हिमालको उज्यालोमा झलमल्ल एउटा गाउँ–ताङतिङ। गण्डकी प्रदेशको मादी गाउँपालिका–२, कास्कीको पहाडी गाउँ (१,६६० मिटर)। यसको पूर्वमा लमजुङ जिल्लाको क्होलासोंथर र मस्र्याङ्दी गाउँपालिका पर्छन्। पश्चिममा सिक्लेस, पार्चे, खिलाङ र तप्राङ गाउँ छन्। उत्तरमा मनाङ जिल्लाका चामे र निस्याङ भ्याली पर्छन् भने दक्षिणमा कास्कीका याङ्जाकोट, सैमराङ लगायत गाउँ।
ताङतिङमा २०० घर छन्। ढुंगा र टिनका छाना भएका चिटिक्क घर। झुरुप्प सुन्दर बस्ती। गाउँपालिकाको २०७४ तथ्याङ्कअनुसार यहाँको जनसंख्या ९५३ छ। तिनमा ९५ प्रतिशत गुरूङ हुन् भने बाँकी दलित समुदाय। सबै मिलेर बसेका छन्।
प्रकृति र संस्कृतिको संगम ताङतिङ आकर्षक छ। ताङतिङको फेदीबाट मादी नदी बग्छिन्। गाउँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। हिमालको हिमपहिरो पनि देख्न सकिन्छ। पारिपट्टि सिक्लेस गाउँको सिरानीमा हिमाल मुस्कुराउँछन्। ताङतिङमा बसेर त्यो दृश्यमा रमाउँदा आनन्द मिल्छ।
हिमालजस्तै उज्याला, फरासिला र सहयोगी गाउँले। स्वच्छ हावापानी र ग्रामीण जीवनशैलीले मोहनी लगाउँछ। अर्को कुरा, ताङतिङ आफैंमा ग्रामीण पर्यटनको नमुना गन्तव्य त हुँदै हो, यसलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्न समेत गर्न सकिन्छ।
ताङतिङका विषयमा केही किंवदन्ती छन्। गुरूङ भाषामा ताङतिङलाई ‘तोनी नासा’ भनिन्छ। ‘तोंउ’ भनेको ‘रमाइलो’ र ‘नासा’ भनेको ‘गाउँ’। यसरी ताङतिङ ‘रमाइलो गाउँ’ हो। चाँदीझैं टल्किने हिमाल र फरासिला गाउँलेका कारण ताङतिङ सधैं रमाइलो हुन्छ। अर्को किंवदन्तीअनुसार गुरूङ भाषामा ‘तों’ भनेको ‘बँदेल’ र ‘नी’ भनेको ‘लड्ने’ हो। परापूर्वकालमा हाल गाउँ भएको ठाउँमा जंगल थियो जहाँ बँदेल लड्थे। यसरी बँदेल झगडा खेल्ने ठाउँलाई ‘तोनी’ भनियो। पछि तोनीबाट अपभ्रंश भएर ताङतिङ बन्यो।
ताङतिङमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे जस्ताआधारभूत सुविधा छ।
जीवनशैली
ताङतिङमा ग्रामीण जीवनशैली छ। गाउँलेको मुख्य पेसा, पशुपालन, कृषि, वैदेशिक रोजगार र पर्यटन व्यवसाय हो। गाउँमा खेतीपाती गरेको, गाईभैंसी, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुनेका दृश्य देखिन्छन्। यस्तै सामाजिक विकास तथा जलविद्युत, नदीनाला, वनजङ्गल,जंगलीजनावर अध्ययन गर्न पनि गाउँ उपयोगी छ।
गाउँका घरआँगन सफा छन्। युनिका फाउण्डेशन नेदरल्याण्डको सहयोग एवं नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा एक घर, एक धारा र एक घर एक चर्पी, धुवाँरहित चुलो निर्माण गरिएको छ।
गाउँलेमा सामुहिक भावना पाइन्छ। रोपाइँ गर्दा होस् या कोदो रोप्दा वा वनमा दाउरा टिप्दा सामूहिक रूपमा एकैपटक काम गर्छन्। उनीहरू साउनमा गोरेटो सफा गर्छन्। मिलेर विकासका काममा अग्रसर हुन्छन्।
गाउँमा हिमालय मिलन माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय, संरक्षण क्षेत्र व्यवस्थापन उपसमिति, ताङतिङ युवा क्लब, अन्नपूर्ण महिला बचत समूह लगायतका संस्था क्रियाशील छन्।
संस्कृति
गुरूङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुल्ला संग्रहालय हो। गाउँलेहरू बोन, बुद्ध र हिन्दूधर्म मान्छन्। उनीहरू आफ्नो संस्कृति र परम्परामा रमाउँछन्। उनीहरूले मनाउने मुख्य चाडपर्वहरूमा ल्होछार (पुसे १५), बुद्ध पूर्णिमा, साउने संक्रान्ति, माघे संक्रान्ति, दशैं–तिहार आदि हुन्। उनीहरू भूमि देवता ‘बाजेबैकु’ र ‘नौंचुफिच्यौं’को पनि धूमधामले पूजा गर्छन्। गाउँलेहरू चाडपर्वमा नाचगान गर्छन्। अचेल पर्यटकले चाहेमा समाजघर वा होटलका आँगनमा साँझपख नाच देखाउँछन्। पाहुनालाई पनि नचाउँछन्। मौलिक वेशभूषामा सजिएर उनीहरू घाटु, झ्याउरे, सोरठी र ठेटर नाच नाच्छन्।
खाना
ताङतिङमा गाउँमै उत्पादित खानाका परिकार पाइन्छ। दाल, भात, तरकारी, मकै र कोदोको ढिँडो, अचार, रोटी, कोदोको प्यान केक, लोकल कुखुराको मासु, सुकुटी, नारी–पा(कोदोको रक्सी) आदि पाइन्छ। त्यस्तै खाजामा कोदोको रोटी–तरकारी, मकै–भटमास र गुन्द्रुक, झिलिङ्गा, कोदोको सेलरोटी–तरकारी आदि पाइन्छ। सिजनअनुसार, भुइँस्याउ, पिँडालु, आलु र सागसब्जीका परिकार पाक्छ। होटलमा चाहिँ विकासे मदिरा, मम र चाउमिनलगायत परिकार पनि पाइन्छ।
हनि हन्टिङ
भीर मौरीको मह ओखती मानिन्छ। ताङतिङ क्षेत्रका क्युरीतिभीर, कलबन्दीभीर र तेमी भीरका पहरामा मौरी बस्छन्। वर्षका दुई पटक कात्तिक÷मंसिर र चैत÷ वैशाखमा सिकारी शेरबहादुर गुरूङको अगुवाइमा मह सिकार गरिन्छ। सिकार गर्ने परम्परागत शैली छ। सिकार गर्नुअघि देवताको पूजा गरिन्छ। भीरमा सिकार गर्नु सजिलो हुँदैन। सिकारीहरू डोरी र निगालाको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन् अनि मह काढ्छन्।
गुम्बा
ताङतिङ गाउँको पुछारमा नौचु पैगी लामा महायान बौद्ध गुम्बा छ। गुम्बामा शाक्यमुनि बुद्ध, अवलोकितेश्वर र गुरू पद्मसंभवका मूर्ति छन्। गुम्बामा पुग्दा बौद्ध दर्शन, शान्ति, योग, भाइचारा र सकारात्मक सोचको विकास हुन्छ। त्यहाँ पूजापाठ र ध्यान गर्न सकिन्छ।
कोइवा धिं
गाउँको सिरानमा बोन धर्मावलम्बीको तोनी कोइबा धिं छ। यसमा बोन झाँक्री, लामा र बोन गुरू घ्याप्रीका मूर्ति छन्। साथै गुरूङ जातिको मौलिक संस्कृति, परम्परा, मूल्य, मान्यता, पहिचान, धर्म, संस्कृति, इतिहास, जन्मदेखि मृत्युसम्म गरिने संस्कार झल्काउने सामग्री र चित्र सजाइएको छ।
हाइकिङ
ताङतिङ सेरोफेरोका थुम्काबाट हिमाल, डाँडापाखा र बस्ती नियाल्न सकिन्छ। पुसमाघमा यी डाँडामा हिउँ पर्छ। गाउँबाट ४ घन्टा पदयात्रामा क्रबुडाँडा (३,०८५ मिटर) पुगिन्छ। हिउँ खेल्नका लागि क्रबुडाँडा उपयुक्त छ। ताङतिङ गाउँबाट क्रबुडाँडामा गाडीमा जान १ घन्टा लाग्छ। योग, ध्यान र क्याम्पिङका लागि डाँडाहरू उपयुक्त छन्। त्यस्तै ४० मिनेट पदयात्रामा नौचुडाँडा (२,०४७ मिटर) पुगिन्छ। क्होंलसोथरबाट बसाइ सर्ने क्रममा नौचुमा पनि गुरूङ समुदाय बसेको थियो। नौचुडाँडा प्राकृतिक सुन्दर टावर हो। यहाँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो, लमजुङ हिमाल, माछापुच्छ«े हिमाल लगायत थुप्रै डाँडाकाँडा, बेसीहरू र गाउँहरू देखिन्छन्।
अर्को गन्तव्य हो पुलोक्वा डाँडा। ताङतिङबाट १५ मिनेटमा त्यहाँ पुगिन्छ। त्यस्तै कुइचो डाँडा छेउको जंगलमाभूमे देवताबाजे बैकु बसेका छन्। गाउँबाट ४० मिनेटमा त्यहाँ पुगिन्छ। गाउँबाट १५ मिनेट हिँडेमा छत्रे खोला झरनामा पुगिन्छ। गाउँमै प्लाउमै युमथेवा प्राकृतिक भ्यूटावर छ। गाउँबाट १० मिनेटमा रमणीय तुइरोक्यु खोला पुगिन्छ।
ट्रेकिङ
ताङतिङ–क्रबु–चोंरों
ताङतिङलाई केन्द्रविन्दुमा राखेर धेरैतिर पदयात्रा गर्न सकिन्छ। हिमाल, लालीगुराँस, चराको चिरबिर र लेकाली खर्कको सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न सकिन्छ। ताङतिङबाट दुई दिनमा भुजुङ पुगिन्छ। यसैगरी ताङतिङ हुँदै नामुनभञ्ज्याङ (५,५६० मिटर) भएर मनाङको तिमाङ पुग्न सकिन्छ। यसका लागि गाउँबाट क्रबुडाँडा हुँदै चोरोडाँडा (३,३००मिटर) पदयात्रा गर्न पोखराबाट ४ दिन छुट्टयाउनुपर्छ।
ताङतिङ–क्हाेंलसोंथर
गुरूङ समुदायको पुख्र्यौली थलो–क्होलसोंथर (३,३०० मिटर)। क्होलसोंथरबाट करिब हजार वर्ष अघि गुरूङ जाति विभिन्न ठाउँमा बसाइँ सरेको इतिहास छ। क्होंलसोंथरमा पुराना घरहरूको भग्नावशेष, पानी घट्ट, दरबारका अवशेष आदि देख्न सकिन्छ। यस ट्रेकलाई ‘गुरूङ सम्पदा मार्ग’ पनि भनिन्छ। ताङतिङबाट डेढ दिनमा त्यहाँ पुगिन्छ।
ताङतिङ–लमजुङ–मनाङ
ताङतिङ गाउँ लमजुङ र मनाङ जाने पदयात्रीका लागि पुरानो पदमार्ग हो। पोखराबाट ताङतिङ, क्रबुडाँडा हुँदै लमजुङको भुजुङ, घलेगाउँ भएर बेसीसहर पुगिन्छ। ताङतिङबाट दुई दिनमा भुजुङ पुगिन्छ। यसैगरी ताङतिङ हुँदै नामुन भञ्ज्याङ (५,५६० मिटर) भएर मनाङको तिमाङ पुग्न सकिन्छ।
पोखरा–ताङतिङ–घलेखर्क
पोखराबाट याङ्जाकोट, ताङतिङ, सिक्लेस, तारा हिल, घलेखर्क हुँदै भुर्जुङ खोलासम्म पदयात्रा गरिन्छ। विभिन्न मानव बस्ती, प्राकृतिक दृश्य हेर्दै यात्रा गर्न पाइन्छ। पोखराबाट ६ दिनमा पदयात्रा पूरा हुन्छ।
ताङतिङ–दूधपोखरी
ताङतिङको उत्तरपूर्वमा पवित्र तीर्थस्थल दूधपोखरी (४५७० मिटर) छ। कास्की, लमजुङ र मनाङको साँधमा रहेको कुण्ड हिमताल हो। जनैपूर्णिमामा त्यहाँ मेला लाग्छ। ताङतिङबाट तीन दिनमा दूधकुण्ड पुगिन्छ।
हिमालय मिलन मावि
ताङतिङमा एउटा सामुदायिक विद्यालय छ–हिमालय मिलन माध्यमिक विद्यालय। विसं २०३० मा खुलेको विद्यालयलाई विसं २०५७ मा मावि बनाइएको। विद्यार्थीलाई घोकन्ते पढाइमा होइन, सिर्जनशील बनाउन जोड दिइन्छ। अन्तरक्रियात्मक ढंगले पढाइन्छ। कक्षा १० का विद्यार्थीले होस्टलमा अनिवार्य बस्नुपर्ने नियम छ। ताङतिङ भन्दा बाहिरका गाउँबाट पढ्न आउने सबै कक्षाका विद्यार्थीलाई पनि होस्टल सुविधा छ। यस विद्यालयले बेलायतको मेडस्टोन ग्रामर स्कूल फर गल्र्स स्कूलसँग मितेरी साइनो गाँसेको छ।
होमस्टे र होटल
ताङतिङमा होमस्टे र होटल सुविधा छ। गाउँमा ६ वटा होटल छन्। होटलहरूमा एकैपटक १३० जना बस्न सक्छन्। त्यसैगरी विसं २०६८ देखि सञ्चालित ताङतिङ सामुदायिक होमस्टेमा ८५ बेड छन्। गुरूङ समुदायका १४ घरमा पाहुना राखिन्छ। होमस्टे र होटल दुवैमा पारिवारिक वातावरण पाइन्छ। गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन्।
कोसेली
घुमफिरबाट फर्कंदा परिवार, इष्टमित्र र साथीका लागि कोसेली ल्याउँदा आपसी प्रेम झन् गाढा बन्छ। ताङतिङको उत्तम कोसेली हो–मिठो सम्झना। गाउँलेको आत्मीयताको ऋण तिर्नै सकिँदैन। त्यसबाहेक गाउँमा भेडाबाख्राको ऊनबाट बुनिएका चकटी र भांग्रालगायत सामान पाइन्छ। त्यस्तै मह, मौसमी भुइँस्याऊ, गेडागुडी, सागसब्जी, आलु र कोदाको रक्सी पाइन्छ।
छिमेकी
सिक्लेस
गुरूङ संस्कृतिका लागि सिक्लेस गाउँ। गाउँमा ३६० घर छन्, जनसंख्या करिब २४०० छ। गाउँका ९५ प्रतिशत गुरूङ हुन् भने बाँकी दलित। अन्नपूर्ण र लमजुङ हिमालको काखमा बसेको सुन्दर गाउँ। गाउँका ३० घरमा होमस्टे सुविधा छ भने १२ वटा होटल छन्। ताङतिङबाट तीन घन्टा हिँडेमा सिक्लेस पुगिन्छ। पोखराको काहुँखोलाबाट सिक्लेससम्म ४१ किमि सडकमा गाडी चल्छन्।
याङ्जाकोट
ताङतिङबाट ४ घन्टा हिँडे पुगिन्छ याङ्जाकोट (१,४७५ मिटर)। याङ्जाकोटमा दुई सय ६० घर छन्–गुरूङ, दलित र क्षेत्रीका। प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण गाउँबाट अन्नपूर्ण, लमजुङ र माछापुच्छे« हिमाल देखिन्छ। गाउँका १० घरमा होमस्टे सुविधा छ। गाउँलेहरू पर्यटकलाई घाटु, कृष्णचरित्र, सोरठी र लोकगीत देखाउँछन्। पोखराको काहुँखोलाबाट याङ्जाकोटसम्म गाडी चल्छन्।
पोखरा
गण्डकी प्रदेशको राजधानी पोखरा। पोखरा उपत्यकामा हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना आदिको सुवास पाइन्छ। प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प, क्यानोनिङ र जीप फ्ल्याएर जस्ता साहसिक खेल खेलिन्छ। यहाँ गुरूङ, मगर, क्षेत्री, बाहुन, थकाली, नेवार, दलित लगायतका जातजाति छन्। विभिन्न पदमार्गको प्रवेशद्वारका रूपमा रहेको पोखरा सेरोफेरोका गाउँहरू पनि रमणीय छन्।
ट्राभल टिप्स
गाउँमा जानु भन्दा पहिल्यै होमस्टे सञ्चालक वा होटललाई खबर गरेर बुकिङ गर्नुपर्छ। अनि घाम नडुब्दै गाउँमा पुग्नुपर्छ। होमस्टेमा बस्दा सामुदायिक होमस्टे व्यवस्थापन समितिले पाहुनालाई घरघरमा बाँडेर राख्छ। समितिको निर्णय पालना गर्नु पर्छ।
राति १० बजेभन्दा पछाडि भान्छामा बस्नु हुँदैन। होटल वा होमस्टेको मेनुमा उल्लेख भएबाहेक सेवा सुविधा माग गर्न मिल्दैन। वादविवाद र होहल्ला गर्नु हुँदैन।
होमस्टेमा होस्ट फेमिलीलाई खाना पकाउन, बगैंचामा तरकारी गोडमेल गर्न वा सरसफाइमा सहयोग गरेमा आत्मीयता गाढा बन्छ।
धार्मिकस्थलका नियम पालना गर्नुपर्छ। गुम्बा तथा मन्दिरमा जुत्ता फुकालेर प्रवेश गर्नुपर्छ। गाउँलेको जीवनशैली, लवज र संस्कृतिको सम्मान गर्नुपर्छ।
दुई रात बस्ने गरी ताङतिङ घुम्ने योजना बनाउनु बेस हुन्छ। गाउँ घुम्दा वा सेरोफेरोमा हाइकिङ गर्दा स्थानीय गाइडको सहयोग लिनुपर्छ। यसबाट यात्रा सहज बन्छ।
गाउँबाट फर्कंदा स्थानीय उत्पादन हस्तकला, गेडागुडी, तरकारी वा फलफूल कोसेली ल्याउँदा ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ। र, आफूले ल्याएको कोसेली आफन्तलाई दिँदा आत्मीयता बढ्छ।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किमि, गाडीमा ६ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखराको काहुँखोलादेखि ताङतिङ २१ किमि, मोटरबाइकमा गाउँसम्मै जान सकिन्छ। काहुँखोलामा ताङतिङ जाने बस र जीप पाइन्छन्। काहुँखोलाबाट बिहान ८ र दिउँसो ४ बजे बस छुट्छन्। ताङतिङ पुग्न बसमा २.५ घन्टा लाग्छ भने जीपमा डेढ घन्टा।
सम्पर्क
प्रकाश गुरुङ–९८५६०२८८२७
पसमाया गुरुङ–९८४६२९३०३६
पुर्णसुबा गुरुङ–९८४६४४९०९५
प्रकाशित: ८ श्रावण २०७७ १६:१४ बिहीबार