उता रावणको वध भइसकेपछि विभीषणले पनि भाउजू सकारे। विभीषण ज्ञानी त थिए, तर राक्षस पनि थिए। राक्षस वा दानवको धर्ममा पनि भाउजूमाथि देवरको स्वाभाविक अधिकार जम्यो। मन्दोदरी महारानी विभीषणकी पत्नी भएर बसिन्। बाँदर बन्न, राक्षस बन्न अथवा देवता बन्न आधुनिक मानवहरू स्वतन्त्र छौँ। 'भ्रातृजाया' संस्कृत शब्दबाट नेपालीमा 'भाउजू' शब्द बनेको छ। यहाँ 'भ्रातृ' शब्दले दाजुलाई बुझाएको छ। 'भ्रातृजाया' अर्थात् भाउजू दाजुकी पत्नी हुन्। तिनलाई हिन्दीमा 'भाबी' भन्छन्। हिन्दीका कतिपय चलचित्रहरूमा भाउजूलाई 'भाबीमा' भनिएको सुन्न पाइन्छ। वास्तवमा भाउजू आमापछिकी आमा हुन्।
वानर वा राक्षस–परम्पराअनुसार भाउजूलाई पत्नी बनाउने कि भागवत–परम्परा–अनुसार आमा मान्ने? अब हामी लक्ष्मणको चरित्र स्मरण गरौँ।
सीताज्यूको अनुहारमा लगाइएको गहना देखाउँदै लक्ष्मणजीलाई सोधिएको थियो—“यो गहना सीताजीको हो?” लक्ष्मणले गहना चिन्न सकेनन्। यदि त्यो गहना भाउजूको पाउमा लाइने पाउजु थियो भने लक्ष्मणले नअनकनाईकन चिन्ने थिए। किनभने लक्ष्मणको नित्य ध्यान माता सीताज्यूको चरण–कमलमा थियो।
उनलाई भाउजूको अनुहारको सुन्दरतासँग पटक्कै सरोकार थिएन। सीतालाई लक्ष्मण माता नै मान्थे। उनले सांसारिक माता सुमित्रालाई दोस्रो तहकी माताका रूपमा चिनेका थिए। यदि मर्यादा पुरुषोत्तम श्रीराम र उनका आदर्शभ्राता लक्ष्मणले स्थापना गरेको आदर्शपथलाई मान्न चाहन्छौँ भने हामी आजैदेखि भाउजूका देवर होइनौँ। यो देवर शब्द हाम्रो मानव–सभ्यताभन्दा विपरीत छ। संस्कृतको 'द्विवर' अर्थात् दोस्रो दुलहा भन्ने अर्थको देवर शब्द नेपाली भाषाको होइन। देवरले भाउजूहरूबाट 'तपाईं' भन्ने सम्मान लिनु पनि उचित होइन। मेरा भाउजूहरू मलाई पुत्रवत् स्नेह गरेर 'बाबु!' भन्नुहुन्छ। म उहाँहरूको छोरै हुँ देवर होइन। किनभने मेरा पूर्वज बाँदर अथवा राक्षस होइनन्।
प्रकाशित: २६ माघ २०७० ०२:०६ आइतबार





