फिनल्यान्डमा सन् १९०६ मा महिलालाई भोट हाल्ने र चुनावमा उम्मेदवारी दिने अधिकार दिइएको थियो। त्यसको एक वर्षपछि १९ महिलाको संसदमा उपस्थिति थियो। सन् २००७ मा चुनिएको संसदका २०० मध्ये ८४ सांसद महिला छन्। महिलालाई मताधिकार दिइएको सय वर्षको उत्सव मनाउन यो प्रदर्शनी गरिएको इन्टरनेसनल आइडियाकी लिना रिकिलाले बताइन्। नेपालीसँग बिहे गरेकी लिनाको मूल घर फिनल्यान्ड नै हो।
सन् १९९४ मा पहिलो महिला सभामुख पाएको फिनल्यान्डले सन् २००० मा पहिलो महिला राष्ट्रपति र सन् २००३ मा पहिलो महिला प्रधानमन्त्री पाएको थियो। सन् २००७ मा बनेको फिनल्यान्डको सरकारमा १२ महिला र आठ पुरुष मन्त्री छन्।
यी सबै तथ्यांक र विकास प्रक्रियालाई प्रदर्शनीमा ग्राफ र फोटोमार्फत् प्रष्ट पारिएको छ। प्रदर्शनीलाई अमेरिकामा पनि लैजाने योजना रहेको लिनाले अवगत गराइन्, जहाँ महिला प्रतिनिधित्व अझै पनि सन्तोषजनक छैन।
प्रकाशित: २७ फाल्गुन २०७० ०१:०३ मंगलबार





