१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले उपेक्षा, अपमान र दुर्व्यवहार खेपिरहेका छन्। उनीहरूको ज्ञान, सीप र अनुभवको कुनै कदर छैन। बाउआमालाई घरबाट निकालेर सडक र सत्तलमा पुर्‍याउने नालायक र निर्दयी सन्तानको उजुरी गर्न उनीहरू कहाँ जाउन्? यस पटक ज्येष्ठ नागरिकका पीडा र वेदना उधिन्ने प्रयत्न गरेका छन्, विनोदविक्रम केसीले। 

पशुपतिनाथ मन्दिर परिसरको सत्तलमा भेटिएकी एक साधुनी 'दिव्य ज्ञान' दिँदै थिइन्– 'छोराछोरी धेरै पाउनू। एउटा न एउटाले बुढेसकालमा पाल्छन्।' उनको नाउँमा भएको इटहरीको थातथलो बेचेर गाँठ कुम्ल्याएपछि छोरा–बुहारीले उनलाई त्यागिदिएका थिए। सन्तानका नाउँमा भएको एउटै छोराले रातोदिन दुर्व्यवहार गर्न थालेपछि, बातैपिच्छे दुर्व्याच्य बोल्न थालेपछि उनी पशुपतिनाथको शरणमा पुगेकी थिइन्, चार वर्ष पहिले। 
'हुन त दयामाया नभएका सन्तान सय जना नै भए पनि के गर्नु र?' उनले आफ्नो 'दिव्य ज्ञान'मा संशोधन गरिन् र तीन हप्ताअघिको एउटा कारुणिक घटना सुनाइन्, 'गोदावरीकी एउटी बूढीलाई दुई छोराले आर्यघाटमा छोडेर भागेछन्। नब्बे वर्षकी अन्धी आमालाई कुन मुटुले त्यसो गर्न सकेका होलान्? पुलिसले ती कपुतलाई झ्यालखानामा जाकेको छ रे।' 
काठमाडौँस्थित एक चर्चमा आश्रय लिएका ७४ वर्षीय नरहरिको कथा सुन्ने हो भने मानवीय सम्बन्ध कुन तहसम्म क्रूर हुँदै गइरहेको छ, त्यसको लेखाजोखाले आतंकित पार्न सक्छ। आँशुले टम्म भएका आँखा चिम्लिँदै थर्थराउँदो स्वरमा उनले भने, 'छोराछोरी, बुहारी, ज्वाइँ, नातिनातिना सबै छन्। मेरा सबै छन्, मेरा कोही पनि छैनन्।' दमका रोगी नरहरि परिवारका लागि घाँडो भए। 'छोरोले कुट्न थाल्यो। 'तँ बूढालाई मारेर वाग्मतीमा फाल्दिन्छु' भन्थ्यो,' उनले आफूले भोगेको दुर्व्यवहार र अपहेलनाको बयान गरे, 'मलाई छोरादेखि डर लाग्न थाल्यो। एकदिन बुहारीले सुनको सिक्री चोरेको आरोप लगाई। मलाई छोराले खाटको खुट्टामा बाँधेर भकुर्नुसम्म भकुर्योक। रातभरि बाँधेर राख्यो। भोलिपल्ट बिहान डोरी फुकाल्देर लात्ती हान्दै 'मेरो घरमा एक छिन नबस्, निक्लिहाल्' भन्दै घिसारेर आँगनमा पुर्या्यो। म ज्यान जोगाएर यहाँ चर्चमा आइपुगेँ। घरमा बसिरहेको भए त मलाई त्यसले मारिसक्थ्यो।' 
जीवनको सम्पूर्ण ऊर्जा र पुर्जा सन्ततिका लागि खर्च गरेका वृद्धवृद्धालाई जब आफ्नै 'रगत' ले बोझ ठान्न थाल्छन्, उनीहरूलाई बचेखुचेको जीवन बाँच्न मुश्किल हुन्छ। फुटपाथ, मन्दिर परिसरमा भेटिने 'घर निकाला'मा परेका बूढाबूढीमात्र अपमान, अपहेलना र दुर्व्यवहारका शिकार भएका छैनन्। थुप्रै घरमा बुढ्यौलीलाई अभिशापका रूपमा भोगिरहेका छन्, थुप्रै नेपाली। 
नेपालजस्ता अविकसित र कमजोर राज्य भएका देशमा वृद्धावस्था जीवनको निरीह र टीठलाग्दो कालखण्ड हुन्छ। नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकहरू परिवार, समाज र राज्यको उपेक्षा सहेर बाँचिरहेका छन्। 

वृद्धावस्थामा मान्छे शारीरिक र मानिसक रूपले कमजोर हुन्छ। यो शाश्वत सत्य हो। आफ्नै आँगन परदेश हुन्छ। शरीरले धोका दिन्छ। तागत हुँदैन। हातखुट्टा चल्दैनन्। जिब्रोले मिठोमसिनो खोज्छ। आँखा धमिला हुन्छन्। स–साना कुरामा चित्त दुख्छ। 
हेरचाह पाउनुपर्ने उमेरमा परिवार, समाज र राज्यका तर्फबाट उपेक्षा, बेवास्ता र अपमान पाउँदा ज्येष्ठ नागरिकहरू कष्टकर अवस्थामा बाँचिरहेका छन्। 

नेपाली परिवारको संरचना र स्वरूप बदलिँदै गएको छ। संयुक्त परिवारको प्रचलन लगभग हराइसकेको छ। अहिले एउटै घरमा तीन वा चार पुस्तासम्म बस्नसक्ने भौतिक र आर्थिक परिस्थिति छैन। परिवार विखण्डन र रूपान्तरणको प्रक्रियाबाट गुजि्ररहेको छ। आधुनिकता, शहरीकरण, व्यस्त जीवनशैली, पश्चिमी दुनियाँको प्रभाव आदिले हजुरबा पुस्ता र नाति पुस्ता एकैठाउँमा बस्नु त परको कुरा, निरन्तर संवादमा रहने अवस्था पनि छैन। 
सन्तान निर्दयी भएपछि 
राजधानीमा असहाय वृद्धवृद्धा सडक, गल्ली र चौबाटामा भेटिन्छन्। माया र स्नेह दिएर सुरक्षित तरिकाले पालिनुपर्ने उमेरका उनीहरू एक छाक खान संघर्ष गरिरहेका छन्। सोल्टीमोडस्थित 'आमा घर' की संस्थापक दिलशोभा श्रेष्ठ भन्छिन्, 'वृद्धवृद्धालाई सेवा गर्ने हात र माया गर्ने मन कमैको हुन्छ।' हाल 'आमा घर'मा ४० जना आमा र एक जना बा बस्दै आएका छन्। 
समयको तुफानी रफ्तारले वृद्धवृद्धालाई कुल्चँदै गएको छ। उनीहरू परिवारमा अटाउन नसक्ने भएका छन्, एक्लिँदै गएका छन्। उमेर घर्किएका बाबुआमा छोराछोरीका लागि बोझ भएका छन्। छोरा–बुहारीले घोक्रेठ्याक लगाएर निकालेका थुप्रै अभिभावक सडकमा भिख माग्दै गरेका छन्। 'यी देखिएका र भेटिएका वृद्धवृद्धाबाहेक हाम्रो समाजमा घरभित्रै अपहेलित भएर बसेका ज्येष्ठ नागरिकको संख्या ठूलो छ,' पशुपति वृद्धाश्रमका व्यवस्थापक रामशरण थापाले भने।
'आमा घर'की सञ्चालक दिल शोभाले 'खेतबारी तपाईंका नाउँमा पास गर्दिउँला, मेरी आमा राख्दिनुस्' भन्ने छोराछोरी थुप्रै फेला पारेको बताइन्। 'मान्छे कति निष्ठुरी भएका होलान्?' उनले भनिन्, ''आफ्नै पेट पाल्न त गाह्रो छ, बाउआमा कसरी पाल्नु?' भन्छन्। कोही चाहिँ 'दिनभरि अफिस जानुपर्छ, बाआमा हेर्ने मान्छे भएन, तपाईंले राख्दिनुपर्योर' भन्दै आउँछन्। बा–आमा घाँडो हुने 'वेभ' नै आएको छ अहिले।' 
सुन्धारा चोकमा एउटी वृद्धा भुइँमा टुक्रुक्क बसेर हात फिँजाइरहेकी हुन्छिन्। आइतवार उनको अवस्था अरू दिनको भन्दा दयनीय थियो। आकाश गडगडाएर पानी परिरहेका बेला उनी करङ भाँचिएका छातामुनि ओत लागेर बसेकी थिइन्। बटुवाहरूलाई उनको अवस्थाको कुनै पर्वाह थिएन। 'एक रुपियाँ दिन पनि मरिजान्छन् मान्छेहरू,' जलसिया खातुन नाम बताउने उनले गुनासो गरिन्, 'पैसा दिनु त परै जाओस्, कति त मलाई कुल्चेर हिँड्छन्।' नागरिकता नभएकाले उनी राज्यले दिने वृद्धभत्ताबाट वञ्चित छिन्। 
सुन्धारस्थित आकाशे पुलमा मागेर बस्छिन्, ६३ वर्षीया चम्फु लहरीया। उनले मागेर पेट पाल्न थालेको एक दशक भइसक्यो। 'दिनको बढीमा सय रुपियाँ हुन्छ,' उनले भनिन्, 'कहिलेकाहीँ १० रुपियाँ पनि जम्मा हुँदैन। चामल किन्न नसकेर भोकै सुत्नुपर्छ।' चम्फुकी एक छोरी छिन्। श्रीमान् बितेको ११ वर्ष भइसक्यो। 'लोग्ने हुँदा सुखै थियो,' उनले आफ्नो कथा हालिन्, 'उहाँ बितेपछि छोरी–ज्वाइँसँग बस्न थालेँ। तीन–चार महिना राम्रैसँग पाली छोरीले। म उसको घरको सबै काम गर्दिन्थेँ। एकदिन पानी भर्न जाँदा चिप्लेर लडेँ। हात भाँच्चियो। त्यसपछि म काम गर्न नसक्ने भएँ। ज्वाइँले मलाई हेला गर्न थाले। 'तेरी आमालाई घरबाट निकाल्' भनेर छोरीलाई गाली गरिरहन्थे। म उनको घरबाट घरबाट निस्किएँ।' 
वृद्धवृद्धालाई समाजले गर्ने व्यवहार पनि कटु छ। बसमा वृद्धवृद्धा उभिरहे पनि लक्का जवान यात्रु बडो आरामले सिटमा बसिरहेको हुन्छ। ज्येष्ठ नागरिकले पाउनुपर्ने सम्मान पाइरहेका छैनन्। 'अब मान्छेको नैतिक कर्तव्यलाई सरकारले बाध्यात्मक तरिकाले लाद्नुपर्ने अवस्था आएको छ,' समाज कल्याण वृद्धाश्रमका कर्मचारी पुरुषोत्तम पुडासैनीले भने। 
जुर्मुराउँदो व्यक्तिवाद 
ठूलाबडाका आसिक थाप्ने र आज्ञा शिरोपर गर्ने नेपाली सम्बन्ध परम्परा लगभग भत्किसकेको छ। पाका पत्रकार भैरव रिसाल (८५) नयाँ पुस्तालाई ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार र शिक्षा दिन नसकेको बताउँछन्। 'तेस्रो पुस्ता (नाति/पनाति) ले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा टुट्यो,' उनले भने, 'संस्कार नै दिन सकेका छैनौँ हामीले।' 
पाका साहित्यकार खगेन्द्र संग्रौला (६७) का अनुसार ज्येष्ठ नागरिकले भुक्तमान भोग्नुपरेको कारण हराउँदो कलेक्टिभ फिलिङ्स (सामूहिक भावना) हो। 'अहिले मानिसमा 'व्यक्तिवाद' को धारण जुर्मुराउँदो छ,' उनले भने, 'उसलाई आफूबाहेक कसैको पनि पर्वाह हुँदैन। त्यसको असर अशक्त र असहायमाथि पर्छ। हाम्रो समाजमा वृद्धवृद्धालाई गरिने दुर्व्यवहार व्यक्तिवादको परिणाम हो।' 
ज्येष्ठ नागरिकहरू अपहेलित हुनुमा अहिलेको महँगो जीवन पद्धतिलाई दोषी देख्छन्, पाका इतिहासकार प्रा. दिनेशराज पन्त (
६३)। 'हाम्रो जीवन पद्धति सारै महँगो भएको छ,' पन्तले भने, 'आफूसँगै अरूको गुजारा गर्न मानिसलाई गाह्रो भएको छ। अर्को कुरा, पाश्चात्य पद्धतिको धेरै कुरा अपनाए पनि अरूलाई दुःख नदिने, आत्मनिर्भर हुनेजस्ता कुरा हामीले अपनाउन सकेका छैनौँ।' 
पचासी वर्षको उमेरमा पनि लोभलाग्दो सक्रिय र ऊर्जासम्पन्न जिन्दगी बाँचिरहेका भैरव रिसाल ज्येष्ठ नागरिकहरूलाई बाँचुन्जेल आफ्नो सम्पत्ति सन्तानका नाममा नगर्न 'टिप्स' दिन्छन्। त्यस्तै, 'आमा घर' की दिल शोभाको सुझाव छ– 'आफूलाई छोराछोरीले दुर्व्यवहार गरेका छन् भने सबैलाई बताउँदै हिँड्नुपर्छ। सहेर बस्नु हुँदैन। लोकलाजका कारण पनि छोराछोरी हच्किन सक्छन्।' 
कानुनको कुरो 
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक मानेको छ। २०६८ को जनगणनाअनुसार ६० वर्षमाथिको ज्येष्ठ नागरिकको संख्या करिब २२ लाख छ। जनसंख्याको यत्रो ठूलो हिस्साका लागि राज्यले कानुन नबनाएको होइन। ज्येष्ठ नागरिकका हकहित र सामाजिक सुरक्षाका लागि संरक्षणका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ छ। ऐनले ज्येष्ठ नागरिकलाई हकवाला वा परिवारका सदस्यले पालनपोषण गर्नुपर्ने व्यवस्था गरेको छ। केही छुट र सुविधाको पनि व्यवस्था गरेको छ। जस्तोः ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा कम्तीमा ५० प्रतिशत भाडा छुट दिइनुपर्छ। सरकारी स्वास्थ्य संस्थाले उपचारमा सहुलियत दिनुपर्छ। ऐन हेर्दा उस्तो त्रुटिपूर्ण देखिँदैन। काइदाकै देखिन्छ। तर, कार्यान्वयन नि? त्यो भने फिसड्डी छ। 
आन्दोलनमा ज्येष्ठ नागरिक 
गएको फागुनदेखि कोटेश्वस्थित यातायात व्यवस्था विभागको गेटमा केही ज्येष्ठ नागरिकहरू धर्ना बसिरहेका छन्, आन्दोलन गरिरहेका छन्। तर, सरकारका लागि उनीहरूको आन्दोलन केबल 'बूढाखाडाका तमासा' भएको छ। राज्यलाई उनीहरूको जायज आवाज सुन्ने फुर्सद छैन। सुनोस् पनि कसरी? ज्येष्ठ नागरिकहरूले जिन्दावाद र मुर्दावादका चर्का नारा लगाएका छैनन्। टायर बालेका छैनन्। यातायात अबरुद्ध गराएका छैनन्। उनीहरू त भद्र पाराले ‘पिपलको पातसरी झर्न पाए हुन्थ्यो/ रामराम भन्दाभन्दै मर्न पाए हुन्थ्यो’ भन्ने भजन गाइरहेका हुन्छन्।
उनीहरूको धैर्यको बाँध टुट्ने तरखरमा छ। उनीहरूको आन्दोलन आक्रोशित हुँदै गएको छ। माग पूरा नगरिए उनीहरूले राज्यलाई आत्मदाहसम्म गर्ने चेतावनी दिएका छन्। 
शारीरिक, मानसिक र आर्थिक रूपमा कमजोर अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई सरकारले टेरपुच्छर लगाएको छैन। माग पूरा नभए जुनसुकै मूल्य चुकाउनु परे पनि संघर्षबाट पछि नहट्ने अड्डी कसेका वृद्धवृद्धाहरू भने एक दिन पनि नबिराई धर्नामा उपस्थित भइरहेका छन्। 
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले व्यवस्था गरेको सार्वजनिक सवारी साधनमा कम्तीमा ५० प्रतिशतसम्मको छुट लागु हुनुपर्ने उनीहरूको मूल माग हो। तर, सरोकारवालाले सर्वाेच्च अदालतको आदेशलाई समेत बेवास्ता गरिरहेको छ। सरकारी अस्पतालमा निःशुल्क उपचारको सुविधा पाउनुपर्ने, दैनिक उपभोग्य सामानमा सहुलियत पाउनुपर्ने, वृद्धभत्ताको रकम पाँच सयबाट बढाएर तीन हजार रुपैयाँ पुर्यापउनुपर्ने लगायत माग छन्, उनीहरूका। आन्दोलनरत ज्येष्ठ नागरिक संघर्ष समितिका संयोजक महाप्रसाद पराजुली भन्छन्, 'हामीलाई राज्यले जनावरलाई भन्दा पनि तल्लो व्यवहार गरिरहेको छ।' 

उनीहरूको आन्दोलनमा माधवकुमार नेपाल, अमिक शेरचनजस्ता नेताहरूले समर्थन जनाएका छन्। तर, ओठे समर्थन र निस्तो सहानुभूतिले के हुन्छ? राजनीतिक दलहरूले यो २२ लाख जनसंख्याको महŒवपूर्ण 'भोट बैंक' लाई किन साथ नदिएका हुन्। चुनावमा इमानदारीपूर्वक भोट हाल्ने उमेर समूह भनेको यही हो किनभने भोट उनीहरूले प्रयोग गर्न पाउने एक मात्र उपलब्ध शक्ति या सत्ता हो। 
निजी क्षेत्रका यातायात व्यवसायी बूढापाकालाई ५० प्रतिशत छुट दिन तयार छैन। यातायात व्यवस्था विभागका अधिकृत वैकुण्ठ सापकोटाले भने, 'निजी यातायात व्यवसायीलाई माग पूरा गराउन दबाब दिएका हौँ तर उनीहरू ६० वर्षका वृद्धवृद्धालाई छुट दिन नसकिने ढिपीमा छन्।’ 
विरक्तलाग्दो वृद्धाश्रम
नेपाल सरकारले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रममा २ सय ३० वृद्धवृद्धा ओत लागेका छन्। सरकारी वृद्धाश्रम भएकाले यहाँको सेवा र सुविधा पनि 'सरकारी पारा'कै देखिन्छ। पिउने पानी र सरसफाइको राम्रो प्रबन्ध छैन। कोठा साँघुरा छन्, 'हाइजेनिक' छैनन्। 
यहाँ आफन्त नभएका, घरबारविहीन र सम्पत्ति भएर पनि परिस्थिति र परिबन्दले असहाय भएका वृद्धवृद्धा बस्ने गरेका छन्। 'अनुत्पादक काम भएकाले होला, राज्यले वृद्धवृद्धालाई खासै ध्यान दिएको छैन,' वृद्धाश्रमका व्यवस्थापक रामशरण थापाले भने, 'आश्रमका लागि सवा करोड छुट्याइन्छ। कर्मचारी १६ जना छन्। ३०–३५ लाख रुपैयाँ कर्मचारी खर्चमै सकिन्छ। बाँकी पैसाले यत्रा ज्येष्ठ नागरिकको सेवासुसार गर्नुपर्छ।'
थापाका अनुसार नेपालमा करिब दुई दर्जन वृद्धाश्रम छन्। तिनमा करिब सात सय वृद्धवृद्धा बस्छन्। केही दिवा सेवा केन्द्र पनि सञ्चालित छन्। 
०००
आफूलाई मारेर वाग्मतीमा फाल्दिने धम्की दिने छोरालाई घरबाट निक्लिने बेलामा नरहरिले गजबको आशिष दिएछन्। उनले छोराको हात समातेर भनेका थिए रे, 'बाबु, तँ कहिल्यै बूढो नभएस्।' 
(सजना बराल र अम्मर जिसीको सहयोगमा) 

प्रकाशित: ८ श्रावण २०७० ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App