१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

खेलमा झेल

बालकथा

नारायण तिवारी

भँगेरा उफ्रिरहेको थियो । फुत्रुक्कफुत्रुक्क । सँगसँगैजस्तो गरी उफ्रिरहेको थियो भोलु । भँगेराझैं फुत्रुक्कफुत्रुक्क गर्न नसके पनि ऊ भँगेरालाई पछ्याउँथ्यो । घरि लड्थ्यो, घरि उठ्थ्यो । पक्रन खोज्थ्यो भँगेरालाई । तर, भँगेरा फुत्रुक्कफुत्रुक्क गरी, घरि भुर्र उडिदिन्थ्यो । घरि उडेर फेरि आँगनमा आउँथ्यो ।

आँगनमा भँगेरा आउने कारण थियो– आँगनमा खमार । दाउनी गर्न राखिएका धानका बोझा । तिनै खमारमा राखिएका धानका बोझा, धानका बोझाबाट वा दाउनी गर्दा झरेका, छरिएका धानका गेडाहरू टिप्न भँगेरा झ्याम्मिएका थिए ।

भोलु रमाइलो मानेर भँगेरालाई छुन खोज्थ्यो । पक्रिन खोज्थ्यो । उसलाई मजा लागिरहेको थियो । घरिघरि भोलु पुर्लुक्क लड्थ्यो । फेरि उठ्थ्यो र दौडिन्थ्यो । पुर्लुक्क लड्थ्यो । फेरि उठ्थ्यो र ताली पिट्थ्यो ।

ऊ बेलाबेला कराउँथ्यो पनि, ‘आः आः !’

आमा आँगनछेउमा रहेको जुठेल्नामा भाँडा मोलिरहेकी थिइन् । कराइन्– ‘भोलु, धेरै नउफ्र !’

भोलुले आमाको कुरा सुने पो । ऊ उफ्रिरह्यो । घुमिरह्यो । कुदिरह्यो । रोकिएन ।

त्यसैबेला अचानक ह्वार्र सबै भँगेरा उडे । ठूलै आवाज आयो ।

सँगसँगै एक हूल भुरा केटाहरूको आवाज आयो, ‘मरयो !’

नभन्दै एउटा भँगेरा भोलु नजिकै चित्त पल्टिएर प्याकप्याक गरिरहेको थियो ।

केटाहरूको भँगेरा मार्दा भोलुको दाजु पनि थियो– रमेश । रमेशको हातमा गुलेली थियो ।

भोलुलाई के गरूँ, के नगरूँ भयो । ऊ छटपटाइरहेको भँगेराकै छेउमा भ्यात्त बसिरहेको थियो । निल्ल परिरहेको थियो ।  

त्यसैबेला रमेश बोल्यो, ‘यो मेरो मटेङ्ग्राले मरेको हो ।’

रमेशले भँगेरा समात्यो । यतिबेलासम्म त्यो भँगेराको प्राणपखेरु उडिसकेको थियो ।

रमेशले जब भँगेरा हातमा लियो, भोलु जोडजोडले चिच्याएर रुन थाल्यो ।

रुँदै उसको मुखबाट बोली निस्किरहेको थियो, ‘नाइँ, भङेलालाई किन कुतेको । मेलो भङेला....!’

आमाले सुरुमा त त्यति ध्यान दिइनन् । तर, जब भोलु रुन थाल्यो, उनी दौडिँदै आइन् ।

धारे हात लगाउँदै कराइन्,‘थाम् तिमेर्लाई । भरे बाबालाई भनेर कुटाई नखुवाई कहाँ छोड्छु । व्यधाहरू...!’

भोलु धेरैबेर आमाको काखमा मुन्टो लुकाएर रोइरह्यो । घुँक्कघुँक्क गरिरह्यो । मानौं, उसको खेल्ने साथी विछोडिएको छ । उसको खेल्ने साथीलाई कसैले पक्रेर लगेको छ ।

भोलुको टाउको मुसार्दै आमा भनिरहेकी थिइन्, ‘पख् न, त्यो रमेशेलाई, भरे घर आउला नि । बरा, मेरो बाबुको खेलमा झेल गर्ने मोराहरू...!’

प्रकाशित: १ श्रावण २०७७ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App