पुस्तकमा कांग्रेसलाई नसमेटिएकोमा नेता गगन थापाले जिज्ञासा उठाउँदा अर्का नेता तथा टिप्पणीकर्ता प्रदीप गिरिले त्यसलाई स्वाभाविक मान्नुपर्छ भन्दै व्यंग्य गरे। 'एउटा महाकाव्यमा दुइटा नायक हुँदैन, लेखकज्युको उद्देश्य कांगे्रसलाई नायक बनाउनु पनि थिएन,' उनले लेखकमात्र होइन माओवादीका दाहालप्रति व्यंग्य हाने, 'केही वर्षदेखि प्रचण्डको राजनीतिक र बौद्धिक अवसर बढेर गएको रहेछ।'
सत्ता आफ्नो हातमा आउने निश्चित भए माओवादीले सेरेमोनियल किङलाई समेत मान्न खोजेको र शान्तिपूर्ण आन्दोलनबाट फेरि शान्तिमै फर्किन माओवादीलाई २० वर्ष लागेको टिप्पणी पुस्तकमा लेखकले गरेका छन्, यसमा के छ प्रतिक्रिया भनेर सहजकर्ता थापाले प्रश्न गर्दा दाहाल आवेगमा आए, 'नेपालमा हिंसापूर्ण आन्दोलनका अगुवा कांग्रेस नै हो, राणाविरुद्ध हतियार उठाएको कांग्रेसको त्यो कदमलाई गलत कसरी भन्ने, त्यस्तै एमालेले २८ सालमा चलाएको सशस्त्र आन्दोलन पनि आवश्यकै थिएन भनेर किन भन्ने?' उनले थपे, 'नेपालमात्र होइन संसारभरका राजनीतिक परिवर्तनमा हिंसा वा बलको कुनै न कुनै भूमिका थियो।'
'प्रयोगशाला'ले तथ्य र तथ्यांकमा आधारित भएर धेरै आयामिक बहस उठाएको दाहालले बताए। 'तर यो बहसको सुरुवात हो, अन्त्य होइन' भन्दै उनले पुस्तकमा हाबी भएजस्तै जेलाई पनि 'कन्सिपिरेसी थ्योरी'को रुपमा नहेर्न आग्रह गरे। माओवादीले जे गरे, सबै 'पोलिटिकल थ्योरी'मै आधारित रहेको पनि उनको दाबी थियो।
बुद्धिजीवीलाई नयाँ सामग्री दिन सकेकोमा लेखकलाई उनले बधाई दिए। सहायक कुरालाई प्रधान वा प्रधान कुरालाई सहायक रुपमा राखेकोमा भने उनले असन्तोष व्यक्त गरे। उनको टिप्पणीमा लेखक शर्माको जवाफ थियो, 'राजनीतिका सबै प्रक्रिया वा उपलब्धि नेपाली जनताकै कारणले भएको हो, तैपनि केही सहायक कारणको पनि यसमा भूमिका थियो, बहसमा नआएका तिनै पात्र र घटनालाई समेटेको हुँ, सहायक वा प्रधान, त्यो त बुझाइमा फरक पर्छ।'
पत्रकारको रुपमा भोगेका, बुझेका र सुनेका कुरालाई नै किताबमा समावेश गरेको शर्माले खुलाए। सीमितताका कारण पत्रिकामा धेरै कुरा लेख्न नमिल्ने हुनाले आफूले किताब रोजेको शर्माको तर्क छ। 'अन्तिम सत्य यही किताब हो भनेर म भन्दिनँ, तर मैले देखेको सत्य चाहिँ यही हो,' उनले प्रष्टाए।
पुस्तकमा दिल्ली र दरबार, माओवादी र दरबार तथा दिल्ली र माओवादीबीचको सम्बन्धको राम्रो विश्लेषण गरिएको प्राध्यापक धु्रवकुमारले टिप्पणी गरे। फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको विमोचन लेखककी आमा शान्ता शर्माले गरेकी थिइन्। आइतबारदेखि नै बजारमा आउने पुस्तकलाई हरिवंश आचार्यको 'चिना हराएको मान्छे'पछिको बिक्री हुने कृतिको रुपमा आशा गरिएको फाइनप्रिन्टका निरज भारीले बताए।
प्रकाशित: ६ आश्विन २०७० २१:४१ आइतबार





-600x400.jpg)