प्रहरीका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रमा महर्जनले भारतीय सहयोगीमार्फत फुटबल र क्रिकेटखेलमा बाजी खेलाउँदै आएका थिए।
उनका भारतीय सहयोगीले इ–मेल, भाइबर र मोबाइलवाट खेलअघि कायम दर पठाउँथे। उनले सो दर आफ्नो सम्पर्कमा रहेका अन्य जुवाडेलाई पठाएर सट्टेबाजीमा संलग्न गराउँदै आएका थिए।
'नियमित सम्पर्कमा रहेकासँग उधारोमै कारोबार गर्थे,' महर्जनबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, 'नयाँ जुवाडेले भने १ लाख डिपोजिट गरेपछि मात्रैसमूहमा प्रवेश पाउँथ्यो।'
अन्यत्र फुटबल तथा क्रिकेटमा बाजीगरहरू पक्राउ पर्ने गरे पनि नेपालमा यसबारे कानुन नभएकाले उनीहरू प्रहरीको कारबाहीबाट जोगिँदै आएका थिए।
पूर्वयोजना अनुसारखेलको नतिजा आफ्नो पक्षमा ल्याउन जुवाडेहरूले खेलाडीलाई आर्थिक प्रलोभनमा समेत पार्ने गरेका घटना अन्तर्राष्ट्रिय खेलकुदमा सार्वजनिक हुँदै आएका छन्।
काठमाडौं परिसरले सुन्धाराका ३४ वर्षे महर्जन पक्राउबारे जारी गरेको विज्ञप्तिमा उनी काठमाडौंमा हुने खेलमा समेत सट्टेबाजको भूमिकामा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको उल्लेख गरेको छ।
तर, प्रहरीले महर्जन कुन स्तरका जुवाडे हुन् र उनले राष्ट्रियस्तरका कुन खेललाईसट्टेबाजीको बजारमा ल्याएका छन् भन्ने विषय खुलाउन सकेको छैन।
काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले प्रारम्भिक अनुसन्धानमा महर्जनले अर्का एक सहयोगीसँग मिलेर सट्टेबाजी सञ्चालन गरिरहेको देखिएको बताए। 'बुके हुन् भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं,' खरेलले नागरिकसँग भने, 'उनको भूमिकाबारे विस्तृत अनुसन्धानपछिमात्रै बताउन सकिन्छ।'
प्रकाशित: २९ फाल्गुन २०७० २१:०२ बिहीबार





