२० श्रावण २०७७ मंगलबार
अन्य

पिङ्कु खुसी भइन्

बालकथा

त्रिलोचन ढकाल

पिङ्कु हराइन्  । भर्खर त यहीँ थिई । आमा भुट्भुटाउन थालिन । उनले यताउता खोजिन । ओल्ला पल्ला घरमा सोधिन् । कसैले पनि देखेको कुरा गरेनन् ।

त्यही बेला घनघोर वर्षा भयो । पिङ्कु आइनन् । खोल्सामा ठूलो भल बग्यो । खेतबारीका डील भत्के पैराले । आमाको चिन्ता झन् बढ्यो । कतै पैरोमा त परिन । भलले त बगाएन । चर्को आवाजमा बोलाइन् । पिङ्कुको आवाज सुनिएन । आमा  आत्तिइन ।

खोज्दैखोज्दै नजिकैको स्कुलमा पुगिन् । वरिपरि हेरिन् । पिङ्कु देखिइनन् । कोरोनाका आतङ्कको समय स्कुल बन्द थियो । चकमन्न थियो जताततै ।

स्कुलका कोठामा ताला लगाइएको थियो । उनी शौचालयतिर गइन् । त्यहाँ पनि ताला झुन्डिएका देखिए । भवनको पछाडि हेरिन् । पिङ्कु त्यहीँ भेटिइन् । उनी रोइरहेकी थिइन् ।

आमाले सोधिन्,‘किन आएकी पिङ्कु स्कुलमा ।’  

रिसको भावमा पिङ्कुले जवाफ दिइन्, ‘स्कुलमा किन आउँछन्  पढ्न ।’  

– स्कुल बन्द छ नि छोरी ।

– बन्द भएर के भयो त । मलाई पढन मन लाग्यो ।

– दाइले घरमै पढेका छन् । तिमी किन स्कुल आयौ। दाइले अनलाइनमा पढन थाल्यो । हाम्रो स्कुलले अनलाइनमा पढाउँदैन । अनि के गर्ने त ?

– दाइसँगै पढ नू ।

– मलाई पनि सिकाइदिनु न भन्दा दाइले के भन्यो, थाहा छ ?

– के भने छोरी दाइले ?

– कम्प्युटरमा पढ्ने भए त बोर्डिङ स्कुलमा पढ्थिस् नि । सरकारी स्कुलमा पढ्नेले पनि अनलाइनमा पढ्न पाइन्छ । तेरो स्कुलले अनलाइनमा पढाएको छैन । भन्यो दाइले अनि म स्कुल नआएर कहाँ जाउँ ।  

– छोरीको मन साह्रै दुखेछ ।।

– फुट्लाजस्तो भएको छ ।

आमाले मायालु भावमा हाँस्दै भनिन्, ‘अब दाइलाई पनि यही स्कुलमा भर्ना गरिदिन्छु  अनि त दाजुबहिनीसँगै ।’  

– हुँदैन । दाइलाई यहाँ ल्याउने होइन।

– त्यसो भए पिङ्कु छोरीलाई दाइ पढ्ने बोर्डिङ स्कुलमा भर्ना गरिदिउँला।

पिङ्कु हँसिली  भइन् । उज्यालो भयो उनको अनुहार ।

प्रकाशित: ६ श्रावण २०७७ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App