२० श्रावण २०७७ मंगलबार
अन्य

भय

बालकथा

सुरेन उप्रेती

शिवमले उसकी दिदी अदितीलाई सोध्यो । दिदी हाम्रा बुबाआमालाई निको त हुन्छ नि हैन । उ केही दिनदेखि चिन्तित देखिन्थ्यो । अरू बेला एकक्षण पनि चकचक नगरी बस्न नसक्ने शिबम । आजभोलि होस हराएकोझैं भएको छ । मणि हराएको सर्प जस्तै भएको छ । त्यसै औषधीले लठ्याएको मान्छेजस्तो । भाइका कुराले अदितीलाई पनि छाती भरिएर आयो । रुँरुँ भएर आँखामा आँसु टिलपिलाए । तर अदिती दिदी थिई । उ रोई भने भाइ झन् पिरले छट्पटाउने छ । आँखाको आँसुलाई भाइले नदेख्ने गरी सटको बाहुलाले पुछी । उसले भनी, ‘ अहँ ममीबाबालाई केही पनि हुँदैन शिवम । उहाँहरु दुवै स्वास्थ क्षेत्रमा काम गर्ने हो । उहाँहरुलाई कसरी रोग लाग्न नदिने र रोग लागिहाले कसरी बच्ने भन्ने थाहा छ नि । ’ 

यसो भन्दा अदिती पनि डराइरहेकी थिई । उसको वोली पनि अरू बेला जस्तो स्पष्ट थिएन । अदिती पनि भर्खर बाह्र पुगेर तेह्र वर्ष त लागेकी हो । भाइभन्दा छ वर्षले ठूली तर अभिभावक ऊ भएकी छ ।  

हुन त हजुरआमा पनि हुनुहुन्छ । तर हजुरआमा र भाइका कुरा मिल्दैनन् । हजुरआमाले भनेको कुरा भाइ बुझ्दैन । भाइले भनेको कुरा हजुरआमा बुझ्नुहुन्न । हजुरआमाले भनेको सबै कुरा त अदिती पनि बुझ्दिन । तर भाइभन्दा धेरै नेपाली बुझ्छे । हजुरआमा र अदिती भएर दाल गेडागुडीको रस बनाएर आमाबुबालाई कोठामै लगिदिनुपर्छ । उहाँहरु दुवैलाई कोरोना भाइरसको कोभीड १९ पोजेटिभ भएको अरे । उहाँहरुको छुट्टै कोठा छ । खाना खाने प्लेट कपहरु सबै छुट्टै छन् । हजुरआमा र दिदीले खाना  लगेर उहाँहरुको थालमा खन्याइदिनुहुन्छ । त्यसबेला शिवम पनि उसका बुबाआमालाई चिहाएर हेर्छ । अनि आँखाभरि आँसु बनाउँदै हाय भनेर हात हल्लाउँछ । आमा भित्रबाट हेर्नुहुन्छ । छोरो ज्ञानी भएर दिदीसँग खेल्नु अनि पढ्नु है भन्नुहुन्छ । उ केके भन्न खोज्छ । अनि फेरि सक्दैन । उसले तपाईहरुलाई कहिले निको हुन्छ भनेर मात्र सोध्यो ।  

बुबाको घाँटी खसखस गर्ने । सुक्खा खोकी लाग्ने । घाँटीमा केही अड्किए जस्तो हुने । ज्वरो अधिक आउने र जीउ दुख्ने भयो । ज्वरो घटाउने औषधिले पनि केही समयसम्म मात्र काम गर्यो । पव्लिक हेल्थलाई फोन गर्दा एम्वुलेन्स बोलाएर अस्पताल जाने सल्लाह दिए । रातको दुई बजेको थियो बुबालाई अलि सास फेर्न गाह्रो भयो । एम्बुलेन्स बोलाएर बुबा अस्पताल जानुभयो । राति  भएकोले शिवमले थाहा पाएन । अदितीले बाबा माथिल्लो तलाबाट बिस्तारै भुईंतलामा आएर बाहिर गएको हेरिरही । बुबालाई  एम्बुलेन्सले अस्पताल लगेपछि आँखाभरि आँसु बनाएर अदितीले नै ढोका लगाई । 

बिहान नौ बजेतिर मात्र बुबा अस्पतालबाट फर्किनुभयो । एम्वुलेन्समा बुबा आएको शिवमले देख्यो । उ दौडिएर बुबासँग झुण्डिन गयो  तर अदितीले भाइलाई च्याप्प समातेर बाबासँग पुग्न दिइन । भाइलाई सम्झाउँदै भनी, ‘शिवम सोसियल डिस्टेन्स दुई मिटर भनेको हैन । तिमीले झण्डै बुबालाई छोयौ  नि  । नबिर्स है ।’

 दिदीले सचेत गराएपछि गल्ती महसुस गर्दै हो त । सरीसरी भनेर दिदीलाई अँगालो मार्यो ।  

खै त ममी दिदी भनेर अदितीलाई सोध्यो । ममी त कोठामा नै हुनुहुन्छ नि । बुबालाई चैं चेक गर्न अस्पताल लगेको थियो । बुबा कोठाभित्र पसेपछि शिवम बिस्तारै ढोका बाहिर गयो । ममी तपाईलाई कस्तो छ भनेर सोध्यो । भित्रबाट आमाले मलाई ठिक छ प्यारो । गुड व्वाई भएर बस भन्नुभयो । त्यसपछि बैठकमा आयो । अस्तिसम्म खानेकुराहरु मागीमागी खान्थ्यो । तर अहिले खाउ भनेर ढिप्पी गर्दा पनि खान छोडेको छ । शिवम त्यसै इनर्जी नभएको कपडाको पुतलीजस्तै लल्याकलुलुक भएको छ । भर्याङमा तलमाथि गर्दा पनि बिस्तारै हिंड्न थालेको छ । भर्याङको रेलिङ समाएर तलमाथि गर्छ । हजुरआमाले सँधै उसलाई मनपर्ने खानाहरु पकाएर खाउ भनेर ढिप्पी गर्नुपर्छ । आज बुबाआमा बिरामी भएको डेढ हप्ता भयो होला शिवम दुब्लो भैसकेको छ । शिवम पो बिरामी भएकोजस्तो भएको छ । राति निन्द्रामा पनि आत्तिँदै नोनो भन्दै उठ्छ । उसलाई समाएर सुताउनुपर्छ । हजुरआमाले समाएर  सुताउनुहुन्छ।

कोरोना लागेको दुई हप्तापछि बुबाआमालाई कोरोनाको असर देखिन छोड्यो । नाक र घाँटीको स्वाब जँचाउँदा पोजेटिभ देखिन पनि सक्छ । चिन्ता नगर्नु केही समयसम्म देखापरे पनि अरुलाई चै सर्दैन । बुबाआमा निको भएपछी शिवम आमासँग लुटपुटिन थाल्यो । हिजोसम्म केही नखाने बच्चा आज त सबैकुरा खान थाल्यो । स्फूर्ति बढेर फेरि पहिलाजस्तै दौडन थाल्यो । बुबाआमालाई के होला भन्ने भयले कस्तो भएको रहेछ विचरा शिवमलाई अदितीले बुबालाई भनिन । 

प्रकाशित: १४ श्रावण २०७७ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App