
हिपहप म्युजिक त हरायो नि?
हराएको छैन। इट इज स्टिल हेयर।
हो र? रेडियो-टिभीमा त सुनिँदैन त।
अहिले पनि बज्छन् हिपहप गीत तर कम कम बज्छन्। त्यसो भन्दैमा हिपहप म्युजिक हरायो नै त भन्न मिल्दैन। अहिलेका युवायुवतीको मोबाइल, आई-फोन हेर्यो भने हिपहप गीतको भण्डारै भेटिन्छ। बे्रक डान्स सिक्नेको संख्या पनि बढेकै छ। कर्न्सटमा जाँदा केश फुलेका बाआमासमेत हिपहप गीतमा नाचिरहेका देखिन्छन्। कसरी हिपहप हरायो भन्नु?
एक समय नेपाली संगीत क्षेत्रमा हिपहप म्युजिकले राम्रै कब्जा जमाएको थियो। तर, अहिले त्यो चुरीफुरी छैन।
हो, त्यस्तो दिन पनि आ'को थियो। यहाँसम्म कि कतिपयलाई त ‘यो गीत यसै राम्रो छ, यसमा र्याप मिसाउनुहुँदैन' भनेर म आफैँले सम्झाई-बुझाई गर्नुपरेको थियो। लोकदेखि रक गीतमा समेत र्याप मिसाउने लहर चलेको थियो। किनभने त्यतिबेला यो नयाँ टेस्टको थियो। त्यसको क्रेज थियो। तर, पछि गएर हिपहपमात्रै होइन, सम्पूर्ण नेपाली संगीतलाई नै विदेशी संगीतले प्रभाव पार्यो।
विदेशी संगीत भन्नाले कुन देशको संगीतलाई भन्न खोज्नुभएको?
कसैले फेसबुकमा ‘म आज भिसा गर्ल हेर्न जाँदै छु' भनेर स्ट्याटस लेखेको देख्नु भ'को छ? तर, ‘दबङ' रिलिज हुन नपाउँदै टिकट बुक गरेँ भनेर वालमा पोस्ट गरिन्छ। तिहारमा झ्याली-झ्याम्टा, मादल बजाएर भैलिनीमा नाच्नुको सट्टा ‘मुन्नी बदनाम हुई' घन्काइन्छ। जताततै हिन्दी गीत हाबी छ। मैले हिन्दी गीतको विरोध गरेको होइन। तर, नेपालमा केही कुराको पनि सिस्टम बसेको छैन। मनपरी चलेको छ। त्यही मनपरीतन्त्रले संगीतको क्षेत्रमा पनि असर पारेको हो।
त्यसो भए नेपालमा हिन्दी फिल्म ब्यान्ड गर्नुपर्छ भनेको हो?
होइन। हलमा फिल्म चलाउन ब्यान्ड गरेर के हुन्छ? हेर्नेले जसरी पनि हेर्छन्, हेर्नु पनि पर्छ। तर, आफ्नोलाई मारेर अर्कालाई बचाउनु मूर्खता हो। यसबारे सरकारले उचित नीति-नियम बनाएर लागु गर्नुपर्छ। मिडियाले पनि के प्रसारण गर्ने, कुनलाई कति समय दिने भन्नेबारे लिमिटेसनको नियम बनाए राम्रो हुन्छ।
हिपहप गायक, त्यसमाथि पनि र्यापरलाई त गायक नै होइन भन्छन् नि कतिपयले?
नबुझेर त्यसो भनेका हुन्। हिपहप गायक भन्ने बित्तिकै हाहाहुहु गर्ने, नाच्ने उफ्रिने- भन्ठान्छन् कतिपयले। तर, त्यसो होइन। हिपहप संगीत एउटा विधा हो। यो संस्कृति पनि हो। अरूले देख्दा फर्र बोलेको जस्तो लागे पनि र्याप हान्न सजिलो छैन। यसमा पनि स्केल, बिट, टाइमिङ सबैथोक हुन्छन्। अभिव्यक्तिको मामिलामा त अरू विधाभन्दा हिपहप धेरै नै फ्लेक्जिबल हुन्छ। हिपहप गीतमा समाजको यथार्थ प्रस्तुत गरिएको हुन्छ। यी कुरा नबुझ्नेले र्यापरलाई गायक नठान्नु अनौठो होइन।
तपाईंको लवाइ देखेर आश्चर्यचकित हुने मान्छे भेट्नुभएको छ कहिल्यै?
धेरैले कमेन्ट गर्छन्। कत्रो ठूलो सर्ट, प्यान्ट लगा'को? जहिल्यै एउटै क्याप लगाउने भनेर जिस्काउँछन् पनि कसैले त। कालो चश्मा किन नछोडेको, सधैँ रुमाल किन बाँधेको भन्छन्।
हिपहप संगीतको आलोचना गर्दा कस्तो लाग्छ?
आलोचनालाई पनि पोजिटिभ्ली लिन्छु म।
तपाइं गायक कि सञ्चारकर्मी?
दुइटै।
गायक हुनुभन्दा अघि एफएममा कार्यक्रम चलाउनुहुन्थ्यो, हैन?
हो। सन् १९९८ देखि मैले इमेज एफएममा ‘ब्रिङ द हाउस डाउन' भन्ने प्रोग्राम चलाउन थालेको हुँ। त्यसमा हिपहप गीतहरू बज्छन्। ‘लङ्गेस्ट प्रोग्राम' अन्तर्गत गिनिज बुकमै हाल्ने बेला भइसक्यो अब त। हाहाहा...।
काम गर्न चाहिँ कति वर्षको उमेरदेखि थाल्नुभयो?
स्कुलमा छँदा गर्मी बिदाको बेला हामीलाई घाँस उखेल्ने काम दिएको थियो, स्कुलले नै। म कक्षा आठमा पढ्थेँ त्यतिबेला। त्यो नै मेरो पहिलो जागिर थियो भनौँ न। पारिश्रमिक स्वरूप दुई सय डलर पाएको थिएँ। त्यसले एक जोर जुत्ता किनेँ।
र्याप हान्न चाहिँ कहिलेदेखि थाल्नुभयो?
अमेरिकामा हुँदा हिपहप गीत खुब सुन्थेँ। स्कुलका प्रोग्राममा गाउँथेँ पनि। त्यतिबेला एमसी ह्यामर भन्ने र्यापर एकदम चर्चित थिए। मलाई साथीहरूले ‘नेपाली ह्यामर' समेत भन्थे। पछि हामी नेपाल आयौँ। त्यतिबेला नेपालमा हिपहप संगीत आइसकेकै थिएन। मलाई भने खालि हिपहप गीत सुन्न मन लाग्ने! आफूले पनि सुन्न पाउने, अरूलाई पनि सुनाउन पाइने भएकाले रेडियोमा प्रोग्राम चलाउन थालेँ। त्यतिबेला नेपाल द्वन्द्वग्रस्त थियो। जनतालाई शान्तिको सन्देश दिन भनी मैले ‘ब्रिङ द हाउस डाउन' भन्ने गीत निकालेँ। त्यसपछि, गा'को गायै भएँ।
तपाईहरूको ‘र्यापर्स युनियन' भन्ने ब्यान्ड कता गयो?
छ अहिले पनि। सन् २००० मा फर्म भएको थियो। शुरुमा चार जना थियौँ। बिस्तारै सबै जना बाहिरिए। पछि स्यामी (सम्राट) र ममात्र बाँकी रह्यौँ। स्यामीले पनि सोलो एल्बम निकाल्ने भएपछि मैले पनि एकल एल्बम नै निकालेँ। तर, हाम्रो युनियन छँदै छ।
स्यामी र तपाईंको कोल्ड वार परेको रे हो?
काँ...कोल्ड वार पर्नु? ऊ मभन्दा जुनियर हो। उसको एल्बमै मैले लन्च गर्देको थिएँ।
‘मिसन हिपहप' कालमा के कस्ता चुनौती भोग्नुपर्यो?
हाम्रो लुगादेखि गीतलाई समेत खिस्याउने गर्थे मान्छेहरूले। मिडियाले हिपहप गीत बजाउनै मान्दैन थियो। वैशाखमा दिएको गीत चैतको अन्तिम साता (त्यो पनि बढीमा एकपल्ट) प्रसारण हुन्थ्यो। फेरि, त्यसबेला हाम्रा गीत अंग्रेजी भाषामा थिए। ‘नेपाली भएर अंग्रेजी गाउने' भन्ने अड्को थाप्थे मिडियावालहरू।
अहिलेका स्रोताले चाहिँ हिपहपलाई बुझिसकेजस्तो लाग्छ?
सबैले होइन, धेरैले बुझ्छन्। तर, बुझेर पनि नबुझे जस्तो गर्छन् प्रायःले।
पाँच वर्ष भइसक्यो। तपाईको एउटै एल्बम बजारमा आएको छैन।
सन् २००७ मा ‘मेचीदेखि महाकाली' भन्ने एल्बम निकालेको थिएँ। तर, त्यो एल्बम सार्वजनिक गरिनँ। अहिले ‘एक नेपालीः एनएसके स्टाइल' नामक एल्बमको तयारिमा छु। मेचीदेखि महाकालीका गीत पनि यसैमा राखेको छु। भिडियो, फोटो, अडियो एवं मेराबारे जानकारी पनि समेटिएको ‘इन्टरयाक्टिभ एल्बम' हुनेछ त्यो। फेब्रुअरीमा रिलिज गर्छु।
सुन्दरी प्रतियोगितामा थुप्रै पटक जज बनिसक्नुभयो, है?
गनिसाध्य छैन। हाहाहा...।
राम्रा-राम्रा सुन्दरीलाई अगाडि देख्दा टोलाउनु त हुन्न नि?
सुन्दरी मात्र होइन ‘सुन्दर प्रतियोगिता'मा पनि जज बन्छु म। त्यहाँ गएर सहभागीको रूपरङभन्दा पनि उनीहरूको विचार, समस्याबारे बुझ्न खोज्छु। उनीहरूको कुराकानीले मलाई समाजसँग अपटुडेट गराइरहन्छ। त्यसले मलाई गीत लेख्न पनि सहयोग गर्छ।
सुन्दरी प्रतियोगिताको विरोध पनि हुने गरेको छ नेपालमा। यसबारे तपाईंको धारण के छ?
यो प्रश्न मैले पनि धेरै कन्टेस्टेन्टलाई सोधेको छु। उनीहरूका अनुसार यस्तो प्रतियोगिताले विजेताको मात्र होइन, सहभागीको समेत मनोबल बढाउँछ रे। यस्तो प्रतियोगितामा भाग लिएका कतिपयको त जीवनै परिवर्तन पनि भएको छ रे । के भन्न खोजेको हुँ भने कसैका लागि यो प्ल्याटफर्म हुन्छ भने यसको विरोध गर्नुपर्दैन।
तपाईं पनि कुनै बेला ‘मिस्टर कलेज' बन्नुभएको थियो, हैन?
‘मिस्टर कलेज' होइन ‘मिस्टर क्याम्पेन' बनेको थिएँ म। क्याम्पेन कलेजको फस्ट ब्याच थियौँ हामी। म कलेजको विद्यार्थी युनियनको प्रेसिडेन्ट पनि थिएँ। त्यही बेला मिस्टर क्याम्पेन हुने भयो। मैले पनि भाग लिएँ र जितेँ।
बिहे गरेको कति भयो?
पाँच वर्ष।
प्रेम विवाह गर्नु भ'को हैन? कति समय अफेयर चल्यो?
हो। नौ वर्ष।
निकै वर्ष पो प्रेम गर्नुभएछ। अहिलेका जोडी त जुट्नेबित्तिकै फुट्न खोज्छन्। तपाईंहरूले नौ-नौ वर्ष कसरी टिकाउनुभयो प्रेमलाई?
समझदारीले। यसमै त अडेको छ संसार।
तपाईं भनेपछि त केटीहरू मरिहत्ते गर्छन् रे नि।
मरिहत्ते होइन, सहयोग चाहिँ निकै गर्छन् मेरा फ्यानले।
कस्तो सहयोग होला?
मैले गर्ने ‘एडुकेसनल टुर'मा कापी, कलम संकलन गर्दिनुहुन्छ।
चुइँगम चपाउनु भएनछ नि आज?
अँ...। आजकल कम गरेको छु। नत्र त बिहानदेखि रातीसम्म मुख खाली हुन्थेन। जति बेला पनि चुइँगम।
तपाईंलाई सिक्का, टिकट, बास्केटबल कार्ड आदि भेला पार्नुहुन्छ रे। भेला पारेका चिजलाई के गर्नुहुन्छ?
केही गर्दिनँ। जम्मा पारेर राख्छु। कहिलेकाहीँ तिनलाई नियालेर हेर्छु, बेग्लै खालको आनन्द महसुस हुन्छ। यसो गर्नु मेरो सोख हो।
तपाईं आफैँ पनि सञ्चारकर्मी हुनुहुन्छ। अन्तवार्ता दिन रमाइलो कि लिन?
दुवै रमाइलो। प्लस अप्ठ्यारो पनि।
बिहान कति बजे उठ्नुहुन्छ? दिनचर्या सुनम् न।
सात बजे उठेर एक्सरसाइज गर्छु। बे्रकफास्ट खान्छु अनि काममा निस्कन्छु। दिनभरि कता-कता पुगिन्छ। राती १० बजेमात्रै घर पुग्छु। खाना खाएर टिभी हेर्छु। पेन्डिङ काम के-के छन्, चेक गर्छु। आधा घण्टा जति फेसबुकमा अल्भि्कन्छु। समाचार हेर्दावर्दा १२, १ बज्छ। अनि सुत्छु।
प्रकाशित: १९ पुस २०६९ ०३:४३ बिहीबार





