन बिम्बहरूको खोज र अनुष्ठान छ। कविता केवल शब्दहरू मात्र होइनन्। शब्दहरूका चयन बिम्ब र अनुभूतिका गहिराइ नै पर्याप्त छन् मन छुन। शायद एउटा कवि र पाठकबीच अनुभूति बाहेक अन्य तत्वहरूको प्रवेश नभई दिए मन कसरी छुन्छ र! मन छुनु कविताका शब्दमा जादू त हुनैपर्दछ। रमेशका कवितामा तिनै तत्वहरूले मलाई छोए र त तानिए मेरा मनहरू। म ती कविताका हरफहरू उधृत गर्दै व्याख्या गर्न सक्दिन। कविता व्याख्या गर्ने चीज पनि होइन। तात्कालीन अनुभूति शब्दमा वर्णित कहाँ हुन सक्छ र!
यति भन्न सक्छु म पछिल्लो दशकका कविता लेखनमा जति तीव्रता आएको छ, त्यति नै रमेशका तागतमा स्पष्ट परिमार्जन आएको छ। उनका यी कविताहरूमा उनका चित्रमा झैँ रंगहरूको संयमित प्रस्तुति अनुभव गरेँ मैले। लयात्मक सौन्दर्यले कवितालाई उचाइ दिएको महसुस भयो मलाई। नविन बिम्बको यात्रामा सौन्दर्य चेतनाको सन्तुलित प्रस्तुतिबाट नै उनको कविताले उचाइ पाएको छ। ती सन्तुलित, सुललित र सुसंस्कृत कविताका पंक्तिहरूले कविको सस्वर वाचन पाएपछि शायद मजस्तै सबै पग्लिन्छन्। म पग्लनुको अर्थ छ – छैन थाहा छैन, तर रमेशका कवितामा त्यो शक्ति नभैदिएको भए कविताका ती साँझहरू एकैछिनमै ओइलाउन बेर लाग्दैनथ्यो। सम्भि्कएँ, विस्तारै सम्भि्कएँ मैले– नेपाली कविताको मूल्य र मान्यताको लागि २०६२ साल जेष्ठ २७ गते सशुल्क (५०० रूपैयाँको टिकटमा) रमेशले नेपालमै पहिलो पटक एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेका थिए। त्यसपछि कविता र साँझ नाम राखेर कविताको भि.सि.डि.कृतिका रूपमा प्रकाशनमा ल्याएर कवितालाई अत्यधिक माया गरेका थिए।
निसन्देह भन्नसक्छु म, जीवनका अनेकौं अफ्ठेरा उतार चढाब बीच पनि तिन दशकको अनुष्ठान पाएको उनको शक्तिशाली कविताहरूले उनलाई विम्बकविका रूपमा उभ्याएको भने पक्कै हो। म शुभकामना दिन चाहन्छु उनको नयाँ तथा दशौँ पुस्तक कविताको उज्यालोलाई। शुभकामना दिन चाहन्छु उनको अविराम कलापूर्ण कवितात्मक जीवनलाई –अनुभूतिको किनाराबाट।
प्रकाशित: १ चैत्र २०७० ००:३५ शनिबार

