८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

लडाइँमा झाँक्रीविरुद्ध नागको जित !

काठमाडौं– झाँक्री गोले भैरवकुण्डको नाग मार्ने बाजीमा पर्छ। मान्छेलाई अनावश्यक दुःख दिने नागलाई मार्न ऊ पत्नी म्हेन्दोमायासँग कुण्डतिर निस्किन्छ । पत्नीलाई डिलमै राखेर ऊ कुण्डभित्र पस्छ । तर, जति प्रयास गरे पनि नागसँग हारेर गोलेको मृत्यु हुन्छ।सर्वनाम थियटरमा सोमबार सुरु भएको तामाङ भाषाको नाटक 'म्हेन्दोमाया'को पूर्वाद्र्धको कथा हो यो । उत्तराद्र्धमा के हुन्छ, त्यसका लागि चाहिँ निर्देशक घिमिरे युवराज नाटक हेर्न निम्तो गर्छन् । फूलमान बलले लेखेको नाटकलाई सेलो थियटरले निर्माण गरेको हो ।

यसअघि काभ्रेका विभिन्न ठाउँमा मञ्चन भइसकेको नाटकलाई काठमाडौंका दर्शकप्रति लक्षित गर्दै सर्वनाममा ल्याइएको निर्देशक घिमिरेले बताए । तामाङ समुदायमा रहेको महिलाको स्वतन्त्रता र त्यससँग गाँसिएको मिथमा आधारित नाटक तयार पार्न १२ कलाकारले १५ दिनसम्म कार्यशालामा भाग लिएका थिए ।

नाटक हेरेपछि समालोचक अभि सुवेदीले भाषाले नाटकलाई असर नगर्ने बताए । 'तामाङ भाषाको नाटकमा काव्य, मिथक र जीवनको समिक्षा गरिएको रहेछ । तामाङ समुदायलाई बुझ्न यो नाटक हेरे पुग्छ,' उनले भने । तामाङ मिथहरु सुन्दा रमाइलो हुने उनको धारणा थियो ।

'तामाङ समुदायको पृष्ठभूमिमाथि तयार भए पनि महिलाको मुद्दालाई नाटकमा प्राथमिकता दिएको छु । मैले बाल्यकालमा सुनेका कथालाई नाटकमा ढालेको हुँ । सुनेको कुराको भरमा मात्र लेख्दा अलि समस्या भएको थियो । परम्परागत रीतिरिवाजमा महिलाको स्थानका बारेमा नाटक केन्द्रित छ,' लेखक बलले भने । उनले नाटकमार्फत् सामाजिक समस्याको पहिचान गर्ने प्रयास भएको समेत दाबी गरे ।

आगामी असोज १२ सम्म मञ्चन हुने नाटकका बारे अशेष मल्ल, अमृत योञ्जन र अजितमान तामाङ लगायतले बोलेका थिए । 'सामाजिक समस्याको मुद्दा उठाएपछि त्यसको निराकरण पनि खोज्नुपर्ने हुन्छ । तामाङ भाषाको नाटक तयार गर्दा यसको संंस्कृतिसँग पनि परचित हुने अवसर पाएँ । मेरो लागि यो उपलब्धि रहयो,' निर्देशक घिमिरेले भने ।

नाटकमा दिलमाया तामाङ, शान्ति लामा, सन्तोष तामाङ, सन्तोष गुरुङ, अविशन लामा, निमा लामा, सुनिता लामा, वीरबहादुर लामा, उदय लामा टुबा, शर्मिला योञ्जन, अञ्जना गुरुङ र रेणुका कार्की लगायतले अभिनय गरेका छन् । नाटकको कोरियोग्राफी बादल भट्टले गरेका हुन् ।

प्रकाशित: ८ आश्विन २०७० ००:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App