७ वैशाख २०८१ शुक्रबार
अन्य

प्रारम्भिक बालविकासमा अभिभावकको भूमिका

हरि खनाल  

दुई वर्ष पार गरेर नभ्याउँदै स्कुल, केन्द्र, मण्टेश्वरी आदि नामका संस्थामा बालबालिका नपठाए आकाशै खस्छ कि क्या हो भन्ने मनोविज्ञान हामी सबैको मस्तिष्कमा विद्यमान छ । त्यसैले गर्दा हामी बालबालिकाहरूको बालसुलभता र चञ्चलताको स्वभाविक व्यवहारभन्दा पनि झोला बोकाएर पुरयाउन जाने रहरमा ज्यादा रमाउँछौं ।

एकल परिवारका रूपमा रहेका बालबालिकाका लागि आमाबाबु दुवै सेवामा हाजिर हुनुपर्ने अवस्था भएका परिवेशका लागि यो बाध्यता पनि हुनसक्छ तर फुर्सद भएका अभिभावकले पनि देखासिकीमा त्यसो गर्ने सोच आउनु र गर्नुले केही गम्भीर प्रश्नहरू खडा गर्दछन् । वास्तवमा पाँच वर्षअघि विद्यालय पठाउन उपयुक्त नहुने तर्क मनोविद्हरू गर्ने गर्दछन् ।

पाँच वर्षमुनिका बालबालिकालाई केन्द्र, मन्टेश्वरीमा पठाउनुका केही प्रयोजनहरू छन् । पहिलो, घरमा हेरविचार गर्ने मानिसको अभाव हुनु । त्यस्ता केन्द्रमा पठाउँदा उचित समयमा आराम, खानपान, शौचालय, सरसफाइ, खेलकुद तथा मनोरञ्जन पाए भने त्यस्ता बालबालिकाहरूको विकास प्रक्रिया निरन्तर हुनुका साथै हेरविचार गर्न नभ्याउने पारिवारिक समस्या पनि समाधान हुन्छ ।

दोस्रो,   त्यस्ता संगठित संस्थाहरूमा अरू पनि ससाना बालबालिकाहरू आउँछन् । उस्तै साथी भेट्दा बालबालिकाहरू रमाउन सक्छन् । सामाजिकीकरणको पक्षबाट पनि लाभ हुन सक्छ ।

तेस्रो,  एउटा घरमा बालबालिकालाई मन पर्ने र खेलाउन मिल्ने धेरै प्रकारका खेलसामग्रीहरू नहुन सक्छन् । भए पनि निश्चित र सीमित मात्र हुन्छ तर त्यस्ता संगठित संस्थाहरूमा प्रायः बालबालिकाहरूलाई चाहिने सबै प्रकारका खेलौना तथा खेल सामग्री पाइन्छन् । खेल सामग्री बालबालिकाहरूको भाषिक, सामाजिक, शारीरिक, सम्वेगात्मक तथा बौद्घिक विकासका लागि उपयुक्त हुन्छन् । त्यस्ता सामग्रीबाट मनोरञ्जनसमेत लिएर बालबालिकाहरू खुसी हुन्छन् ।

चौथो,  संगठित संस्थाहरूले बालबालिकाहरूको विकासका लागि उपयोगी पोषणयुक्त विविध प्रकारका आहारा जुटाउन र व्यवस्थापन गर्न सक्छन् । एउटा घरमा दैनिक रूपमा आहारा बदल्न र मात्रात्मक संयोजन मिलाउन गाह्रो हुन सक्छ तर संस्थाहरूमा सामूहिक प्रयत्नका कारण सम्भव हुन्छ ।

पाँचौ,  संगठित संस्थाहरूमा बस्दा बालबालिकाहरूमा सामूहिकता, असल बानी–व्यवहारको विकास हुने र पूर्वसाक्षरतासम्बन्धी केही अभ्यास हुन गै उमेर पुगेपछि कक्षा एकमा भर्ना गर्न सहज हुन्छ ।

हामीले विभिन्न नामका संस्थामा आफ्ना बालबालिकालाई यिनै उद्देश्यका लागि पठाएका छौं भने ती संस्थाहरूमा सोहीअनुसार क्रियाकलापहरू भएनभएको कुराको बारम्बार रेखदेख गर्नुपर्ने हुन्छ । तर, व्यवहारतः त्यसो भएको पाइँदैन । जुनसुकै नाम गरेका केन्द्रहरूमा पनि पुग्नासाथ कापी झिक्ने र सीसाकलमले लेखाउने तथा क ख र एविसिडी घोकाउने काम पहिलो देखिन्छ ।

 बालबालिकाहरूलाई अर्थहीन घोकाइको पहाडले थिच्नु भनेको उनीहरूको सर्वाङ्गीण विकासमा बाधा पुरयाउनु मात्र हो । यसले उनीहरूलाई आफू भएर बाँच्न । दिँदैन जिन्दगीभरि आदेशात्मक व्यवहारको पालनकर्ता मात्र बनाउँछ ।

 यसै कुरालाई ध्यान दिँदै नेपाल सरकारले प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गरी ४ वर्ष उमेर पुगेका बालबालिकाहरूलाई विकासात्मक लक्ष्य पूरा गर्न सघाउने उद्देश्य राखेको देखिन्छ तथापि न्यूनतम मापदण्डसमेत पूरा नभएका कारण त्यस्ता केन्द्रहरू पनि घोकाइ केन्द्रका रूपमा विकास भइरहेका गुनासाहरू आउने गरेका पाइन्छन् ।  

 अभिभावकको दायित्व

एकताका मुलुकमा लामो समयसम्म नेपाल बन्द हुन्थ्यो । विद्यालय खोल्न नपाएकाले बालबालिकाहरू पढाइबाट वञ्चित भए भन्ने समाचार सम्प्रेषण गर्नु सम्बन्धित पत्रकार मित्रहरूको चिन्ता हुन्थ्यो । उहाँहरू विद्यार्थीहरूलाई सोध्नुहुन्थ्यो, पढ्न जान नपाएर कस्तो लागिरहेको छ ? एकजना मित्रले भन्नुहुन्थ्यो, ‘साना बालबालिकाहरू रमाइलो लागेको छ भन्थे रे । उनीहरूलाई जबर्जस्ती फकाएर नरमाइलो लागेको छ । हामीले पढ्न पाएनौ भन्न लगाउनुपथ्र्यो रे ।’ एउटा दृष्टान्त मात्र हो यो । माथिल्ला कक्षामा पुगेका बालबालिका पनि स्कुल जानु नपरे खुशी हुन्छन् भने त्यो विद्यालय र पढाइ कतिको बालमैत्री छ भनेर सहजै अनुमान गर्न सकिन्छ । 

प्रारम्भिक बालविकास उमेरका बालबालिका त झन् आमाबाबाको काखबाट पर जानै चाहन्नन् । अहिले आमाबाबुको काखमा बस्ने अवसर बालबालिकाहरूले पाएका छन् । वास्तवमा बालविकास हुने स्थान नै घर हो र आमाबाबु त्यसका सहजकर्ता हुन् । अहिले हामीले मन्टेश्वरी, केन्द्र वा कुनै अमूक स्कुल पठाउन पाएनौं भनेर चिन्ता नै गर्नुपर्दैन । बरु हामीले बालविकासका लागि गर्नुपर्ने धेरै क्रियाकलापहरू घरमा रमाइलो तरीकाले घरेलु सामग्री र प्रविधिमा आधारित भएर गर्न सक्छौं । यसअघि गरिरहेका क्रियाकलापहरूलाई थप व्यवस्थित बनाउन सक्यौं भने हामीले केन्द्रहरू नखुलेको विषयमा चिन्ता गरिरहनु आवश्यक छैन ।

उचित पोषणको प्रवन्धः 

यो काम हामीले गरिआएकै हौं । बालबालिकाहरूलाई तयारी तथा पत्रु खानामा हैन घरमा बनाउने गेडागुडी, चामल, हरिया सागसब्जी तथा फलफूलमा आधारित उमेर र अवस्थाअनुसारको खाना बनाएर खुवाउनुपर्ने हुन्छ । खाना खुवाउँदा एकैपटक धेरै होइन बालबालिकाको रुचि र चाहनाअनुसार खुवाउनुपर्छ । उचित पोषण भएन भने मस्तिष्क विकास पनि उचित किसिमले नहुने भएकाले यस कुरामा सजग रहनुपर्छ । खानाबाटै स्वादका कुरा, चीसोतातो जस्ता विज्ञानसम्मत कुराहरू व्यावहारिक तरीकाले सिकाइ गर्न पनि सकिन्छ ।

खेल खेलौनाबाट शारीरिक विकासः 

 बालबालिकाहरूको उमेर र स्तरअनुसारका खेल तथा खेलौना दिने र खेलाउने गर्नुपर्छ । सामान्यतया चार वर्षमुनिका बालबालिकाहरू समूहमा खेल्न मन पराउँदैनन् । उनीहरू एक्लै खेलाउना खेलाउँछन् र खेलौनासँग नै सम्वाद गर्न चाहन्छन् । अभिभावकले सुरक्षित र उपयुक्त खालको खेलौना दिने र खेलौना खेल्ने तरीका सिकाइदिने र प्रतिक्रिया लिने कोशिश गर्नु आवश्यक हुन्छ । यीबाहेक उमेरअनुसार बालबालिकालाई घरमा आमाबाबा र दाजुदिदी भए सोहीअनुसार खेलाउनुपर्छ । सामान्यतया लुकामारी, ससाना बल फाल्ने वा गुडाउने, खेलौनाबाट विभिन्न प्रकारका आवाजहरू निकाल्ने र आवाजसँग प्रतिक्रिया गराउने जस्ता क्रियाकलाप गराइयो भने यसले बालबालिकाहरूको सुनाइ क्षमताको विकास, प्रतिक्रिया दिने बानीको विकासका साथसाथै सूक्ष्म र स्थुल अंगको विकास गराउँदै आँखा र हातको चालको समन्वय गराउने, मांशपेसीको विकास गराउने हुन्छ । अभिभावकले बालबालिकालाई खेलौना दिएर पन्छिने होइन सहभागी भएर साथ दिने गर्नु आवश्यक हुन्छ ।

मनोरञ्जनः  बालबालिकाहरूलाई खुशी बनाउने आधार नै मनोरञ्जन हो । ३ देखि पाँच वर्षका बालबालिकाहरू लामो समयसम्म एउटै कुरामा ध्यान केन्द्रित गर्न सक्दैनन् । उनीहरूलाई विभिन्न तरीकाले मनोरञ्जन दिनुपर्छ । जस्तैः नृत्य गरेर र गर्न सँगै लगाएर, ताली बजाउँदै गीत गाउने, रमाइला चित्रहरू देखाउने, सामान्य बाजाहरू जस्तै मादल, झ्याली, बाँसुरी अर्थात उपलब्धताअनुसारका बाजा बजाउने आदि ।

स्वास्थ बानीका विकासः  

बालबालिकाहरू सामान्यतया घरपरिवारका ठूला मानिसले जस्तो व्यवहार देखायो त्यसैको अनुसरण गर्छन् । ३ देखि ५ वर्षको उमेर भनेको त अझै नक्कल गरेर सिक्ने नै अवस्था हो । त्यसकारण हामी हाम्रा बालबालिकाहरूले राम्रा व्यवहार सिक्ने अपेक्षा राख्छौं भने हाम्रा व्यवहार नै नमुना हुनुपर्छ । खाना खानुअघि र पछि हात धुने, शौचालयपछि हात धुने, खाना छोपेर राख्ने, फोहोर मैलालाई फोहोरको भाँडामा राख्ने आदि कार्य बालबालिकाहरूलाई गर भन्नुका बदला हामी आफैंले गर्न थाल्यौं भने उनीहरूले स्वतः त्यसको नक्कल गर्छन् ।

सामाजिक तथा सांस्कृतिक सम्बन्धी क्रियाकलापहरूः 

अरू मानिसहरूसँग टेलिफोनमा कुराकानी गर्दा, वा घरबाट आमुनेसामुन्ने हुँदा गरिने अभिवादन, तपाई हजुरजस्ता आदरार्थी शब्दहरूको प्रयोग, घरभित्र पनि एकअर्काप्रति गरिने सद्भाव र व्यवहार नै बालबालिकाहरूको अनुसरण गर्ने सामाजिकीकरणका व्यवहार हुन् । यसलाई अभिभावकले प्रदर्शन गर्दै बालबालिकाहरूलाई अभ्यस्त गराउनुपर्ने हुन्छ । यीबाहेक संस्कृति र परम्परासँग जोडिएका कार्यहरू गर्ने र त्यस्ता कार्य गर्दा बालबालिकाहरूलाई सहभागी गराउने । जस्तै धर्मअनुसार पूजा वा प्रार्थना गर्दा बालबालिकाहरूलाई पनि सँगै राख्ने आदि ।  

बौद्विक , भाषिक विकास तथा अन्वेषणात्मक क्रियाकलापहरूः 

बालबालिकाहरूलाई केही पजल समस्याहरूमा खेलाउने, कुनै कुरा लुकाएर चीज भएको अनुमान गर्न र खोज्न अभिप्रेरित गर्ने, कुनै नयाँ चीज देखाएर नाम सुनाउने र भन्न लगाउने, धेरैथोरै , लामोछोटो जस्ता परिमाण पत्ता लगाउने परिस्थिति निर्माण गरी खानामा, खेलमा अनुमान गर्ने अवसर बनाइदिने । बालबालिकाहरूलाई मनपर्ने किसिमले प्रश्नहरू गर्ने र बालबालिकाहरूले राखेका जिज्ञासाहरूमा पनि झर्को नमानी मेट्ने प्रयत्न गर्ने । टेलिफोनमा आफन्तसँग कुराकानी गराउने, छिमेकीहरूसँग घरबाट बाहिर हेरी कुराकानी गर्ने अवसर मिलाइदिने, घरभित्र कुनै कुरा कसैलाई भन्नु पर्दा बालबालिकालाई माध्यम बनाउने, सुत्ने बेलामा वा अरू बेला पनि बालरुचिअनुसार चाखलाग्दा कथाहरू सुनाउने र प्रतिक्रिया लिने, हावभाव गर्ने आदि ।

सम्वेगात्मक विकासः

  सम्वेगात्मक विकासका पनि धेरै पक्षहरू व्यवहारबाटै निसृत हुन्छन् । कुनै अप्रिय घटना सुन्दा दुख मान्ने, रमाइला कुरामा रमाउने, आश्चर्य मान्नुपर्ने कुरामा आश्चर्य मान्ने जस्ता व्यवहार प्रौढहरूबाट बालबालिकामा सर्छ । माया गरेको हो कि रिसाएको हो भन्ने कुरा उनीहरू आफैं बुझ्छन् । यो कुरालाई गति दिन अभिभावकहरूले कथा सुनाउने, कथाका घटना र पात्रअनुसारको हावभाव प्रस्तुत गर्ने र उचित सम्वेग प्रकट गर्दै गराउने अभ्यास गराउने जस्ता क्रियाकलाप र व्यवहारले बालबालिकाहरूको सम्वेगात्मक विकासमा मद्दत पुरयाउँछ ।

सिर्जनात्मकताको विकासः   

पूर्वधारणा र विचारमा टेकेर नयाँ कुरा गर्ने, नयाँ कुरा पहिचान गर्ने, फरक प्रस्तुतीकरण गर्ने कुरा सिर्जनात्मकता हो । एउटा बालकले सामान्य मानिसको चित्र नक्कल गरेर बनायो तर त्यस मानिसले निधारमा टीका लगाएको थिएन बालबालिकाले टीका पनि लगाइदिए भने त्यो उसको सिर्जनात्मकता हो । सिर्जनात्मकता भाषामा, सीपमा  र कलामा सर्वत्र हुन सक्छ । यो मौलिकपन पनि हो । 

हामीले कुनै वस्तुलाई जुन ढंगले चिनाउँछौं बालबालिकाले त्यसलाई फरक प्रकारले भनेमा त्यो पनि सिर्जनात्मकता भित्र पर्न जान्छ । यो नै महत्वपूर्ण गुण हो । हामीले बालबालिकालाई उनीहरूकै शैलीमा अभिव्यक्त गर्न लगाउने र उनीहरूले भनेका कुरामा सम्भव भएसम्म सहमति र स्वीकृति दिन सकेमा उनीहरूमा यसप्रकारको क्षमता अभिवृद्घि हुन्छ । यीबाहेक नयाँ कुरा चिनाउने, चिनेर भन्न प्रेरित गराउने, समान र असमान वस्तु देखाएर भिन्नता पहिचान गर्न लगाउने, रङ भर्न लगाउने, चित्र बनाउने वा नक्कल गर्ने आदि जस्ता धेरै कामहरू हामी घरभित्रै गराउन सक्छौं ।

माथि उल्लेख गरिएका क्रियाकलापहरूमा अभिभावकहरूको सक्रिय संलग्नता रहँदा समय कटाउने कुरा कुनै समस्याको विषय बन्दैन बरु उपलब्धिमूलक बन्ने छ । बालबालिका र अभिभावककाबीचको सामिप्यको जग अझ मजबुत हुन्छ र यसले वृद्घ जीवनमा उनीहरूबाट प्राप्त गर्ने हेरविचारलाई समेत मलजल गराउँछ । त्यसकारण प्रारम्भिक बालविकास अवस्थाका बालबालिकाहरूको मस्तिष्क विकास यही अवस्थामा तीव्र हुने र सम्पूर्ण व्यवहारहरूको निर्माण पनि यसैबेला हुने भएकाले अभिभावकका लागि सुनौला अवसर हो । यसको लागि चाहिन्छ अभिभावकको बालबालिकाप्रतिको सार्थक प्रेम, समर्पण र निरन्तरता ।

प्रकाशित: ७ श्रावण २०७७ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App