रविन्द्र ढुङ्गेल
बा, तपाईंको स्टकोटको खल्तीमा कति पैसा छ ? तपाईंको स्टकोटको पैसाले कलम आउँछ कि आउँदैन ? तपाईं सधैं अँध्यारोमा मात्रै पैसा देखाउनुहुन्छ । प्रकाशयुक्त उज्यालोमा हामी कहिल्यै धनी हुन सकेनौं । उजेली काठले बार्दाली बारेर रातभर उज्यालो उत्सव मनाएर धनी भएको सपना म हरेक बिहान देख्छु । बा सपनाभरि धनी हुँदा मलाई कत्ति धेरै आनन्द आएको थियो । तिमी सुतेपछि जून बालेर पैसाका चित्रहरू दिनहुँ हेर्छु । निश्चल दिगो सभ्यतालाई मेटेर धुवाँ लागेको कालो सभ्यता लेख्ने कलम अब किन्न चाहन्न। पारितन्त्रलाई डाँडा कटाएर चौपाया पशुलाई पनि पारायण पढ्न नदिने स्वार्थ साधकहरूलाई बालुवा खुवाउन चाहन्छु । चन्दन टाँसेर युग बदल्ने ख्याउटे निर्बल शरीरमा ज्ञान भरेर ब्रह्माण्डभरि बेच्नुपर्छ ।
अर्थतन्त्रको अमिलो आँखालाई छोपेर सबैलाई स्वतन्त्र रूपमा बाँच्न दिइनुपर्छ । मभित्र दिनहुँ प्रश्न आउँछन् जनावरहरूलाई किन यसरी पैसामा टाँसेर खेदिन्छ । निस्वार्थ जनावरहरूलाई पनि किन फरकफरक नोटमा टाँसेर मनुष्य जीवनसँग अस्तित्व साटिन्छ ।
बा आज तिमीलाई धेरै प्रश्न सोध्छु , ‘ खिएर खरानी भएका हजुरबुबाको खुट्टाका जिउँदा स्तम्भहरू किन उठबस गरिरहेका छन् ?’
हिजो कलमको बिर्को हराएर दिनभर लेख्न सकिनँँ । आज कलमले नलेखेर मौन छु । वर्षौंपछि टुंगो लागेको तत्व परीक्षालाई कलमको निबमा टाँसेर फेरि सोच्न खोज्दैछु । फूलबारी उडाएर मौरीले मह छोडिदिएछ क्यारे आज केटाकेटीहरू बास्नाहरुसँग लुकामारी खेल्दै छन् । भमराले फूलसँग बास्ना लिएर गएको छ । रामलाल दाइ म पनि अब हुइँकिन्छु चैते हुरी बनेर खेतका गरागरामा र चुम्बन गर्छु धानको अन्नमय शरीरहरूलाई ।
हाम्रा काकाले बोकेको बन्दूकलाई रामायण पढाएर जिन्दगीको चिल्लो सिद्धान्तलाई बाहिर निकाल्न चाहन्छु ।चामललाई पीठो भनेर बेच्ने र पीठोलाई चामल भनेर किन्ने हाम्रो वैदेशिक नीतिलाई यमराजको जिम्मा लगाउनुपर्छ । प्रिय बा पानी नभएर बाल्टीहरू खाली छन् । तपाईंले सिकाएका सिद्धान्तहरू अक्षरमा कहिल्यै पढ्न पाइएन । आजसम्म अक्षरमा रूपान्तरण भएका सिद्धान्तले बाल्टी भर्नु भनेन, खेतमा जीवन रोप्नु भनेन ।
बा, अब पैसामा अड्केका ब्रम्हाहरूलाई ठेलेर घुमाउने दहमा पुरयाउनुपर्छ । सार नभएका अक्षरलाई साबुन खुवाएर सफा गर्नुपर्छ । बा तिम्रा सिद्धान्तहरूलाई सबैले मयल भन्छन् तर म तिम्रा सिद्धान्तहरूलाई अन्तिम सिद्धान्त भन्छु । घुनलाई पीठो बोकाएर पठाउने आमाहरूलाई नै महान् मान्छु । पत्करबार झरेका नसाहरूलाई जिउँदो स्तम्भ भन्छु । श्रीमतीलाई सितारा लगाएर देउती बनाइनुपर्छ र गिताका र ऋगवेदका नारी चरित्रहरू सिकाउनुपर्छ । नाफामा चिउराको तेल बनाउने हल्का बतासे पद्धतिलाई खोरमा थुनेर धोक्राभरि माया र स्नेहको बीउ बोकाएर दाइजो पठाउने परिस्थितिको आविष्कार गर्नुपर्छ अनि मात्रै कलमले दिगो दर्शनलाई लेख्न सक्छ ।
प्रकाशित: १ श्रावण २०७७ ०८:२५ बिहीबार