११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

डिफेन्स आर्मी प्रमुख मैनालीलाई काठमाडौँ ल्याइयो

अजित तिवारी/विराटनगर, नवीन खतिवडा/काठमाडौं, भदौ २२-हिन्दू अधिराज्यको माग गर्दै विभिन्न स्थानमा हिंसात्मक कार्यमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीलाई प्रहरीले आइतबार काठमाडौँ ल्याएको छ।

चार जनाको ज्यान जाने गरी ललितपुरको एजम्सन चर्चमा भएको बम बिष्फोटको जिम्मा पनि यही समूहले लिएको थियो।

प्रहरी स्रोतका अनुसार काठमाडौंका एकजना प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा आठजना प्रहरी सम्मिलित स्पेसल टास्क फोर्सले मैनालीलाई पक्राउ गरेको हो। ‘दक्ष पुलिस टोलीले अप्रेसन सफल पारेको छ,' प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीले भने। प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले मैनालीले शृंखलावद्ध रूपमा हिंसात्मक गतिविधि गरेकाले उनी सिंगो प्रहरी संयन्त्रको चासोको विषय बनेको बताए।

अर्का वरिष्ठ प्रहरी अधिकृतका अनुसार मैनालीको संगठनमा को को संलग्न छन् भन्ने अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले विशेष टोली बनाएको छ। 'उसले पचासौं अपराध गरेको छ,' ती अधिकारीले भने, 'क-कसले सहयोग गरेको छ, सबै अनुसन्धान हुन्छ।' मैनालीको साथबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने १४ राउन्ड गोली, १ थान रिभल्बर र त्यसमा प्रयोग हुने ५ थान गोलीका साथै नेपाली र भारतीय मोबाइलका दर्जनभन्दा बढी सिमकार्ड, पर्चा र धम्कीपत्र बरामद गरेको छ।

शनिबार झापा शरणामती गाविसको मागीडुब्बामा पक्राउ परेका मैनालीलाई मोरङ प्रहरीले आइतबार विराटनगरमा सार्वजनिक गर्‍यो। प्रहरीले प्रश्न नगर्ने सर्तमा मैनालीलाई पत्रकारमाझ प्रस्तुत गरेको थियो। मैनाली पक्राउ परेकै दिन प्रहरीले डिफेन्स आर्मीका मोरङ कमाण्डर पुलिस विश्वास भनिने त्रिभुवन यादवलाई पनि पक्राउ गरेको छ। मोरङ गोविन्दपुरका स्थायी बासिन्दा मैनाली सशस्त्र भूमिगत संगठन खोल्नुअघि नेकपा एमालेका गाउँ स्तरका कार्यकर्ता थिए।

मैनालीले काठमाडौंमा सयभन्दा बढी र मोरङमा ३ सयभन्दा बढीलाई धम्कीपत्र बाँडेको प्रहरीको दाबी छ। प्रहरीलाई छक्याउन मैनालीले बेलाबेलामा पहिरिने गेरुबस्त्र पनि प्रहरीले बरामद गरेको छ।

संगठनमा मैनाली, गोपाल मैनाली, परिवर्तन गिरी, भाइकाजी श्रेष्ठलगायतका नाम फेर्दै आएका उनलाई प्रहरीले ललितपुरको एजम्सन चर्चमा बिष्फोट गराएपछि तीव्र रूपमा खोजेको थियो। एक प्रहरी अधिकृतका अनुसार मैनाली ललितपुर विष्फोटपछि अधिकांश समय भारतीय भूमिमा लुकेर बस्दै आएकाले उनलाई पक्रन प्रहरी असफल थियो।

विराटनगरको सरोचियामा रहेको छोटी जामे मस्जिदमा २०६४ चैत १६ गते डिफेन्स आर्मीले बम बिष्फोट गराउँदा तीन मुस्लिमको ज्यान गएको थियो। बम बिष्फोटको घटनापछि मैनाली पक्राउको मुख्य माग राख्दै मोरङका मुस्लिम समुदायले लामो समयसम्म आन्दोलन गरेका थिए। धार्मिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले हत्याहिंसा र विष्फोटका घटना गराउँदै आएका मैनालीलाई इन्टरपोलको सूचीमा पनि राखिएको छ।
मोरङ प्रहरीले उनीमाथि कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, बिष्फोट, आपराधिक धम्की र असुली, हातहतियार खरखजानाको मुद्दामा अनुसन्धान गरी कार्बाही चलाउने एसपी सुबेदीले बताए। १८ महिनाअघि महानगरीय प्रहरी अपराध अनुसन्धान विभागले मैनालीलाई पक्राउ गरेर दुईवटा मुद्दामा कारबाही गरे पनि उनी अदालतबाट रहस्यमय तरिकाले रिहा भएका थिए।

२०६४ भदौ ९ गते हतियार र विष्फोटक पदार्थसहित राजधानीबाट पक्राउ परेका मैनालीविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थसम्बन्धी दुई मुद्दा दर्ता गरेको थियो। हातहतियार तथा खरखजानाको मुद्दामा काठमाडौं जिल्ला प्रशासनले तीनमहिने थुनापछि २५ हजार धरौटीमा रिहा गरेकोमा काठमाडौं अदालतले १५ हजार धरौटीमा मैनालीलाई रिहाको आदेश दिएको थियो।

अर्को मुद्दा चलिरहँदा पर्सामा उनीविरुद्ध विष्फोटसम्बन्धी अनुसन्धानका लागि वीरगन्ज लगिएकोमा उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले २०६४ मंसिर १५ गते रिहाको आदेश दिएको थियो।

सामान्य धरौटीमा छुटेपछि मैनाली र उनको नेतृत्वमा रहेको नेपाल डिफेन्स आर्मीले हिंसाका घटनामा वृद्धि गरेको थियो। पछिल्लोपटक मैनालीको डिफेन्स आर्मीले साउन २७ गते नेपाली काँग्रेसको सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बम विष्फोट गराएको थियो भने सोही दिन एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा समेत अर्को बम राखेको थियो।

यसबाहेक उनलाई माओवादीको बुद्धनगरस्थित तत्कालीन कार्यालय, मोरङ्गका कांग्रेस नेता अशोक कोइरालाको निवासमा विष्फोट गराएको, नेकपा एमालेको पर्सा जिल्ला कार्यालयमा बम विष्फोट गराएको अभियोगमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

२०६३ असार ४ गते व्यवस्थापिका संसदले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेलगत्तै मैनालीले नेपाल डिफेन्स आर्मी गठन गरी हिंसात्मक गतिविधि अघि बढाएका थिए। उनले हिंसात्मक गतिवधिका लागि भारतीय हिन्दू अतिवादीसँग समेत सम्पर्क बढाएको हुनसक्ने प्रहरीको आशंका छ।

 


रणवीर सेना प्रमुख पक्राउ, आज सार्वजनिक गरिने
मोरङ प्रहरीले अर्को सशस्त्र भूमिगत संगठन रणवीर सेनाका प्रमुख बिनोद पाण्डे र उनका भाइ सुमन पाण्डेलाई पनि पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा मोरङ प्रहरीले आइतबार साँझ विराटनगरबाट पाण्डेलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पाण्डेलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएकाले उनी पक्राउ परेको सूचना गोप्य राखिएको छ। दुवै दाजुभाइलाई विराटनगरका फरक-फरक स्थानमा पक्राउ गरिएको हो।
यसअघि गत शुक्रबार प्रहरीले किराँत वर्कर्स पार्टीका विदेश विभाग प्रमुख शिवराज फागोलाई पक्राउ गरेको छ। उपराष्ट्रपति परमानन्द झाको निवास अगाडि विष्फोट गराएको आशंका र पत्रकार सम्मेलनमा हतियार प्रदर्शन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले फागोलाई पक्राउ गरी काठमाडौं प्रहरीलाई बुझाएको हो।

प्रकाशित: २१ भाद्र २०६६ २१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App