८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

एमाओवादी नेतृत्वलाई 'बहिष्कार नगर्न' दबाब

काठमाडौं-निर्वाचनमा 'धाँधली र षड्यन्त्र भएको' भन्दै संविधानसभामा सहभागी नहुने घोषणा गरेको एकीकृत माओवादीलाई सविधानसभा बहिष्कार नगर्न पार्टी भित्रैबाट दबाब परेको छ।पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको पूर्व स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, राज्य समिति इन्चार्ज/संयोजकले संविधानसभाको प्रक्रियाबाट नभाग्न नेतृत्वलाई दबाब दिएका हुन्।

अध्यक्ष पुष्पकमल दाहालले गत बिहीबार केन्द्रीय कार्यालयको निर्णयपछि पत्रकार सम्म्मेलन गरी संविधानसभामा सहभागी नहुने घोषणा गरेका थिए। पार्टीका नेताहरूले भने उक्त निर्णय पुनरावलोकन गर्न नेतृत्वलाई दबाब दिएका छन्।

'संविधानसभाको प्रक्रियाबाट भाग्नु हुँदैन, त्यहीँ बसेर संघर्ष गर्नुपर्छ भन्ने सुझाव दिइएको छ,' मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहले शनिबार नागरिकसँग भने, 'संविधानसभाभित्रै रहेर जनपक्षीय संविधान बनाउनुपर्ने सुझाव नेतृत्वसमक्ष पुगेको छ।' उनका अनुसार बैठकमा सहभागी अधिकांशले संविधानसभामा सहभागी हुन नेतृत्वलाई सुझाव दिएका छन्।

पूर्वी ब्युरो इन्चार्ज तथा मोरङ ९ बाट पराजित वर्षमान पुनले संविधानसभामा सहभागी हुने तर एजेन्डाका आधारमा अन्य दलसँग मोर्चाबन्दी गरेर जानुपर्ने सुझाव दिए। 'हेटौंडा महाधिवेशनको लाइनबाट दायाँबायाँ हुनुहुन्न, संविधानसभामा सहभागी हुनुपर्छ,' पुनले बैठकमा भने, 'बरु त्यहीँभित्र परिवर्तनका पक्षधरसँग मोर्चाबन्दी गरेर वैधानिक तरिकाले लड्नुपर्छ, भागेर हिँड्नुहुँदैन।' मधेसकेन्द्रित राजनीतिक दल र अन्य साना दलसँग मिलेर मोर्चाबन्दी गर्न सकिने र त्यसको नेतृत्व पार्टीले लिनुपर्ने पुनको सुझाव छ।

भोजपुरा राज्य संयोजक प्रभु साहले 'धाँधली र षड्यन्त्रको गन्ध पहिल्यै पाएको' भन्दै माओवादीलाई सिध्याउने उद्देश्यसहित आफूमाथि आक्रमण गरिएको घटना उल्लेख गरे।

'चुनावमा धाँधली र षड्यन्त्रको गन्ध पहिल्यै पाएको थिएँ, माओवादीलाई सिध्याउनुपर्छ भनेर मैमाथि रौतहटमा आक्रमण भयो,' साहले बैठकमा भने, 'चुनावको तीन दिनअघि नै पार्टीले विज्ञप्ति निकालेर प्रतिरोध गर्नुपर्ने थियो । तर मतगणना सुरु भएको १८ घन्टापछि मध्यरात गणना स्थलबाट पार्टी प्रतिनिधिलाई निकाल्नु सही भएन।'

चुनाव निष्पक्ष भयो भन्ने, मतगणनामा सहभागी हुने अनि मतपरिणाममा कमजोर हुँदै गएको चेत खुलेपछि मध्यरात गणक फिर्ता गराउनुले जनतामा गलत सन्देश गएको उनको भनाइ थियो।

मिथिला इन्चार्ज साहले 'बाह्य रूपमा धाँधली र षड्यन्त्र भनेर मात्रै पार्टी उम्कन नसक्ने' भन्दै आन्तरिक संगठन पनि पराजयको मुख्य कारण रहेको औंल्याएका थिए । 'हामीले धाँधली र षड्यन्त्र भयो भनेर अरूलाई मात्र दोष दिनु हुँदैन, हाम्रो सांगठनिक संरचना र आन्तरिक कलह पनि चुनावमा पराजयका कारण हुन्, यो हामीले हृदयदेखि स्वीकार गर्नुपर्छ।'

उनले आन्तरिक किचलो र सांगठनिक समस्या हल गर्न अविलम्ब सांगठनिक अधिवेशन बोलाई चुस्त र छरितो संगठन बनाउनुपर्नेमा जोड दिए।

रुकुम २ बाट विजयी जनार्दन शर्माले केन्द्रीय कार्यालयको निर्णय गलत भएको भन्दै निर्वाचन प्रक्रियाबाट दायाँबायाँ नहुन नेतृत्वलाई सुझाव दिए। 'पराजयको पीडाले हामी अलि बढी नै आत्तियौं, कल्पनै नगरेको परिणाम आयो, तर अहिले आएर फेरि नयाँ प्रक्रियामा जाने कुराले हामीलाई झन् कमजोर बनाउँछ,' शर्माले बैठकमा भने, 'हेटौंडा महाधिवेशनको जुन म्यान्डेट हो, त्यसैमा टेकेर अघि बढ्नुपर्छ।' सडक र सदन दुवै स्थानबाट संघर्ष गरी जनपक्षीय संविधान लेखनमा सहयोग पु¥याउनुपर्ने उनले बताए।

संविधानसभामा विजयी एमाओवादी उम्मेदवारले विजय जुलुस मनाउनुपर्ने सुझाव पनि अधिकांश नेताले नेतृत्वलाई दिएका छन्। जनमतको सम्मान गर्न विजय जुलुस निकाल्नुपर्ने धारणा अधिकांशले राखेपछि दाहाल बैठक सकिएलगत्तै आफूले जितेको निर्वाचन क्षेत्र सिरहा ५ जाने निष्कर्षमा पुगेका छन्। 'केन्द्रीय समितिको बैठक सकिएलगत्तै म सिरहा जानेछु, जनमतको सम्मान गर्नेछु,' दाहालले बैठकमा प्रतिबद्धता जनाउँदै भने । विजयी घोषणा हुनेबित्तिकै सिरहामा मतदाताले दाहालबिनै विजय जुलुस निकालेका छन्। तर, सिरहामै रहेका केन्द्रीय सदस्य त्यसमा उपस्थित छैनन्।

नेवाः राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेलले रिपोर्टिङ सकिएपछि एमाओवादी संविधानसभामा जाने कि नजाने भन्ने औपचारिक निर्णय गरिने बताए। 'आजबाट पार्टी चुनावमा पराजित हुनुपरेको कारण र अवस्थाबारे रिपोर्टिङ सुरु भएको छ, नेताहरूले प्रारम्भिक चरणमा आ–आफ्नो क्षेत्रमा भएका घटना र अवस्थाबारे रिपोर्टिङ गरिराखेका छन्,' पौडेलले भने, 'त्यही आधारमा संविधानसभामा जाने/नजाने बारे अन्तिम निर्णय केन्द्रीय समितिबाट गर्दैछौं।'

उनका अनुसार चुनावी परिणामको समीक्षा र संविधानसभामा सहभागिताबारे निर्णय गर्न सोमबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ।

'मेची महाकालीजस्ता अभियानमा हामी लाग्यौं, अरूले आन्तरिक व्यवस्थापनमा ध्यान दिए,' पौडेलले भने, 'हाम्रा पनि कमजोरी भए, अरूले त्यही कमजोरीमा खेले, हामी चुक्यौं भन्ने कुरा आएको छ।' बाह्य र आन्तरिक कमजोरी केलाउन बैठक महत्वपूर्ण हुने उनको भनाइ छ।

माओवादीलाई चुनावी परिणाम स्वीकार गरी संविधासभामा सहभागी हुन राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायको पनि उत्तिकै दबाब छ। राष्ट्रपति रामवरण यादवसहित नेपाली कांग्रेस, नेकपा एमालेलगायत नागरिक समाजका प्रतिनिधिले चुनावी परिणाम स्वीकार गरी संविधानसभामा सहभागी हुन माओवादीलाई अनुरोध गरिरहेका छन्।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले षड्यन्त्र गरेर चुनावमा माओवादीलाई पराजित गराइएको बताए। 'हामीले षड्यन्त्रका लक्षण थाहा पाए पनि जनताको तागतका अगाडि उनीहरूको केही लाग्दैन भन्ने ठान्यौं, सावधानीमा पनि कमजोरी भयो,' प्रवक्ता सापकोटाले भने, 'हामी निकै उदार पनि भयौं।'

मतदान सकिएपछि निर्वाचन अधिकृतकहाँ मतपेटिका आइपुग्दासम्म सबैजसो षड्यन्त्र भएको सापकोटाको जिकिर छ।

प्रकाशित: ८ मंसिर २०७० २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App