१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

हाम्रो मित्र

बालअनुभव

दिपेश पौडेल

कक्षा–१०,  

बालज्योति मावि कोहलपुर,बाँके ।

समय गतिशील छ । समय बग्दै जाँदा परिवर्तनहरू पनि  देखिदै जान्छन् । मानिसका जीवनशैली पनि परिवर्तन हुन्छन् । मानिसले मनोरञ्जन गर्ने साधन पनि बदलिदै जान्छन् । हाम्रो बाबाको समयमा डन्डीबियो  खेल्ने  गाईबाख्रा चराउन जाने  खेतबारीमा पानी चाहार्न जाने, घाँसदाउरा काट्ने जस्ता काम गर्दागर्दै खेल्ने तरीका थियो रे । हाम्रो पालामा आइपुग्दा यसको स्थान मोवाइल,   कम्प्युटर र टिभीले लिएका छन् । बाआमाको पालामा गाउँ घुम्दा, एक अर्काको मेलामा मिलेर काम गर्दा, परिमा लगाउँदा  र विभिन्न काम गर्दा हुन्थ्यो । आज त्यो कुरा फेसबुक, इष्टाग्रामसम्म आइपुगेको छ  । यी प्रविधिलाई सीमित मात्रामा प्रयोग गर्दा कुनै असर पर्दैन । तर जब यसको लत बस्न थाल्छ तब  समस्या उत्पन्न हुन्छ  ।  

अहिलेको लकडाउनसंगै युवा विद्यार्थीको स्क्रिनमा बिताउने समय बढिरहेको छ । यसको सिकार हामीजस्ता विद्यार्थीहरू भइरहेका छन् । हामी सबैको अनुभूतिले भन्छ कि एकपटक गेम र सामाजिक संजाल चलाउन थालेपछि घण्टौसम्म पनि अत्तोपत्तो पाउदैनौं । समय दशचार भएको पत्तै लाग्दैन ।

यसका विविध कारण छन् । वैज्ञानिकहरूका अनुसार आनन्द महसुस गर्दा हाम्रो मस्तिष्कमा डोपामिन भन्ने रसायन उत्पन हुन्छ । यो रसायनले हामीलाई सुखको अनुभव मिल्छ । यस्तो अपर्झट सुखको अनुभूति गरेपछि मस्तिष्कलाई अरू काम गर्न मन लाग्दैन । कम मिहिनेतमा धरै उपलब्धि प्राप्ति भएपछि मानिसले किन काम गर्छ । उदाहरणका लागि हामीले क्यान्डीक्रस खेल्दा एक लेवलबाट अर्काे लेवलमा जान सुरुसुरुमा सजिलो हुन्छ । जसले गर्दा अझ बढी खेल्न मन लाग्छ । यस्तो आनन्द पाइरहन मस्तिष्कले प्रत्येक पल कोसिस गरिरहन्छ  र विस्तारै यो हाम्रो बानीमा परिवर्तन भई लत बस्छ ।

हामीले एउटै कुरा धेरै दिनसम्म गरयौं भने हाम्रो दैनिकी बन्छ । त्यसपछि नचाहँदानचाहँदै पनि त्यो काम गरिरहन्छौ । त्यसैलाई कुलत भनिन्छ । स्कुलमा हाम्रा कुनै साथीहरू पहिले रमाइलो गर्न साथीको लहलहैमा एकसर्काे चुरोट एक फाँको सुर्ती तान्छन् । रमाइलो गर्दा केही दिनपछि बानीमा परिवर्तन हुन्छ ।

हामीलाई पुरस्कर जित्न अत्यन्त रहर हुन्छ । पुरस्कार र हामी विद्यार्थी बीचमा घनिष्ट सम्बन्ध छ । बच्चैदेखि आमाबाले पनि यो अभ्यास गराएर हामीलाई असल बाटामा लैजान प्रयत्नशील हुनुहुन्छ । त्यसैले हामीलाई पुरस्कारसंग अति नै प्रेम हुन्छ । स्कुलमा मेडल  जित्दा खुसीले फुरुङ्ङ हुन्छौं । मनमनै नाच्छौ ।

पब्जी र फ्री फायर जस्ता खेलमा पनि यही कुरा लागु हुन्छ । गेम जित्यौ भने चिकन डिनर पनि पाइन्छ । हामी अर्काे पटक पनि जित्न चाहन्छौ । तर त्यति सजिलो हुँदैन घण्टौंसम्म खेल्न बस्छौ । यस्तै कुरा सामाजिक सञ्जाल फेसबुक र इन्स्टागममा पनि लागु हुने मनोवैज्ञानिकहरूले बताइरहेमा छन् । हामी विद्यार्थी पनि लाइक र कमेन्टका भोका हुन्छौ । अरूले मनपराए हुन्थ्यो । आफ्नो अस्तित्व देखाउन हामी सधैं चाहन्छौ । लाइककमेन्टको यही चाहनामा हाम्रो लत बस्छ ।

मनोवैज्ञानिकहरूको अनुसार लाइक र कमेन्टको विशेषता हटाउने हो भने धेरै मानिसको सामाजिक सञ्जाल चलाउने चाहना मर्छ । अहिले हाम्रो समाजमा टिकटकको पनि लहर छ । हामी जस्ता युवा विद्यार्थीहरू टिकटक बनाउने र पैसा कमाउने धन्दामा लागेका छन् । यसले वास्तविक प्रतिभालाई छाया पारिदिएको छ । अल्छी बनाएको छ । यो भीड मानसिकताको उपज हो । समाजका सबैले गरेका छन् । आफू एक्लै  त परिएन भन्ने त्रासले चिन्तित बनाउँछ । अनि देखासिकी गर्छ । भीडमा रमाउने एक्लिन नचाहने स्वभावले पनि यस्ता कुरा फेसन बन्ने मनोविद्ले भनेका छन्  । एकपटक सामाजिक संजालमा बूढो देखिने ट्रेन्ड चलेको थियो । प्रधानमन्त्री केपी ओलीले कोरोनाबाट बच्न बेसार खानुपर्छ भनेपछि पहेँला फोटो बनाउने अभियान चल्यो । बेलाबखत यस्ता घातक कुरा सामाजिक संजालमा ओइरो लाग्छन् ।

एकपटक हाम्रो स्कुलमा क्यालस अफ क्यानको लहर चल्यो । जुन साथीसंग कुरा गरे पनि  यही गेमका कुरा गर्ने । यो गेम नजानेको विद्यार्थी पढाइमा जति जान्ने भए पनि लाटो हुन परयो । साथीसंग एक्लो हुनुपरयो ।मेरो कक्षाका अधिकांशले यो गेम खेल्थे । मलाई पनि यो गेम खेल्न परयो किनकि म साथीहरूभन्दा अलग हुन चाहँदैनथे । साथीको दबाब पनि उस्तै थियो । यसरी विनामतलवका फाल्तु कुराले मेरो पढाइमा असर पारयो । नजानिने तरीकाले मलाई लती बनायो । परीक्षामा पनि राम्रो गर्न सकिनँ । शिक्षक र बामा पनि छक्क पर्नुभयो । यसले मेरो अमूल्य समय लिएर गयो ।

गेम र सामाजिक संजाल हाम्रा लागि राम्रो शैक्षिक र समाजिकीरणको स्रोत पनि हुन् । यी तबसम्म राम्रा छन् जबसम्म हाम्रा लत बन्दैनन् । लत बन्नेबित्तिकै यी घातक हुने रहेछन् । मैले धेरै कोसिस गरें । शिक्षक र बाआमाले पनि ममा आएको परिवर्तनबाट धेरै सम्झाउनुभयो । त्यसपछि आफैले आफैलाई आलोचना गरेर सुध्रनका लागि आत्म आलोचना गरे । आफैलाई प्रश्न सोधें । तेरो लक्ष्य र गन्तव्य के हो ? आफूलाई लत छुटाउन बाआमाका लतलाई पनि आलोचना गर्न थाले । बालाई चिया र समाचारको र आमालाई फेसबुकको लाइककमेन्टको लत हटाउन पनि धेरै संघर्ष गरें । यो युगमा मित्र ठानिएका प्रविधिले आफ्नै बासनाले लठ्ठ परेको कस्तुरीले बासनाको खोजीमा वन डुल्दा सिकारीको पासोमा परेजस्तै हामी युवा विद्यार्थीलाई अँध्यारो कुवामा धकेल्न सक्छन् । सजक बनौं । लकडाउनमा ख्याल गरौं ।

प्रकाशित: ४ श्रावण २०७७ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App