एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४ खेलमा हार्न पुग्यो। पहिलो ३ खेलमा पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनिसकेको थियो।
दुई वर्षअघि मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४, अघिल्लो वर्ष बर्मुडामा भएको डिभिजन ३ जित्दै नेपालले न्युजिल्याडनको यात्रा तय गरेको थियो। दुई महिनाअघि यूएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै ट्वान्टी–२० विश्वकपलाई छानिएपछि नेपाललाई पनि न्युजिल्यान्डमा दाबेदार टोली मानिएको थियो। प्रतियोगितामा सहभागी १० टोलीमा नवौँ वरीयता प्राप्त नेपालको प्रदर्शन पनि त्यही अनुरूप रह्यो।
नेपाल पहिलो पटक एकै प्रतियोगितामा लगातार चार खेलमा पराजित भयो। लक्ष्य ठूलो भए पनि पहिलो पटक माथिल्लो स्तरका प्रतियोगितामा खेल्दा पाएको पराजयलाई स्वाभाविक रूपमा पनि लिन सकिन्छ। तर, यसले नेपाली क्रिकेटको भविष्यलाई अन्धकार बनाइदिएको छ। सुपर लिगमा पनि नपुगेकाले नेपाल अब आईसीसीको डिभिजन र एसीसीको प्रिमियर लिग प्रतियोगितामै सीमित हुन सक्छ।
न्युजिल्यान्डको सिमिङ र तीव्र विकेटमा नेपाललाई खेल्न गाह्रो हुने सम्भावना पहिलैदेखि नै देखिएको थियो। पछिल्लो पटक न्युजिल्यान्डमा १२ वर्षअघि खेल्दा नेपाली यू–१९ टोलीले ब्याटिङमा प्रभाव पार्न नसके पनि बलिङको आडमा पाकिस्तान र बंगलादेशलाई हराउदै प्लेट फाइनलमा पुगेको थियो। यस पटक बलिङको धार पनि नदेखिँदा नेपाल नसोचेको नतिजा बेहोर्न बाध्य भयो।
'निर्णायक समयमा हामीले क्याचहरू छाडेर केही गल्ती गरेका छौँ, यसअघिका प्रतियोगितामा पारससहित अरू खेलाडीले इनिङ उकास्थे, तर अहिले कुनै शीर्ष खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ' हामीलाई भाग्यले पनि साथ दिएन। यो यस्तो प्रतियोगिता भयो, जुन हाम्रो लयमा रहेन। खेलाडीहरूले पहिलो पटक यति ठूलो स्तरमा खेले र उनीहरूका लागि यो राम्रो अनुभव रह्यो।'
उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको ८६ रन समूह चरणमा नेपालले चित्त बुझाउने एक्लो आधार थियो। एक दिवसीयमा यो उनको व्यक्तिगत उच्च स्कोर पनि थियो। क्यानाडासँगको खेलपछि दासानायकेले भनेका थिए, 'ज्ञानेन्द्रले निकै राम्रो ब्याटिङ गरे। हामीलाई यस्तो इनिङ्सको सुरुवाती खेलदेखि नै खाँचो थियो।' ज्ञानेन्द्रबाहेक अर्को अर्धशतक शरद भेषावकरले यूएईविरुद्ध बनाएका थिए। नेपाली राष्ट्रिय टोलीका खेलाडीले १८ वर्षको अन्तर्राष्ट्रिय करिअरमा ६ शतक बनाएका छन्। त्यसमा २८ महिनाअघि आएका दासानायकेको कालमा ३ शतक छन्। दासानायकेले यसै प्रतियोगितामा मात्र नेपाली खेलाडीले ६ शतक बनाउने दाबी गरे पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन त्यसको छेउछाउमा पनि थिएन।
ज्ञानेन्द्रले प्रदीप ऐरीसँग क्यानाडाविरुद्ध दोस्रो विकेटमा ८३, शरदले शक्ति गौचनसँग आठौँ विकेटमा ८० र वसन्तले सोमपाल कामीसँग नवौँ विकेटमा ५७ रन जोडनुमात्र प्रतियोगितामा नेपाली खेलाडीको अर्धशतकीय साझेदारी थियो। बलिङमा नेपाल झन् कमजोर साबित भयो। वसन्त रेग्मी र सोमपालले ६–६ विकेट लिएका छन्। 'डेब्यू' गरिरहेका सोमपालले दुई खेलमा ३–३ विकेट लिए भने बाँकी दुई खेलमा शून्य थिए। सागर पुनले ४, शक्तिले र जितेन्द्र मुखियाले ३ विकेट लिए पनि त्यो नेपालले बनाएको लक्ष्यभन्दा निकै कम हो। स्पिनरहरू वसन्त, शक्ति र सागरले मात्र प्रतिओभर ५ भन्दा कम रन दिएका छन्। अन्य सबै बलरको प्रदर्शन झन् खर्चिलो छ। जितेन्द्रले प्रतिओभर ३ खेलमा झन्डै ८ रन खर्चेका छन्।
प्रकाशित: ९ माघ २०७० २२:२८ बिहीबार




-600x400.jpg)
