७ वैशाख २०७८ मंगलबार
अन्य

बाटुली

बालकथा

इन्द्रकुमार श्रेष्ठ सरित्

 

बाटुलीका आमाबाबु दिनभरि घर बनाउने ठाउँमा मजदूरी गर्छन् । तर बिहानबेलुकी भने आमाछोरी पशुपतिनाथको मन्दिर अगाडि  फूल बेच्ने काम गर्छन् । बाटुलीकी आमा नैनकला त बिहान चार बजेदेखि नै आएर  फूल बेच्न थाल्छिन् । तर बाटुलीचाहिं भाइ टुल्के उठेपछि  आफू पनि उठ्छे र भात पकाउँछे । दिदीभाइ मिलेर बासीभात भुटेर खाजा खान्छन् र आमाको लागिचाहिं कालो चिया लिएर पसलमा पुग्छन् । त्यहीबेला टुप्लुक्क बाटुलीका बाबु बिर्खबहादुर बेच्नका लागि फूल किनेर आइपुग्छ ।

नैनकलाले चियामा माया बाँड्न खोजी, ‘टुल्केका बा, च्या धेर ल्याइछ,  नानीले । पैला तिमी अलिकति खाऊ न ।’ फूल

बाटुली र टुल्केले एकै स्वरमा भने,   ‘हाम्ले त भुट्या भात खायोै, बा । ’ 

‘दालभात त पकाइस, नानी ?’ नैनकलाले सोधिन् ।  

बाटुलीले आमाको हात समाउँदै भनी, ‘अँ पकाएँ तर अचार बनाउन बाँकी छ । आमा, भाइ र मलाई कापी किन्ने पैसा देउ   न ।’ 

‘अलि फारो गर न हौ कापीकलम पनि ।’गुल्थोबाट दश रुपैयाँ निकालेर बाटुलीलाई दिंदै नैनकलाले भनिन् ।

‘बाटुलीकी आमा, लौ जौं । दुई गाँस टिपेर काममा गैहाल्नुपर्छ नत्र अबेर हुन्छ । बिर्खबहादुरले भर्खर ल्याएको  फूल डाला र नाङ्लामा मिलाएर राखिदिँदै भन्यो, ‘बेपार राम्रोसँग गर है नानी । स्कुल जानुअगाडि  फूल राम्रोसँग थन्क्याउनु है । अनि पैसाचैं हिसाब गरेर पुन्चा साउलाई राख्न दे है ।’

आमाबाबु काममा हिंड्नेबित्तिकै बाटुली फूल  बेच्न व्यस्त भई । टुल्केचाहिं दर्शनार्थीहरूलाई फूल  यता पाइन्छ भनेर कराउँदै  फूल किन आग्रह गर्दै थियो । ग्राहक आएर दुईचार रुपैयाको फूल  किनिरहेका पनि थिए । फूल  बिक्री भएको पैसा बाटुलीले बडो जतनका थैलीमा राखिरहेकी थिई । भारतीय अनुहार देख्नेबित्तिकै दर्शनार्थीहरूलाई टुल्के हातैमा समाएर  फूल किन्न आग्रह गर्दथ्यो । अलि होलो भएपछि टुल्के टाउको कन्याउँदै भन्यो, ‘दिदी, पाँच रुप्पे जाने सेल किन्देऊ न ।’

‘भोभो, अइले भक्खर भुट्या भात खा’र आ ‘ हैन ? अब एकैछिनमा भात खाइहाल्छौं नि । सेलसेल खानु पर्दैन । आमाले था’ पाइन् भने मार्छिन् पैसा खर्च गरयो भनेर ’ भन्दै बाटुली फेरि  फूल बेच्न व्यस्त भई । त्यहीबेला बाटुलीको छेउमा एक जना वृद्धा खुइय गर्दै बस्न आइपुगिन् ।  फूल बेच्ने ध्याउन्नमा बाटुलीले त्यतापट्टि ध्यान नै दिइनन् । तर नौ बज्नै लागेकोले विद्यालय जाने समय भयो भनेर उसले  डालो र नाङ्लामा  फूल मिलाएर राखी । अनि  फूलको डालो र नाङ्लो सँगैको पुन्चा साहूको पसलभित्र लगेर राखी । किनभने यिनै फूल  विद्यालय छुट्टी हुनासाथ आएर बेच्नुपर्छ बाटुलीले । त्यतिञ्जेलसम्म पनि ती वृद्धा त्यही बसिरहेकी थिइन् । तिनले बाटुलीलाई सम्बोधन गर्दै भनिन्, ‘नानी, अलिकति पानी खान दिन्छौ, बा ।’

‘ला लिनुस् पानी ।’ पानीको बोतल वृद्धालाई दिंदै बाटुलीले सोधिन्, ‘पशुपतिनाथको दर्शन गर्न आउनु भा’ हो , हजुरआमा ?’

वृद्धाले आँखाबाट तुरुक्क आँसु चुहाउँदै भनिन्, ‘हो नानी तर कुन पापीले गाडीबाट ओर्लिंदा पैसाको थैलो र  फूल भएको झोला नै लगेछ । गोकर्णबाट पशुपतिनाथको दर्शन गर्न आ’की थें । म त बिचल्लीमा पो परें, बा ।’

वृद्धा रोएको देखेर बाटुलीलाई नराम्रो लाग्यो । उसलाई आफ्नो  मुटु दुखेजस्तो भएर आयो ।

‘हजुरआमा, म फूल ल्याइदिन्छु, भगवानको दर्शन गर्नुस् है त ।’ बाटुलीले वृद्धालाई भनिन् र पुन्चा साहूको पसलमा आफूले राखेको एक बोहोता  फूल ल्याएर वृद्धालाई दिंदै भनिन्, ‘हजुरआमा, यी  फूल लिनुस् ।’

वृद्धाले दुःखी स्वरमा भनिन्, ‘तर मसँग पैसा छैन त नानी ।’  

बाटुलीले वृद्धालाई भनिन्, ‘मलाई था’छ, हजुरआमा, तपाईसँग पैसा छैन भनेर । पैसा अर्कोपटक आउँदा दिनु होला । म बिहान र बेलुकी सधैं यही  फूल बेच्छु नि । अनि यी यो दश रुप्पे पनि तपाईलाई गाडी भाडा है हजुरआमा । अइले म गएँ । मेरो स्कुल जाने बेला भयो ।’

बाटुलीले वृद्धालाई  फूल र पैसा दिएपछि भाइ टुल्केसँग सरासर  आफ्नो कोठातिर लागी । वृद्धाको मुहारमा आश्चर्य र कृतज्ञताको भाव एकैचोटि सलबलाइरहेको थियो ।

प्रकाशित: ३० असार २०७७ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?